“परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिता–२०८३” आयोजना
भक्तपुर, ८ जेठ : स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत सांगीतिक सम्पदाको संरक्षण, संवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले चाँगुनारायण नगरपालिका वडा नं. ९ ले “परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिता–२०८३” आयोजना गर्ने भएको छ ।
आज प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष गणेश त्यातले प्रतियोगिता आगामी जेठ १६ गते शनिबार फैढोकामा आयोजना हुने बताउनुभयो ।
उहाँले प्राचीनकालदेखि विभिन्न जात्रा, पर्व तथा धार्मिक–सांस्कृतिक कार्यमा अनिवार्य रुपमा बजाईने बाँसुरी बाजाको विशेष महत्व रहेको चर्चा गर्दै वडा कार्यालयले संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेर वडा कार्यालयबाट विनियोजित रु. पाँच लाख बजेटमा प्रतियोगिता आयाजना गर्न लागेको बताउनुभयो ।
कार्यक्रम संयोजक रविन बासुकलाले आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीका कारण परम्परागत बाँसुरी बाजा लोप हुने अवस्थामा पुगेको भन्दै यसको संरक्षणका साथै नयाँ पुस्तालाई मौलिक बाजा संस्कृतिसँग जोड्न प्रतियोगितन सफल हुने बताउनुभयो ।  वडासदस्य कमला गिरीले स्थानीय कला, संस्कृति र सांगीतिक परम्परा समुदायको पहिचानसँग जोडिएको चर्चा गर्दै यस्ता प्रतियोगिताले सांस्कृतिक जागरण र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
वडा सचिव सपना श्रेष्ठले बढीमा २० वटा टोली सहभागि हुने प्रतियोगितालाई सफल बनाउन विभिन्न ११ वटा उपसमिति गठन गरिएको जानकारी तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई प्रथम पुरस्कार स्वरूप रु. २५ हजार, द्वितीयलाई रु. १५ हजार, तृतीयलाई रु. १० हजार नगद तथा सान्त्वना पुरस्कारस्वरूप रु. ५ हजार र ट्रफी तथा प्रमाणपत्रसहित प्रदान गरिने संयोजक बासुकलाले बताउनुभयो ।
आयोजकले स्थानीय मौलिक कला, बाजा संस्कृति तथा रैथाने पहिचान संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगिताको प्रचार–प्रसारमा सहयोग गरिदिन सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सरोकारवाला निकायसँग आग्रह गरेको छ ।
सहभागी टोली दर्ताका लागि रु. १०० शुल्क तोकिएको छ भने दर्ता गर्ने अन्तिम मिति जेठ १३ गतेसम्म कायम गरिएको छ । बढीमा २० टोलीलाई मात्र सहभागिता गराइने र प्राथमिकता प्रि–बुकिङ तथा फाराम दर्ताका आधारमा दिइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रत्येक समूहमा कम्तीमा ९ जना र बढीमा १५ जना सहभागी हुनुपर्नेछ । कम्तीमा ७ जना बाँसुरीवादक अनिवार्य रहने तथा प्रत्येक समूहमा १ जना व्यवस्थापक वा गुरु हुनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा मौलिक तथा परम्परागत धुन मात्रै प्रस्तुत गर्न पाइनेछ भने मिक्स धुन निषेध गरिएको छ ।
प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा स्थानीय मौलिक धुन प्रस्तुत गरिनेछ भने दोस्रो चरणमा गोलाप्रथाबाट छनोट गरिएको धुन बजाइनेछ । प्रत्येक टोलीलाई १० मिनेट समय प्रदान गरिनेछ । कार्यक्रममा मौलिक पोशाक अनिवार्य गरिएको छ भने मञ्चमा नृत्य प्रस्तुत गर्न नपाइने व्यवस्था गरिएको छ । निर्णायक मण्डलले प्रस्तुति, वाद्यवादन, सुर–लय तथा समय व्यवस्थापनका आधारमा १०० पूर्णाङ्कमा मूल्याङ्कन गर्नेछ ।
एसईईको नतिजा २९ दिनमा आज सार्वजनिक, ६५.९८ विद्यार्थी उत्तीर्ण 
भक्तपुर, २८  बैशाख : राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको (२०८२ सालको) माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज राती सवा नौ बजे सार्वजनिक गरेको छ ।
सरकारले बैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम डेटलाइन दिएपछि बोर्डले तिब्र गतिमा तयारी गरि परीक्षा सम्पन्न भएको २९ दिनमै नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आज राती सवा नौ बजे गरेको पत्रकार सम्मेलनमा एसईइमा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पौडेलले जानकारी दिनुभयो ।
परीक्षामा २ लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र १ लाख ४६ हजार ५०७ परक्षिार्थी नन्ग्रेडेड भएको जानकारी दिनुभयो ।  यसपटक एसइईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षाको फाराम भरेकोमा चार लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएका थिए ।
नतिजाको अनुसार ४८ हजार ३९२ परीक्षार्थीले सबैभन्दा उच्च जीपीए अर्थात् ३.६० देखि ४.०० ल्याएका छन् । ८० हजार ३७२ जनाले ३.२० देखि ३.६० जीपीए ल्याएका छन् ।
त्यस्तै ९४ हजार २२२ जनाले २.८० देखि ३.२० जीपीए, ५५ हजार ९७७ जनाले २.४० देखि २.८० जीपीए,  पाँच हजार १९० जनाले २.०० देखि २.४० जीपीए र सात जनाले १.६० देखि २.०० जीपीए ल्याएका छन् ।
एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षा दिनु पर्नेछ । दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिनेछ र भने सोभन्दा बढी विषयमा एनजी आउनेले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने व्यबस्था गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
यसवर्ष एक महिना भित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गराएको थियो भने बैशाख ५ गतेसम्ममा देशैभरका कापी बोर्डको कार्यालयमा संकलन गरी नतिजा अध्यावधिक गर्ने, कम्प्युटरमा इन्ट्रि गर्ने कार्य थालिएको थियो ।  गतवर्ष असार १३ गते परीक्षाफल सार्वजनिक गरेको थियो ।
सूर्यविनायक मेयरकप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३’ को आज सम्पन्न फाइनल खेलमा पाण्डु बजार फुटबल क्लब विजेता
भक्तपुर, २६ बैशाख : ‘सूर्यविनायक मेयरकप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३’ को आज सम्पन्न फाइनल खेलमा पाण्डु बजार फुटबल क्लब विजेता भएको छ ।
सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना, सूर्यविनायक नगरपालिकाको सहयोगमा सूर्यविनायक नगरपालिका–८ हेल्दी फुटसलमा आज सम्पन्न फाइनल खेलको आजको फाइनल खेलमा  २–१ गोलअन्तरले पराजित गर्दै पाण्डुबजार फुटबल क्लब च्याम्पियन बनेको हो ।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । खेलमा भविष्य फाउन्डेसन बालकोटले सूर्यविनायक–१ लाई ६–२ गोलले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भयो भने सूर्यविनायक–१ ले सान्त्वनामा खुम्चिनु परेको थियो ।
विजेता टिमलाई नगर प्रमुख वासुदेव थापाले नगद रु. ६० हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा दोश्रो हुने हेल्दी फुटसललाई नगद रु. ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । तेश्रो हुने सूर्यविनायक–२ बालकोटको भविष्य फाउण्डेसनलाई नगद रु. २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने सूर्यविनायक वडा नं १ टिमलाई नगद रु. १० हजार, मेडल र प्रमाणपत्र नगर प्रमुख थापाले प्रदान गर्नुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी निर्भिक थापा, उत्कृष्ट गोलकिपर सविन जोशी श्रेष्ठ र उत्कृष्ट गोलकर्ता विवेक कवाङलाई जनही नगद रु. १० हजार, प्रमाणपत्र र मेडल प्रदान गरियो ।
कार्यक्रममा फुटसलको महिलातर्फको राष्ट्रिय खेलाडी एवं र सूर्यविनायकको स्थानीयवासीलाई अञ्जली मचामसीलाई नगर प्रमुख थापाले सम्मान गर्नुभयो ।
प्रतियोगितामा जिल्लाभरिबाट २५ वटा टिमबीच प्रतिस्पर्धा भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव एवं कार्यक्रमका सभापति दीपक थापाले बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिकाले शिक्षा, स्वास्थ्य र भौतिक सरचनाका विकासलाई विगत नौ वर्षदेखि गर्दै आएको र अहिले वर्ष खेलमैत्री नगर।पालिकाको रुपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने गरि प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदाको बिकासलाई तिब्र रुपमा अगाडि बढाएको बताउनु भयो । उहाँले विगत नौ वर्षमा नगरपालिकाले अधिकांश भौतिक संरचना, सडक, पुल निर्माण गरेको बताउदै अब खेलकुदको विकासलाई तिब्र रुपमा अगाडि बढाएर लैजाने बताउनुभयो ।
उहाँले अब खेलमैत्री नगरपालिकाको रुपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने गरि प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने बताउनुभयो ।
नगरपालिकाले आफ्नै नगरक्षेत्रमा बृहत खेलकुद मैदानका रुपमा रंगशाला निर्माण गर्ने बताउदै अब हरेक महिनामा एउटा खेलकुद प्रतियोगिता आयोजना गर्दै खेलाडीलाई खेलप्रति आकर्षित गर्न प्रोत्साहन गर्ने बताउनुभयो ।
नगरपालिकाले आफ्नै नगरक्षेत्रमा बृहत खेलकुद मैदान निर्माण गर्ने बताउदै हरेक महिनामा एउटा खेलकुद प्रतियोगिता आयोजना गर्दै खेलाडीलाई खेलप्रति आकर्षित गर्न प्रोत्साहन गर्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका आर्थिक विकास संयोजक एवं वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले नगरपालिकाले खेललाई प्राथमिकतामा राखेर नयाँ खेलाडी एत्पादन गर्नेदेखि युवा खेलाडीलाई प्रोत्साहनसम्मको कार्यक्रम अगाडि सारेको बताउनुभयो ।

खेलकुद पनि विकासको एउटा आधार भएको चर्चा गर्दै उहाँले खेल र खेलाडीको बिकासलाई नगरपालिकाले विकासको आधार बनाएर अगाडि बढ्ने बताउनु भयो । उहाँले युवा जनशक्तिलाई खेलप्रति आकर्षित गरेर युवा विकासको आधार पनि बनाउने उहाँले बताउनुभयो ।

प्रतियोगितामा जिल्लाभरिबाट २५ वटा टिमबीच प्रतिस्पर्धा भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव एवं कार्यक्रमका सभापति दीपक थापाले बताउनुभयो । खेलकुद प्रतियोगिताले खेल र खेलकुदको विकास गर्ने चर्चा गर्दै उहाँले खेलकुद विकास समिति गठन गरेसंगै सूर्यविनयकमा खेलकुदले गति लिएको बताउनुभयो । अनुशासनशील भएर प्रतियोगिता सम्पन्न भएको बताउदै उहाँले प्रतियोगिता सफल पार्न सहयाग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतियोगितामा जिल्लाभरिबाट २५ वटा टिमबीच प्रतिस्पर्धा भएको समितिका सदस्य सचिव थापाले बताउनुभयो । खेलकुद प्रतियोगिताले खेल र खेलकुदको विकास गर्ने चर्चा गर्दै उहाँले खेलकुद विकास समिति गठन गरेसंगै सूर्यविनयकमा खेलकुदले गति लिएको बताउनुभयो । अनुशासनशील भएर प्रतियोगिता सम्पन्न भएको बताउदै उहाँले प्रतियोगिता सफल पार्न सहयाग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमका सामाजिक विकास शाखाका प्रमुख तथा नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटा, वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, नगरपालिकाका शिक्षा शाखा प्रमुखलगायतले विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

एमाले सचिव महेश बस्नेत र मन्त्री किरण थापाद्धारा सुकुम्वासीहरुको अबस्थाबारे चासो, मन्त्री थापाले निःशुल्क उपचार सेवा सुरु गरेको जानकारी

भक्तपुर, २५ बैशाख : भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा सरकारले राखेको सुकुम्वासी स्थलमा पुगेर नेकपा एमालेका सचिव महेश बस्नेतले त्यहाँको अबस्थाबारे जानकारी लिएका छन् ।

सरकारले भक्तपुरको मनोहरा, काठमाडौंका्े बल्खु, माछापेखरी, किर्तिपुरलगायतका बिभिन्न ठाउँमा भत्काएको सुकुम्वासी बस्तीबाट ल्याएको सुकुम्वासीहरुसंग सचिव बस्नेतले यहाको अबस्थाकाबारेमा जानकारी लिएका थिए । सुकुम्वासीहरुसंग घेटघाट गरि कहिलेदेखि बस्तीमा बस्दै आएको, समस्या के के छन्, सरकारसंग के माग छ भन्नेबारेमा जानकारी लिएका थिए ।

त्यसैगरि वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले एमाले सचिव बस्नेतलाई सुकुम्वासीहरुको स्वास्थ्य उपचारको जिम्मा वागमति प्रदेशले लिएको र वागमति प्रदेश स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार नै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले भक्तपुर अस्पतालको प्राबिधिक सहयोगमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको जानकारी गराउनु भयो । चाँगुनारायण नगरपालिकास्थित श्रीमृष्ण माध्यमिक विदालयमा यहाँका बालबालिकालाई पठन पाठनका व्यबस्था मिलाउने जानकारी गराएको छ ।

त्यहाँ बसोबास गरिरहेका १९२ जना सुकुम्बासीहरूको अवस्था, पीडा र आवश्यकताबारे जानकारी लिको र स्वास्थ्य नै जीवनको पहिलो आधार भएकाले यहाँका नागरिकहरूको स्वास्थ्य अवस्था, उपचार पहुँच, सरसफाइ र आवश्यक सेवा प्रवाह गर्ने जनाएको छ । स्वास्थ्य शिविर, औषधि उपलब्धता र सहज स्वास्थ्य सेवाका कार्य प्रदेश सरकारले जारी राखेको जानकारी दिदै मन्त्री किरण थापाले राज्यको सेवा हरेक नागरिकसम्मस्वास्थ्य सेवाको सहज पहुँच पुर्याउने बताउनुभयो ।

हावाहुरी र वर्षाले सूर्यविनायक नगरपालिका–७, गुण्डूस्थित भैरबी आधारभूत बिद्यालयको छानो उडायो
भक्तपुर, २१ बैशाख : आज अपरान्ह अचानक आएको तिब्रगतिको हावाहुरी र वर्षाले सूर्यविनायक नगरपालिका–७, गुण्डूस्थित भैरबी आधारभूत बिद्यालयको छानो उडाउनुका साथै कक्षा कोठामा क्षति पुर्याएको छ ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले अपरान्ह तीव्रगतिमा आएको हावाहुरीका विद्यालयको जस्ताको छानो उडाउनुका साथै विद्यालयलाई ठूलो भौतिक क्षति पुगेको जानकारी दिनुभयो ।
उहाँले हावाहुरीले बिद्यालयको छानो उडाएर बिद्यालयको कार्यालय कक्ष, कम्युटर कक्षा र पुस्तकालयमा समेत ठूलो क्षति पुगेको जानकारी दिनुभयो । यसबाट पठनपाठन कार्य अबरुद्ध नहुने भएपनि कम्प्युट कक्षा सञ्चालन अबरुद्ध हुने र कार्यालयसमेत सार्नु पर्ने अबस्था आएको बताउनुभयो ।
मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
भक्तपुर, ४ बैशाख : वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन गरि गुणस्तरीय सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । उहाँले अस्पतालले प्रदान गरेका सेवाहरुकोबारेमा जानकारी लिदै अस्पतालको नयाँ तथा पुरना भवनमा विरामीलाई दिईरहेको सेवा र सुबिधाकाबारेमा जानकारी लिनुभयो ।
अस्पताल भवन अभाव भएपछि अस्प्तालको पुरानो भवन भत्काएर सोही ठाउँमा सुबिधा सम्पन्न नयाँ भवन निर्माणका लागि वागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाको सिफारिसमा माग भएअनुसार भवन निर्माणका लागि प्रदेश मन्त्रिपरिषदले ६२ करोड रूपैयाको बजेट सुनिश्चित गरेको बताउनु भयो ।
उहाँले चालू आर्थिक वर्षमै अस्पताल भवन निर्माणको प्रक्रिया पुरा गर्ने गरि बजेट निकासाको प्रक्रियालाई प्रदेश फर्किए लगत्तै टुङ्याउने बताउनुभयो । कार्यक्रममा वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले अस्पतालको नयाँ भवन अपरिहार्य रहेको बताउदै भक्तपर अस्पताल देशकै नमूना उत्कृष्ठ अस्पताल बनेकोमा प्रंशसा गर्नुभयो ।
मुख्यमन्त्री बानियाँसहितको टोलीलाई अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले अस्पतालको वर्तमान अबस्थाकाबारेमा जानकारी गराउनु भयो । अस्पतालका निर्देशक डा. सुरेन्द्र भट्टले अस्पतालले दिदै आएको सवा, बिस्तारिस सेवा, जडित पैबधि एवं उपकरणहरु, बहिरंग, अन्तरंगदेखि शल्यक्रियासम्मका प्रगति र भावी योजनाकाबारेमा जानकारी गराउनु भएको थियो ।

बानियाँद्धारा ख्वप अस्पतालदेखि सम्पदासम्मको अवलोकन :

मुख्यमन्त्री बानियाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको निरीक्षण गर्दै अस्पतालले प्रवाह गरेको सेवाकाबारेमा चासोका साथ निरीक्षण गर्नु भएको थियो ।
नगरपालिकाद्धारा सञ्चालित ख्वप ईन्जिनियरिङ्ग कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ्ग, ख्वप कलेज, ख्वप मावि र निर्माणाधीन अरनिको सभाभवनको स्थलगत अवलोकलन गर्नुका साथै भक्तपुरका ऐतिहासिक सम्पदाहरुको समेत अवलोकन गर्नु भएको थियो ।
मुख्यमन्त्री बानियाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायत आफ्नै पहलमा गरिरहेको कार्य सराहनीय रहेको बताउनुहुँदै स्थानीय तहले सञ्चालन गरेको अस्पताल प्रादेशिक सरहको मान्यता दिन आवश्यक कानुन संशोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख प्रजापतिले मुख्यमन्त्री बानियाँलाई भक्तपुर नगरपालिकाद्धारा सञ्चालित अस्पताल, शैक्षिक संस्थाहरुदेखि सम्पदासम्मको अवलोकन गराउदै त्यसबारे जानकारी गराउनु भएको थियो ।
भक्तपुरमा पहिलो शनिवार भक्तपुर वाइल्ड फायर नाइट हुदै
भक्तपुर, ४ बैशाख : नयाँवर्ष २०८३ सालको अवसरमा भोली शनिवार प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापाको प्रस्तुती एकै मञ्चमा हेर्न पाइने भएको छ ।  भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना भइरहेको ‘दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले आयोजना गर्ने भक्तपुर वाइल्ड फायर नाइटमा चर्चित गायकहरुको दमदार प्रस्तुतीलाई दर्शकहरुले अगाडिबाटै नियाल्न पाउने भएका हुन् ।
भक्तपुरमै पहिलो पटक भक्तपुरको महोत्सवस्थलमै प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापाको प्रस्तुती रहने गरि भक्तपुर वाइल्ड फायर नाइटो आयोजना गरिएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।
कन्सर्टमा दुश्मन हेरेको हेरैलगायतका दर्जनौ चर्चित गीत गाएका थापा र चर्चित गायम खरेल एण्ड परम्परा ब्याण्डको भव्य प्रस्तुती रहने उहाँले जानकारी दिनुभयो । अध्यक्ष महतले भक्तपुरमा पहिलो पटक दुर्गेश र खरेलले एकै मञ्चमा र एकै पटक प्रस्तुती दिन लागेको जानकारी दिदै यो जोडीको प्रस्तुती हेर्न हजारौ दर्शकको आगमन हुने गरि तयारी पुरा गरेको जानकारी दिनुभयो ।
कन्सर्ट हेर्न चाहनेले खल्ती लगायतका एप्स प्रयोग गरी २५० र ५०० रुपैयाँको टिकट लिन सक्ने व्यवस्था मिलाइएको अध्यक्ष महतको जानकारी दिनुभयो । महोत्सवमा यसअघि दैनिक रुपमा राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको गीत, संगीतले महोत्सव तताईरहेका छन् ।
चर्चित गायक रामकृष्ण ढकालदेखि गायिका रचना रिमालसम्मले महोत्सवलाई उत्सवमय बनाएका छन् । लोकगायक नवराज घोरासैनीदेखि गायितका एलिना चौहान, मञ्जु पौडेल, रोज मोक्तान, मदन बिष्ट, रमेश मेलोडी, जंकि रोयल्स ब्यण्ड, भोजराज काफ्लेलगायत दर्जना कलाकारको दैनिक प्रस्तुतीले साँगीतिक महोत्सवमय बनेको छ । महोत्सवको आज नवौ दिनसम्म करिब एक लाख दर्शकले अवलोकन गरिसकेका छन् भने महोत्सव बैशाख ७ गते सम्पन्न हुने महोत्सवका संयोजक दिपक थापाले जानकारी दिनुभयो ।
एसईई परीक्षा बिहिबारबाट सुरु हुदै, पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागि
भक्तपुर, १८ चैत ः यसवर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भोली १९ गते बिहिबारदेखि जापानको एक परीक्षा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेबाट एकैसाथ सुरु गर्ने एसईई परीक्षाको सबै तयारी पुरा भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘परीक्षाको सबै तयारी पुरा गरेका छौं, हिजो मात्रै सबै जिल्ला परीक्षा समन्वय समितिका प्रमुखहरुसंग जुम बैठक सम्पन्न गर्यौ, सबै जिल्लामा सहज र शान्तिपूर्ण रुपमा परीक्षा हुनेमा ढुक्क छौं, विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सहभागि हुन आव्हान गर्दर्छौ ।’
चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिने उहाँले जानकारी दिनुभयो । परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् भने परीक्षा दिने छन् । परीक्षा दिनेमा दुई लाख ५७ हजार ६१३ जना छात्रा, दुई लाख ५४ हजार ८०७ छात्र र अन्य ७ जना परीक्षार्थ रहेका छन् ।
उहाँका अनुसार परीक्षामा सात प्रदेश मध्ये कोशी प्रदेशबाट ८२ हजार ४८७ जना, मधेश प्रदेशबाट ९० हजार २४३ जना, वागमती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदुर पश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागि हुनेछन् ।
परीक्षा नियन्त्रक अधिकारीका अनुसार भोली परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछन् ।
बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो । पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायांकन गर्न वा तस्विर लिन मिल्ने जानकारी दिदै उहाँले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
परीक्षाका लागि सातै प्रदेशमा फरक प्रश्न पत्र छपाई गरि प्रश्नपत्र  सबै जिल्लामा पुगेको जानकारी दिदै उहाँले परीक्षामा सोधिने प्रश्न ६ वटै अनिवार्य विषयका प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको र यदि कतै प्रश्नपत्र बाहिरियो भने पनि सम्बन्धित प्रदेशको निश्चित विषयको मात्र परीक्षा रद्ध गरि पुनः प्रश्नपत्र छपाई गर्न सकिने व्यबस्था गरिएको जानकारी दिनुभयो ।
प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरे अनुसार आवश्यकताको आधारमा सुरक्षाकर्म परिचालन हुनेछन् । यद्यपी प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कायालय सहयोगी र अन्य दुई कर्मचारीको व्यबस्था गरिएको बोर्डले जानकारी दिएको छ ।
उहाँले बालसुधार गृहका परीक्षार्थीलाई नजिकैको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यबस्था गरिएको छ । विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीका हकमा अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ । तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकालाई थप एक घण्टा ३० मिनेट समय दिइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने व्यबस्था गरिएको छ ।
प्रधानमन्त्रीको निर्देशनसंगै एक महिनामा नतिजा प्रकाशन गर्ने :
प्रधानमन्त्री बालेन्द्र शाहले १५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न बोर्डलाई निर्देशन दिनुभए पछि बोर्डले एक महिनामै नतिजा सावजनिक गर्ने भएको छ ।
बोर्डले व्यस्त कार्यतालिका र प्राविधिक कारणले १५ दिनमा नतिजा सार्वजनिक गर्न नसकिने जानकारी गराउदै एक महिनाभित्र प्रकाशित गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । यसअघि बोर्डले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्नेगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तालिका बुझाएको थियो । परीक्षा नियन्त्रक अधिकारीले विगतका वर्षहरुमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने र यस वर्ष एक महिना भित्रै परीक्षाफल सार्वजनिक गर्ने गरि तयारी गरिएको जानकारी दिनुभयो ।
यसवर्ष परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच परीक्षा भएको विषयको सोही दिन परीक्षा केन्द्रमा परीक्षक र संपरीक्षकहरुले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धांकपत्र शिक्षा विकास तथा समन्वय ईकाईमा पठाउने व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाईले तोकिएको समयमा लब्धांकपत्रहरु परीक्षा नियन्त्रण कार्यालय पठाउने व्यबसथा गरिएको छ ।
माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको तयारी पुरा
भक्तपुर, १३ चैत : राष्ट्रिय परीक्षा बोर्डले यहीँ चैत १९ देखिदेखि देशभरका सबै परीक्षा केन्द्रबाट एकै समयमा सुरु गर्ने यसवर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको तयारी पुरा गरेको छ । चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा  यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा दिने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो ।
परीक्षा दिनेमा छात्राको संख्या बढी :
जसमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा छात्राको संख्या बढी रहेको छ ।
यसवर्ष दुई लाख ५७ हजार ६१३ जना छात्रा, दुई लाख ५४ हजार ८०७ छात्र र अन्य ७ जना परीक्षामा सहभागि हुने भएका छन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिदैछन् ।
सबभन्दा बढी विद्यार्थी वागमती, कम कर्णाली :
यसवर्ष सात प्रदेश मध्ये कोशी प्रदेशबाट ८२ हजार ४८७ जना, मधेश प्रदेशबाट ९० हजार २४३ जना, वागमती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदुर पश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागि हुनेछन् ।
बोर्डले परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छभने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागि हुने भएका छन् । परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो ।
यस्तो छ परीक्षा तालिका :
चैत १९ गते विहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
परीक्षा अनुगमनमा रोक : 
बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो व्यापक आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको उहाँले जानकारी दिनुभयो ।
अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिर मात्र अनुगमन गर्ने बोर्डले निर्णय गरेको उहाँले जानकारी दिनुभया ।
पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायांकन गर्न वा तस्विर लिन मिल्ने जानकारी दिदै उहाँले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।  परीक्षा हलभित्र दृश्य छायाकन गरी सामाजिक सञ्जालमा राखेर विद्यार्थीमा विचलन नल्याउन बोर्डले सबैमा आग्रह गरेको छ ।
जिल्ला जिल्ला पुग्यो प्रश्नपत्र :
परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका लागि सबै जिल्लामा प्रश्नपत्र पुर्याएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाई सम्पन्न गरेको प्रश्नपत्र ढुवानी  गरि सुरक्षा नियकाको सहयोगमा सब जिल्लामा पुर्याई सकेको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो ।
सातै प्रदेशमा फरक प्रश्न पत्र छपाई गरिएको छ । उहाँका अनुसार परीक्षामा सोधिने प्रश्न ६ वटै अनिवार्य विषयका प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको र यदि कतै प्रश्नपत्र बाहिरियो भने पनि सम्बन्धित प्रदेशको निश्चित विषयको मात्र परीक्षा रद्ध गरि पुनः प्रश्नपत्र छपाई गर्न सकिने व्यबस्था गरिएको छ ।
यस्तो छ सुरक्षा व्यबस्था :
प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरे अनुसार आवश्यकताको आधारमा सुरक्षाकर्म परिचालन हुनेछन् । यद्यपी प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कायालय सहयोगी र अन्य दुई कर्मचारीको व्यबस्था गरिएको बोर्डले जानकारी दिएको छ ।
शिक्षाकर्मी डा. राजेन्द्र कोजूको कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ को विमोचन
भक्तपुर । कवि, राजनीतिक विश्लेषक तथा शिक्षाकर्मी डा. राजेन्द्र कोजूको कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ को विमोचन तथा परिचर्चा कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ। अनुशीलन नेपाल र भक्तपुर रोम्बस सेकेन्डरी स्कुलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उनको छैटाैं कविता सङ्ग्रह विमाेचन गरिएको हाे ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार सूर्यप्रसाद लाकोजूको उपस्थिति रहेको थियो भने विशेष अतिथिका रूपमा शिक्षक तथा कवयित्री अम्बिका धिताल सहभागी थिइन्।
कार्यक्रममा प्रमुख अतिथि सूर्यप्रसाद लाकाेजु, विशेष अतिथि अम्बिका धिताल र सम्पादक जीवनाथ अधिकारीले संयुक्त रूपमा कवितासङ्ग्रहको विमोचन गरेका थिए। सो अवसरमा प्रमुख अतिथि सूर्यप्रसाद लाकोजूले डा. कोजूका कविताहरू विचारप्रधान, चेतनामूलक र समाजसँग प्रत्यक्ष संवाद गर्ने प्रकृतिका रहेको उल्लेख गरे। उनले “कविताले मानिसलाई ऊर्जा प्रदान गर्छ, अक्षरले मानिसलाई जोड्छ, तर राजनीतिले मानिसलाई विभाजन गर्छ,” भन्दै साहित्यको एकतामूलक भूमिकालाई औंल्याए।
लाकोजूले सृजनाका लागि साधना र अध्ययन अपरिहार्य रहेको बताउँदै वर्तमान समयमा कृत्रिम बुद्धिमत्ता (एआई) ले समेत कविता लेख्ने सन्दर्भ उठाए। उनले एआईमार्फत सिर्जना हुने कविताले सर्जकको मौलिकता र व्यक्तित्वलाई चुनौती दिन सक्ने भन्दै सच्चा सृजनाका लागि मानवीय संवेदना, अनुभव र साधनाको महत्व झनै बढेको उल्लेख गरे। साथै उनले शिक्षाकर्मीले साहित्य सिर्जना गर्दै समाजमा प्रेरणादायी व्यक्तित्व निर्माण गर्ने भूमिका खेलेको बताउँदै “कविता व्यक्तिको रहर मात्र होइन, यो समाजप्रतिको उत्तरदायित्व पनि हो,” भने।
विशेष अतिथि अम्बिका धितालले कविताका विभिन्न आयाम, संरचना र तत्वबारे चर्चा गर्दै कविताले समाजका पीडा, विद्रोह र चेतनालाई अभिव्यक्त गर्ने माध्यमका रूपमा काम गर्ने बताइन्। उनले डा. कोजूका कवितामा अन्याय, अत्याचार, शोषण र दमनविरुद्ध सशक्त स्वर रहेको उल्लेख गर्दै यस्ता सिर्जनाले समाजमा चेतना र परिवर्तनको आधार निर्माण गर्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रमका वक्ताहरूले स्रष्टाको अनुभव, अध्ययन र सामाजिक प्रतिबद्धताबाट जन्मिएका सिर्जनाहरूले समाजलाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए ।
प्रकाशित कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ मा कुल १११ वटा मध्यम आकारका कविता तथा १६ वटा चार हरफे मुक्तक शैलीका कविता समावेश छन्। कविताहरूले व्यक्ति, समाज, राजनीति, नैतिक मूल्य, मानवीय संवेदना र चेतनाका विविध पक्षलाई समेटेका छन्।
कार्यक्रममा सञ्चारकर्मी हरिसुन्दर छुकांले डा. कोजूको जीवनी, कवित्व र कृतित्वमाथि विस्तृत प्रस्तुति दिएका थिए। उनले डा. कोजूको साहित्यिक यात्रालाई साधना, अध्ययन र समाजप्रतिको उत्तरदायित्वसँग जोडिएको निरन्तर सृजनात्मक साधनाका रूपमा व्याख्या गरे। उनका अनुसार डा. कोजूले शिक्षण पेशासँगै साहित्य सिर्जनालाई जीवनको अभिन्न अङ्गका रूपमा अघि बढाएका छन्।
त्यसैगरी कवि डिल्लीप्रसाद मूलतिहुनले कवितावाचन गर्दै कार्यक्रममा साहित्यिक ऊर्जा थपेका थिए। कार्यक्रममा स्वयं स्रष्टा डा. कोजूले पनि आफ्नो नयाँ कृतिबाट चयन गरेका कविताहरू वाचन गरेका थिए। उनको कवितावाचनले कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूलाई भावनात्मक र वैचारिक रूपमा गहिरो प्रभाव पारेको थियो। विमाेचन तथा परिचर्चा कार्यक्रममा साहित्य, शिक्षा र सामाजिक चेतनाबीचको सम्बन्धमाथि विमर्श गरिएको थियो। उनले आगामी दिनमा शिक्षकहरूकाे रचना संकलन गरी कविता सङ्ग्रह प्रकाशित गर्ने समेत घाेषणा गरे ।
डा. कोजूका प्रकाशित कृतिहरूमा `घोडा उसको वा ऊ घोडाको?´, `विशेषणमा बाँचेको देश,  `हृदयका प्रतिबिम्ब´ (संयुक्त कवितासङ्ग्रह), `चित्र र चरित्र´, `इमानको धरहरा´ (कवितासङ्ग्रह) तथा `निर्भीक आवाजहरू´ (लेखसङ्ग्रह) रहेका छन्। यी कृतिहरूमार्फत उनले समाजका यथार्थ, मानवीय संवेदना, नैतिकता र समकालीन विडम्बनालाई साहित्यिक अभिव्यक्तिमा उतारेका छन्। कार्यक्रमको उद्घोषण डा. मेरिट कोजूले गरेकी थिइन् भने सभापतित्व अनुशीलन प्रकाशनका अध्यक्ष जीवनाथ अधिकारीले गरेका थिए।