हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाइन्छ : प्रधानमन्त्री दाहाल

कैलाश मानसरोवर (चीन), ११ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताउनुभएको छ ।

प्रधानमन्त्री दाहाल आज कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकनका लागि त्यहाँ पुग्नुभएको थियो । सो भ्रमणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले हिन्दू तीर्थयात्रीहरूको यस पवित्रस्थलको दर्शन एवं अवलोकनका लागि नेपालको बाटो भएर आउन सकिने गरी व्यवस्था मिलाइने बताउनुभयो ।

उहाँले नेपाली, भारतीय र अन्य देशका पर्यटक एवं तीर्थयात्रीले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी पनि दिनुभयो । हिन्दू धर्मग्रन्थहरूमा उल्लेख भएअनुसार कैलाश पर्वतलाई देवहरूका पनि देव, महादेव रहने स्थान एवं अन्य देवी–देवताहरूले पनि स्पर्श गर्नुभएको पवित्र भूमि मानिन्छ । त्यसैले कैलाश पर्वत र यस क्षेत्रलाई हिन्दू धर्मावलम्बीहरूले पवित्र तीर्थस्थलका रूपमा लिने गरेका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोवर क्षेत्र करिब दुई सय ५० किलोमिटर टाढा रहेको छ । उता नेपालतर्फबाट भने नेपालको हुम्ला सदरमुकाम सिमकोटबाट एक सय ६० किलोमिटरमात्रै टाढा रहेको छ । नेपालतर्फबाट सिमकोटको बाटो भएर कैलाश मानसरोवरको यात्रा गर्दा ट्रयाकमात्रै खोलिएको सडक रहेकाले यात्रा असहज हुने गरेको छ । कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोवर ताल रहेको छ । मानसरोवर ताल पनि हिन्दूहरूका लागि पवित्र तीर्थस्थल हो ।

कैलाशपति महादेव तथा देवी–देवताहरूले मानसरोवर तालमा स्नान गर्ने गरेको वैदिक सनातन मान्यता पनि पाइन्छ । यस तालमा अहिले नुहाउन भने प्रतिबन्ध गरिएको छ । चीनको तिब्बततर्फबाट भन्दा नेपालको हुम्लातर्फबाट कैलाश मानसरोवरको यात्रा गर्न नेपाली र भारतीय पर्यटकहरूलाई सहज हुने देखिएको छ । खर्च, यात्रा गर्नुपर्ने दूरी तथा भिसालगायत थुप्रै दृष्टिकोणबाट हुम्लाको बाटो भएर यात्रा गर्दा सहज हुनेछ । यसबाट ठूलो जनसङ्ख्या भएको भारतका बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीहरूलाई पनि निकै सहज हुने र नेपालका लागि पर्यटकीय हिसाबले राम्रो हुनेछ ।

प्रधानमन्त्री दाहाल आजै ल्हासाबाट तिब्बत एयरलाइन्सको उडानमार्फत यहाँ आउनुभएको हो । उहाँ भोलि बिहान चीनको छन्दु जाँदै हुहुन्छ । उहाँका साथमा भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदाश बैरागी, मुख्यसचिव डा बैकुण्ठ आर्याललगायत सचिवहरू र भ्रमण दलका अन्य सदस्य हुनुहुन्छ ।

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौँ, ११ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दबैठक जानु भई जात्रा अवलोकन गर्नुभएको उहाँका प्रस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद् सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्द बैठकअघिसम्म नै गाडीमा जाने गर्नुभएको थियो । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्म्रप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्द बैठकसम्म जानुभएको थियो ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिनुभएको थियो । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ ।

शुक्रबार माथिल्लो टोलमा रथयात्रा गरिने

असोज १५ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानु भई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीकाप्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

असोज १५ गते सोमबार राति ८ः३७ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो । वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजा आज पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

१९ औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो

हाङझाउ (चीन), ११ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बङ्लादेशसित बराबरी खेलेको छ । नेपाल र बङ्लादेश दुवैले एक एक गोलको बराबरी खेलेका हुन् ।

नेपालका लागि रेखा पौडेलले गोल गरेकी हुन् । वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टरमा पौडेलले खेलको ८३औँ मिनेटमा गोल गरेकी हुन् । सावित्रा भण्डारीले दिएको पासमा उनले गोल गरिन् । मध्यान्तर अघिको खेलमा बङ्लादेशले एक गोल गर्दै अग्रता लिएको थियो । उसका लागि खेलको ४४औँ मिनेटमा सविना खातुनले गोल गरिन् ।

समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलेका थिए । नेपाल र बङ्लादेश यसअघि खेलेका आफ्ना दुवै खेलमा पराजित भएका थिए । नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित २–० गोलअन्तरले तथा दोस्रो खेलमा जापानसित ८–० गोलअन्तरले पराजित भएको थियो । यस्तै बङ्लादेश पहिलो खेलमा जापानसित ८–० गोलअन्तरले तथा भियतनामसित ६–१ गोलअन्तरले पराजित भएको थियो ।

 जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलबाड

-पदमराज जोशी

काठमाडौँ, ११ असोज : नेपालमा एन्टिबायोटिकको व्यापक दुरुपयोग भइरहेको छ । यहाँ जुनसुकै एन्टिबायोटिक जहाँ पनि जसले पनि, बिनाचिकित्सकको प्रिस्क्रिप्सन सजिलै किन्न सकिन्छ । बेच्ने वा किन्ने बेला कुनै रोकावट छैन । मनपरी ढङ्गले खाने गरिएको छ । एन्टिबायोटिक बनाउने, पूर्जामा लेख्ने, बेच्ने, किन्ने र खाने सबै क्षेत्रमा मनपरी छ । त्यसैले त विस्तारै हाम्रो शरीरमा रहेका रोगका जीवाणु बलियो हुँदै गएका छन् ।

यसको परिणामस्वरूप हामीलाई कुनै रोग लागेपछि एन्टिबायोटिक खाए पनि त्यसले काम गर्न छोड्दै गएको छ । एन्टिबायोटिक औषधिभन्दा जीवाणु बलियो हँुदै जानु भनेको चिकित्सा विज्ञान क्षेत्रकै लागि मात्र नभएर मानव जगत्कै लागि ठूलो चुनौती हो । एन्टिबायोटिक औषधि सेवन गर्नु भनेको पक्कै पनि बदाम र भटमास खाएजस्तै पक्कै पनि होइन ।

तर विडम्बना देशका दूरदराजका मानिसहरूले मात्र नभएर सहरी क्षेत्रमा बसोवास गर्ने र पढे लेखेका व्यक्तिहरूले पनि कुन बेला, कति मात्र, कुन रोगको उपचारमा एन्टिबायोटिक सेवन गर्ने भन्ने राम्रो ज्ञान पाइँदैन । खानै पर्ने बिरामीले एन्टिबायोटिक खाँदा खासै ठूलो समस्या नहोला तर नखानु पर्नेले खादा समस्या देखिएको छ । सबै रोगको उपचारमा एन्टिबायोटिकले काम गर्दैन । तर समाजमा एउटा यस्तो भ्रम छ कि हरेक रोगको अचुक उपाय भनेको एन्टिबायोटिक हो । कोभिडको महामारीको बेला एन्टिबायोटिकले काम गरेन ।

सामान्य सिटामोलबाहेक अरू औषधिले काम नगरेको हामी सबैले अनुभवसमेत गरेको प्रमाणित तथ्य हो । तर पनि सङ्क्रमित भएकामध्ये आधा जति नेपालीले कुनै न कुनै प्रकारको एन्टिबायोटिक सेवन गरेको पाइएको पाटन अस्पताल जनरल प्रेक्टिस तथा इमरजेन्सी विभागमा कार्यरत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक डा. आशिष श्रेष्ठ बताउँछन् । नेपालमा एन्टिबायोटिकको प्रयोगसम्बन्धी नीति नै नभएको भने होइन । छ तर लागू गरिएको छैन । डा श्रेष्ठका अनुसार नियमअनुसार चिकित्सकको प्रिस्क्रिप्सन बिना कडा खालका एन्टिबायोटिक किनबेच गर्न पाइँदैन । तर व्यवहारमा लागू भएको पाइँदैन ।

नेपाली समाजमा एन्टिबायोटिक औषधिप्रति जनताको विश्वास ठूलो छ । एन्टिबायोटिक जुनसुकै रोग पनि निको पार्छ भन्ने बलियो मनोविज्ञान छ समाजमा । त्यसैले सितिमिति अरू औषधिमा विश्वास गदैनन् बिरामी पनि । आयुर्वेदिक औषधिको प्रयोग कम हुनुमा यो पनि एक प्रमुख कारण हो । उपभोक्ता मलाई यो नामको एन्टिबायोटिक दिनुहोस् भन्दै फार्मेसी पुग्ने गरेका हुन्छन् ।

एन्टिबायोटिक बाहेकले मलाई ठीक हुँदैन भन्ने उनीहरूको विश्वास छ । जनचेतनाको अभावका कारण नेपालमा एन्टिबायोटिकको उपभोग बढेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा.अर्जुन कार्की बताउँछन् । रोग चाँडो निको बनाउने होडबाजीका कारण पनि एन्टिबायोटिकको प्रयोग बढेकोमा विज्ञहरूको एक मत छ । रोग चाँडो निको पार्न बढी डोजको एन्टिबायोटिक दिने र लिने प्रवृति छ । जुन स्वास्थ्यका हिसाबले हितकार होइन । यही होडबाजीले एक रुपैयाँको सिटामोल खाएर निको हुने रोगको लागि दसौं गुणा बढी मूल्य पर्ने एन्टिबायोटिक उपभोग गराइन्छ ।

यसरी अनावश्यक एन्टिबायोटिकको प्रयोगमा विभिन्न औषधि कम्पनीहरू र व्यापारीहरूको स्वार्थ पनि रहेको पाइन्छ । चिकित्सकहरूका अनुसार रोग निको पार्न सधैं एउटै औषधिको प्रयोग भन्दा फरकफरक किसिमको औषधि प्रयोग गर्न राम्रो मानिन्छ । बिरामीलाई एउटा औषधिले निको नभए अर्को औषधि प्रयास गर्नु राम्रो चिकित्सकीय अभ्यास हो । तर एकैचोटी हाइडोजको एन्टिबायोटिक दिँदा समस्या निम्त्याउँछ । जथाभावी एन्टिबोयोटिकको प्रयोग गर्दा मिर्गौला फेल हुने लगायतका शरीरका अन्य अङ्ग समेत फेल हुने अवस्था आउँछ । चिकित्सकहरुका अनुसार एन्टिबायोटिक नै रोगको पूर्ण निदान होइन । एन्टिबायोटिक खाएपछि त्यसले शरीरमा संक्रमित ब्याक्टेरियालाई नष्ट गर्छ ।

यस हिसाबले कुन किसिमको ब्याक्टेरिया हो, त्यही आधारमा एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । यसको मात्रा, अवधि, समय सबैकुरा ख्याल गर्नुपर्छ । यद्यपि जुनसुकै अवस्थामा एन्टिबायोटिक सेवन गर्छांै । यस किसिमको प्रयोगले शरीरमा भएका ब्याक्टेरियाले आफ्नो रक्षात्मक क्षमता बढाउँछ । कोषिका परिवर्तन गर्छ । यसलाई ‘ड्रग रेजिस्टेन्स’ भनिन्छ । यस्तो हुनु भनेको ठूलो जटिलता हो । जब शरीरमा ब्याक्टेरियाले आफ्नो कोषिका बदल्छ, तब औषधिको प्रभाव कम हुन्छ । रोग फेरि बल्झन्छ र त्यसले थप चर्को रुप लिन्छ । एन्टिबायोटिकको विषयमा उपभोक्ता मात्र होइन स्वास्थ्यकर्मी र फार्मेसी सञ्चालकहरूमा समेत चेतना अभाव छ ।

कसरी हुन्छ एन्टिबायोटिक भिडाइ हाल्ने मनोविज्ञान उनीहरूमा पनि छ । एन्टिबायोटिक अत्यधिक प्रयोगले अहिले र पहिलेको तुलनामा एन्टिबायोटिकले काम नै गर्न छोड्दै छ । उदाहरणका लागि टाइफाइडमा प्रयोग हुने एन्टिबायोटिकले अहिले काम गर्न छोडेको छ । यो हाम्रो मात्र होइन, विश्वकै ठूलो समस्या हो । विकसित देशहरूमा जथाभावी एन्टिबायोटिकको किनबेच हुँदैन । डाक्टरको प्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन । त्यहाँ नियम पालना कडाइका साथ हुन्छ । अनुगमन कडा हुन्छ । तर हाम्रो देशमा न त कडा नियम हुन्छ न त अनुगमन बलियो । त्यसैले यहाँ जनस्वास्थ्यमा माथि धनस्वास्थ्यको लडाइँ चलिरहेको छ । पैसा कमाउने निहँुमा जनताको स्वास्थ्य प्रयोगशाला भइरहेको छ ।

एन्टिबायोटिकको गुणस्तर माथि पनि विचार गर्नुपर्छ । एन्टिबायोटिक उत्पादन गर्ने कम्पनीबाट त्यसको गुणस्तर निगरानी हुनु पर्छ । एउटै एन्टिबायोटिक धेरै कम्पनीले बनाउने गर्छन् । हाम्रो देशमा पनि औषधि व्यवस्था विभागले औषधिको गुणस्तर परीक्षण गर्छ । एन्टिबायोटिकको गुणस्तरका विषयमा पनि विभागले हेक्का राख्नुपर्छ । एन्टिबायोटिकको जथाभावी प्रयोग एक पक्षको प्रयासले मात्र सम्भव हुँदैन । त्यसमा सबै पक्षको सहयोग, सहकार्य आवश्यक पर्छ । एन्टिबायोटिक बनाउने कम्पनी, एन्टिबायोटिक लेख्ने डाक्टर, बेच्ने फार्मेसी, किन्ने उपभोक्ता र नियम कानुन बनाएर लागू गराउने सबैको उत्तिकै जिम्मेवारी हुन्छ ।

एन्टिबायोटिकको अनावश्यक प्रयोग रोक्नका लागि जसले पनि किन्न पाउने नियम बन्द गर्नै पर्छ । राज्यले चाहेको खण्डमा एन्टिबायोटिकको प्रयोगमा भइरहेको बेतिथि रोक्न सक्छ । जस्तै उदाहरणको लागि नार्कोनन ड्रग्सबिना लाइसेन्स बेच्न पाइँदैन । बिनाप्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन । किन्ने मान्छेको ठेगाना लेखेर प्रिस्क्रिप्सन लेख्ने डाक्टरको नेपाल मेडिकल काउन्सिलको नम्बरसमेत रेकर्ड राखेर बिक्री गरिन्छ । यसको जथाभावी प्रयोग रोकिएको छ । यसैगरी सरकारले एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न बनाइरहेको नीति नियम कडाइका साथ पालना गरे रोक्न सक्छ । तर यसमा राज्यको इच्छा शक्ति चाहिन्छ । डाक्टरले लेख्ने प्रिस्क्रिप्सनको पनि अडिट गर्ने व्यवस्था गर्नुपर्छ ।

कुन रोगको उपचार के औषधि सिफारिस ग¥यो ? जथाभावी एन्टिबायोटिक त लेखेन ? भन्ने बिषयमा प्रिस्क्रिप्सन अडिट गर्ने प्रचलन चलाउनु पर्छ । जथाभावी लेख्ने लाई कारवाही गर्नुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको उपचारात्मक महाशाखाले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रयोग गरिने औषधि प्रिस्क्रिप्सनको अडिट गर्ने काम अगाडि बढाएको छ । अरू रोगको उपचारमा पनि प्रिस्क्रिप्सन अडिट हुने व्यवस्था गर्नुपर्छ । यसले जथाभावी एन्टिबायोटिक सिफारिस गर्ने चलन माथि पनि अङ्कुश लाग्न सक्छ । हरेक चिकित्सक आफ्नो पेसाप्रति, समाजप्रति र जनस्वास्थ्य माथि सबै जिम्मेवार हुनुपर्छ ।

एन्टिबायोटिक सिफारिस गर्ने चिकित्सक, बेच्ने फार्मेसी र किन्ने उपभोक्ता तिनै पक्षलाई जिम्मेवार नबनाएसम्म एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न सकिँदैन । यसमा सबैको ध्यान जानु आवश्यक छ । केही दिन पहिले औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिवायोटिकको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालाई अनुरोध गरेको थियो । विभागले एन्टिबोयोटिकको प्रयोगलाई न्यूनिकरण गर्न र नियन्त्रण गर्न प्रतिवन्ध लगाएको जनाएको थियो । एन्टिबायोटिकको जथाभावी प्रयोगलाई रोक्ने अभिप्रायले नेपाल चिकित्सक सङ्घले विभिन्न नीतिगत तहमा पैरवी गर्ने गरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०५० सम्म यही तरिकाले एन्टीबायोटिकको गलत प्रयोग भएको अवस्थामा भविष्यमा एन्टीबायोटिकले सही तरीकाले काम गर्न सक्दैन भन्ने अनुमान गरेको छ । एन्टीबयोटिकको सही सदुपयोग गर्नु पर्छ भनेर विश्व स्वास्थ्य सङ्गठनलगायत स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले बारम्बार यस विषयलाई उठाइरहेका छन् ।

पदयात्री र आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ, ११ असोज : शरद ऋतुको आगमनसँगै हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पदयात्री तथा आरोहीको स्वास्थ्य उपचारका लागि सात जनाको चिकित्सक टोली हिमालमा पुगेको छ ।

हिमालय उद्धार सङ्घले हिमाली क्षेत्रमा घुम्न जाने पदयात्री र साना हिमालका लागि गएका आरोहीको स्वास्थ्य जाँचका लागि मनाङ र सोलुखुम्बुमा चिकित्सकको टोली पठाएको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द बस्यालले मनाङको मनाङगाउँ स्वास्थ्य चौकीमा चार र सोलुखुम्बुको फेरिचे स्वास्थ्य चौकीमा तीन चिकित्सक पठाइएको जानकारी दिनुभयो ।

उक्त टोलीले हिमालमा पुगेर स्वास्थ्य सेवाको काम सुरु गरिसकेको छ । स्वदेशी तथा विदेशी आरोही तीन हजार मिटरभन्दा माथि चढेपछि लेक लाग्ने र बिरामी हुने भएकाले प्राथमिक उपचारका लागि चिकित्सक पठाइएको उहाँको भनाइ छ । मनाङ गाउँमा पठाइएका चिकित्सकमध्ये तीन विदेशी र एक नेपाली रहेका छन् भने फेरिचेमा पठाइएका तीनै विदेशी चिकित्सक रहेका छन् ।

हिमालय उद्धार सङ्घले पदयात्री तथा आरोहीको स्वास्थ्य जाँचलाई सहज पुग्ने उदेश्यले मनाङगाउँ र फेरिचेमा आफ्नै खर्चमा स्वास्थ्यचौकी निर्माण गरि सेवा प्रदान गर्दै आइरहेको छ । सङ्घका अध्यक्ष डम्बर पराजुलीले शरद ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी तथा स्वदेशी पर्यटक घुम्नका लागि हिमाली क्षेत्रतर्फ गइसकेकाले चिकित्सकको टोलीसमेत पठाइसकिएको बताउनुभयो । मनाङ जाने पर्वतारोही थोरङ्लापास, चुलु हिमाल, तिलिचो, अन्नपूर्ण–२, अन्नपूर्ण–४ लगायतमा आरोहण गर्ने गरेका छन् ।

यस्तै सोलुखुम्बुका लागि जाने पर्यटक भने आइल्याण्ड पिक, आमादब्लम, लोपुचे पिकलगायतमा चढ्ने गरेका छन् । शरद ऋतुमा सगरमाथा आरोहण गर्ने आरोही भने एकदमै कम भएकाले सगरमाथा आधार शिविरमा चिकित्सकको टोली नपठाइएको सो सङ्घले जनाएको छ । सन् १९७३ मा स्थापना भएको सङ्घले मनाङ, गोसाइकुण्ड, फेरिचे र सगरमाथा आधार शिविरमा डाक्टर पठाएर आरोहीको स्वास्थ्य जाँचमा सहयोग गर्दै आएको छ ।

सङ्घले स्वदेशी तथा विदेशी चिकित्सकलाई तालिम दिएर सो क्षेत्रमा पठाउँदै आएको छ । उक्त क्षेत्रमा जाने चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलबाट अस्थायी दर्ता गर्ने र श्रम विभागबाट श्रम स्वीकृति लिएर पठाउने गरेको सिईओ बस्यालले बताउनुभयो । चिकित्सकको टोली सो क्षेत्रमा तीन महिना रहने सङ्घले जनाएको छ ।

सन्दर्भ : विश्व मुटु दिवस ‘मन लगाऔँ मुटु बचाऔँ’

-डा अवनिभूषण उपाध्याय

काठमाडौँ, ११ असोज : विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो । यो एउटा महामारीको रूपमा देखापरेको छ । यो रोगबाट बच्न र बचाउन सबैजना लागिनपर्ने हो भने कल्पना पनि गर्न नसकिने अवस्थाको सिर्जना हुने देखिन्छ ।

हामीले मुटु रोग भन्दै गर्दा हृदयघात बुझ्नु पर्दछ । यो रोग ठूलो भएपछि लाग्ने होइन, यो देखा पर्दा मानिस ठूलो भइसकेको हुन्छ । हाम्रा विभिन्न कारक तत्वहरूले गर्दा मुटुको आर्टरीहरूमा विस्तारै फोहर जम्मा हुँदै जान्छ र आर्टरीहरूमा भित्री भाग साँगुरिदैं जान्छ, अनि रक्त प्रवाह कम हुँदै जान्छ र साँगुरिएको ठाउँमा रक्तस्राव भयो भने त्यहाँ रगत जम्न गई आर्टरी पूरै थुनिन सक्दछ ।

त्यसरी थसनएको अवस्थामा त्यसले आफूले रगत पु¥याउनु पर्ने मांसपेशीमा रगत पु¥याउन सक्दैन । उक्त मांसपेशीमा रगत नपुगेकाले खाना नपाएर मर्दछ । यो मरेको भागलाई इन्फारक्ट भनिन्छ । मायोकार्डियोल इन्फारक्ट भनेको नै हृदयघात हो । सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउने चलन सुरु भएको हो ।

विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ । यस वर्षको मुटु दिवसको नारा “युज हार्ट फर एभ्री हार्ट (मन लगाऔं मुटु बचाऔं) वा हरेक मुटुको लागि हृदयको प्रयोग गरौं भन्ने रहेको छ । यसको अर्थ आफ्नो मुटुको लागि हृदयको प्रयोग गरौं भन्ने हो । यस पालिको नारा मुटु बचाउन हृदयको प्रयोग गरौं भन्ने छ ।

अरूलाई परेका अप्ठ्यारो, वेदनाहरूप्रति पूरा सहानुभूति, पुरा प्रेमका साथ सच्चा मनले मद्दत गर्नु पर्छ भनेको हो । यस कारणले हाम्रो समाजमा नै मुटु कसरी जोगाउने भनेर भित्र मनैदेखि उपायहरू बताउने हो र समाजमा रहेका हरेक मुटुहरूलाई स्वास्थ्य हुनको लागि बाटो देखाउने हो । यो मुटु बचाउनको लागि भौतिक स्रोत साधन मात्र पटकै होइन, यो आफ्नो आत्मीयता, अरूप्रतिको सद्भाव र प्रेमसँग पनि सम्बन्ध राख्दछ । आफ्नो मुटु त बचाउन परि हाल्यो तर अरूको मुटु बचाउन पनि मनैदेखि या आफ्नो हृदय लगाएर बचाउने कोसिस गर्नु पर्दछ । मुटु रोगको महामारीबाट जोगीनको लागि एउटै उपाय छ, यो के हो भने यो रोगबाट बच्ने, यो रोग लाग्नै नदिने ।

त्यसको लागि सबै जनमानसमा यो रोगको जानकारी जति सक्यो बढाउन पर्ने हुन्छ । यस वर्षको नारालाई निम्न तीन किसिमबाट बुझ्न सकिन्छ । मानवताका लागि मुटु संसारमै मुटु रोगहरूमध्ये ७५ प्रतिशत लगभग मुटु रोगहरू हाम्रो जस्तो विकास हुन बाँकी, गरिब, पछि परेका देशहरूमा पर्दछ । यस संसारको यति ठूलो मानिसको संख्या मुटु रोगी हुनु र त्यो पनि हाम्रो जस्ते देशमा हुनु ज्यादै नै दुःखको कुरा हो ।

त्यसैले हरेक मानिसले मानवताको लागि यस कुरालाई मनन गरेर कसरी हुन्छ, कुन उपाय गर्दा यसबाट बच्न र बचाउन सकिन्छ भनेर मुटुमा हात राखेर आफ्नो मुटु साक्षी राखी अरूको मर्म बुझेर समाजमै मुटु बचाउनतर्फ लाग्न अति आवश्यक छ । मानवताका लागि कसरी हुन्छ यस रोगबाट बच्ने भन्ने कुराको साथसाथै कसैलाई मुटु रोग लागिसकेको छ भने पनि के कसरी उनीहरूको मर्म पिडालाई कम गर्न सकिन्छ भन्नेतर्फ लाग्न जरुरी छ ।

हाम्रो समाजमा, शिक्षामा, स्वास्थ्यमा धेरैको सहज पहुँच छैन । धेरैलाई यसबारे जानकारी छैन, धेरैमा स्रोत पनि सीमित हुन्छ । यस्तो अवस्थामा यस रोगबारे जानकारी, यसबाट बच्न गर्नुपर्ने उपायहरू र उपचार गर्नुपरे कसरी सहज बनाउने भनेर सबै लगनशीलतापूर्वक सच्चा मनदेखि लागिपर्नु पर्दछ, मद्दत गर्नु पर्दछ । प्रकृतिका लागि मुटु मानव जाति प्रकृतिप्रति कठोर नै हुँदै आएको छ । आफ्नो सम्पूर्ण स्वार्थको लागि आफ्नै प्रकृतिरुपी आमालाई शोषण गरिरहेको छ । मानिसकै कारणले गर्दा वातावरण बिग्रिरहेको छ । मौसम बदलिंदै छ, संसारको तापक्रम बढ्दो छ, वायु प्रदूषण बिग्रेर विषैविषले भरिएको छ । यो सबै बिगार्ने अरू कोही होइन, मानव जाति नै हो ।

प्रकृतिलाई जिस्काएर मानव जातिले ठूलो भूल गर्दैछ । यसले गर्दा संसारमा प्राकृतिक प्रकोपहरू बढ्दै गएको छ । आगलागी, हावाहुरी, बाढीपहिरो, विभिन्न किसिमका महामारीले अकाल मृत्यु हुने क्रम बढ्दै गएको छ भने युवावस्थामै मानिसहरू नयाँ–नयाँ रोगबाट ग्रस्त भएका छन् । कलिला उमेरका मानिसलाई पनि मानसिक रोग, मुटु रोग, क्यान्सर जस्ता रोगले सताउने गरेको छ । मुटु रोगको नै कुरा गर्दा पनि लगभग २५ प्रतिशत जति मुटु रोग वायु प्रदूषणको कारणले हुने गर्दछ । समाजलाई बचाउने हो भने प्रकृतिलाई विनास होइन, माया गर्नुपर्छ ।

आफ्नै लागि मुटु अरूको मुटु बचाउने हो भने सर्वप्रथम आफ्नो मुटुमा ध्यान दिन जरुरी छ । हामीले आफ्नो मुटु स्वस्थ राख्न सके अरूको मुटु जोगाउन पनि सक्षम हुनसक्छौँ । पहिले आफ्नो अवस्थाबारे जान्न आवश्यक छ । आफ्नौ तौल ठिक छ छैन, मधुमेह, रक्तचाप, चिल्लो पदार्थ ठीक छ छैन, व्यायाम गर्ने, ध्यान योग गरेको छ छैन, अनावश्यक तनाव लिने गरेको छ छैन, चुरोट रक्सीको सेवन गरिन्छ कि ? घरको साधारण खाना नखाएर बजारिया पत्रु खाना पो खाने गरेको छ कि ? यी सबै कुराको जानकारी लिएर यसलाई ठीक अवस्थामा राख्न आवश्यक छ ।

रोग लागिहाल्यो भने पनि चिकित्सकको सल्लाह अनुसार पछि औषधि सेवन गरेर आफ्नो शारीरिक र मानसिक अवस्थालाई ठीक सन्तुलित, स्वस्थ राख्नुपर्छ । मुटु के हो त ? मुटु रक्त सञ्चारको प्रमुख अङ्ग हो । यो दुई फोक्सोको बीच भागतिर छातीमा हुन्छ । यो ठूलो मान्छेको मुड्की जत्रो हुन्छ, लगभग मिनेटमा ७२ पटक धड्किने गर्दछ । मुटु दिनको एक लाख १५ हजारपटक धड्किन्छ । दिनभरिमा २०० ग्यालन रगत पम्प गर्दछ । हरेक मिनेटमा १.५ ग्यालन रगत पम्प गर्दछ । मुटु एउटा बलियो मांसपेशीले बनेको अङ्ग हो । यसले पम्प गरेको रगत र रगतबाट जीउलाई चाहिने पौष्टिक तत्वहरू पु¥याउने गर्दछ र यही पम्पले शरीरका धमिलिएको रगतलाई बटुलेर फोक्सोमा पु¥याउँछ । त्यहाँ सफा रगत बनाएर पूरा शरीरभरि पु¥याउने काम गर्छ । यसरी मुटुले अहोरात्र काम गरेकै हुन्छ ।

बलियो मांसपेशीले बने पनि यो ज्यादै सम्बेदनशील र भावुक हुन्छ । हरेक कुराका राम्रो नराम्रो कुराको असर यसलाई सिधैँ पर्ने हुँदा यसलाई ज्यादै माया गर्नु पर्दछ । मुटु रोग लाग्ने कारक तत्वहरू के हुन् ? मुटुको रोग लाग्ने कारक तत्वहरू वैज्ञानिक हिसाबले प्रमाणित भइसकेका छन् । मुख्यगरी धूम्रपान वा सुर्ती जन्य पदार्थको सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव लिने बानी, लोभ लालच, फलफूल नखाने बानी, खानामा नुनु धेरै, चिनी धेरै, कार्बोहाइड्रेट धेरै खाने याने बजारको पोके पत्रु खाना खाने बानी, कम सुत्ने बानी इत्यादि पर्दछन् । यी कारक तत्वलाई ठीक ठाउँमा राख्न सकेदेखि मुटु रोग बाट बच्न सकिन्छ ।

जुन कुरा वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् । कारक तत्वमध्ये केही गर्न नमिल्ने एउटै कुरा छ त्यो हो वंशानुगत आउने कारक तत्त्व । यो हाम्रो हातमा निर्भर गर्दैन, बाँकी सबै हामी आफैँ नियन्त्रण गर्न सक्षम छम् । के गर्न उचित होला ? विश्व मुटु दिवस धूमधामले मनाउने भनेकै यो रोग के हो र यसबाट कसरी बच्न सकिन्छ भनेर जानकारी बढाउने हो । जे कुरा गर्न पनि त्यसबारे जान्नु जरुरी छ । तसर्थ हामीले जुन कारक तत्वहरूका बारेमा छलफल ग¥यौँ त्यसमा एउटा वंशानुगतबाहेक सबै कारक तत्वहरू हामी आफँै नियन्त्रण गर्न सकिन्छ । वर्षको एक पटक कमसेकम यदि मिल्छ भने आफ्नो जन्मदिन पारेर डाक्टरको सल्लाह लिएर आफ्नो स्वास्थ्यबारे जानकारी लिने गरौं र कुनकुन कारण तत्वलाई ठीक अवस्थामा राख्नु छ, त्यसमा ध्यान दिने गरौँ ।

चुरोट रक्सीको सेवन नगरौँ, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राखौँ, तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने गरौँ, अनावश्यक तनाव लिने, लोभ लालचमा नफसौँ, फलफूल खाने बानी बसालौँ । आफ्नो मुटु स्वस्थ राखौं र आफूले जानेजति, मनैदेखि अरूको पनि मुटु बचाउने अभियानमा लागौं ।

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध

काठमाडौँ, ११ असोज : गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

समय–समयमा देखिएका यस्ता समस्या समाधान गर्न यही असोज ९ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो ।

कास्कीमा घटेको घटनामा दोषी देखिएका सुरक्षाकर्मीमध्ये एक जनालाई केन्द्रमा सरुवा गरिसकिएको र अर्का एक जनालाई कानुन बमोजिम निलम्बनसमेत गरिसकिएको उहाँले बताउनुभयो । गृह मन्त्रालयले भनेको छ, “अतः स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई सबै प्रकारका विरोधका कार्यक्रम अन्त्य गरी आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्दै आ–आफ्नो कार्यक्षेत्रमा फर्किन आह्वान गरिन्छ ।” साथै सबै नागरिकलाई पनि स्वास्थ्यकर्मीमाथि आक्रमण गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने कुराको जानकारी गराउँदै स्वास्थ्य क्षेत्रलाई सुरक्षित बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित)ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख भएको सार्वजनिक सूचना सबै नागरिकले सहजै देख्ने गरी राख्ने व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने निर्णय भएको छ ।

यस्तै पछिल्लो समयमा देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका दुव्यवहारका घटनामा संलग्न देखिएका दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित) बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ । उक्त ऐनमा व्यवस्था भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी समन्वय समितिको बैठक नियमित राखी प्रभावकारी कार्यान्वयनको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने निर्णय पनि भएको गृह प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लियो : प्रवक्ता यादव

काठमाडौँ, ११ असोज : जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकीकरण पनि नगर्ने भएको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन–२०८४’ अभियान सुरु गरेको जनमतले पार्टीलाई देशभर स्थापित गर्न सङ्गठन निर्माणलाई तीव्रता दिएको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले बताउनुभयो । पार्टीको आगामी रणनीतिबारे आज सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै प्रवक्ता यादवले पार्टी बन्दै गरेको अवस्थामा आगामी निर्वाचनलाई लक्षित गरेर वडा तहदेखि नै सङ्गठन निर्माणमा केन्द्रित हुने बताउनुभयो । उहाँले आफूहरू सत्ता गठबन्धनमा रहेको तर, अब आउने निर्वाचनमा कुनै पनि चुनावी गठबन्धन नगरी पार्टीले एक्लै प्रतिस्पर्धा गर्ने स्पष्ट पार्नुभयो ।

पार्टी अध्यक्ष चन्द्रकान्त (सिके) राउत सरकारमा नजाने नीति हो भन्ने जिज्ञासामा प्रवक्ता यदावले आगामी निर्वाचनमा केन्द्रित भएर सङ्गठन निर्माणमा बढी खट्नुपर्ने भएकाले उहाँ मन्त्री बन्न हतारो नगर्ने उल्लेख गर्नुभयो । “हाम्रो पार्टीको मिसन भनेको मधेस प्रदेशमा आफ्नै दुईतिहाइको बहुमतको सरकार बनाउने र लुम्बिनी प्रदेशमा सरकार बनाउने हो”, उहाँले भन्नुभयो, “कोशी प्रदेशमा निर्णय गर्ने ठाउँमा पार्टीलाई उभ्याउने तथा सङ्घमा पनि बढीभन्दा बढी सिट जितेर सरकारमा ठूलो सहभागितासहित काम गर्ने नीति र योजनाअनुरुप नै अध्यक्षजी अहिले सरकारमा गएर मन्त्री बन्न इच्छुक हुनुहुन्छ ।”

अहिले संसद्मा कुनै पनि पार्टीको बहुमत नरहेकाले संसद् सञ्चालन र सरकारलाई स्थायित्व प्रदान गर्न पार्टीले सहकार्य गर्नुपर्ने आवश्यकता भएकाले आफूहरू सरकारमा सहभागी भएको प्रवक्ता यादवको भनाइ थियो ।

पूर्व राजा ज्ञानेन्द्रद्धारा तलेजु र भैरबको पूजा एवं दर्शन (फोटो फिचर)
भक्तपुर, ७ असोज । विश्व सम्पदा सूचीँमा सुचिकृत नेपालको पुरानो ऐतिहासिक एवं पुरातात्विक सम्पदास्थल भक्तपुर दरबारस्क्वायरमा आइतबार दिउँसो १ बजेदेखिनै निकै भिडभाड थियो । १० वर्षको बालकदेखि ८० वर्षका जेष्ठ नागरिकहरु दरबारस्क्वायरको सत्तलमा हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर बसिरहेका थिए । भीड निकै बढ्दै गयो ।
धिमे बाजा, नौमति बाजाहरु घन्किरहेका थिए । साँस्कृतिक महाकाली नाच नाचिरहेका थिए । लामबद्ध हजारौ नागरिकहरु दरबारस्क्वायको गेटदेखि गोल्डेन गेटसम्म बाक्लो रुपमा लामबद्ध थिए । कोहीको हातमा पुष्प गुच्छा त धेरैको हातमा नेपालका झण्डा हल्लिरहेको थियो ।
दरबारस्क्वायरको सिंगो प्राङ्नमा हजारौ नागरिक र उनीहरुले बोकेका नेपालको झण्डाले राताम्मे देखिन्थ्यो । खाली ठाउँ कतै थिएन, भईदेखि, मन्दिरको सिढीँ, सत्तल, पेटीँ मानिसको भिडले खचाखच भरिएको थियो । त्यो भीडमा जम्मा भएका  सबैको एउटै चाहना थियो, नजिकबाट पूर्व राजालाई हेर्ने ।
करिब सवा तीन बजे पूर्व राजा ज्ञानेन्द्र शाहले दरबारस्क्वायमा प्रवेश गरेसँगै उनका पक्षमा नारावाजी गरेका थिए । राजा आउँ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा सबैका साझा जस्ता नारा लगाएका थिए । भक्तपुरस्थित तलेजु र आकाश भैरबको पूजा एवं दर्शन गर्नु स्थानीयवासीको आग्रहलाई स्वीकार्दै आएका ज्ञानेन्द्रलाई तलेजु मन्दिरसम्म पुग्न निकै सकस भयो, त्यो भन्दा ठूलो सकस त उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई भयो ।
स्थानीय अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा रामेश्वर थापा सदस्य सचिव रहेको आयोजक समितिका पदाधिकारीहरु, नेपाली सेनाका पूर्व जर्नेल तथा कर्णेलहरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेता एवं पूर्वमन्त्री टंक ढकाल, राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाह, केन्द्रीय सदस्य रामहरि थापा, जमुना थापा, मुकुन्द कार्की, भरत जंगम, रमा सिंह, प्रदेश सांसदलगायतले ज्ञानेन्द्रलाई स्वागत गरेका थिए ।
भक्तपुर दरबार क्षेत्रस्थित खौमा गेटबाट पैदल हिँडर भीडमा ठेलिदै गोल्डेन गेटभित्र प्रवेश गरेपछि भीडलाई रोक्न सुरक्षाकर्मीले गेटनै लाउनु पर्यो । करिब १५ मिनेट तलेजुको पूजा एवं दर्शन गरेका ज्ञानेन्द्र पैदलनै जनताको भीडलाई छिचोल्दै पाँचतले मन्दिर अगाडि रहेको आकाश भैरब मन्दिर पुगेका थिए । उनलाई हेर्न पाँचतले मन्दिरको प्रत्येक सिँटी र आसपासका घर एवं होटलका छतहरु भरिएका थिए ।
भैरब मन्दिरमा बेताल देवताको पुजा एवं प्रसाद ग्रहण पछि आकाश भैरबको पूजा एवं दर्शन गरेका थिए । उनलाई कार्यक्रमका संयोजक अनन्तप्रसाद धौभडेलले मन्दिरको महत्व र जात्रा पर्वकाबारेमा जानकारी गराएका थिए । मन्दिर भित्र विजयप्रसाद धौभडेललगायत पुजारीहरुले प्रसाद र भैरबको रथको प्रतिक सानो रथ प्रदान गरेका थिए । त्यसपछि बाहिरिएका ज्ञानेन्द्रलाई सवारी साधनसम्म पुग्न निकै कठिन भयो ।
गणतन्त्र घोषणापछि गद्दीविहीन बनेका पूर्व राजा ज्ञानेन्द्रले आज भक्तपुरको दरबारस्क्वायमा रहेको तलेजु भवानी र तौमढीमा रहेको आकाश भैरबको दर्शन एवं पुजा गर्ने आउने क्रममा उर्लिएको जनताको भीड यसअघि सायदै कुनै राजनीतिक दलको कार्यक्रम देखिएको थिएन ।
होटलमा ज्ञानेन्द्रको स्थानीयसँग तीन घण्टा लामो भेट :
तलेजु भवानी र भैरवानाथको दर्शन पछि पूर्वराजा ज्ञानेन्द्रले सल्लाघारी स्थित होटल ग्रीनल्याण्डमा जनतासँग भेट गरेका थिए । करिब तीन घण्टा भन्दा बढी भेटमा बिताएका उनले ५०० भन्दा बढीसँग भेट गर्दै भक्तपुरवासीकोे आवाज सुनेका थिए ।
भेटने अधिकांशले उनलाई देश जेगाइदिन आग्रह गरेका थिए । भेट अबधीभरसँगै बसेका राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाहले भेटना अधिकांश नागरिकले देश संकटमा पर्दै गएकाले देश जोगाइदिन आग्रह गरेको बताउनु हुन्छ । देशी विदेश गलत शक्तिले देशलाई बिग्रह, बिघठन र धार्मिक एवं साँस्कृतिक द्धन्द्धमा लैजान लागेको भन्दै पूर्वराजा ज्ञानेन्द्रसँग चिन्ता व्यक्त गरेको जानकारी दिए ।
भेटमा पूर्व जिल्ला उपसभापति एवं राप्रपाका केन्द्रीय नेता रामहरि थापाले देश संकटमा पर्दै गएको र राजनीतिक दलका वर्तमान् नेताहरुप्रति भरोसा र विश्वास हराउदै गएकाले देश जोगाइदिन आग्रह गरेको बताए । ज्ञानेन्द्रले भने भेटमा आउनेहरुसँग गुनासो मात्रै सुनेर टाउँको मात्रै हल्लाएर आश्वासन दिएका थिए ।
व्यक्तिगत रुपमा ज्ञानेन्द्रले देशको वर्तमान् अबस्थाबारे केही नबोले पनि जनताको माया लागेको र भक्तपुरका जनताले आफूप्रति गरेको विश्वास देखेर निकै खुसी लागेको बताए ।
२३ वर्षदेखि बाटिकामा उभिरहेछन् लौह पुरुष गणेशमान सिंह 
-रमेश गिरी
भक्तपुर, २ असोज । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित सुवर्णेश्वर महादेव मन्दिर क्षेत्रमा रहेको जंगलको पूर्वपट्टीको छेऊमा सुन्दर बगैचासहितको बाटिका ।
नजिकै सानो पालेघर । बाटिकाको बीचमा देशका राष्ट्रपतिको आगमन पर्खेर विगत २३ वर्षदेखि लौरो टेकेर ठिङ्ग उभिरहेका लौह पुरुष, प्रजातन्त्र सेनानी स्व.गणेशमान सिंहको एक हजार २ किलो ढलोट प्रयोग गरी निर्माण गरिएको १२ फिट अग्लो पूर्णकदको शालिक । हो यही शालिक आज स्व. सिंहको पूण्यतिथि एवं २६ औं स्मृति दिवसको अवसरमा राष्ट्रपति अनावरण गर्ने भएपछि बल्ल ठडिएको शालिकले पूर्णता पाउने भएको छ ।
२०५४ सालमा स्थापना भएको गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले बृहत गुरुयोजना सहित तयार पारेको वाटिकाका अझै कयौ संरचनाले पूर्णता पाउन बाँकी नै छ ।
तत्कालिन कटुन्जे गाविसको सिफारिसमा तत्कालिन राजा बिरेन्द्र वीरबिक्रम शाहको पालामा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र वामदेव गौतम उपप्रधानमन्त्री हुँदा मन्त्रीपरिषद् बैठकले पारित गरि कित्ता नं. ४२१ को १४८ रोपनी ५ आना जग्गा वाटिका स्थापना गर्न समितिको नाममा नामसारी गरिदिएको उक्त क्षेत्रफलमा गणेशमानको शालिक र वाटिका निर्माण भएको हो ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०५४ सालमा वाटिकाको शिलान्यास गर्नु भएपछि ०५५ मा समितिले आफ्नो कार्यालय भवन निर्माण गरेको समितिका अध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतले जानकारी दिनुभयो ।
२०७२ साल कात्तिक २४ गते वाटिकामा गणेशमान सिंहको प्रतिमा  अनावरण गर्ने लक्ष्यका साथ सुरु भई २०५७ मै करिब रु. एक करोडको लागतमा स्व. सिंहको पूर्ण कदको शालिक निर्माण सम्पन्न भएपनि अनावरण हुन नसक्दा वाटिका र शालिक अलपत्र जस्तै बनेको थियो ।
समितिले त्यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको उद्यान, बहुउद्देश्यीय भवन, प्रजातान्त्रिक जनआन्दोलनका योद्धाहरूको जीवनी झल्किने संग्रहालय, भ्यु टावर, वनभोज स्थल, आधुनिक बगैंचा, बालबालिका उद्यान, अतिथि गृह, चमेना गृह, रोपवे तथा पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएर गुरुयोजना तयार पारेको थियो ।
यद्यपी करिब रु. चार करोडको लागतमा अहिलेसम्म शालिक प्रवेश गर्ने मूलद्धार निर्माण सम्पन्न भएको, सिढँी मर्मत गरिएको, समितिको आफ्नै कार्यालय भवन, केही वनभोज स्थल, सार्वजनिक शौचालय निर्माण भएको, वाटिकालाई सुन्दर बगैचाका रुपमा परिणत गरेको र बजेट अभावले अन्य संरचना निर्माण भने पुरा हुन बाँकी रहेकोे समितिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहलाई अस्विकार गर्दै उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा अघि सारेपछि नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।
स्वं सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेका संघर्ष र त्यागकाबारेमा बिस्तृत विवरणका अतिरिक्त प्रजातान्त्रिक शहीदहरूको जीवनी समेटेर संग्रहालयय निर्माण गरि राख्ने लक्ष्य वाटिकाले लिएको छ ।
प्रजातान्त्रिक योद्धाहरुको संघर्षकाबारेमा अध्ययन, अनुसन्धान गर्ने, गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ, अनुभवीहरूबाट प्रवचन गराउने, त्यसका निष्कर्षलाई प्रकाशित गराएर भविष्यका पुस्तालाई प्रजातन्त्रप्रति जागरूक तुल्याउने थलोको रूपमा विकास गर्ने लक्ष्य लिएकोे समितिका महासचिव कृष्णमुरारी न्यौपानेले जानकारी दिनुभयो ।
समितिका संस्थापक अध्यक्ष एवं शालिकसहितको वाटिकाको परिकल्पनाकार स्वर्गीय रामेश्वर ढुङ्गेल, पूर्व अध्यक्ष सुनिल बासु र वर्तमान् अध्यक्ष बस्नेतले वाटिकाको गुरुयोजना सफल पार्न अनवरत रुपमा लागिरहेका थिए । स्व. गणेशमान सिंहको जन्मदेखि सरकारी जागिर खाएर छोडेको, उच्च शिक्षा हासिल गर्न भारतको कोलकोत्ता गएको, त्यहीं राजनीतिक संघसंगठनमा आवद्ध भएको, राणा शासनविरुद्ध संघर्ष गरेको, प्रजातन्त्र प्राप्त भएको घटनाक्रमलाई उजागर गर्ने भौतिक संरचनासहितको गुरुयोजना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै राणाशासनको अन्त्यसँगै पुनः पञ्चायती शासन आएको, पञ्चायतविरुद्ध संघर्ष गर्दा जेल परेको र जेल फोडेर भागेको घटना, प्रजातान्त्रिक आन्दोलनमा सर्वोच्च कमान्डर भएको, प्रधानमन्त्रीका प्रस्ताव अस्वीकार गरेको, कांग्रेस पार्टी त्यागेकोलगायतका घटनालाई समेत उजागर गर्ने भौतिक संरचना बाटिकाभित्र निर्माण हुने गरी गुरुयोजना बनाइए पनि त्यस्ता धेरै संरचना भने अझै निर्माण हुन सकेका छैनन् ।
गुरुयोजना कार्यान्वयनमा ल्याउन सके स्व. गणेशमान सिंहबारे जान्न र बुझ्न अन्यत्र जानै पर्दैन । यही गणेशमानसँग सम्बन्धित सम्पूर्ण घटना र त्यसको प्रतीक बाटिकाभित्रै पाउन सकिन्छ गरि गुरुयोजना तयार पारिएको थियो । प्रधानमन्त्रीको पद अस्वीकार गरि त्यागी नेताको थप पहिचान बनाउनु भएका  नेपाली प्रजातान्त्रिक जनआन्दोलनका शिखर व्यक्तित्व स्व.सिंहले देशमा आर्थिक क्रान्ति नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि स्थायी नहुने धारणा राख्दै आउनु भएको समितिका अध्यक्ष बस्नेत स्मरण गर्नुहुन्छ ।
वाटिकामा सबै संरचना निर्माणका लागि ३३ करोड रुपैयाँ खर्च हुने गरि ऐतिहासिक गुरुयोजना निर्माण गरेकाले सरकारले पर्याप्त बजेटको व्यबस्था गरेर गुरुयोजना पूर्णता दिनु उहाँले सरकारसँग आग्रह गर्नु भएको छ ।
बिवादपछि अलपत्र गुरुयोजना ः
समितिले पब्लिक, प्राइभेट पार्टर्नरसिपको अबधारणा अनुसार साखः ग्रुपलाई करिब रु.१४ करोडको लागतमा पाँचवर्षभित्र गुरुयोजनामा समेटिएका सबै भौतिक संरचना निर्माण सम्पन्न गर्नेगरि ३९ वर्षका लागि उक्त जग्गा भाडामा दिने सहमति गरेको थियो ।
तत्कालिन उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह संरक्षक तथा सोही क्षेत्रका सभासद रामेश्वर ढुंगेल अध्यक्ष रहेको वाटिकालाई होटल सञ्चालनका लागि ३९ वर्षे भाडामा दिने, त्यस अबधीभरी हुने आम्दानीको २० प्रतिशत रकम वाटिकाको कोषमा आउने र ३९ वर्षपछि निर्माण भएका सबै संरचना वाटिकाको स्वामित्वमा हस्तान्तरण गर्ने गरि समितिका संस्थापक अध्यक्ष रामेश्वर ढुङ्गेल र साख ग्रुपको तर्फबाट प्रभातप्रकाश साखबीच २०७१ असार १२ गते सम्झौता पत्रमा हस्ताक्षण भएको थियो ।
तर दधिकोट र कटुन्जेका जनताले उपभोग गरिरहेको खानेपानी ट्यांकी र ऐतिहासिक सुवर्णेश्वर महादेव मन्दिर पनि वाटिका परिषरभित्रै परेकाले त्यसलाई असर पुग्ने गरि सरकारी सम्पत्ति नीजि क्षेत्रलाई व्यापारिक क्षेत्र निर्माणका लागि दिन लागेको भन्दै एमालेका नेता निर्मलकुमार भट्टराईलगायतले बिरोध गर्दै अख्तियारमा समेत उजुरी हालेपछि समिति सम्झौता रद्ध गर्न बाध्य भएको थियो ।
वाटिकाका लागि तयार पारिएको गुरुयोजना आफैमा ऐतिहासिक थियो, त्यो संरचना निर्माण हुन सके गणेशमान लगायत देशका जनआन्दोलनमा सेनानी एवं सहितहरुको जीवनी समेटिएएको अध्ययन अनुसन्धानको केन्द्र सहितको संग्रहालय, पुस्तकालय निर्माणमा सरकारले चासो दिनु पर्ने समितिका अध्यक्ष बस्नेत बताउनु हुन्छ ।
संस्थापक अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद रामेश्वर ढुङ्गेलको निधनसँगै अलपत्र जस्तै बनेको सिंहको शालिक र वाटिकालाई पूर्व अध्यक्ष वासु र वर्तमान् अध्यक्ष बस्नेतसहितको नेतृत्वको समितिले सुन्दर वाटिका निर्माणसँगै शालिक अनावरण गर्ने कार्य सम्पन्न गर्नेतहसम्म पुर्याएको छ ।
साँसदहरुले निर्माण भइसकेको स्व. गणेशमान सिंहको पूर्णकदको सालिकको लागि समेत ४१ लाख रुपैयाँ छुट्याएका थिए भने सालिक निर्माणस्थलको भौतिक निर्माणको लागि निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट २० लाख र सांसद मनमोहन भट्टराईले चार लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
प्रदेश सभा सदस्य शशीजंग थापाले यहाँको भौतिक संरचना निर्माणका लागि रु.२५ लाख बजेट वागमति प्रदेशबाट र बाटिका प्रवेश गर्ने सिंढी सुधारको लागि नगर विकास प्राधिकरणले थप २५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तत्कालिन जिविस, गाविस, नगर विकास समिति, संरक्षण समिति र जनश्रमदानबाट करिब रु. २७ लाख लागतमा कार्यालय भवन निर्माण गरेको थियो ।
समितिले ३३ करोडको लागतमा वाटिकाको सम्पूर्ण संरचना निर्माण हुने र यसलाई गणेशमानको मात्रै नभई नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेतृत् वगर्ने महत्वपूर्ण सबै व्यक्तिहरुको जीवनी, अध्ययनशालासमेत निर्माण गरेर देशकै ऐतिहासिक स्थल बनाउने अभियानमा तीन तहकै सरकारले पर्याप्त बजेटको व्यबस्थापन गरिदिए केही वर्षमै गुरुयोजनाले पूर्णता पाउने छ ।
गुरुयोजनालाई पूर्णता दिन सके यस क्षेत्रलाई आन्तरिक एवं बाह्य ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सकिने, इतिहासकाबारेमा अध्ययन अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्न सकिने समितिका जगन्नाथ कार्की बताउनु हुन्छ ।
यसकारण बिर्सन सकिन्न गणेशमानलाई :
नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसक नेता विश्वेश्वरप्रसाद कोइरालालाई महामानव तथा युगपुरुषको उपनामले चिनिए जस्तै नेता गणेशमान सिंहलाई सर्वोच्च नेता तथा लौहपुरुषको उपनामले चिनिदै आएको छ ।  बिपी कोइरालाको पारिवारिक नाम सान्दाजु भएजस्तै गणेशमान सिंहको पारिवारिक नाम पनि हीराकाजी थियो ।
जेठा बाजे रत्नमानसिंह बडाकाजी भएकाले जेठा नातिलाई बडाकाजी परिवारको अत्यन्त महत्वपूर्ण निधि मानेर हीरा भन्ने गरिएको र बडाकाजी परिवारमा जन्मेकाले काजी भन्ने गर्दा गणेशमानलाई हीराकाजी भन्ने गरिन्थ्यो ।
उमेरले बिपी कोइरालाभन्दा १४ महिनामात्रै कान्छा गणशमान वि.सं. १९७२ कात्तिक २४ गते जन्मिनु भएको हो । त्यसैले पनि बिपी र गणेशमान समकालीन नेता र खुबीवान हुनुहन्थ्यो । दुवैका यस्ता खुबीले गर्दा भारतको वनारसमा जन्मेको नेपाली कांग्रेस पार्टीले २००७ सालमा नेपालबाट एकतन्त्रीय राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सफल भएको मात्रै भएन २०१५ सालको प्रथम आमनिर्वाचनमा दुई तिहाई मतसमेत ल्याउन सफल भएको मानिन्छ । बिपी र सिंहकै योगदानका कारण २०४८ सालको दोस्रो आमनिवार्चनमा पनि नेपाली कांग्रेसले नै बहुमत ल्याएको बताइन्छ ।
काठमाडौंको रानीपोखरीस्थित दरवार स्कुलमा राणाहरुका छोराछोरीलाई मात्र पढ्ने अवसर पाउँदा ६ कक्षामा पढ्दै गर्दा एकै कक्षाका राणाको छोरालाई तँ भन्ने शब्द प्रयोग गरेकै कारण विद्यालयबाट निकालिए पछि राणा शासन बिरुद्ध मनमा क्रान्तिको सुरुवात गरेको मानिन्छ । आठ वर्षको उमेरमै पिता गुमाउनु भएका सिंहले आफ्नो २४ वर्षको उमेरमा वि.सं. १९९६ सालदेखि नेपाल प्रजापरिषद्को सदस्य भई राणाशासन बिरोधी आन्दोलन र राजनीतिमा सक्रिय हुनु भएको थियो ।
वि.सं. १९९७ सालमा राणा विरोधी गतिविधिमा सक्रिय भएका कारण उनलाई सर्वश्वसहित आजीवन कारावास राखिएपछि वि.सं. २००१ साल असार ७ गते १२ फिट अग्लो भद्रगोलको पर्खाल नाघेर भाग्न सफल हुनुभएपछि गणेशमानले ‘वीर’ को प्रख्याति पाएको बताइन्छ ।
२०१५ सालको आमनिर्वाचनमा गणेशमान सिंह कांग्रेसको मन्त्रिपरिषद्मा मन्त्री भएपनि सन्तुष्ट हुन नसकेपछि पदको लागि राजनीत नगर्ने र देशका लागि लागिरहने घोषणा गरेको र २०४६ सालको ऐतिहासिक सफलतापछि तत्कालिन राजा बिरेन्द्रले दरबारमै बोलाएर प्रधानमन्त्री बन्न
प्रस्ताव राख्दा नमानेर कृष्णप्रसाद भट्टराईको नाम सिफारिस गरेपछि उहाँको उचाई अझै बढेको थियो ।
२०४६ सालको जनआन्दोलनमा कम्युनिष्टसँग मिलेर राजतन्त्र बिरोधी प्रजातन्त्र प्राप्तिको आन्दोलन सफल भएपछि जनतालाई जहानिया राणा र एकदलीय राजतन्त्रबाट मुक्त दिलाई जनतालाई स्वतन्त्रता प्रदान गर्ने महान व्यक्तित्व गणेशमानलाई सबैले सम्झनै पर्छ । नेता सिंहको २०५४ साल असोज २ गते निधन भएर उहाँको भौतिक शरीर नभएपनि यहाँको देश र जनताप्रतिको योगदान युगौयुग बाचिरहने छ ।–