समानुपातिक वितरण गरेर समृद्धि हासिल गर्न सकिन्छ : अध्यक्ष ओली

काठमाडौँ, ४ साउन :(नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उत्पादन र उत्पादनका सम्बन्धमाथिको पहुँचमा समानुपातिक वितरण गरेर मात्रै समृद्ध नेपाल निर्माण हुनसक्ने बताउनुभएको छ ।

एमालेको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले जनतालाई सुखी र सम्मुन्नत बनाउन आगामी निर्वाचनमा एमालेलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा देखिएको अराजकता अब स्वीकार्य नहुने पनि स्पष्ट गर्नुभयो । प्रशिक्षणमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

सांसद रावलले रुलिङको माग गरेपछि …

काठमाडौँ, ४ साउन :सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गर्नुभयो । प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाड र परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपिपीमा सहभागी नहुने भन्ने जानकारी गराइसक्नु भएको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न माग गर्नुभयो ।

मन्त्रिपरिषदले एसपिपीमा सहभागाी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उहाँले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राख्नुभयो । सभामुखको आशनमा रहनुभएका सांसद सत्या पहाडीले पटक–पटक सांसद रावललाई आशन गर्न आग्रह गर्नुभए पनि सांसदले एसपिपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउपर्ने माग रोष्टममै उभिएर जारी राख्नुभयो ।

बैठकमा, ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो । सो प्रस्तावमा सांसदहरुहरु शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राख्नुभएको थियो । सो प्रस्तावमा धारणा राख्न रोष्टममा पुग्नुभएका सांसद रावलले एसपिपीको विषय उठाएर सरकारलाई रुलिङ गर्न माग गर्नुभएको हो ।

उहाँले सरकारलाई सहयोग गर्नका लागि नै यस्तो माग राखेको बताउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाले पनि पटक–पटक विषयान्तर भएको भन्दै आशन ग्रहण गर्न आग्रह गर्नुभयो । पटक पटकको आग्रहलाई सांसद रावलले अस्वीकार गर्नुभएपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको छ ।

विचार मिल्ने दलसँग सहकार्य हुन्छ : महासचिव पोखरेल

काठमाडौँ, ४ साउन : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको नीति र विचार मिल्ने दलसँग आगामी निर्वाचनमा सहकार्य गर्ने बताउनुभएको छ । एमाले प्रचार तथा प्रकाशन विभागले आज यहाँ अनलाइनका सम्पादकसँग गरेको अन्तक्र्रियामा उहाँले आगामी निर्वाचनमा विभिन्न दलसँग सहकार्य गर्ने विषयमा छलफल चलिरहेको बताउनुभयो । “मुख्यतः एमालेको नीतिसँग मेल खाने दलसँग हामी आगामी निर्वाचनमा सहकार्य गर्ने छौँ”, महासचिव पोखरेलले भन्नुभयो, “एमालेले जसलाई मित्र ठान्यो उसैसँग सहकार्य हुन्छ ।” उहाँले पार्टी फुटे पनि त्यसको असर नगन्यरुपमा देखिएको बताउनुभयो ।

उहाँले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन बने आफूहरू एक्लै निर्वाचनमा होमिएर विजय प्राप्त गर्ने भनाइ राख्नुभयो । महासचिव पोखरेलले मुलुकमा जति धेरै पार्टी भयो त्यति नै मुलुक अस्थिर हुने र वैदेशिक हस्तक्षेप बढ्ने बताउनुभयो । उहाँले मुलुक निर्माणका लागि बलियो राजनीतिक शक्ति आवश्यक रहेको र त्यो दिशामा एमाले अगाडि बढ्ने बताउनुभयो ।

महासचिव पोखरेलले मुलुकमा पुरानो नेतृत्वलाई विस्थापित गर्न सके पनि नयाँ नेतृत्व र वर्गलाई स्थापित गर्न नसकेको बताउनुभयो । उहाँले २०६२/६३ को जनआन्दोलनले सबै समस्यालाई समाधान गर्छ भन्ने लागेको भए पनि त्यो पूरा नभएको स्पष्ट पार्नुभयो । एमालेका उपमहासचिव पृथ्वीसुब्वा गुरुङले पार्टी र सम्पादकसँग खाडल पुर्न तथा पार्टीले सुधार्नुपर्ने कुराको सुझाव सङ्कलन गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

असारमा एक अर्ब विकास बजेट खर्च

दमौली, ४ साउन : तनहुँ जिल्लाका लागि आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय र प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये असार महिनामा मात्रै रु एक अर्ब भन्दा बढी विकास बजेट खर्च भएको छ । सङ्घ र प्रदेश सरकारबाट विनियोजित विकास बजेटमध्ये असार महिनामा मात्रै रु एक अर्ब २५ करोड ३९ लाख दश हजार एक खर्च भएको हो । उक्त आर्थिक वर्षमा विकास बजेटका लागि रु पाँच अर्ब ९५ करोड ३६ लाख ४६ हजार ६९० विनियोजन भएको थियो ।

सङ्घ सरकारबाट रु तीन अर्ब ६२ करोड २९ लाख ६३ हजार ६९० र प्रदेश सरकारबाट रु दुई अर्ब ३३ करोड छ लाख ८३ हजार विकास बजेट विनियोजन भएको थियो । त्यसमध्ये एक महिनामा मात्रै २१ प्रतिशत विकास बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो । सङ्घ सरकारबाट विनियोजित बजेटमध्ये विभिन्न कार्यालयले असारमा रु ५३ करोड ९४ लाख चार हजार ३६८ र प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये रु ७१ करोड ४५ लाख पाँच हजार ६३३ पुँजीगत बजेट खर्च गरेका छन् ।

सङ्घ र प्रदेश सरकारबाट गरी उक्त आर्थिक वर्षमा रु तीन अर्ब १२ करोड ६१ लाख नौ हजार ८३५ खर्च भएको छ । उक्त वर्षका लागि पुँजीगततर्फ रु पाँच अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६९० खर्च भएको छ । एक वर्षको अवधिमा कूल बजेटको ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा सङ्घ सरकारबाट पूँजीगततर्फ रु तीन अर्ब ५८ करोड एक लाख ८७ हजार पाँच सय विनियोजन भएकामा ४५.५३ प्रतिशत बजेट खर्च भएको थियो ।

असार महिनामा मात्रै सङ्घ सरकार मातहतको आन्तरिक राजस्व कार्यालयले रु ८३ लाख २४ हजार १९२, बाख्रा अनुसन्धान केन्द्रले रु २३ लाख ४२ हजार २२२, जिल्ला प्रहरी कार्यालय तनहुँले रु एक करोड ५७ लाख २९ हजार ४९४, दङ्गा नियन्त्रण प्रहरी गणले रु ११ लाख ९२ हजार ७०९, भानुभक्त प्राणी उद्यानले रु ७१ लाख १२ हजार ५१३, सडक डिभिजन कार्यालयले रु २३ करोड छ लाख ५१ हजार २९० खर्च गरेको छ । मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) ले रु १६ करोड ७३ लाख ९० हजार ३५०, नयाँ सहर आयोजना डुम्रेले रु दुई करोड ३३ लाख १८ हजार २३३, शिक्षा विकास तथा समन्वय इकाईले रु तीन करोड ३८ लाख २७ हजार ७७७, भानु नगरपालिकाले रु ३१ लाख ८७ हजार, भिमाद नगरपालिकाले ४४ लाख ३७ हजार ६०९व्यास नगरपालिकाले रु ३४ लाख ७१ हजार ३१२ असार महिनामा मात्रै खर्च गरेका छन् ।

ऋषिङ गाउँपालिकाले रु आठ लाख ७० हजार, देवघाट गाउँपालिकाले रु एक करोड २३ लाख ३० हजार ६८७ र म्याग्दे गाउँपालिकाले रु ६८ लाख ३५ हजार ५१३ एक महिनामा खर्च गरेको कार्यालयले जनाएको छ । यो अवधिमा सबैभन्दा बढी रकम खर्च मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) र सडक डिभिजन कार्यालयले गरेको छ । मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) ले रु ५७ करोड चार लाख ४२ हजार ९६ र सडक डिभिजन कार्यालयले रु ४३ करोड ७९ लाख ८५ हजार ८८० खर्च गरेको छ । प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले असार महिनामा मात्रै रु २२ करोड १८ लाख ६३७, कृषि ज्ञान केन्द्रले रु नौ लाख २९ हजार ८०६ व्यावसायिक किट विकास केन्द्रले रु ३१ लाख ४३ हजार ६१६, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु ५७ लाख १२ हजार ३५७, डिभिजन वन कार्यालयले रु ९८ लाख ८८ हजार ७२४, भू तथा जलाधार व्यवस्थापन कार्यालयले रु दुई करोड तीन लाख ८० हजार १६४, पूर्वाधार विकास कार्यालयले रु ३२ करोड २३ लाख ३४ हजार, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले रु २४ करोड ३६ लाख ९ हजार, सामाजिक विकास कार्यालयले रु एक करोड ३५ लाख १५ हजार खर्च गरेका छन् ।

चालु र पुँजीगत गरी रु साढे दुई अर्ब फिर्ता सङ्घ सरकारबाट विनियोजित कूल १२ अर्ब ६७ करोड ६२ लाख ९७ हजार दुईमध्ये उक्त आर्थिक वर्षमा खर्च हुन नसकेर रु दुई अर्ब ६६ करोड ८३ लाख ३० हजार ३४ फिर्ता भएको छ । चालुतर्फ रु ४३ करोड पाँच लाख ३० हजार र पुँजीगततर्फ रु दुई अर्ब २३ करोड ७७ लाख ९९ हजार फिर्ता भएको छ । चालुतर्फ रु नौ अर्ब पाँच करोड ३३ लाख ३३ हजार ३१२ र पुँजीगततर्फ रु तीन अर्ब ६२ करोड २९ लाख ६३ हजार ६९० बजेट विनियोजन भएको थियो । चालुतर्फ भने ९५ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ रु आठ अर्ब ६२ करोड २८ लाख दुई हजार ८८७ बजेट खर्च भएको छ । चालुतर्फ कर्मचारी, शिक्षक लगायतको बजेट रहने भएकाले खर्च बढी हुने गरेको कार्यालयले जनाएको छ ।

अन्योलमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण

काठमाडौँ, ४ साउन : एसपीपी अघि नबढाउने निर्णयसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणसमेत अन्योलमा परेको छ। स्रोतका अनुसार एसपीपी प्रकरण अघि अमेरिकाले भ्रमणका लागि दुईवटा मिति प्रस्ताव गरेको थियो। पहिलो मिति जुलाई १४ बाट भ्रमण थाल्ने गरी प्रस्ताव गरिएको थियो भने दोस्रो मिति जुलाई २७ बाट भ्रमण थाल्ने गरी प्रस्ताव गरिएको थियो।

अमेरिकाले प्रस्ताव गरेको मिति अनुसार परराष्ट्र मन्त्रालय, अमेरिकी दूतावास र वासिङ्टनस्थित नेपाली दूतावासले भ्रमणको तयारी अघि बढाएका थिए। तर, सरकारले एसपीपीमा नेपाल अघि बढ्ने निर्णय गरेपछि अमेरिकाले देउवालाई निम्त्याउन अनिच्छा देखाएको परराष्ट्रका अधिकारीहरु बताउँछन् ।

अमेरिकाले प्रधानमन्त्री देउवाको भ्रमणमा हस्ताक्षर गर्नेगरी सैन्य सम्झौताको मस्यौदा सरकारलाई बुझाएको थियो। देउवाको भ्रमणमा उक्त रणनीतिक महत्वको सम्झौता गराउने अमेरिकी रणनीतिमा ‘ब्रेक’ लागेपछि भ्रमण रोकिएको सत्तारुढ दलका नेताको पनि बुझाइ छ।

सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताअघि एसपीपीमा अघि नबढ्ने निर्णयपछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको खुलासा गरेका थिए। यद्यपि परराष्ट्रमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले प्रधानमन्त्रीको भ्रमण रद्द नभएको दाबी गरिन्।

सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने सम्बन्धमा अमेरिकालाई पत्राचार गर्न आनाकानी गरेको छ। मन्त्रिपरिषद् बैठकले एक महिनाअघि एसपीपी अघि नबढाउने निर्णय लिएको थियो। तर, त्यो निर्णयको कार्यान्वयन अझै हुन सकेको छैन। एसपीपीमा नेपाल अघि नबढ्नका लागि परराष्ट्र मन्त्रालयले अमेरिका सरकारलाई कूटनीतिक च्यानलबाट चिठी लेख्नुपर्ने थियो।

तर, मन्त्रिपरिषदको निर्णयको एक महिना बिते पनि त्यसबारे परराष्ट्रले अमेरिकालाई चिठी लेखेको छैन। बरु परराष्ट्रले दुई साताअघि एसपीपीबारे के गर्ने भन्दै रक्षा मन्त्रालयलाई चिठी लेखेर राय मागेको छ। ‘एसपीपीमा अघि नबढ्ने निर्णयमा के गर्ने भन्नेबारे रक्षा मन्त्रालयलाई पत्र लेखिएको छ। रक्षाले नेपाली सेनासँग थप सोधेर सेनाले के राय दिन्छ, त्यसैअनुसार अघि बढ्ने भन्ने नीति छ’ परराष्ट्रका एक अधिकारीले भने।

परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता सेवा लम्सालले एसपीपीका सम्बन्धमा कसरी अघि बढ्ने भन्नेबारे सरकारी निकायबीच छलफल भइरहेको बताइन्। उनले एसपीपी अघि नबढाउने मन्त्रिपरिषद्को निर्णयबारे अमेरिकालाई पत्राचार गर्ने बिषय अध्ययनकै क्रममा रहेको बताइन्।

‘मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा हामीले रक्षा मन्त्रालय, नेपाली सेना लगायत निकायसँग परामर्श गरिरहेका छौँ’  प्रवक्ता लम्सालले भनिन्। रक्षा मन्त्रालयले पनि परराष्ट्रको पत्र प्राप्त भएको जनाएको छ। परराष्ट्रको पत्र प्राप्त भए पनि अब के गर्ने भन्नेमा मन्त्रालयका कर्मचारीमा अन्योल छ।

‘मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्ने निकाय परराष्ट्र हो। तर, फेरि हामीलाई पत्र लेखेर के भन्न खोजिएको बुझ्न सकिएको छैन’ रक्षाका एक अधिकारीले नेपालखबरसँग भने। अहिले रक्षा मन्त्रालयको जिम्मेवारीमा प्रधानमन्त्री शेरबहादुर देउवा आफैं छन्। अमेरिकाले प्रस्ताव गरेको एसपीपी सम्बन्धी सैन्य सम्झौता विवादमा परेपछि प्रधानमन्त्री देउवा आफैंले मन्त्रिपरिषदमा ठाडो प्रस्ताव लगेर एसपीपी अघि नबढाउने निर्णय गराएका थिए।

त्यसैअनुसार एक महिनाअघि मन्त्रिपरिषदले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने निष्कर्षसहित एसपीपी अघि नबढाउने निर्णय लिएको थियो। सरकारले अमेरिकालाई पत्र लेख्न हिच्किचाउनुका पछाडि अमेरिकी दबाव हो कि भन्ने आशंका उत्पन्न भएको छ। नेपालस्थित अमेरिकी दूतावासका उच्च अधिकारीले प्रधानमन्त्री देउवालाई भेटेर मन्त्रिपरिषदको निर्णयप्रति असन्तुष्टि जनाएपछि सरकार हच्किएको जानकार एक अधिकारीको भनाइ छ।

 

थप ३९१ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ, ४ साउन  : पछिल्लो समय ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ९८१ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले ललितपुरमा २२, भक्तपुर नौ र काठमाडौँमा १८५ जनामा सङ्क्रमित पुष्टि भएको जानकारी दिनुभयो । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २७६ रहेका छन् । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २७० पुगेको छ । विगत २४ घण्टामा ४६ जना सङ्क्रमणमुक्त भएका छन् ।

काठमाडौँ जिल्लामा ५०० बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेशनमा दुई हजार १४३, संस्थागत आइसोलेशनमा १३३ र सघन उपचार कक्ष (आइसियु)मा २१ जना उपचार भइरहेको छ । यस्तै विगत २४ घण्टामा एक लाख २१ हजार ५१५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

आधा शरीर जलेको अबस्थामा घरभित्रै मृत भेटियो

भक्तपुर, ३२ असार : चाँगुनारायण नगरपालिका २ दुवाकोट फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकारको शव जलेको अबस्थामा फेला परेको ट ।

आफ्नै घरको भुईतलाको कोठामा शंकास्पद अबस्थामा कम्मरदेखी माथिको भाग जलेर मृत्यु भइरहेको अबस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनु भयो ।

प्रहरीले घट्नास्थलको प्रारम्भिक अनुसन्धान शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाएर बिभिन्न कोणबाट घट्नाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनु भयो ।

सरकारको एक वर्ष : अघि बढ्यो विद्यालय शिक्षा क्षेत्र योजना

काठमाडौँ, ३२ असार : वर्तमान सरकारले एक वर्षको अवधिमा शिक्षालाई मुलुक विकासको पूर्वाधारको पनि पूर्वाधारका रूपमा अथ्र्याउँदै विद्यालय शिक्षा क्षेत्र योजनाको प्रक्रियालाई अघि बढाएको छ । सन् २०३० सम्मका लागि तय भएको संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यलाई सघाउन राष्ट्रिय कार्यढाँचासहित न्यायपूर्ण, समतामूलक र समृद्ध नेपाल निर्माणका लागि शिक्षामा दीर्घकालीन सोच अघि सारिएको हो ।

विगतमा दातृ निकायको समेत सहकार्यमा विद्यालय क्षेत्र सुधार कार्यक्रम सञ्चालन गरिएकामा सोको अवधि सकिएपछि नयाँ योजना विकास भएको छ । दुई वर्ष अघिदेखि सुरु भएको उक्त योजना निर्माण प्रक्रिया कोभिड–१९ का कारण अवरुद्ध भए तापनि प्रधानन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्षको अवधिमा सो योजना स्वीकृत भएको छ । सो दस वर्षे योजना आउने आर्थिक वर्षदेखि कार्यक्रमका रूपमा कार्यान्वयनमा आउँदैछ । योजनाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि उक्त संरचनायुक्त एवं सामाजिक तथा आर्थिक रुपान्तरणका लागि स्वावलम्बी, प्रतिस्पर्धी, प्रवद्र्धनात्मकमूल्य उन्मुख नागरिक विकासमा योगदान पु¥याउने दूरदृष्टि लिएको छ ।

योजना तर्जुमाका लागि दुई वर्षअघि विभिन्न विज्ञ र विषयगत समूह गठन गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सबै नागरिकलाई गुणस्तरीय, सीपमूलक तथा व्यावहारिक शिक्षाको प्रत्याभूति नगरी देशका लागि आवश्यक जनशक्ति आपूर्ति हुन नसक्ने भएकाले विद्यालय शिक्षालाई गुणस्तरयुक्त बनाउने, प्राविधिक शिक्षाको पहुँच विस्तार तथा सुदृढीकरण र उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने कार्यमा मन्त्रालय प्राथमिकताका साथ लागिरहेको बताउनुभयो । शैक्षिक सुधारका लागि उपलब्ध बजेटको उच्चतम उपयोग गर्ने र शिक्षा सुधारका लागि बजेट वृद्धि गर्दै लैजाने प्रतिबद्धता मन्त्री पौडेलको रहेको छ ।

शिक्षक व्यवस्थापन :

सरकारले २३३ द्वन्द्वपीडित शिक्षकलाई पुनः बहाली र क्षतिपूर्ति दिने निर्णय यही एक वर्षको अवधिमा भएकोे छ । सोसम्बन्धी विगतमा भएका अध्ययन र कार्यदलको प्रतिवेदनका आधारमा सेवा अवधिको गणना गरेर त्यस्ता शिक्षकको सुविधा निर्धारण गरिएको छ । ती शिक्षकको रकम निकासा भने भइसकेको छैन । सरकारले चितवनको भगवानपुरमा शिक्षक अस्पताल निर्माण पूर्वाधार विकास गरेको छ भने शिक्षा सेवा आयोगको नियमावली संशोधन गरी १७ हजार शिक्षकलाई खुला प्रतिस्पर्धाबाट पदपूर्तिको प्रक्रिया अघि बढाइएको छ ।

शिक्षकको पेसागत सीप र क्षमता विकासका लागि भर्चुअल विधिसमेत प्रयोग गरी शिक्षक तालिम कार्यक्रम सञ्चालन, शिक्षक दरबन्दी मिलान कार्य सम्पन्न, प्रदेश शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना तथा सञ्चालन र डिजिटल सिकाइ सामग्रीको उत्पादन, आवश्यकताका आधारमा पाठ्यक्रममा सामयिक परिमार्जन तथा अद्यावधिकरण, नमूना तथा उत्कृष्ट विद्यालय विकास तथा सञ्चालन, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई प्रोत्साहनलगायतका कार्यक्रम सञ्चालन गर्ने प्राथमिकता लिएको छ । शिक्षक दरबन्दी मिलान प्रतिवेदनका अनुसार प्रत्येक सामुदायिक विद्यालयमा न्यूनतम शिक्षक सुनिश्चित गर्नका लागि ५३ हजार शिक्षक दरबन्दी थप गर्नुपर्ने अवस्था छ ।

उक्त प्रतिवेदनअनुसार १२ हजार ८३५ शिक्षकको स्थानान्तरण गरी मिलान गर्नुपर्नेमध्ये नौ हजार ४९६ शिक्षक सम्बन्धित स्थानीय तहभित्र नै मिलान हुने र तीन हजार ३३९ शिक्षकको जिल्लान्तर सरुवाबाट मिलान हुनुपर्ने अवस्था छ । स्थानीय तहभित्रनै मिलान हुनुपर्ने सङ्ख्यामध्ये आठ हजार ५०० शिक्षकको मिलान सम्पन्न भइसकेको छ र बाँकी ९९६ शिक्षकको चालु शैक्षिक सत्रमा नै मिलान गरिसक्ने लक्ष्य सरकारको छ । जिल्लान्तर सरुवाबाट मिलान हुनुपर्ने सङ्ख्यामध्ये एक हजार ४८६ को जिल्लान्तर सरुवाबाट मिलान सम्पन्न भइसकेको छ भने बाँकी सङ्ख्या यसै शैक्षिक सत्रभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । न्यून रहेको शिक्षक दरबन्दी आपूर्तिका लागि यसै वर्ष माध्यमिक तहमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका चार हजार ७५० र आधारभूत तह कक्षा ६–८ मा दुई हजार ६०० गरी सात हजार ३५० शिक्षक व्यवस्थाका लागि बजेट व्यवस्था गरिएको छ । उक्त सङ्ख्याका अतिरिक्त प्राविधिक विषयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नका रुपमा परिचालन गर्न बजेट व्यवस्था गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार र पढ्दै कमाउँदै कार्यक्रम सार्वजनिक :

शिक्षा सुदृढीकरणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय भौतिक निर्माण कार्य सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ । उक्त कार्यक्रमअन्तर्गत सरकारले एक वर्षमा विद्यालय निर्माण र सिक्दै कमाउँदै कार्यक्रमको कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । शैक्षिक तथ्याङ्कका आधारमा अझै पनि २८ हजार भवन निर्माण गर्न आवश्यक रहेको छ । विद्यालय पुनःनिर्माण कार्यक्रमबाट सात हजार ५८३ विद्यालयको निर्माण कार्य सम्पन्न भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट तीन हजार ९८२ विद्यालय भवन निर्माण भएका छन् । आगामी तीन वर्षभित्र अन्य विद्यालय निर्माण, सवलीकरण तथा पुनःनिर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । शैक्षिक गुणस्तर सुधारलगायत शैक्षिक विकासका लागि प्रस्तावित कार्यक्रम सार्वजनिक विद्यालय सुदृढीकरणका लागि लक्षित रहेका छन् । विद्यालय भौतिक पूर्वाधार विकास, शिक्षक तालिम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, विभिन्न प्रकारका प्रयोगशालाको स्थापना, शिक्षण सिकाइमा सूचना प्रविधिको उपयोग, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकको क्षमता विकासका कार्यक्रम समेटी विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा ल्याइएको छ ।

साथै उच्च शिक्षामा सुधारका लागि उच्च शिक्षामा उत्कृष्टता प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याइएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला विस्तार तथा सुदृढीकरण, सूचना प्रविधि प्रयोगाशाला स्थापना तथा शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, विद्यालयमा विषयगत शिक्षकको सुनिश्चितताका लागि गणित, विज्ञान तथा अङ्ग्रेजी विषय शिक्षकको व्यवस्था गर्न कार्यक्रम प्रस्ताव गरिएको छ ।

विद्यालय शिक्षामा छात्रा, दलित, अपाङ्गता भएका विद्यार्थी तथा लक्षित समूहका लागि आवासीय तथा गैर आवासीय छात्रवृत्तिको व्यवस्था, कक्षा ६ सम्म विद्यालय दिवाखाजा कार्यक्रम, निःशुल्क पाठ्यपुस्तकको व्यवस्था, छात्राका लागि सेनेटरी प्याड आदिको व्यवस्था गरिएको छ । उच्च शिक्षामा पिछडिएको समुदायका विद्यार्थीका लागि छात्रवृत्ति, चिकित्सा तथा प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिलगायतका कार्यक्रम प्रस्ताव गरिएका छन् ।

निर्देशिका र कार्यविधि जारी :

यस अवधिमा मन्त्रालयले शिक्षा र विज्ञानसम्बन्धी विभिन्न निर्देशिका, कार्यविधि र नियमावली जारी गरेको छ । त्यसअन्तर्गत शैक्षिक पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७९ र शैक्षिक परामर्शसम्बन्धी नियमावली २०७९ को मस्यौदा तयार भई स्वीकृतिको प्रक्रियामा छ । रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) नियमावली २०७८ जारी गरिएको छ भने पाठ्यपुस्तक छपाइ तथा वितरणसम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरिएको छ ।

यहीबीचमा मन्त्रालयको सोचपत्र तयारी भएको छ भने बदलिँदो परिस्थितिअनुसार सङ्गठन र व्यवस्थापनसम्बन्धी सर्वेक्षण सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र टिइसिएसको पाठ्यक्रमबीच तादात्मयता मिलाउने काम भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष रिक्त भएपछि सो पदमा खुला प्रतिस्पर्धाबाट पूर्वसचिव डा महाश्रम शर्माको नियुक्ति भएको छ भने कोभिड–१९ का कारण विदेशका विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययनरतमध्ये स्वदेश फर्किएर पढ्न नपाएका विद्यार्थीलाई सम्बन्धित मुलुकका विशवविद्यालयमा फर्काउन सहजीकरण भएको छ । मन्त्रालयले नेपाल शिक्षक महासङ्घसँग ५१ बँुदे सम्झौता गरेको छ भने विदेशी शिक्षण संस्थाबाट सञ्चालित शिक्षालयको अनुगमन सुरु गरेको छ ।

शिक्षामा ६१ प्रतिशत बजेट :

स्थानीय तहमा आव २०७९/८० का लागि सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट कार्यान्वयन हुने नेपाल सरकार, प्रदेश र स्थानीय तहका लागि जम्मा रु एक खर्ब ९६ अर्ब ३८ करोड छुट्याइएको छ । यो कूल विनियोजनको १०.९५ प्रतिशत हो । शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको बजेटमध्ये रु एक खर्ब २१ अर्ब एक करोड (६१.६२ प्रतिशत) अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहमा शैक्षिक व्यवस्थापनका लागि सोझै विनियोजित हुन्छ । प्रदेश तहमा प्रमुखरुपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सञ्चालन र विद्यालय शिक्षक तालिम कार्यक्रमका लागि जम्मा रु पाँच अर्ब ३२ करोड (२.७१ प्रतिशत) जान्छ ।

मन्त्रालय तहमा जम्मा रु ७० अर्ब पाँच करोड बजेट (३५.६७ प्रतिशत) विनियोजन भएको छ । मन्त्रालयमा विनियोजन भएको बजेटमध्ये राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, माध्यमिक तहका विद्यार्थीका लागि सीपमूलक तालिम तथा कक्षा ६ का विद्यार्थीका लागि दिवाखाजा कार्यक्रम आदिका लागि करिब ११ अर्ब स्थानीय तहमा हस्तान्तरण हुने व्यवस्था रहेको छ ।

सङ्घीय शिक्षा ऐनको पर्खाइ :

सरकारका अन्य मन्त्रालयबाट समयमा राय परामर्श प्राप्त नहुँदा मस्यौदा भइसकेका सङ्घीय शिक्षा विधेयकलगायत विभिन्न विधेयक संसद्मा प्रवेश हुन ढिलाइ भइरहेको छ । शिक्षा मन्त्रालयले सङ्घीय शिक्षा ऐन (विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, राष्ट्रिय योग्यता प्रारुप र एकीकृत स्वास्थ्य शिक्षासम्बन्धी) को मस्यौदा तयार भइसकेको जनाएको छ । यस विषयमा सहमतिका लागि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र अर्थमन्त्रालयसँग आवश्यक छलफल जारी रहेको छ । शिक्षा क्षेत्रमा सरकारले दीर्घकालीन सुधारको लक्ष्य लिए पनि विद्यालय तहका पाठ्यपुस्तकको अभाव, विश्वविद्यालयमा तालाबन्दी, शिक्षामा दलीय हस्तक्षेप, उच्च शिक्षाका लागि विदेशिने विद्यार्थी नरोकिनु, चिकित्सा शिक्षा र निजी विद्यालय शिक्षा क्षेत्रमा शुल्कको मनोमानी हुनुजस्ता समस्या पनि बल्झिने गरेका छन् । भएका नीति र कानुनको सही पालना र आवश्यक नयाँ कानुन निर्माणले यी समस्यालाई केही न केही सम्बोधन गर्न सक्नेछन् ।

गीतकार अमर बान्तु शब्द तथा गायिका सहिमाको स्वरमा ‘काठे भाकैले’ सार्वजनिक 

काठमाडौं : गीतकार अमर बान्तु गीत ‘काठे भाकैले’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका द्वय सहिमा श्रेष्ठ, अश्मिता अधिकारि तथा गायक द्वय  ताराबिर पाण्डे र सन्तोष श्रेष्ठको स्वर, सन्तोष श्रेष्ठको सङ्गीत, राजु कार्कीको एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। नेपालमा मात्र नभई विदेशसम्म हुने मनोरन्जनात्मक कार्यक्रममा सधैँ व्यस्त रहने गायिका सहिमा श्रेष्ठ बिगत लामो समय देखि सयौं गीतहरुमा आफ्नो स्वर दिएर चर्चामा रहेकी छिन। दर्जनौ चर्चित गीतहरुमा सुमधुर आवाज भरेर दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल गायिका सहिमा लगायत अन्य गायक गायिकाहरुले फरक स्वाद नेपाली सांगीतिक क्षेत्रमा पस्केका छन् ।

कबि तथा गीतकार अमर बान्तु राई एक बहुप्रतिभाशाली व्यक्तित्व हुन्। उनले हरेक प्रकारका गित तथा साहित्यहरु पस्केर नेपाली भाषीहरु माझ लोकप्रियता कमाउदै साहित्यक क्षेत्रमा चम्किलो नक्षत्र बन्न सफल भएका छन्।  उनै गीतकार अमर बान्तुको शब्दमा सजिएको ‘काठे भाकैले’ अहिले दर्शक श्रोता माझ आएको छ। छायाँकार नबराज उप्रेतीको छयांकन रहेको भिडियोमा निर्देशक गम्बिर बिष्टको निर्देशन रहेको छ । सार्बजनिक भिडियोमा आर्यन खरेल र सजिना श्रेष्ठलाइ फिचर्ड गरिएको छ।

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौँ, ३१ असार  : प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन पक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो ।

बैठकमा जम्मा २४२ जना सांसदको उपस्थिति रहेको थियो । सांसद भुसालले प्राप्त गरेको मत प्रतिनिधिसभामा तत्काल कायमको सङ्ख्याको बहुमत भएकाले उहाँ उपसभामुख पदमा निर्वाचित भएको सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा घोषणा गर्नुभएको थियो ।

यसअघि, बैठकमा सत्ता गठबन्धन दल नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले ‘यस सभाका माननीय सदस्य श्री पुष्पा भुसाल (गौतम)लाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावको नेकपा(एकीकृत समाजवादी)की सांसद लक्ष्मीकुमारी चौधरीले समर्थन गर्नुभएको थियो ।

त्यस्तै, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की सचेतक शान्ता चौधरीले ‘यस सभाका माननीय सदस्य श्री विद्या भट्टराईलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावको एमालेकै सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका थिए । दुबै प्रस्ताव माथिको संयुक्त छलफलमा सांसदहरू खगराज अधिकारी, डा मिनेन्द्रप्रसाद रिजाल, जयपुरी घर्ती, सरलाकुमारी यादव, सुरेन्द्रप्रसाद यादव, चन्दा चौधरी, राजेन्द्र लिङ्गदेन, दुर्गा पौडेल, प्रेम सुवाल, शेरबहादुर तामाङ, चित्रलेखा यादव, रामकुमारी चौधरी र बिन्दा पाण्डेले भाग लिनुभएको थियो ।

छलफलको क्रममा राप्रपाका सांसद राजेन्द्र लिङ्गदेनले प्रमुख प्रतिपक्षी दल एमालेको तर्फबाट उपसभामुख पदकी उम्मेदवार भट्टराईलाई आफ्नो पार्टीको समर्थन रहेको बताउनुभएको थियो । तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते आफ्नो पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेको थियो । करिब साढे दुई वर्षपछि प्रतिनिधिसभाले उपसभामुख पाएको हो । प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ४ गते बिहान ११ बजे बस्ने छ ।