क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले बिहीबार बलात्कारको आरोप लागेका लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । केहीबेर अघि जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको हो ।

मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेकोमा बिहीबार अदालतबाट पक्राउ पुर्जी लिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालायका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० रवीन्द्रबहादुर धानुकले लामिछानेलाई पक्राउ गरी अनुसन्धानका लागि अनुमति प्राप्त भएको जानकारी दिए ।

पक्राउ पुर्जी ल्याएपछि प्रहरीले नेपाल क्रिकेट संघ ९क्यान०मार्फत लामिछानेलाई फिर्ता गर्न औपचारिक आग्रह गर्ने तयारी गरेको छ । त्यसपछि पनि लामिछाने नआए इन्टरपोल वा अरू माध्यमबाट उनलाई नेपाल झिकाइने प्रहरी स्रोतको भनाइ छ ।

 

अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने खेलाडी बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, १७ भदौ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली खेलकुद क्षेत्रमा निखारता ल्याउँदै खेलाडीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा खरोरुपमा उत्रनसक्ने बनाउनुपर्ने बताउनुभएको छ । काठमाडौँमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले पछिल्लो समयमा खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागी भई मुलुकको नाम उच्च बनाउँदै गएको स्मरण गर्दै अझै सफलता प्राप्त गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“खासगरी केही वर्षयता नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी भएर नेपालको नाम उँचो बनाउँदै विजयको माला पहि¥याएर फर्किनु हामी सबैका लागि गौरवको विषय हो, यसका लागि सम्पूर्ण खेलाडी तथा प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “अझै उच्च सफलता प्राप्त गर्दै नेपालको प्रतिष्ठा अभिवृद्धि गर्दै लैजानेछ भन्ने अपेक्षा छ, खेलकुदमा अझै निखार ल्याउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने बनाउनु आजको आवश्यकता हो, यस कार्यमा नेपाल सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउन चाहन्छु ।”

प्रधानमन्त्री देउवाले सीमित स्रोत र साधनका बाबजुद नेपाली खेलकुद क्षेत्रले हालसम्म प्राप्त गरेको उपलब्धि प्रशंसनीय रहेको बताउनुभयो । उहाँले नेपाली खेलाडीले विभिन्न कठिनाइका बाबजुद स्वदेश तथा विदेशमा उत्कृष्ट प्रस्तुति दिँदै आएको पनि खुसी व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी देशका गहना भएको बताउनुभयो । उहाँले देशको शिर उँचो बनाउन खेलाडीले गरेको मेहनत र प्राप्त उपलब्धिको सरकारले उच्च मूल्याङ्कन गरेको उल्लेख गर्नुभयो ।

खेलाडीलाई सम्भव भएसम्म आर्थिक र गैरआर्थिक सुविधाका साथ प्रोत्साहित गर्न सरकार प्रयत्नशील रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । खेलाडीको क्षमता विकासका लागि आर्थिक सुधारका अतिरिक्त खेल पूर्वाधार महत्वपूर्ण पक्ष रहेको उहाँले बताउनुभयो । उहाँले मुलुकको विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको पूर्वाधार विकास गर्ने योजना सरकारको प्राथमितामा रहेको जानकारी दिँदै खेलाडीलाई नियमित अभ्यास र अन्तर्राष्ट्रियस्तरको प्रशिक्षणको आवश्यकता औँल्याउनुभयो ।

खेलकुदका क्षेत्रमा राष्ट्रियस्तरको पूर्वाधार निर्माण गरी क्षेत्रीय र अन्तर्राष्ट्रिस्तरको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित मन्त्रालय र राखेपले थप सक्रियता दिनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले मुलुकमा विभिन्न प्रकारका राष्ट्रिय तथा प्रादेशिकस्तरका खेल आयोजना गरी निरन्तररुपमा खेलाडीको प्रतिभालाई तिखार्ने अवसर दिलाउन परिषद्लाई निर्देशन दिनुभयो ।

नियमित खेलकुदका कार्यक्रम आयोजना हुन नसक्दा खेल प्रतिभा पलायन हुनेतर्फ ध्यानाकर्षण गराउँदै उहाँले परिषद्को संस्थागत विकासका लागि सरकार प्रयत्नशील रहेको पनि जानकारी दिनुभयो । उहाँले परिषद्ले आफ्ना कमजोरी सुधार गर्दै खेल क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् भनी शुभकामना दिनुभयो ।

ओलम्पिकमा स्वर्ण विजेतालाई एक करोड ३० लाख दिनेगरी कानुनी व्यवस्था हुँदैछ : मन्त्री गहतराज

उक्त समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वर जङ गहतराजले राज्यले ओलम्पिकमा स्वर्ण पदक विजेता खेलाडीलाई रु एक करोड ३० लाख पुरस्कार दिने घोषणका लागि राज्यले कानुनी व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।

मन्त्री गहतराजले भन्नुभयो, “खेलाडीले अब खेल खेल्दा खाली हात होइन्छ कि भनेर सोच्नुपर्ने अवस्था छैन, राष्ट्रका लागि खेल खेल्ने उनीहरूलाई राज्यले उचित सम्मान र पुरस्कारको प्रबन्ध गर्न लागेको छ, आगामी मन्त्रिपरिषद्बाट पास हुँदैछ ।” उहाँले आगामी एशियन खेलमा स्वर्ण पदक जित्ने खेलाडीले रु ३०÷३२ लाख पुरस्कार प्राप्त गर्ने पनि जानकारी दिनुभयो । केही दिनमा मन्त्रिपरिषद्बाट पारित हुन लागेको राष्ट्रिय खेलकुद परिषद्को नियमावलीमा खेलाडीलाई उक्त पुरस्कार दिने व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

“उत्कृष्ट खेल खेलेमा कानुनीरुपमा नै राज्यबाट सम्मान र पुरस्कार प्राप्त गर्ने आधार तयार भएको छ”, समारोहमा उहाँले थप्नुभयो । मन्त्री गहतराजले खेलाडीले उच्च मनोबलका साथ राष्ट्रका लागि खेल्दैछौँ, व्यक्तिगतरुपमा पनि खेलबाट राम्रो व्यवस्था हुँदैछ भन्ने कुरालाई आत्मसात गर्नुपर्ने अवस्था आएको पनि बताउनुभयो । खेललाई अब सामान्य क्रियाकलापका लागि मात्रै नभएर उद्योग र अन्तर्राष्ट्रिय सम्बन्धका रुपमा विकास गर्नुपर्ने तथा प्राकृतिक सौन्दर्यलाई उपयोग गर्दै खेल पर्यटनकैरुपमा विकास गर्दै लैजानु जरुरी रहेको उहाँले बताउनुभयो ।

उहाँले खेलकुदलाई सामान्य क्रियाकलापले मात्रै बुझ्ने गल्ती गरेमा तत्वयिक सफता प्राप्त गर्न नसकिने बताउनुभयो । उहाँले खेललाई जीवनको पर्यायका रुपमा विकास गर्दै बहुआयामिक पक्षसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले खेलकुद भनेको विज्ञान हो भन्दै यसलाई खेलकुद शिक्षाका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । प्राथमिक तहदेखि नै खेलकुदप्रति लगाव विकास गर्नु आवश्यक रहेको मन्त्री गहतराजको भनाइ थियो ।

सरकारकाले स्पोर्टस् विश्वविद्यालय बनाउने सोचका साथ नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिँदै उहाँले त्यसले ओलम्पिकसम्मको यात्रालाई सफलतामा पु¥याउन मद्दत गर्ने बताउनुभयो । “अन्तर्राष्ट्रिय प्रतियोगिता जुन क्रमले अघि बढिरहेको छ, त्यसतर्फ हेर्दा निरन्तर खेल प्रतियोगिता गर्दै जाने र तल्लो तहदेखि नै खेलाडी उत्पादन गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । मन्त्री गहतराजले सरकारले आगामी साफ गेमको तयारी गरिरहेको तथा २३ सेप्टेम्बरमा एशियन खेल हुँदै गएकाले राम्रो तयारीको आवश्यकता औँल्याउनुभयो ।

भक्तपुरको दरबारस्क्वायरमा टी(२० विश्वकप ट्रफी प्रर्दशनी

भक्तपुर, १५ भदौ : भक्तपुरको दरबार स्क्वायरमा आज टी(२० विश्वकप ट्रफी प्रर्दशनीमा राखिएको छ । आज दिउँसो १ बजेसम्म ऐतिहासिक सम्पदास्थल दरबारस्क्वायरमा प्रर्दशनमा राखिएको आईसीसी पुरुष ट्वान्टी(२० विश्वकप क्रिकेटको ट्रफी खेलाडी, विद्यार्थीलगायत हजारौले अबलोकन गरेका छन् ।

विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिने विश्वकपको १०० दिने ट्रफी भ्रमणअन्तर्गत अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने टी(२० विश्वकप ट्रफी नेपालमा ल्याएर भक्तपुर दरबार स्क्वायरमा प्रर्दशन गरिएको हो । ट्रफी नेपालमा दुई दिन राखिने छ ।

प्रदर्शनीमा नेपाली टिमका पूर्वकप्तान विनोद दास, खेलाडी शरद् भेषावकर, महबुब आलम, रुबिना क्षेत्री र कलाकार सरोज खनाललगायतको सहभागितामा कार्यक्रमको महत्वमाथि प्रकाश पारिएको थियो । कार्यक्रममा धिमे बाजा, लाखे नाच लगायत प्रर्दशन गरिएको थियो । दरबार स्क्वायरबाट टौमढी पाँच तले मन्दिर क्षेत्रमा पनि ट्रफी प्रर्दशनी गरिएको थियो ।

नेपालमा ल्याइएको क्रिकेटको विश्वकप ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जानकारी दिएको छ । यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी पनि प्रर्दशनीका लागि नेपाल ल्याइएको थियो ।

अस्ट्रेलियाको ७ सहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपालले जित्यो केन्या विरुद्धको टी–२० क्रिकेट सिरिज

काठमाडौँ, १४ भदौ : नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्टिय क्रिकेट सिरिज ३–२ ले जितेको छ । नेपालले केहीबेर अघि सम्पन्न अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गरेको हो । केन्याको नैरोवी जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ७५ रन बनायो । एक सय ७६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा केन्याले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४४ रन मात्र बनाउन सक्यो ।

नेपालको जितमा ज्ञानेन्द्र मल्लको अद्र्धशतकीय पारी महत्वपूर्ण रह्यो । मल्लले ४४ बलमा ५९ रन बनाए । यस क्रममा उनले दुई छक्का र पाँच चौका प्रहार गरे । रोहितकुमार पौडेलले २५ बलमा सात चौका हिर्काउँदै ४७ रन बनाए । यस्तै अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । बलिङतर्फ केन्याका लागि नेहेम्याह ओढियाम्बो, विराट पटेल र शेम एन्गोचेले दुई÷दुई तथा लुकास ओलुओचले एक विकेट लिए ।

ब्याटिङ गर्ने क्रममा केन्याका लागि नेहेम्याह ओढियाम्बोले ३७, कप्तान शेम एन्गोचेले अविजित ३३, इरफान करिमले २८, कोलियन्स ओबुयाले २३ र नेलसन ओढियाम्बोले अविजित १३ रन बनाए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र बसिर अहमदले दुई/दुई तथा करन केसी, मोहमद आदिल आलम र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच नेपालका ज्ञानेन्द्र मल्ल तथा प्लेयर अफ दी सिरिज कप्तान सन्दीप लामिछाने घोषित भए । नेपालले अब केन्यासित तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ । नेपाल र केन्याबीचको पहिलो एकदिवसीय खेल शुक्रबार खेल्ने तय भएको छ ।

बिकसित ठाउँको कुनै सुन्दर टुक्रा ल्याएर राखिदिएको जस्तो छ यहाँको सुन्दर नमूना हेर्न भक्तपुर आए हुन्छ : एमाले नेता एवं सांसद महेश बस्नेत

भक्तपुर, ११ भदौ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले ध्वंसले बिकास नभई निर्माणबाट मात्रै बिकास हुने बताउनु भएको छ ।

नेपाल सोतोकान कराते संघ भक्तपुर जिल्ला समितिद्धारा आज सञ्चालित बहुउध्देशीय न्हाकाटी डोजो प्रथम इन्टर डो च्याम्पियनशिप प्रतियोगिता -२०७९  को उद्घाटन गर्दै उहाँले ध्वंस नगरी निर्माणबाटै आफ्नो निर्वाचन क्षेत्रको विकास गरि सुन्दर बस्ती भएको उदाहरण दिनु भयो ।

उहाँले कुनै सामान किन्न होस् कि, खाना खाजा खान होस, पार्टी प्यालेसदेखि होटल अहिले भक्तपुरमै सञ्चालनमा आएको चर्चा गर्दै भन्नु भयो, “यहाँको समग्र विकास देख्दा कुनै बिकसित ठाउँको कुनै सुन्दर टुक्रा यहाँ ल्याएर राखिदिएको जस्तो देखिएको छ । यसबाट के पुष्टी हुन्छ भने एउटा असल जनप्रतिनिधि चुन्नु भयो भने चार पाँच वर्षमै नाटकीय र अमूल परिवर्तन हुन्छ भन्ने प्रमाणित यहीँबाट भएको उहाँले बताउनु भयो ।”

प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री बस्नेतले भन्नुभयो, “काठमाडौँका मेयरहरूले नक्सा पास नभएका संरचनाहरूमा डोजर चलाएर आतंक मच्चाइरहे उपत्यका बस्न लायकको रहदैन, डोजर आतंक मच्चाइरहने हो भने काठमाडौँबाट भागेर अन्यत्र जानुपर्ने अबस्था आउन सक्छ, ध्वंसको क्षेत्र बन्ने निश्चित हुन्छ, केही मानिसले साथ दिए भन्दै कानुन मिचेर जनतालाई दुःख दिने काम गर्नु हुदैन ।”

निर्माणलेनै सुन्दरता ल्याउछ भन्दै उहाँले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई एक पटक भक्तपुर क्षेत्र नं. २ को अवलोकन गरि ध्वंस नगरी निर्माणबाटै गरेको बिकासको सुन्दर नमूना हेर्न आउन आग्रह गर्नु भयो ।

संविधानमा दुई पटक भन्दा बढी प्रधानमन्त्री वा सांसद हुन नपाउने गरी व्यवस्था गर्न माग नेता बस्नेतले प्रत्यक्ष निर्वाचित सांसद र मन्त्रीहरु कति पटक दोहरिने भन्ने नीति नै निर्माण गर्नु पर्नेमा जोड दिनु भयो ।

समानुपातिक तर्फ अनिश्चितकालसम्मका लागि अवसर दिने व्यबस्था गलत भएको उहाँको भनाइ छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडक मैत्री बनाउन खोजिएको आरोप लगाउदै उहाँले नेकपा एमाले अहिले पनि कमजोर नरहेकोले र निर्वाचनमा प्रत्यक्षतर्फ ७० भन्दा बढी सिट जित्ने दाबी प्रस्तुत गर्नु भयो ।

सात खेलाडी सम्मानित

काठमाडौँ, १९ साउन :  खेलकुद क्षेत्रमा योगदान पु¥याएबापत सात खेलाडी ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ बाट सम्मानित हुनुभएको छ । हाम्रो खेलकुद डट कमको आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा खेल क्षेत्रमा आआफ्नो समयमा महत्वपूर्ण योगदान गर्नुभएका धावक जीतबहादुर केसी र धावक वैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी सङ्गिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्वकप्तान पारस खड्का र पौडीकी गौरिका सिंह सर्वकालीन सम्मानबाट सम्मानित हुनुभयो । सम्मानित खेलाडीले जनही रु २५ हजारसहित सम्मानपत्र प्राप्त गर्नुभयो ।

सम्मानित व्यक्तित्वलाई सांसद गगन थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, काभ्रे बेथानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमिल्सिना, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । जीतबहादुर केसी (एथलेटिक्स) केसीले झण्डै पाँच दशकअघि एशियन एथलेटिक्स च्याम्पियनसिपमा कास्यपदक हात पार्नुभएको थियो ।

फिलिपिन्समा भएको च्याम्पियनसिपको म्याराथनमा केसीले दुई घण्टा ३५ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको थियो । उहाँले जित्नुभएको नेपालको त्यो नै पहिलो अन्तराष्ट्रिय पदक हो । वैकुण्ठ मानन्धर (एथलेटिक्स) सन् १९८४ मा सुरु भएको सागमा मानन्धरले लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जित्नुभएको थियो । सागमा स्वर्ण पदकमा ह्याट्रिक गर्ने उहाँ नै पहिलो नेपाली हुनुहुन्छ । सन् १९८७ मा भएको तेस्रो सागमा उहाँले म्याराथनमा कीर्तिमान रच्नुभएको थियो ।

त्यतिबेलाको उहाँको दुई घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिलेसम्म भङ्ग हुन सकेको छैन । राजुकाजी शाक्य (फुटबल) सागको पहिलो संस्करण सन् १९८४ र छैटौँ १९९३ मा फुटबलतर्फ स्वर्ण जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । छैटौँ संस्करणमा नेपाली फुटबलले स्वर्ण भित्र्याउँदा उहाँ टोलीको कप्तान हुनुहुन्थ्यो । प्रशिक्षकका रुपमा सन् २०१६ मा भारतमा भएको सागको १२औँ संस्करणमा २३ वर्ष मुनिको फुटबल टोलीलाई उहाँले स्वर्ण दिलाउनुभएको थियो ।

सङ्गिना वैद्य (तेक्वान्दो) विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सन् १९६० देखि नेपाली खेलाडीले सहभागिता जनाउन सुरु गरे पनि सङ्गिनाले २००४ को एथेन्स ओलम्पिकका लागि छनोट चरण पार गर्नुभएको थियो । स्वदेशमा आयोजना भएको १९९९ को आठौँ र २००४ को नवौँ सागमा स्वर्णपदक जित्नुभएको थियो ।

उहाँ तेक्वान्दोकी एशियन च्याम्पियन पनि हुनुहुन्छ । दीपक विष्ट (तेक्वान्दो) दीपकले स्वदेशमा सन् १९९९ मा आयोजना भएको आठौँ सागदेखि लगातार चार संस्करणमा तेक्वान्दोतर्फ स्वर्ण जित्नुभएको थियो । त्यस्तै उहाँले सन् २००२ र २००६ मा एशियाली खेलकुदमा कास्य जित्नुभएको थियो । छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने दोस्रो खेलाडीका रुपमा पनि उहाँले बेजिङ ओलम्पिक २००८ खेल्नुभएको थियो । पारस खड्का (क्रिकेट) पारस नेपाली क्रिकेट इतिहासका सफल कप्तान र खेलाडी हुनुहुन्छ ।

नेपालले अहिलेसम्म खेलेको एकमात्र टी–२० विश्वकप सन् २० १४ खेल्दा होस् वा सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गर्दा होस् दुवैमा पारस नै टोलीको कप्तान हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पहिलो उपाधि डिभिजन पाँच हुँदै चार र तीनको उपाधि उहाँकै नेतृत्वमा नेपालले जितेको थियो । गौरिका सिंह (पौडी) तीन वर्षअघि नैपालमा नै भएको १३औँ सागमा गौरिकाले चार स्वर्ण पदकसहित नौ पदक जित्नुभएको थियो । सागको पौडीतर्फ व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभएको थियो ।

नवौँ राष्ट्रिय खेलकुदका लागि बैतडीमा खेलाडीको आवेदन खुल्ला

बैतडी, १९ साउन : आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ । उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक महिला र पुरुष खेलाडीका लागि आवेदन खुल्ला गरिएको हो । उक्त प्रतियोगिताको लागि जिल्लास्तरीय प्रतियोगिता तथा प्रदेशस्तरीय छनोटका लागि खेलाडीको आवेदन खुल्ला गरिएको जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।

सहभागी हुन चाहने खेलाडीले उक्त प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ को अनुसूची १ बमोजिम दर्ता फारम भर्नुपर्नेे छ । फारम भरेर यही साउन २९ गतेभित्र जिल्ला खेलकुद समितिमा दर्ता गराउनुपर्नेछ । उक्त प्रतियोगिताका लागि विभिन्न १२ खेलमा खेलाडी छनोट गरिनेछ ।

जसमा भलिबल, क्रिक्रेट, कवड्डी, एथ्लेटिक्स, टेबलटेनिस, कराँते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र फुटबल रहेका छन् । जिल्लास्तरीय छनोट प्रतियोगिता आगामी भदौमा हुने जनाइएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।

श्रीभक्त कासिछ्वा प्रदेश खेलकुद बिकास परिषदको सदस्यमा नियुक्त

काठमाडौं, ५ साउन । वाग्मति प्रदेश सरकारले प्रदेश खेलकुद बिकास परिषदको सदस्यमा भक्तपुरका श्रीभक्त कासिछ्वालाई नियुक्त गरेको छ ।

वाग्मति प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आज भक्तपुरका समाजसेवी, व्यवसायी, एवं जिल्ला खेलकुद विकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष श्रीभक्त कासिछ्वालाई परिषदको सदस्यमा नियुक्त गरेको हो ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले उहाँलाई नियुक्त पत्र प्रदान गरि आजै सपथ ग्रहण गराउनु भएको छ । मन्त्री ढकालसँगै वाग्मति प्रदेशका अर्थ मन्त्री शालिकराम जमरकट्टेल, प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठलगायतले उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।

लामो समयदेखि खेलकुदको विकासमा निरन्तर लाग्नु भएका कासिछ्वा तेक्वाण्डो र ब्याडमिन्टनको खेलाडी हुनु हुन्छ ।
भक्तपुर व्याडमिन्टन संघका कोषाध्यक्ष, चाँगुनारायण उद्योग वाणिज्य संघका अध्यक्षलगायत बिभिन्न संघसंस्थामा आबद्ध रहनु भएका कासिछ्वा राजनीतिकर्मीसमेत हुनुहुन्छ ।

जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्ष हुँदा उहाँले भाडामा बस्दै आएको समितिको कार्यालयलाई आफ्नै पहलमा जिल्ला मै पहिलो पटक समितिको आफ्नै कार्यालय राख्न सफल हुनु भएको थियो ।

भक्तपुरमा खेलकुदको विकासका लागि बिभिन्न खेलको प्रतियोगितासमेत गर्दै आउनु भएका उहाँले बिभिन्न संघसंस्था एवं सामाजिक विकासमा समेत योगदान दिदै आउनु भएको छ । भक्तपुरका अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणको सुरु गर्नु भएको छ । कासिछ्वाकै नेतृत्वमा चाँगुनारायणमा अन्तर्राष्ट्रियस्तरको रग्बी रंगशाला निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । प्रदेश सरकारले मध्यपुरथिमिकी खेलाडी रत्नकेशरी प्रजापतिलाई पनि पुनः समितिको जिल्ला सदस्यमा नियुक्त गरेको छ ।

जुन ९ मा नेपालले विश्व कप क्रिकेट लिग २ को पहिलो खेल खेल्दै : राष्ट्रिय क्रिकेट टोलीको तयारीका लागि आयोजित एनआरएनए युएसए कप सम्पन्न

टेक्सस (अमेरिका) ।

विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल जुन ९ मा खेल्दैछ । लिगमा सहभागिताका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले ओमानसँग पहिलो खेल खेल्नेछ । लिग अन्तर्गत अमेरिकामा संचालन भैरहेको सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् ।

सिरिज अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहरमा रहेको  मोसा स्टेडियमा संचालन हुनेछ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरुमा सहभागिता जनाउनु अघि तयारी स्वरुप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको थियो । लिगका लागि तयारीमा व्यस्त रहेको टोलीले अमेरिकामा संचालन हुने विश्व कप क्रिकेट लिग २ को खेल अघि  गत विहिवार नेपाली अल स्टार क्लबसँग  र दोस्रो खेलमा ह्युष्टन हुरिकेनसँग प्रतिष्पर्धा गरेको थियो ।

जसमा पहिलो खेलमा अल स्टारसँग नेपाली राष्ट्रिय टोली ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा सन्दीप लामिछानेले आराम गर्दा कप्तानी गरेका रोहित पौडेलको १ सय १ रनको मद्दतमा नेपाली राष्ट्रिय टोलीले ह्युष्टन हुरिकेनलाई २९ रनले पराजित गरेको थियो ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको तत्वाधानमा भएको प्रतियोगितामा संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अमेरिकामा व्यवस्थापनको जिम्मेवारी लिएको नेपाली अल स्टार क्लबलाई २० हजार डलर सहयोग गरेको थियो । साथै संघले अन्य विभिन्न खालका सहयोग समेत गरेको थियो ।

एनआरएनए एनसिसी युएसए कपको समाप्तीपछि आयोजित कार्यक्रममा संघका तर्फवाट अध्यक्ष बुद्दिसागर सुबेदी, वरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्त, उपाध्यक्ष सुमन थापा, सचिव अनुप खनाल लगायतले विजयी तथा उपविजयी खेलाडी, टोली र अफिसियलहरुलाई अवार्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । नेपाली राष्ट्रिय टोलीलाई तयारीका लागि सहज होस् भन्ने उद्देश्यले एनआरएनए एनसिसी युएसए कप आयोजना गरिएको थियो ।

यसैबीच, संघको टेक्सस च्याप्टरले शनिवार स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । च्याप्टरका उपाध्यक्ष गंगा शर्माको अध्यक्षता, सचिव डा. चण्डी भण्डारीको संचालन र सहसचिव राजन भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रममा संघका अध्यक्ष बुद्दिसागर सुबेदी, वरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्त, उपाध्यक्ष सुमन थापा, सचिव अनुप खनाल, नेजाका महासचिव सुरज भण्डारी, एएनएका अध्यक्ष विजयराज भट्टराई, एनएसटीका अध्यक्ष राजेन्द्र वाग्ले, एनएसटीका महासचिव एवं एनआरएनए युथ कमिटि चियर सन्देश उप्रेती, क्षेत्रीय संयोजक सुजन पण्डित, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रकाश तिमल्सिना, खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्ज्वल वली, पत्रकारहरु विनोद पाण्डे, किशन रेग्मी, नपलिज एशोसिएशन अफ ह्युष्टनका अध्यक्ष विष्णु नेपाल, सिएनएफका अध्यक्ष कृष्ण न्यौपाने, नेपाल हेरिटेजका अध्यक्ष कर्ण बोगटी, डा. विजय झा, सतिश त्रिपाठी लगायतले धारणा राख्नुभएको थियो ।

आईसिसी क्रिकेट वल्र्ड कप लिग टु मा रहेका ७ देशहरु  विश्व कपका लागि छनौट हुन प्रतिष्पर्धामा छन् । अहिले सम्म अंक तालिकामा ओमान ३२ खेल खेल्दै १९ जित सहीत ४० अंक सहीत शिर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड १६ खेलमा ११ मा जित निकाल्दै २४ अंक सहीत दोस्रो स्थानमा रहेको छ । यस्तै, युएई १८ खेलमा १० जित निकाल्दै २२  अंकका साथ तेस्रो स्थानमा, नामिबिया १४ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ चौथो स्थानमा, युएसए १६ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ पाँचौ स्थानमा , नेपाल १२ खेलमा ६ मा जित निकाल्दै १२ अंकका साथ छैठौं र पपुवा न्यूगिनी २० खेलमा १ मा जित निकाल्दै २ अंकका साथ सातौं स्थानमा रहेको छ ।

नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहेका छन् ।

लिभरपुलका प्रशिक्षक क्लोपले चेल्सीविरुद्धको खेल गुमाउने

काठमाडौं, १८ पुष ।
लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगअन्तर्गत आइतबार हुने चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् । क्लबले क्लोपलाई कोरोना संक्रमण पुष्टि भएकाले चेल्सीविरुद्धको खेल गुमाउने जानकारी गराएको हो। हाल उनी सेल्फ आइसोलेसनमा बसेका छन्। लिभरपुलले चेल्सीको घरेलु मैदान स्टामफोर्ड खेल्ने छ । लिगमा हाल चेल्सी २० खेलमा ४२ अंकका साथ दोस्रो र लिभरपुल १९ खेलमा ४१ अंक जोडेर तेस्रो स्थानमा छ ।