बालकरामले हजारौको अगाडि जिब्रो छेडेर गरे पुशपतिको यात्रा

-रमेश गिरी
भक्तपुर, १२ असोज : मध्यपुरथिमि नगरपालिका–५ दिगुली अर्थात दिगुटोलको दिगु भैरब मन्दिर अगाडि साँझदेखिनै मानिसहरुको भीड बढिरहेको थियो ।

आश्विन शुल्क पूर्णिमा अर्थात येँया पुन्हिको दिन आज रात्रीकालिन प्रहरमा मध्यपुरथिमिको लाय्कु दरवार परिसरमा जिब्रो छेडेर थिमिदेखि पशुपति मन्दिरसम्मको यात्रा गरिने भएपछि प्रतक्ष्य रुपमा हेर्न हजारौ मानिसको भीड राती ७ः३० बजेसम्म निकै बाक्लो देखिएको थियो ।
मध्यपुरथिमि नगरपालिकामा दिगु टोलमा ३५० वर्ष भन्दा अगाडिदेखि चल्दै आएको जिब्रो छड्ने जात्रा लोपोन्मुख अबस्थाबाट जोगाउदै यसवर्ष मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडेर मध्यपुरथिमिबाट पशुपतिसम्म पुगेर पुनः फर्किएर बालकुमारी मन्दिरसम्म आउने भएपछि प्रतक्ष्य हेर्न र थिमिदेखि पशुपतिसम्मको यात्रालाई साथ दिन हजारौ स्थानीयवासीको भीड जम्मा भएकोृ थियो ।

मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले दिगु भैरब मन्दिर अगाडि बनाएको स्टेजमा बसेर आज राती ७ ः ४५ बजे हजारौ मानिसको अगाडि जिब्रो छेडाउनु भएको हो । हजारौ जनमानसको अगाडि तीनवटा सियो भएको सुईरोले जिब्रो छेडाएर ४० किलोको महाद्धिप बोकेर थिमिदेखि पशुपतिसम्मको यात्रा सुरु गर्नुभयो ।

जात्रा स्थलमा प्रतक्ष्य रुपमा जिब्रो छेडेको जात्रा हेरेपछि संस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्री मन्त्री सुजन किराँतीले यसअघि पत्रपत्रिका र टेलिभिजनतिर मात्रै हेरकोमा आज आज प्रतक्ष्य देख्ने मौका पाएको बताउनु भयो । उहाँले यो जात्रालाई विश्वव्यापी रुपमा ब्राण्डिङ गर्नसके लाखौ पर्यटक ल्याउन सकिने बताउनु भयो ।

“यो जात्रालाई विश्वव्यापी ब्राण्डिङ गरेर लाखौ पर्यटक भित्रयाउन पर्ने रहेछ, आउँदो वर्ष सबैसँग सल्लाह गरेर यसलाई अझै भव्य बनाउनु पर्छ,” मन्त्री किरातीले भन्नुभयो, “संस्कृतिलाई जोगाउन सकेन भने अमर नरहन सक्छ, त्यसैले नेपालमा संस्कृतिलाई पर्यटन उद्योगसँग जोडेर लैजानु पर्र्छ, नेपालको संस्कृतिमा पर्यटन मिसाउनु पर्छ, यसबाट व्यापक रुपमा पर्यटक भित्रयाउन सकिन्छ ।”

मन्त्री किराँतीसमेत पैदलनै पशुपति मन्दिरसम्म पुगेर पशुपति मन्दिर भित्र चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेड्ने बालकरामको जिब्रोले तेल हालिदिने बताउनुभयो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्री मन्त्री सुजन किराँती, प्रतिनिधि सभाका सांसद दुर्लभ थापा, वागमित प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, प्रतिमा श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ, पशुपति विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले प्रतक्ष्य रुपमा जात्रास्थलमा रहेर जात्राको अवलोकन गर्नुभएको थियो ।

बालकरामले भने जिब्रो छेडेर दिगु भैरब मन्दिर अगाडि जिब्रो छेडेर महाद्धिप बोकेर चोडे टोलको कामदेव, महालक्ष्मी, निलवर्ण गणेश, मन्दिरमा दर्शन गरि सिद्धिकालीमाईको मन्दिर हुदै सिद्धिकाली चोक, सानोठिमी, सिनामंगल, महादेव चोक, पेप्सीकोला चोक, एयरपोर्ट १० नं. गेट (पूर्वी गेट), सान बैंकवेट चोक, गुहेश्वरी हुदै पशुपतिनाथको मन्दिर प्रवेश गरि परिक्रमा गर्दै त्यही मार्ग हुदै थिमि आएर बालकुमारी मन्दिरमा दर्शन गरि सियो झिकेर आजको जात्रा सम्पन्न गर्ने येयाँ पुनिहया मेंयः तवनेगु जात्रा व्यबस्थापन समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

जिब्रो छेडाउनु अगाडि बालकरामले भन्नुभयोे, “यस पटक म इतिहास रच्ने लक्ष्यका साथ जिब्रो छेडाएर पशुपतिसम्म जाने निर्णय गरेको हुँ, यसअघि पहिलो पटक मैले २०७५ सालमा जिब्रो छेडेर थिमि घुमेको थिए, यसवर्ष पशुपतिसम्मको यात्रा पुरा गर्ने आँट गरेको छु, माता बालकुमारीकोे शक्तिले त्यो यात्रा पुरा गर्नेछु ।”

मध्यपुरथिमि दिगुटोलदेखि पशुपतिनाथ मन्दिरसम्मको जादा र आउँदा १७ किलो मिटरको यात्रा पुरा गर्ने उहाँले बताउनुभयो । जिब्रो छेडेर ४० किलो तौलको महाद्धिप बोकेर मध्यपुरथिमिबाट गुहेश्वरी हुदै पशुपति मन्दिर भित्र प्रवेश गरि दर्शन गर्दै पुन मध्यपुरथिमिको बालकुमारी आएर सुईरो निकाल्ने गरि जात्रा सुरु गरेको हो ।

प्रतक्ष्य रुपमा जात्रा हेर्न मध्यपुरथिमिका स्थानीयवासीका साथै भक्तपुर, काठमाडौं, ललितपुर, किर्तिपुर लगायतका बिभिन्न ठाउँबाट जात्रा हेर्न आउनेको धुुइरो लागेको थियो । मध्यपुरथिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले ३५० वर्ष भन्दा अगाडिदेखि जिब्रो छेडिदै आएको यो जात्रालाई निरन्रता दिन र यसवर्षको जात्रा सहज रुपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने बताउनु भयो ।

उहाँले जात्राका लागि आवश्यक सहयोग रकम उपलब्ध गराएको, जात्रा स्थलमा भीड कम गर्न दुई ठाउँमा प्रोजेक्टर राखेर जात्राको प्रतक्ष्य प्रशारण गर्ने व्यबस्था गरेको र जात्रालाई विजवन्त राख्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक पहिचानलाई यो जात्राले विश्वभर फैलाउने बताउदै यस्ता जात्रा परम्परा जोगाउन सरकारको पनि साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । ऐतिहासिक यो जात्रा वि. सं २०२६ सालदेखि लोप भएपनि वि.सं. २०५० सालबाट मध्यपुरथिमि चोडे टोल निवासी कृष्णनानी श्रेष्ठले तीन पटक जिब्रो छेडाएर जात्रालाई पुर्नजीवन दिएको बताउनुभयो ।
त्यसपछि वि.सं २०६३ सालदेखि सञ्चालन हुन नसकेकोमा वि.सं. २०७४ मा मध्यपुरथिमि –४, बालकुमारी निवासी विरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाउनु भएको बताउनु भयो । जात्रामा हजारौको सहभागिता रहेको छ ।

चाँगुनारायणका ताथलीमा बिशाल महायज्ञ सुरु : कलश यात्रामा हजारौको सहभागिता, महायज्ञ स्थलमा भव्य आश्रम बनाउने लक्ष्य, सबैमा सहयोग गर्नए आव्हान

भक्तपुर, ११ असोज । अनाथ, असाह्य, बेसाहारा नागरिकलाई निःशुल्क गाँस, बास र कपास उपलब्ध गराउने उदेश्यले आश्रम निर्माणार्थ चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापमा विशाल महायज्ञ सुरु भएको छ । ताथलीस्थित छापमा सञ्चालनमा आएको ‘छोरीको घर जेष्ठ नागरिक आश्रम’ मा आजबाट सुरु भएको श्रीमदभागवत पितृ मुक्ति विराट ज्ञान महायज्ञ–२०८० मा १००८ कलश यात्रा गरि महायज्ञको सुरु गरिएको हो ।

चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापस्थित ‘छोरीको घर जेष्ठ नागरिक आश्रम’ मा आजबाट सुरु भएको महायज्ञको भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभाका सांसद दूर्लभ थापाले उद्घाटन गर्नु भयो । उहाँले महायज्ञमा बोल्दै आश्रमको निर्माण राज्यले गर्नु पर्ने दायित्व हुँदाहुदै वालयोगेश्वर श्री विजयमूर्ती महाराजजीले महायज्ञ गरेर आ?म निर्माण गर्ने लक्ष्य लिनु सुखद भएको बताउनु भयो ।

उहाँले समृद्ध नेपालमा बाल आश्रम, बृद्धा आश्रम बनाउने, त्यसको संरक्षण गर्ने कार्य सरकार स्वयमको रहेता पनि हाम्रो देशमा यस्तो कार्य राज्यबाट नभएको बताउनु भयो । देशको कमजोर आर्थिक अबस्था र अस्थिर सरकार नहुँदा यस्ता कार्यले गति लिन नसकेको भन्दै उहाँले विजयमूर्ति महाराज श्रीबाट यस्ता कार्यको थालनी भएकोमा निकै खुसि लागेको बताउनुभयो ।

नेपालको संबिधानमा प्रत्येक नागरिकको गाँस, बास र कपासको सुनिश्चितको निश्चित गरे पनि राज्यको सबैमा त्यो अधिकार पुर्याउन नसकेको अबस्थामा सामाजिक एवं धार्मिक व्यक्तित्वले यस्ता महायज्ञ गरेर आश्रम निर्माण गर्नुले संविधानमा गरेको व्यबस्थालाई कार्यान्वयन गर्न टेवा पुगेको बताउनु भयो । अहिले देश विभिन्न आन्दोलनले थिलोथिलो भैरहेको अबस्थामा समृद्ध नेपाल नबन्दासम्म पनि विजयमूर्ति जस्ता युग पुरुषको खाँचो रहेको सांसद थापाले चर्चा गर्नुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्नै नगरपालिकाको ताथलीमा सञ्चालन भएको विराट ज्ञान महायज्ञले नगरपालिकाको शिर उच्च बनाएको बताउनु भयो । चाँगुनारायण नगरपालिका आफैमा धार्मिक स्थलले भरिपूर्ण स्थान हो भन्दै उहाँले विगतदेखि बिभिन्न साँस्कृतिक विभितताले भरिपूर्ण रहेको यस नगरको शिर महायज्ञले उच्च बनाएको बताउनुभयो ।

नगर प्रमुख खत्रीले छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको अभियान चाँगु नगरबासी मिलेर साकार पार्ने बताउदै उहाँले चागुनारायण नगरपालिकाले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारीमा रहेको पनि बताउनु भयो । कार्यक्रममा वागमति प्रदेशका प्रदेश सदस्य सुरेश श्रेष्ठ, पूर्व प्रदेश मन्त्री कृष्णलाल भडेल, नेपाली काँग्रेसका बिभिन्न तहका नेताहरुकोसहभागिता रहेको थियो । कार्यक्रममा धार्मिक प्रवचनका साथै साँस्कृतिक एवं धार्मिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

महायत्रस्थलमा आश्रम बनाउने यस्तो छ लक्ष्य :

देशभरका बेसाहारा, पीडित, दुःखी, अनाथ, असाह्य, अपाङ, निमुखा तथा आधारभुत आवश्यताबाट बञ्चित जेष्ठ नागरिकका लागि विशाल आश्रम निर्माणको गर्ने उदेश्यले आजबाट सुरु भएको १७ दिने विराट ज्ञान महायज्ञ २७ गतेसम्म सञ्चालन हुने छोरीको घर जेष्ठ नागरिक आश्रमका प्रमुख वालयोगेश्वर विजयमूर्ति महाराज श्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेष्ठ नागरिकको विशाल आश्रम निर्माणको गर्न जमिन खरिद प्रक्रिायसमेत सुरु भइसकेको छ । आश्रम निर्माणका जग्गा खरिद गर्न रु. ५० लाख बैना दिइसकेको र महायज्ञबाट संकलित रकमबाट यसैस्थानमा बृहत आश्रम निर्माण गरि स्थानीइ सरकारको रोहबरमा सञ्चालन गरिने बताउनु भयो ।

जेष्ठ नागरिक आश्रम स्थल, वृहत आध्यामिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, धर्मशाला, संत्संग भवन, पुस्तकालय, सन्त निवास, जेष्ठ नागरिक दिवा तथा रात्रि सेवा केन्द्र, प्रवचन हल, गौशाला, अन्न उत्पादन, बगैचा क्षेत्र तथा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने बृहत योजना सहित महायज्ञ सचालन गरिएको हो ।

महायज्ञका प्रमुख विजयमूर्ति महाराजले महायज्ञ अबधीभर दैनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्याती प्राप्त सन्त माहात्मा, विद्धान विदुषि, प्रसिद्ध कथा वाचक, धार्मिक प्रवचन, बिभिन्न वाचक, वाचिकाका मुखारबिन्दुबाट कथा वाचन हुने जानकारी दिनुभयो । महायज्ञ सुरु हुनु पूर्व गत शनिवार मोटरसाइकल र्यालीको आयोजना गरिएको थियो भने महायज्ञ सुरु भएको दिन आज १००८ भन्दा बढी कलशसहितको बृहत कलश यात्रा आयोजना गरिएको थियो ।

बाजागाजा र सांस्कृतिक झाँकीसहित आयोजना गरिएको कलश यात्रामा सहभागि दुई हजारभन्दा बढी नागरिकले नगरपालिकाका बिभिन्न क्षेत्रहरुको भ्रमण गरि पुनः महायज्ञस्थलमा आएको थियो । महायज्ञलाई सफल बनाउन बुधबार साँझ महायज्ञस्थल र आसपासका क्षेत्रमा दीप प्रज्वलन गरिएको थियो । महायज्ञ सफल पार्नकै लागि असोज ६ गते बृहत मोटरसाइकल र्याली सम्पन्न गरिएको थियो ।

१७ दिन सम्म सञ्चालन हुने महायज्ञमा प्रसिद्ध कथा वाचिकाद्वय गरिमा उपाध्याय र उमा महेश्वरीले कथा वाचन गर्नु भएको छ । आयोजक संस्थाका संस्थापक अध्यक्ष एवं चर्चित श्रीमद भागवत वाचक बालयोगेश्वर विजयमूर्ति महाराजले महायज्ञ ऐतिहासिक हुने र यसले भक्तपुरलाई चिनाउने दावी गर्दै महायज्ञमा श्रीमद भागवतका कथाका अलवा स्वदेश तथा विदेशबाट आएका प्रतिष्ठित बिद्धानले प्रबचन दिने बताउनुभयो ।

महायज्ञका अवसरमा ५०० भन्दा बढी बाल कन्याको पुजन, १००० भन्दा बढी जेष्ठ नागरिकलाई सम्मान, विशिष्ट एवं दानबीरको अभिनन्दन, सयौ जनाको सामूहिक तुलादान, १०८ गौमाताको दुध जम्मा गरी पञ्चामृत तयार गरी वितरण गरिने छ ।

प्रत्येक दिन राष्ट्रिय स्तरका राजनेता र कलाकारको उपस्थिती रहने महायज्ञमा रात्रीको समयमा रामलीला, कृष्णलीला, भरत नाट्यम, नृत्य, धर्म संस्कृति र पहिचान झल्कने साँस्कृतिक झाँकी, देश विदेशका ख्याती प्राप्त सन्त, महात्मा, धर्मगुरुको प्रवचन हुनेछ । महायज्ञमा पाँच लाखबढी भक्तजको उपस्थिति हुने र पाँच करोड रूपैयाँ आर्थिक सहयोग संकलन हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । महायज्ञमा दैनिक पाँच हजार भक्तजनलाई निस्शुल्क प्रसाद बितरण गरिने छ ।

महायज्ञ सफल बनाउन १०८ सदस्यीय मूल आयोजक समिति र स्थानीय समाजसेवी केशरबहादुर खड्काको संयोकत्वमा १००८ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरी विभिन्न ६० वटा उपसमिति गठन गरिएको छ । हाल ३० जना अट्ने क्षमता रहेको आश्रमको क्षमता बृद्धि गरी १०० जनासम्म बस्नसक्ने आश्रम निर्माण गरिने लक्ष्य राखिएको छ ।

 

बाजागाजासहित इन्द्रायणीलाई इन्द्र दह पुर्याई मेला सुरु, रातभरि दिपावली गरि मनाइने
भक्तपुर, ११ असोज : इन्द्र जात्राको तेश्रो दिन आज साँझ भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा इन्द्र देवतालाई बिराजमान गराई पोखरीको वरिपरि दिपावली गरि भव्य इन्द्र जात्रा मेला सुरु भएको छ ।
भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात सिद्धपोखरीमा पु¥याई साँझबाट मेला सुरु भएको छ ।
भाद्र शुक्ल चतुर्थीको दिन साँझ दिपावली गरी मध्यरातिसम्म मेला लाग्ने र भाद्र शुक्ल पूर्णिमाको दिन बिहानैबाट इन्द्रदहमा स्नान गरी इन्द्रको पूजा गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।
भाद्र शुक्ल चतुर्थीको दिन साँझबाट सुरु हुने मेला पूर्णिमामा दिनभर मेला गरि साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी भक्तपुर देश यात्रा गर्दै द्यों छेमा भित्र्याएपछि मेला सम्पन्न हुने परम्परा रहेको संस्कृति एवं इतिहासविद प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल सम्बत् २१८ मा शक्तिशाली युवराजको रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको उहाँको भनाइ छ ।
स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ । यसलाई ‘ञँंकीदह’ पनि भनिन्छ । यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बाल्ने चलन छ ।
कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोर्वधन पहाड औंलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा स्वरुप पनि इन्द्र दहमा मेला लाग्ने गरेको उहाँले बताउनु भयो । राजतन्त्रको पराजय र जनताको विजयीको रुपमा पनि यो जात्रा मनाइने गरेको श्रेष्ठको भनाइ छ ।
इन्द्र दहमा स्नान गरि समय् अर्थात भोज चढाएर, भाज खाएर यँयापुन्ही मान्ने गर्दछन् । समय अर्थात छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काक्रो लगायतका परिकार विशेष रूपले खाने र साँझ इन्द्रायणीलाई पुनः रथमा विराजमा गराई बाजागाजासहित भक्तपुरको आधा देश परिक्रमा गराई देवगृह भित्र्याए पछि मेला सम्पन्न हुने परम्परा रहेको छ ।
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौँ, ११ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दबैठक जानु भई जात्रा अवलोकन गर्नुभएको उहाँका प्रस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद् सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्द बैठकअघिसम्म नै गाडीमा जाने गर्नुभएको थियो । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्म्रप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्द बैठकसम्म जानुभएको थियो ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिनुभएको थियो । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ ।

शुक्रबार माथिल्लो टोलमा रथयात्रा गरिने

असोज १५ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानु भई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीकाप्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

असोज १५ गते सोमबार राति ८ः३७ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो । वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजा आज पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

पूर्व राजा ज्ञानेन्द्रद्धारा तलेजु र भैरबको पूजा एवं दर्शन (फोटो फिचर)
भक्तपुर, ७ असोज । विश्व सम्पदा सूचीँमा सुचिकृत नेपालको पुरानो ऐतिहासिक एवं पुरातात्विक सम्पदास्थल भक्तपुर दरबारस्क्वायरमा आइतबार दिउँसो १ बजेदेखिनै निकै भिडभाड थियो । १० वर्षको बालकदेखि ८० वर्षका जेष्ठ नागरिकहरु दरबारस्क्वायरको सत्तलमा हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर बसिरहेका थिए । भीड निकै बढ्दै गयो ।
धिमे बाजा, नौमति बाजाहरु घन्किरहेका थिए । साँस्कृतिक महाकाली नाच नाचिरहेका थिए । लामबद्ध हजारौ नागरिकहरु दरबारस्क्वायको गेटदेखि गोल्डेन गेटसम्म बाक्लो रुपमा लामबद्ध थिए । कोहीको हातमा पुष्प गुच्छा त धेरैको हातमा नेपालका झण्डा हल्लिरहेको थियो ।
दरबारस्क्वायरको सिंगो प्राङ्नमा हजारौ नागरिक र उनीहरुले बोकेका नेपालको झण्डाले राताम्मे देखिन्थ्यो । खाली ठाउँ कतै थिएन, भईदेखि, मन्दिरको सिढीँ, सत्तल, पेटीँ मानिसको भिडले खचाखच भरिएको थियो । त्यो भीडमा जम्मा भएका  सबैको एउटै चाहना थियो, नजिकबाट पूर्व राजालाई हेर्ने ।
करिब सवा तीन बजे पूर्व राजा ज्ञानेन्द्र शाहले दरबारस्क्वायमा प्रवेश गरेसँगै उनका पक्षमा नारावाजी गरेका थिए । राजा आउँ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा सबैका साझा जस्ता नारा लगाएका थिए । भक्तपुरस्थित तलेजु र आकाश भैरबको पूजा एवं दर्शन गर्नु स्थानीयवासीको आग्रहलाई स्वीकार्दै आएका ज्ञानेन्द्रलाई तलेजु मन्दिरसम्म पुग्न निकै सकस भयो, त्यो भन्दा ठूलो सकस त उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई भयो ।
स्थानीय अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा रामेश्वर थापा सदस्य सचिव रहेको आयोजक समितिका पदाधिकारीहरु, नेपाली सेनाका पूर्व जर्नेल तथा कर्णेलहरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेता एवं पूर्वमन्त्री टंक ढकाल, राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाह, केन्द्रीय सदस्य रामहरि थापा, जमुना थापा, मुकुन्द कार्की, भरत जंगम, रमा सिंह, प्रदेश सांसदलगायतले ज्ञानेन्द्रलाई स्वागत गरेका थिए ।
भक्तपुर दरबार क्षेत्रस्थित खौमा गेटबाट पैदल हिँडर भीडमा ठेलिदै गोल्डेन गेटभित्र प्रवेश गरेपछि भीडलाई रोक्न सुरक्षाकर्मीले गेटनै लाउनु पर्यो । करिब १५ मिनेट तलेजुको पूजा एवं दर्शन गरेका ज्ञानेन्द्र पैदलनै जनताको भीडलाई छिचोल्दै पाँचतले मन्दिर अगाडि रहेको आकाश भैरब मन्दिर पुगेका थिए । उनलाई हेर्न पाँचतले मन्दिरको प्रत्येक सिँटी र आसपासका घर एवं होटलका छतहरु भरिएका थिए ।
भैरब मन्दिरमा बेताल देवताको पुजा एवं प्रसाद ग्रहण पछि आकाश भैरबको पूजा एवं दर्शन गरेका थिए । उनलाई कार्यक्रमका संयोजक अनन्तप्रसाद धौभडेलले मन्दिरको महत्व र जात्रा पर्वकाबारेमा जानकारी गराएका थिए । मन्दिर भित्र विजयप्रसाद धौभडेललगायत पुजारीहरुले प्रसाद र भैरबको रथको प्रतिक सानो रथ प्रदान गरेका थिए । त्यसपछि बाहिरिएका ज्ञानेन्द्रलाई सवारी साधनसम्म पुग्न निकै कठिन भयो ।
गणतन्त्र घोषणापछि गद्दीविहीन बनेका पूर्व राजा ज्ञानेन्द्रले आज भक्तपुरको दरबारस्क्वायमा रहेको तलेजु भवानी र तौमढीमा रहेको आकाश भैरबको दर्शन एवं पुजा गर्ने आउने क्रममा उर्लिएको जनताको भीड यसअघि सायदै कुनै राजनीतिक दलको कार्यक्रम देखिएको थिएन ।
होटलमा ज्ञानेन्द्रको स्थानीयसँग तीन घण्टा लामो भेट :
तलेजु भवानी र भैरवानाथको दर्शन पछि पूर्वराजा ज्ञानेन्द्रले सल्लाघारी स्थित होटल ग्रीनल्याण्डमा जनतासँग भेट गरेका थिए । करिब तीन घण्टा भन्दा बढी भेटमा बिताएका उनले ५०० भन्दा बढीसँग भेट गर्दै भक्तपुरवासीकोे आवाज सुनेका थिए ।
भेटने अधिकांशले उनलाई देश जेगाइदिन आग्रह गरेका थिए । भेट अबधीभरसँगै बसेका राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाहले भेटना अधिकांश नागरिकले देश संकटमा पर्दै गएकाले देश जोगाइदिन आग्रह गरेको बताउनु हुन्छ । देशी विदेश गलत शक्तिले देशलाई बिग्रह, बिघठन र धार्मिक एवं साँस्कृतिक द्धन्द्धमा लैजान लागेको भन्दै पूर्वराजा ज्ञानेन्द्रसँग चिन्ता व्यक्त गरेको जानकारी दिए ।
भेटमा पूर्व जिल्ला उपसभापति एवं राप्रपाका केन्द्रीय नेता रामहरि थापाले देश संकटमा पर्दै गएको र राजनीतिक दलका वर्तमान् नेताहरुप्रति भरोसा र विश्वास हराउदै गएकाले देश जोगाइदिन आग्रह गरेको बताए । ज्ञानेन्द्रले भने भेटमा आउनेहरुसँग गुनासो मात्रै सुनेर टाउँको मात्रै हल्लाएर आश्वासन दिएका थिए ।
व्यक्तिगत रुपमा ज्ञानेन्द्रले देशको वर्तमान् अबस्थाबारे केही नबोले पनि जनताको माया लागेको र भक्तपुरका जनताले आफूप्रति गरेको विश्वास देखेर निकै खुसी लागेको बताए ।
खट बोकेर सिन्दुर खेल्दै टोल टोल घुमेर हर्षोल्लासका साथ सूर्यविनायकमा मनाईयो गणेश खट जात्रा

भक्तपुर, २ असोज । गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक गणेश मन्दिरबाट आज गणेश जन्मोत्सव जात्रा एवं गणेश रथ यात्रा गरि टोल टोलमा गणेशको मूर्ती बिराजमान खटलाई टोलटोलमा परिक्रामा गराई मनाइएको छ ।

भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात भगवाण गणेशको जन्मोत्सवको अवसरमा आज सूर्यविनायक नगरपालिका वडा नं. ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरि मूल गणेशको मूर्तीलाई खटमा बिराजमान गराई सुरु भएको गणेश जन्मोत्सव जात्रा साँझ सम्पन्न भएको हो ।

सूर्यविनायक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लवको संयुक्त आयोजनामा भएको सूर्यविनायक गणेश अर्थात इनरे गणेद्यो खट जात्रा बिहान गणेश मन्दिरबाट सुरु भइ दिनभर टोलटोलमा परिक्रमा गराई साँझ सम्पन्न हुने सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पुर्खाले मनाउदै आएको गणेश जन्मोत्सव जात्रा आर्थिक श्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, विगत चार वर्षबाट सुरु भएको यो जात्रा यसवर्ष पनि हजारौ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोल टोल पुर्याएर हर्षोल्लासका साथ मनाइएको छ । यो जात्रालाई अब हरेक वर्ष सञ्चालन गर्नेछौ ।”

गतवर्ष जात्रा मनाउन नगरपालिकाको वडा नं. ६ र ८ ले तीन तीन लाख गरि ६ लाख रुपैयाको बजेटको व्यबस्थापन गरेको छ । जात्रा दुईवटै वडाका केही भागको परिक्रमा गर्ने परम्परा रहेको छ भने जात्रा सञ्चालन र मन्दिरको संरक्षण गर्ने गुठी पनि दुईवटै वडाको क्षेत्रमा रहेको छ ।

त्यसैले पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि ती दुईवटै वडाले बजेट विनियोजन गरेको हो ।
गणेश चतुर्थीका दिन परापूर्वकालदेखि मनाउँदै आएको सूर्यविनायक गणेश (इनरे गणेद्यो) को लोपोन्मुख जात्रालाई बर्सेनि निरन्तरता दिइने सूर्यविनायक युवा क्लबका अध्यक्ष मनोज गिरीले बताउनुभयो ।

गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिम तर्फ राजथला टोलसम्म, पूर्व तर्फ चालिसे गाँऊ गहनादेवी मन्दिरसम्म, उत्तर तर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिने परम्परा छ ।

खट जात्राको क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखेर त्यसपछि खट जात्रा गरि टोल टोलमा परिक्रमा गराएको वडा नं. ७ का वडाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले जानकारी दिनुभयो । गणेशलाई रथारोहन गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराएको उहाँले बताउनु भयो । जात्रामा यसवर्ष गतवर्ष भन्दा तेब्बर मानिसको सहभागिता रहेको र जात्रामा महिला तथा पुरुषले अबिर खेल्दै मनाएको छन् ।

काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भनिन्छ । समितिा अनुसार यस गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन रहेको छ । गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्काः (बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजान र त्यहाँ वैशाख ४ गते हुने द्यो स्वंगः (सगुन) जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको छ ।

देशमा सदियौदेखि कायम रहदै आएको एकतालाई भाड्ने तत्वदेखि सचेत रहनु पर्छ : एमाले अध्यक्ष ओली (फोटो फिचर)
भक्तपुर, २३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामुहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वहरुदेखि राष्ट्रिय एकता खतरामा परेको बताउनु भएको छ ।
आज अखिल नेपाल महिला संघ मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा हरितालिका तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जातजाति, भाषाभाषि, धर्म, संस्कृति, पर्व, चाँडबाँडका नाममा सदियौदेखि कायम रहदै आएको एकतालाई भाड्ने तत्व सक्रिय रहेको बताउनु भएको हो ।
“यस्ता चाँडबाड मन नपराउने, एकता मन नपराउने, धर्म, संस्कृति, परम्परा मन नपराउने, खोला वारीका खोला पारीका, एक समाज र अर्को समाजबीचको एकता, सद्भाव देखेर मन भतभती पोल्नेहरु सलबलाएका छन्”, एमाले अध्यक्ष ओलीले भन्नुभयो, “यसरी सबै जातजातिका मानिसहरु मिलेर एकै ठाउँमा बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु, साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरुसँग सचेत हुनुपर्छ ।”
सबै जातजाति एकै ठाउँ बसेको मन नपराउनेहरु, झगडा गराएर मारामार गर्न गराउन खोज्नेह एकता बिरोधीहरुसँग सचेत हुदै यस्ता साझा चाडपर्वहरु उत्सवको रुपमा मनाउनु पर्ने उहाँले बताउनुभयो । एमाले अध्यक्ष ओलीले हामी आफै आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु पर्छ भन्दै हाम्रो देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजानु पर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले आफैले आफ्नो खुसी ल्याउनु पर्छ, अरुसँग खुसी सापटी खाजेर पाइदैन, खेत बाँझो छ भनेर चुप लागेर बस्ने होइन, खोलामा बगेको पानी कुलो लाएर आफैले ल्याउनु पर्छ, हाम्रो खुसी अरुले ल्याउदैन, हामी सबैले चाह्यौ भने हाम्रो खुसी आफै ल्याउन सक्छौँ ।”
मानिस खुसी भएर मुस्कुराएको, अझ बच्चा बच्चीहरु खुसी भएर मुस्कुराएको क्षण साह्रै आनन्द आउने क्षण हो भन्दै उहाँले खुसी देख्न नसक्नेहरुसँग सचेत हुदै सबै खुसीले मुस्कुराउने अबस्था ल्याउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तुलसा दाहालले महिलाहरुले मनाउदै आएको तीजको इतिहास र महत्वमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्यद्धय सोमप्रसाद मिश्र, निर्मलकुमार भट्टराई, एमाले जिल्ला अध्यक्ष बचन देउजा, वागमति प्रदेश सभा सदस्य किरण थापा, सकुन्तला श्रेष्ठलगायतका जिल्ला तथा बिभिन्न भातृ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा अखिल नेपाल महिला संघ मध्यपुरथिमि नगर कमिटीका अध्यक्ष दीपा अधिकारीले सबै जातजाती एकै ठाउँमा बसेर रमाउदै तीजलाई साझा पर्वका रुपमा मनाउन लागेको बताउनुभयो । कार्यक्रममा बिभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गर्दै मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रर्दशन गरेको थियो ।
आज ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन मनाउदै
काठमाडौँ, १४ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ ।
तागाधारीले यज्ञोपवीत धारण गर्दै
आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।
स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।
क्वाँटीको परम्पररा
जनै पूर्णिमाका दिन एघारथरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहु्न्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो ।
तराई क्षेत्रमा राखी बाँधिदै
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूँड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गर्छ ।
नेवार समुदायले गुँपुन्ही मनाउँदै

भक्तपुर, १३ भदौ :  नेवार समुदायले आज गुन्हुँपुन्ही पर्व मनाउँदैछ । नेवार समुदायले गुन्हुँपुन्ही पर्वमा नौ थरि गेडागुडीको मिश्रण भएको परिकार क्वाँटी खाने चलन छ । त्यसैले नेवार समुदायले यस दिनलाई क्वाटी पुन्ही पनि भन्ने गर्दछन् । नेवार समुदायमा गुन्हुँपुन्ही र गाईजात्राका छुट्टाछुट्टै धार्मिक विधिअनुसार कार्य गर्नुपर्दछ ।

गुन्हुँपुन्हीमा क्वाटी खानेमात्र नभई धानबारी, कुवा, इनार, धारालगायत खोलामा गएर भ्यागुतालाई पुज्ने र खाना खुवाउने परम्परा छ । साथै नेवार समुदायले यस दिन पञ्चतत्व अर्थात् होम गर्दा हाल्ने तत्वसहितको डोरो बाँध्ने प्रचलन रहेको छ । यसकारण एकै दिन दुई पर्व मनाउन व्यवहारिक कठिनाइ उत्पन्न भएकाले नगरपालिकाले सरोकारवालासँग आवश्यक छलफल गरी आज गुन्हुँपुन्ही मनाउने निर्णय गरेको थियो । सोहीअनुसार मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले पनि आजै गुन्हुँपुन्ही मनाउने निर्णय गरी नगरपालिका मातहतका कार्यालयमा सार्वजनिक बिदासमेत दिएको छ ।

नेवार समुदायमा गुन्हुँपुन्हीमा पञ्चतत्वसहितको डोरो बाँध्दा भूतप्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । विषेशतः क्षेत्री बाहुनले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भए पनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो । नेवार समुदायमा डोरो बाँध्दा बलि राजाबाट रक्षा गरोस् भन्ने श्लोक वाचन गरी महिलाको बायाँ र पुरुषको दायाँ हातमा डोरो बाँध्ने गरिन्छ ।

नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा यसको नाम गुन्हुँपुन्ही रहन गएको र नवौँ महिना भएकाले नेवार समुदायले कम्तीमा नौ थरिका गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो । यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत नौ थरि गेडागुडीको मिश्रणबाट तयार गरिन्छ ।

रोपाइँ र धानबाली गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।
“खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसमअनुसारको चाडपर्व मनाउने र सोहीअनुसारका खानेकुरा खाने गर्दछन् । यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो”, उहाँले भनुभयो ।

भ्यागुताको पूजा

श्रावण शुक्ल पूर्णिमाको अवसरमा नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुता पुज्ने प्रचलन रहेको छ । कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ । कृषकहरू प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन् ।

वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर धानखेत र पानीको स्रोत भएका ठाउँमा गई भ्यागुतालाई पूजा गरी भोजन गराउने परम्परा रहेको प्रा डा श्रेष्ठ बताउनुहुन्छ । जसलाई स्थानीय भाषामा ‘ब्याचा जाः नक वानेगु’ भनिन्छ ।

“मानिसको महान् गुरुमध्ये भ्यागुता पनि एक हो । त्यसैले आजको दिन गुरुलाई पुज्ने अवसरका रूपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो”, उहाँले भन्नुभयो ।

भक्तपुरका कुण्डमा मेला

जनैपूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला लागेको छ । भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको गोसाइँकुण्डकै प्रतीक मानिने प्राचीन धल्चा पुखुः ९कालदह०मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरबार स्क्वायरस्थित शिलु महादेव ९फसी देगः०को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।

कालदहमा स्नानपछि भक्तजन जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् । गुन्हुँपुन्हीको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो ।

तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा ८० हजार भक्तजनले गरे दर्शन
भक्तपुर, ३२ साउन : त्यसो त मन्दिर ३०० वर्ष पुरानो हो । तर पनि भक्तपुर जिल्लाको ग्रामिण क्षेत्रमा पर्ने चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलस्थित ऐतिहासिक मत्स्यनारायण मन्दिरमा यसअघिका मलमास लागेका वर्षहरुमा स्थानीयको सामान्य पूजापाठ मै सिमित रहन्थ्यो । नत यहाँको महिमाकोबारेमा अन्यत्र चर्चानै चल्थ्यो ।
ऐतिहासिक यस मन्दिरमा भने पहिलो पटक यस पुरूषोत्तम महिना (मलमास) सुरु भएयता गएरातीसम्म पनि दर्शनार्थीको घुईचो मात्रै बढेन एक महिनाको यो अबधीमा बिभिन्न जिल्लाबाट आएका करिब ८० हजार भक्तजनले दर्शन एवं पूजा अर्चना गरे ।
छालिङ गोकुल गाउँको यस मन्दिरमा बिहान पाँचबजेदेखि साँझसम्म दैनिक भजन किर्तनले गुञ्जायमान भयो भने पुरुषोत्तम महात्म्य प्रवचनले यहाँका जेष्ठ नागरिकलाई धार्मिक ज्ञान प्राप्त गर्न निकै सहज भयो । मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ सुरु भएदेखिनै ओझेलमा पर्दै आएको यस मन्दिरमा यसवर्षदेखि भक्तजनको नजर परेको एक महिने पुरुषोत्तम मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गरे के नहुदोँ रहेछ र ?, ३०० वर्ष पुरानो यो मन्दिर अझै ओझेलमा थियो, यहाँका मान्यगन्य, जेष्ठ नागरिकहरुसँग सुझाब लियौँ, हामी युवाहरु यहाँको प्रचारमा लाग्यौ, यो मन्दिरमा पहिलो पटक हरेक दिन दर्शनार्थीको घुँईचो देखेर हाम्रा अग्रजहरु पनि छकक पर्नु भयो, यो मन्दिरको दीर्घकालिन रुपमा संरक्षण र बिकासमा हामी लाग्नेछौँ ।”
स्थानीयस्तरबाटै महिनादिनसम्मका लागि प्रवचन र भजनकिर्तनका टोली ल्याएको, नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गरिएको, यहाँ आउने दर्शनार्थीहरुलाई सहज पूजा गर्ने व्यबस्था गरेको बताउदै उहाँले भक्तपुरका चारवटै नगरपालिका, काठमाडौं, ललितपुर, साँखु, मूलपानी, काभ्रेपलाञ्चोकदेखि बिभिन्न जिल्लाका दर्शनार्थीको यो मन्दिरमा भीड लागेको बताउनुभयो ।
मन्दिर संरक्षक समेत रहनु भएका पुरीले भन्नुभयो, “यो तीनसय वर्ष पुरानो मन्दिर हो, दुईवटा पिपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुर्ननिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरिनै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”
स–साना तीन वटा नदीको संगमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामले समेत चिनिने गरिन्छ ।  मन्दिर संरक्षणसँगै ६४ शिव लिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिषरमा मलमासमा यसवर्ष दर्शनार्थीको अधिक घुइचो लागेको छ । यहाँको कुण्डमा स्नान गरेमा छालालगायतका बिभिन्न रोगहरु नाश हुने जनविश्वास रहदै आएको छ ।
यस क्षेत्र प्राकृतिक सौन्दर्यता रहेको र यहाँ पार्कहरु निर्माण गरेकाले बाह्रै महिना आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताउनु भयो । यस मन्दिरमा तीज, जनै पूर्णिमामा पनि मेला लाग्ने गरेको छभने, बालाचर्तुदशीमा महाद्धिप बाल्न र ६४ शिवलिङ्ग परिक्रमा गरि सदबिज छर्न पनि यहाँ घुईचो लाग्ने गर्दछ ।
मन्दिरसम्म पुग्ने सडक कच्ची भएकाले यसलाई पक्क सडकको रुपमा बिकास गर्न सके उपत्यकाबाट नजिक पर्ने यस क्षेत्रमा पारिवारिक रुपमा घुम्म र रमाइलो गर्न आउने आन्तरिक पर्यटकको संख्या अझै बढ्ने भएकाले यसका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।
त्यसैगरि भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा पनि साउन २ गतेदेखि लागेको एक महिने मत्स्येनारायण पुरुषोत्तम मलमास मेलामा स्थानीयले पूजा एवं दर्शन गरेका छन् । यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गरिएको थियो ।  यहाँका कुण्डमा स्नान गरि मन्दिरमा दर्शन गरे रोगव्याधी नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेका छन्