क्यानले कारबाही गरेका चार जनासहित ११ खेलाडी गएनन बन्द प्रशिक्षणमा

काठमाडौं, १८ पुष ।
नेपाल क्रिकेट संघ क्यान ले कारबाही गरेका खेलाडीहरू बन्द प्रशिक्षणमा अनुपस्थित भएका छन् । वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदा स्पष्टिकरण सोधेर क्यानले कारबाही गरेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरी प्रशिक्षणमा नगएका हुन् । क्यानले गरेको क्रिकेट खेलाडीको वर्गीकरणमा असन्तुष्टि जनाएकै कारण उनीहरूलाई क्यानले ६ महिना तलब नदिने निर्णय गरेको थियो । प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल सहितका खेलाडीको समर्थनमा रहेका अन्य खेलाडी पनि अनुपस्थित भएका छन् । रोहितकुमार पौडेल, करण केसी, अविनाश बोहोरा, बिनोद भण्डारी, सुसन भारी, नन्दन यादव र कुशल भुर्तेल पनि बन्द प्रशिक्षणमा गएका छैनन् । अन्य केही खेलाडी पनि अनुपस्थित भएको बताइएको छ। अरू को(को अनुपस्थित भए भन्ने विस्तृत विवरण आइसकेको छैन । क्यानले ३० जना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको थियो । बन्द प्रशिक्षणका लागि नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके नेपाल आइसकेका छन् । क्यानले सहायक प्रशिक्षक अझै नियुक्त गरेको छैन । फेब्रुअरीमा हुने आइसीसी टी(२० विश्वकप छनोटका लागि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा डाकिएको हो ।

पोखरा रंगशालामा मनाङको दोस्रो जित,

काठमाडौं, १७ पुष ।
पोखरा रंगशालामा भर्खरै सम्पन्न खेलमा मनाङ मस्र्याङ्दी क्लबले ब्रिगेड बोइज क्लब बीबीसीविरुद्ध १–० गोलको जित निकालेको छ । पछिल्लो खेलमा दशरथ रंगशालामा मछिन्द्र क्लबसँग हार व्यहोरेको मनाङले पोखरामा रंगशालामा भने लगातार दोस्रो जित निकालेको हो । खेलको १५औं मिनेटमा बीबीसीले पेनाल्टीको अवसर पाए पनि उसले त्यो सदुपयोग गर्न सकेन । शिशिर लेखीले प्रहार गरेको पेनाल्टी प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । तर खेलको ४५औं मिनेटमा गोल गर्दै अन्जन विष्टले मनाङलाई खेलमा अग्रता दिलाएका थिए । लिगमा ७ खेल खेलेको मनाङले पछिल्लो जितसँगै १६ अंक बटुलेर शीर्षस्थानमा पुगेको छ। जारी लिगको सातौं चरणको अन्तिममा शीर्षस्थानमा रहने टिमले एएफसी कप खेल्न पाउनेछ । आइतबारको खेलमा मछिन्द्र क्लबले जित निकाल्न नसके मनाङले एएफसी कप छनोट खेल्ने अवसर पनि पाउनेछ। मच्छिन्द्रको अहिले १४ अंक छ। मछिन्द्रले जित निकालेको अवस्थामा भने मछिन्द्रले एएपसी कपको छनोट खेल्ने अवसर पाउनेछ।

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी

काठमाडौं, १७ पुष । मनाङले पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लबमाथि १ ० को कठिन जित हात पारेको हो । यो जितसँगै शीर्ष स्थानमा उक्लिएको मनाङले एएफसी कप छनोटको सम्भावनालाई जीवितै राखेको छ । पहिलो हाफको थप गरिएको समयमा कप्तान अञ्जन विष्टले गरेको एक मात्र गोल मनाङलाई जित दिलाउन प्रयाप्त बन्यो । खेलको १७ औं मिनेटमा ब्रिगेडले पेनाल्टीमार्फत गोल गर्ने सुनौलो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । शिशिर लेखीको पेनाल्टी प्रहार क्रस बारमाथिबाट बाहिरिएको थियो । यो जितसँगै मनाङले ७ खेलमा १६ अंक जोड्दा ब्रिगेड ५ अंकका साथ १२औँ स्थानमा छ ।

स्पेनिस क्लब एट्लेटिको मड्रिडका पाँच जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं १६ पुष ।
स्पेनिस क्लब एट्लेटिको मड्रिडका मुख्य प्रशिक्षक डिएगो सिमानसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रशिक्षक सिमोनसहित फरवार्ड एन्टोनियो ग्रिजम्यान र जाओ फिलिक्स तथा मिडफिल्डर कोके र हेक्टर फेरेरालाई कोरोना पुष्टि भएको क्लबले जनाएको छ । कोरोना संक्रमण भए पनि उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको र सबै आइसोलेसनमा बसिसकेको क्लबले जानकारी दिएको छ । पछिल्लो समय ला लिगामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बार्सिलोनाले पनि आफ्ना १० खेलाडीमा कोभिड पुष्टि भएको सार्वजनिक गरेको थियो । रियल मड्रिडले बिहीबार थिबाउट कोर्टोइस, एडुर्डो कामाभिङ्गा, फेडेरिक भाल्भर्डे र भिनिसियस जुनियरको कोभिड रिर्पोट सकारात्मक आएको जनाएको थियो । सेभियाका पाँच खेलाडी पनि कोरोना संक्रमित बनेका छन् । एजेन्सी ।