बढ्दै भक्तपुरमा अपराध, एक वर्षमा ८३२ वटा घट्ना, एक हजार ६ अभियुक्त, ७४५ पक्राउ, २६३ जना फरार

भक्तपुर, १५ साउन : भक्तपुरमा गतवर्षहरुको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ । आज महानगरीय प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०७८/०७९ मा भएका बिभिन्न अपराधका घट्नाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा परिषर प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले यसबारे जानकारी दिदै भक्तपुरमा अपराधको घट्ना बढेको बताउनु भएको हो ।

पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, “अपराधका घट्नाहरु बढ्दै छ, आर्थिक वर्ष २०७६/०७७ मा ६५२ वटा अपराधका घटना भएको भक्तपुरमा आर्थिक वर्ष २०७७/०७८ मा ५६५ घट्ना थियो, तर आर्थिक वर्ष २०७८/०७९ मा अपराधका घट्ना बढेर असार मसान्सम्म ८३२ वटा पुगेको छ, अपराधसँगै चुनौती थपिएका छन् ।”
प्रहरी परिसर भक्तपुुरले आ.व. २०७८/०७९ मा ६६० वटा अपराधका घट्ना घट्ने अनुमान गरेकोमा अनुमान भन्दा घट्ना बढी भएको उहाँको भनाई थियो ।

भक्तपुरमा बलात्कार, बलात्कार उद्योग, हत्या, चोरी, ठगी, चेक बाउन्स, लागू औषध कारोबार तथा सेवन अध्याधिक बढेको पाईएको छ । यहाँ घटेका अपराध मध्ये १४ दशमलव ६६ प्रतिशत घट्ना महिला तथा बालबालिका सम्बन्धी रहेको उहाँले जानकारी दिनु भयो ।

एक वर्षको अबधिमा भक्तपुरमा बैंकिङ् कसुरमा २४७, चोरीमा ९७, अभद्र व्यबहारमा ७०, झुण्डिएर मृत्युमा ६०, भवितव्य ज्यान, ५२, फुटकर ज्यान ५२, लागू औषधमा ४२, जबरजस्ती करणीमा ४०, सवारी ज्यानमा ३१, ज्यान मार्ने उद्योग १९, विष सेवनमा १७, जुवामा १६, बहुबिवाहमा १२, ठगीमा ११, जबरजस्ती करणी उद्योगमा नौ, कर्तव्य ज्यानमा सात, मानव बेचबिखनमा सात, आत्महत्या दुरुत्साहनमा सात, बाल यौन दुव्र्यबहारमा चार, मुद्रा सम्बन्धी कसुरमा चार, चोरी उद्योगमा तीन मुद्धा दर्ता भएका छन् ।

त्यस्तै सवारी अंगभंगमा तीन, गम्भिर उत्तेजनामा कुटपिट गरेकोमा तीन, बगलीमारामा दुई, हामफाली आत्महत्या गरेकोमा दुई, लिखत सम्बन्धी कसुरमा दुई, पशु सम्बन्धी कसरमा दुई, जेष्ठ नागरिक सम्बन्धी कसुरमा दुई, अपराधिक उपद्रवमा दुई, संक्रमण रोग फैलाउनेमा दुई, बिस्फोटक पदार्थमा एक, चक्कुले घाँटी रेटी मृत्युमा एक, सार्वजनिक स्थलमा यौन कार्य गरेकोमा एक, बैंकिङ तथा बित्तिय कसुरमा एक, अपरहणमा एक, नागरिकता सम्बन्धी कसुरमा एक, गर्भ संरक्षक सम्बन्धी कसुरमा एक, बालबालिका सम्बन्धी कसुरमा एक र जातीय भेदभाव तथा छुवाछुतमा एक गरि कूल ८३२ वटा मुद्धा दर्ता भएको उहाँले जानकारी दिनु भयो ।

यी घट्नामा एक हजार ६ जना अभियुक्त रहेको मध्ये ७४५ जना पक्राउ परे पनि २६३ जना अझै फरार रहेको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजू पाण्डेले अपराधमा कूल घट्ना र अभियुक्त मध्ये ७४ दशमलव ५ प्रतिशत, बैंकिक कसुरमा २१ दशमलव ५ प्रतिशत र अन्यमा ९१ दशमलव तीन प्रतिशत अभियुक्त पक्राउ परेको जानकारी दिनु भयो ।

कार्यक्रममा प्रहरी उपरीक्षक श्रेष्ठले धेरै घट्नाको कारक लागू औषधनै रहेको बताउदै लागू औषध, जबरजस्ती करणी, चोरी जस्ता घट्ना हरेक वर्ष ११ प्रतिशतका दरले बढीरहेको भन्दै यसलाई नियन्त्रण गर्न सिंगो समाज सक्रिय हुनु पर्ने बताउनु भयो ।

एमाले केन्द्रीय कार्यालयमा खीर खाने कार्यक्रम

काठमाडौँ, १५ साउन  : नेकपा (एमाले) को केन्द्रीय कला, साहित्य तथा संस्कृति विभागले आज साउन १५ को अवसरमा स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रम आयोजना गरी किसान संस्कृति मनाएको छ । सो अवसरमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले हाम्रा चाडपर्वहरूले टाढिन लागेका सम्बन्ध ताजा बनाइराख्ने बताउनुभयो ।

एमालेको पार्टी कार्यालय च्यासल (ललितपुर)मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले हाम्रा चाडपर्वहरू सांस्कृतिका खानी भएकाले त्यस्ता पर्वका नकारात्मक कुरालाई छोड्दै सकारात्मक पक्षलाई मनन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सो विभागका प्रमुख रघुजी पन्तले किसान संस्कृतिका रुपमा रहेको खीर खाने कार्यक्रमले आपसी भेटघाट र सद्भाव बढाएको बताउनुभयो ।

खीर खाने कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यलगायत विभिन्न नेता, संस्कृतिकर्मी, लेखक, कलाकार र पत्रकारहरुको सहभागिता रहेको थियो ।

सभामुखबाट नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौँ, १५ साउन  : सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ २०७९ आज प्रमाणित गर्नुभएको छ । सो विधेयक प्रतिनिधिसभामा उत्पत्ति भई सङ्घीय संसद्बाट पारित भएको हो । अब सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिनेछ ।

खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर छ रेक्टर स्केलको भूकम्प

काठमाडौँ, १५ साउन : खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको राससलाई जानकारी दिनुभयो । साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले अहिलेसम्म भूकम्पबाट कुनै मानवीय क्षति नभएको जानकारी दिनुभयो ।

साउन १५ खिर खाएर मनाइँदै

काठमाडौँ, १५ साउन  : साउन १५ गते आज नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । इष्टमित्र र चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ ।

यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् । चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ ।

यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ । नेपाली वृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुन्छ ।

अर्थमन्त्रीमा पुनःशर्मा नियुक्त

काठमाडौँ, १५ साउन : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई आज अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले आजै शर्मालाई मन्त्रीमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा २०७८ साल असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिको संलग्नतामा राजस्वका दर हेरफेर गरेको समाचार सार्वजनिक भएपछि विवाद उत्पन्न हुँदा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत असार २२ गते पदबाट राजिनामा दिनुभएको थियो । सो विषयमा छानविन गर्न गठित संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन संसदलाई बुझाएको थियो । त्यसपछि शर्मालाई आज पुनः मन्त्री पदमा नियुक्त गरिएको हो ।

६२० मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

काठमाडौँ, १५ साउन : देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ६५१ जनाको पिसीआर र तीन हजार १९५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २९७ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार ६२ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २५ हजार ४३६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५६७ रहेको छ ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६७ पुगेको छ । होम आइसोलेशनमा चार हजार ४२४, संस्थागत आइसोलेशन १४३ र आइसियू ३३ र भेन्टिलेटरमा पाँच सङ्क्रमित रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ र कास्की छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ६०५ र ललितपुर ५०५ र भक्तपुरमा ३७ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

आयल निगमको निजीकरण हल्ला कि यथार्थ ?

काठमाडौँ, १४ साउन : नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ पुरानै विषय हो । यो मूल्यको घटबढले पारेको प्रभावले यहाँको अरु क्षेत्रलाई पनि असर गर्ने गर्दछ । त्यसैले यो मूल्यको घटबढ सदनदेखि सडकसम्मै सधैँ चर्चाकै विषय बन्ने गर्दछ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा बहुक्षेत्रमा प्रत्यक्ष असर हुने भएकाले सामान्य घटबढ हुँदा त्यसले बजार तताइरहेको छ । विश्व बजारमा पेट्रोलियम पदार्थमा भएको भारी वृद्धिले नेपाललाई पनि स्वभावतः छोयो । त्यसकारण पनि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्यो ।

नागरिकलाई राहत दिन भन्दै सरकारले पटकपटक गरेर कर छुटको घोषण पनि गरिरहेकै छ । पछिल्लो समयमा भारतबाट इन्धनको मूल्य घटेर आयो तर घाटा कायमै रहेको जनाउँदै नेपाल आयल निगम लिमिटेडले यसपटक मूल्य समायोजन नगरेपछि प्रशस्तै आलोचित भइरहेको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु १४ रुपैयाँ १९ पैसा र डिजेलमा रु २१ रुपैयाँ ९३ पैसा तथा ग्यासमा रु ५८२ रुपैयाँ ४२ पैसा घाटा भइरहेको छ । अहिले मासिक रु चार अर्ब ३२ करोड घाटा भएको निगमले जनाएको छ । अझै निगमलाई निजीकरण गरिने भन्ने चर्चा बाहिरिएसँगै सर्वत्र आशङ्का उब्जियो ।

त्यस विषयले सांसदहरुलाई समेत छोएपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आज घनिभूत छलफल भएको छ । त्यसमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, सचिव अर्जुनप्रसाद पोखरेल र नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक इञ्जिनीयर उमेशप्रसाद थानी सहभागी हुनुहुन्थ्यो । उहाँहरुसामु समितिका सदस्य नरबहादुर धामीले इन्धनको अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा मूल्य किन समायोजन गरिएन, निगमलाई निजीकरण गर्ने विषय चर्चामा आएको छ त्यो के हो, निगमलाई पुनःसंरचना गर्नुपर्ने आवश्यकता हो कि होइन ? लगायतका प्रश्न राख्नुभएको थियो ।

समितिका अर्का सदस्य गोपालबहादुर बमले प्रश्न गर्नुभयो, “इन्धन वितरणमा जनताहरु रुष्ट छन्, उनीहरुको चित्त बुझाउने कुरा के हो ? त्यसमा सरकार र आयल निगमले ध्यान दिनुप¥यो ।” उहाँले कर छुट गरेर हुन्छ वा अन्य कुनै उपाय लगाएरै भए पनि समस्या समाधान गर्न र पश्चिम नेपालको विकट क्षेत्रमा पनि सहजरूपमा इन्धन प्राप्त हुने वातावरण निर्माण गर्न अनुरोध पनि गर्नुभयो । अर्का सदस्य प्रमोद शाहले पनि बाहिरबाट रकम घटेर आएपछि निगमले मूल्य घाटाउनुपर्नेमा नघटाएको भन्दै प्रश्न गर्नुभएको थियो । अर्का सदस्य प्रकाश रसाइलीले सरकारले कर घटाएको भनेर सार्वजनिक गरिए पनि जनताले महसुस गर्न नपाएको उल्लेख गर्नुभयो ।

सदस्य रामेश्वर राय यादव, सरिताकुमारी गिरीलगायतले इन्धनको आपूर्ति व्यवस्था र सरकारले दिने राहतका विषयमा गम्भीर प्रश्न उठाउनुभएको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले इन्धनको मूल्य प्रतिलिटर २०९ सम्म पुगेको अवस्थामा सुरुको चरणमा १०÷१० रुपैयाँ र पछिल्लो चरणमा पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ कर घटाएर नागरिकलाई राहत दिने प्रयास गरिएको समितिमा जानकारी दिनुभयो । “सरकार र निगमले घाटा खाएरै कम मूल्यमा इन्धन वितरण गरेको हो, निगमलाई अनुदान दिएर सरकारले सघाएको छ, जनतालाई मार पर्न दिनुहुन्न भन्नेमा सरकार गम्भीर छ”, मन्त्री बडूले जवाफमा भन्नुभयो ।

उहाँले विगतदेखिका इतिहासलाई सार्वजनिक गरी निगमका गतिविधि पारदर्शी बनाउनेतर्फ आफ्नो ध्यान गएको र यसअघि भएका अध्ययन प्रतिवेदनको आफूले अध्ययन गरेको बताउनुभयो । उहाँले सरकारले इन्धन आपूर्तिको सवालमा निजी क्षेत्रलाई दिने भन्ने कुरा गलत भएको प्रष्ट्याउनुभयो । “उपभोक्तासँग राय लिएर संसदीय समितिमा समेत छलफल गरी बन्ने नयाँ कानूनले मात्रै निजी क्षेत्रलाई दिने वा नदिने भन्ने हुन्छ, भ्रामक र गैरजिम्मेवार ढङ्गले भ्रम फैलाइएको छ”, उहाँले थप्नुभयो । सबै प्रतिवेदन अध्ययन गरेर सुधार गर्ने योजनाका साथ अघि बढेको पनि उहाँले जानकारी दिनुभयो ।

जनतालाई सही मूल्यमा इन्धन पाउनुपर्छ र सहज आपूर्ति गराउनुपर्छ भन्ने उद्देश्यले योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा समिति बनेको पनि उहाँले जानकारी गराउनुभयो । उक्त समितिको प्रतिवेदन आउने वित्तिकै नयाँ पेट्रोलियम ऐन बनाउने भन्ने कुरा भएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले इन्धन खपत घटाउँदै बिजुली प्रयोग बढाउन आग्रह गर्नुभएको छ । सचिव अर्जुनप्रसाद पोखरेल इन्धनको सहज, नियमित र गुणस्तरीय आपूर्ति नै महत्वपूर्ण भएको उल्लेख गर्दै त्यसतर्फ मन्त्रालयको ध्यान गएको बताउनुभयो । समितिका सदस्यहरुको प्रश्नको जवाफमा निगमका कार्यकारी निर्देशक थानीले गत जेठ १० को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली र नेपाल आयल निगमको संस्थागत सुधारका लागि उच्चस्तरीय अध्ययन कार्यदल गठन गरिएको जानकारी दिँदै त्यसका लागि बनेको ११ बुँदे टिओआरले कतै पनि निजीकरण गर्ने र निजी क्षेत्रलाई विक्री वितरणको जिम्मा दिने भन्ने कुरा नभएको र यो बाहिर आएको हल्ला मात्रै भएको बताउनुभयो ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवले सरकारले तिर्नुपर्ने कर फिर्ता नगर्ने तर निगमले जग्गा राखेर ऋण लिनुपर्ने अवस्थाले आयल निगम कमजोर हुने भन्दै गम्भीर चासो व्यक्त गर्नुभएको थियो । बैठकपछि उहाँले निगमका विविध विषयमा यसअघि तयार भएको विभिन्न अध्ययन प्रतिवेदन र योजना आयोगका उपाध्यक्ष पौडेल नेतृत्वको समितिले बनाउने प्रतिवेदनमाथि छलफल गरेर मात्रै सरकारलाई आवश्यक निर्देशन दिने राससलाई बताउनुभयो । उहाँले उखु किसानका समस्याका विषयमा किसानसहित सरोकार राख्ने संस्था तथा प्रतिनिधिबीच छलफल गरी निष्कर्षमा जान पनि सरकारलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

इन्धन खरिद–बिक्रीको यस्तो छ वर्तमान अवस्था नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक इञ्जिनीयर थानीले इन्धन आपूर्तिको हालको अवस्था बारेमा समितिमा जानकारी गराउनुभएको थियो । आजको दिनसम्म पेट्रोल प्रतिलिटर रु १८१ र डिजेल रु १७२ मा बिक्री भइरहेको छ । उहाँका अनुसार खरिदलागत (इण्डियन आयल कर्पाेरेशनबाट आएको मूल्य र नेपाल सरकारको करसहित) पेट्रोलमा रु १९५ रुपैयाँ १९ पैसा र डिजेलमा रु १९३ रुपैयाँ ९२ पैसा छ । हालको बिक्री मूल्यलाई हेर्दा पेट्रोलमा प्रतिलिटर रु १४ रुपैयाँ १९ पैसा र डिजेलमा रु २१ रुपैयाँ ९३ पैसा तथा ग्यासमा रु ५८२ रुपैयाँ ४२ पैसा घाटाको व्यापार भइरहेको छ ।

कार्यकारी निर्देशक थानीले अहिले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ ३६ पैसा र डिजेलमा ४७ रुपैया ३ पैसा र ग्यासमा रु ३११ रुपैयाँ ७४ पैसा सरकारको कर रहेको रहेको जानकारी दिनुभयो । हालको बिक्री मूल्य हिसाब गर्दा निगमलाई मासिक रु चार अर्ब ३२ करोड घाटा भइरहेको उहाँले जानकारी दिनुभयो । निगमले आव २०७८/०७९ को असार मसान्तरसम्म नेपाल सरकारलाई रु एक खर्ब २० अर्ब छ करोड कर बुझाएको छ । पेट्रोलियम पदार्थको आयात पनि बढ्दो क्रममा रहेको उहाँले जानकारी दिनुभयो । आव २०७७/०७८ मा रु एक खर्ब ५८ अर्बको इन्धन ल्याइएकोमा आव २०७८/०७९ मा रु तीन खर्ब १० अर्बको आयात भएको जनाइएको छ ।

नेपाल सरकारबाट मूल्य अभिवृद्धिकर (भ्याट) वापत रु सात अर्ब ३५ करोड फिर्ता पाउनुपर्नेमा रु दुई अर्ब ७५ करोड मात्रै फिर्ता भएको पनि उहाँले जानकारी दिनुभयो । आव २०७८/०७९ को असार मसान्तसम्ममा निगमलाई करिबकरिब ५० अर्ब घाटा हुने देखिएको उहाँले समितिलाई जानकारी दिनुभएको छ । निगमले हाल इण्डियन आयल कर्पाेरेशनलाई रु २२ अर्ब ४० करोड तिर्न बाँकी छ । रु ३१ अर्ब रहेकोमा ऋण लिएर अरु रकम घटाएको हो । निगमले नेपाल सरकारबाट गत असार ३१ गते पाँच प्रतिशत ब्याजदरमा रु सात अर्ब ऋण लिएको छ ।

उक्त ऋण पाँच वर्षका लागि लिइएको हो । निगमको टेकुमा रहेको जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य बैंकबाट नौ प्रतिशत ब्याज तिर्ने गरी तीन अर्ब रुपैयाँ ऋण लिइएको समितिमा जानकारी गराइएको थियो । उक्त ऋण तीन महिनाका लागि हो । अन्तर्राष्ट्रिय बजारमा १७ जुलाईमा प्राप्त मूल्य सूचीअनुसार पेट्रोलमा साढे १५ रुपैयाँ र डिजेलमा साढे १६ रुपैयाँ घटेर आएको थियो । त्यसबेला पेट्रोलमा ३० रुपैयाँ र डिजेलमा ३८ रुपैयाँ घाटा रहेकेमा अहिले घटेर आउँदा पनि पेट्रोलमा प्रतिलिटर रु १४ रुपैयाँ १९ पैसा र डिजेलमा रु २१ रुपैयाँ ९३ पैसा घाटा रहेकाले मूल्य समायोजन गर्न नसकिएको पनि जानकारी दिनुभयो ।

सरकारी कर्मचारी र सार्वजनिक पदमा कायम रहेको व्यक्ति दलको सदस्य हुन नसक्ने

काठमाडौँ, १५ साउन  : निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति तथा कुनै सार्वजनिक पद धारण गरेको कारणबाट संविधान तथा कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य रहेको व्यक्ति कुनै राजनीतिक दलको सदस्य हुन नसक्ने स्पष्ट गरेको हो ।

केही दिनयता विभिन्न आम सञ्चारमाध्यमबाट सार्वजनिकरूपमा समेत राजनीतिक दलको सदस्यता वितरणका सम्बन्धमा विभिन्न टीकाटिप्पणी, बहस, छलफल, जिज्ञासा, चासो र चिन्ता व्यक्त भइरहेको प्रति आयोगको आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सोही व्यहोराको जानकारी गराई उपरोक्तअनुसार भए गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशन दिएको छ ।

त्यसैगरी नेपालको संविधान तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दर्ता भएका राजनीतिक दलहरुले दलको विधानबमोजिम सदस्यता वितरण गर्दा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ (२) को पूर्णरूपले पालना गर्न गराउन र यसरी वितरण गरिएको सदस्यतासम्बन्धी विवरण निर्वाचन आयोगबाट माग गरिएको बखत उपलब्ध गराउन सक्ने गरी स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहमा नेपाली नागरिकताको प्रमाणपत्र तथा निर्वाचन आयोगद्वारा जारी गरिएको मतदाता परिचयपत्रको आधारमा व्यवस्थित र अद्यावधिक गरी राख्ने व्यवस्था मिलाउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम सबै राजनीतिक दलहरुलाई निर्देशन दिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ ले दलको सदस्यता वितरण गर्ने सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ र उक्त दफाको उपदफा (१) ले दलको विधानबमोजिम अधिकार प्राप्त पदाधिकारीले दलको सदस्यता वितरण गर्न सक्नेछ भनी व्यवस्था गरेको साथै उपदफा (२) ले सदस्यता वितरण गर्दा १८ वर्ष उमेर पूरा भएको, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको पनि हुनुपर्ने आयोगले जनाएको छ ।

यसरी सदस्यता वितरण गर्ने र कुनै पनि व्यक्ति सम्बन्धित दलको सदस्यताका लागि योग्य भए÷नभएको यकिन गर्ने जिम्मेवारी स्वयं राजनीतिक दलकै हुने र आपूmले वितरण गरेको सदस्यको विवरण अद्यावधिक गरी दलको विधानबमोजिम स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहमा राख्नुपर्ने दायित्व पनि सम्बन्धित राजनीतिक दलकै भएकाले राजनीतिक दलको सदस्यता वितरण तथा अद्यावधिक सम्बन्धमा आयोगले सबै राजनीतिक दलहरुलाई कानूनबमोजिम गर्न÷गराउन स्मरण गराएको छ ।

साउन १५ : दूधको माग उच्च

काठमाडौँ, १५ साउन  : आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ । आज करिब ५० लाख लिटर दूध खपत भएको छ । मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा आज झन् धेरै माग भएको हो ।

नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ गते खीर खाने दिनका लागि बजारको मागअनुसार पु¥याउनका लागि दुग्ध उद्योगहरुलाई धेरै गाह्रो भएको थियो । उहाँले अन्य दुग्ध पदार्थ उत्पादन नगरी आजको दिन दूधको माग धान्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

एसोसिएशनले साउन १५ मा ‘खीर खाऔँ, आफ्नो परम्परा जोगाऔँ’ नाराका साथ देशभर सबैलाई खीर खान आह्वान गर्दै सबै प्रदेशहरुमा खीर खुवाउने कार्यक्रम भएको थियो थियो । केन्द्रीयस्तरको कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, मन्त्रालयका सचिव दीपककुमार खराल लगायतको उपस्थिति रहेको थियो ।