आज ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन मनाउदै
काठमाडौँ, १४ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ ।
तागाधारीले यज्ञोपवीत धारण गर्दै
आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।
स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।
क्वाँटीको परम्पररा
जनै पूर्णिमाका दिन एघारथरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहु्न्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो ।
तराई क्षेत्रमा राखी बाँधिदै
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूँड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गर्छ ।
नेवार समुदायले गुँपुन्ही मनाउँदै

भक्तपुर, १३ भदौ :  नेवार समुदायले आज गुन्हुँपुन्ही पर्व मनाउँदैछ । नेवार समुदायले गुन्हुँपुन्ही पर्वमा नौ थरि गेडागुडीको मिश्रण भएको परिकार क्वाँटी खाने चलन छ । त्यसैले नेवार समुदायले यस दिनलाई क्वाटी पुन्ही पनि भन्ने गर्दछन् । नेवार समुदायमा गुन्हुँपुन्ही र गाईजात्राका छुट्टाछुट्टै धार्मिक विधिअनुसार कार्य गर्नुपर्दछ ।

गुन्हुँपुन्हीमा क्वाटी खानेमात्र नभई धानबारी, कुवा, इनार, धारालगायत खोलामा गएर भ्यागुतालाई पुज्ने र खाना खुवाउने परम्परा छ । साथै नेवार समुदायले यस दिन पञ्चतत्व अर्थात् होम गर्दा हाल्ने तत्वसहितको डोरो बाँध्ने प्रचलन रहेको छ । यसकारण एकै दिन दुई पर्व मनाउन व्यवहारिक कठिनाइ उत्पन्न भएकाले नगरपालिकाले सरोकारवालासँग आवश्यक छलफल गरी आज गुन्हुँपुन्ही मनाउने निर्णय गरेको थियो । सोहीअनुसार मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले पनि आजै गुन्हुँपुन्ही मनाउने निर्णय गरी नगरपालिका मातहतका कार्यालयमा सार्वजनिक बिदासमेत दिएको छ ।

नेवार समुदायमा गुन्हुँपुन्हीमा पञ्चतत्वसहितको डोरो बाँध्दा भूतप्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । विषेशतः क्षेत्री बाहुनले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भए पनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो । नेवार समुदायमा डोरो बाँध्दा बलि राजाबाट रक्षा गरोस् भन्ने श्लोक वाचन गरी महिलाको बायाँ र पुरुषको दायाँ हातमा डोरो बाँध्ने गरिन्छ ।

नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा यसको नाम गुन्हुँपुन्ही रहन गएको र नवौँ महिना भएकाले नेवार समुदायले कम्तीमा नौ थरिका गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो । यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत नौ थरि गेडागुडीको मिश्रणबाट तयार गरिन्छ ।

रोपाइँ र धानबाली गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।
“खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसमअनुसारको चाडपर्व मनाउने र सोहीअनुसारका खानेकुरा खाने गर्दछन् । यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो”, उहाँले भनुभयो ।

भ्यागुताको पूजा

श्रावण शुक्ल पूर्णिमाको अवसरमा नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुता पुज्ने प्रचलन रहेको छ । कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ । कृषकहरू प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन् ।

वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर धानखेत र पानीको स्रोत भएका ठाउँमा गई भ्यागुतालाई पूजा गरी भोजन गराउने परम्परा रहेको प्रा डा श्रेष्ठ बताउनुहुन्छ । जसलाई स्थानीय भाषामा ‘ब्याचा जाः नक वानेगु’ भनिन्छ ।

“मानिसको महान् गुरुमध्ये भ्यागुता पनि एक हो । त्यसैले आजको दिन गुरुलाई पुज्ने अवसरका रूपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो”, उहाँले भन्नुभयो ।

भक्तपुरका कुण्डमा मेला

जनैपूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला लागेको छ । भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको गोसाइँकुण्डकै प्रतीक मानिने प्राचीन धल्चा पुखुः ९कालदह०मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरबार स्क्वायरस्थित शिलु महादेव ९फसी देगः०को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।

कालदहमा स्नानपछि भक्तजन जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् । गुन्हुँपुन्हीको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो ।

तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा ८० हजार भक्तजनले गरे दर्शन
भक्तपुर, ३२ साउन : त्यसो त मन्दिर ३०० वर्ष पुरानो हो । तर पनि भक्तपुर जिल्लाको ग्रामिण क्षेत्रमा पर्ने चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलस्थित ऐतिहासिक मत्स्यनारायण मन्दिरमा यसअघिका मलमास लागेका वर्षहरुमा स्थानीयको सामान्य पूजापाठ मै सिमित रहन्थ्यो । नत यहाँको महिमाकोबारेमा अन्यत्र चर्चानै चल्थ्यो ।
ऐतिहासिक यस मन्दिरमा भने पहिलो पटक यस पुरूषोत्तम महिना (मलमास) सुरु भएयता गएरातीसम्म पनि दर्शनार्थीको घुईचो मात्रै बढेन एक महिनाको यो अबधीमा बिभिन्न जिल्लाबाट आएका करिब ८० हजार भक्तजनले दर्शन एवं पूजा अर्चना गरे ।
छालिङ गोकुल गाउँको यस मन्दिरमा बिहान पाँचबजेदेखि साँझसम्म दैनिक भजन किर्तनले गुञ्जायमान भयो भने पुरुषोत्तम महात्म्य प्रवचनले यहाँका जेष्ठ नागरिकलाई धार्मिक ज्ञान प्राप्त गर्न निकै सहज भयो । मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ सुरु भएदेखिनै ओझेलमा पर्दै आएको यस मन्दिरमा यसवर्षदेखि भक्तजनको नजर परेको एक महिने पुरुषोत्तम मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गरे के नहुदोँ रहेछ र ?, ३०० वर्ष पुरानो यो मन्दिर अझै ओझेलमा थियो, यहाँका मान्यगन्य, जेष्ठ नागरिकहरुसँग सुझाब लियौँ, हामी युवाहरु यहाँको प्रचारमा लाग्यौ, यो मन्दिरमा पहिलो पटक हरेक दिन दर्शनार्थीको घुँईचो देखेर हाम्रा अग्रजहरु पनि छकक पर्नु भयो, यो मन्दिरको दीर्घकालिन रुपमा संरक्षण र बिकासमा हामी लाग्नेछौँ ।”
स्थानीयस्तरबाटै महिनादिनसम्मका लागि प्रवचन र भजनकिर्तनका टोली ल्याएको, नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गरिएको, यहाँ आउने दर्शनार्थीहरुलाई सहज पूजा गर्ने व्यबस्था गरेको बताउदै उहाँले भक्तपुरका चारवटै नगरपालिका, काठमाडौं, ललितपुर, साँखु, मूलपानी, काभ्रेपलाञ्चोकदेखि बिभिन्न जिल्लाका दर्शनार्थीको यो मन्दिरमा भीड लागेको बताउनुभयो ।
मन्दिर संरक्षक समेत रहनु भएका पुरीले भन्नुभयो, “यो तीनसय वर्ष पुरानो मन्दिर हो, दुईवटा पिपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुर्ननिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरिनै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”
स–साना तीन वटा नदीको संगमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामले समेत चिनिने गरिन्छ ।  मन्दिर संरक्षणसँगै ६४ शिव लिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिषरमा मलमासमा यसवर्ष दर्शनार्थीको अधिक घुइचो लागेको छ । यहाँको कुण्डमा स्नान गरेमा छालालगायतका बिभिन्न रोगहरु नाश हुने जनविश्वास रहदै आएको छ ।
यस क्षेत्र प्राकृतिक सौन्दर्यता रहेको र यहाँ पार्कहरु निर्माण गरेकाले बाह्रै महिना आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताउनु भयो । यस मन्दिरमा तीज, जनै पूर्णिमामा पनि मेला लाग्ने गरेको छभने, बालाचर्तुदशीमा महाद्धिप बाल्न र ६४ शिवलिङ्ग परिक्रमा गरि सदबिज छर्न पनि यहाँ घुईचो लाग्ने गर्दछ ।
मन्दिरसम्म पुग्ने सडक कच्ची भएकाले यसलाई पक्क सडकको रुपमा बिकास गर्न सके उपत्यकाबाट नजिक पर्ने यस क्षेत्रमा पारिवारिक रुपमा घुम्म र रमाइलो गर्न आउने आन्तरिक पर्यटकको संख्या अझै बढ्ने भएकाले यसका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।
त्यसैगरि भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा पनि साउन २ गतेदेखि लागेको एक महिने मत्स्येनारायण पुरुषोत्तम मलमास मेलामा स्थानीयले पूजा एवं दर्शन गरेका छन् । यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गरिएको थियो ।  यहाँका कुण्डमा स्नान गरि मन्दिरमा दर्शन गरे रोगव्याधी नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेका छन्
बौद्ध समुदायले मनाइने गुँला पर्व आजबाट सुरु
भक्तपुर, ३२ साउन । चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व आजबाट सुरु भएको छ । बिशेष गरि बौद्ध समुदायले मनाइने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गर्ने गरिन्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ । आजै बिहानबाट बिभिन्न स्थानीय बौद्ध चैत्यहरुको परिक्रमा सुरु भएको यो पर्व भदौ ३० गते सम्पन्न हुनेछ ।
बौद्ध समुदायबाहेक हिन्दु धर्मावलम्वीका नेवार समुदायले पनि पछिल्लो वर्षहरुमा यो पर्व मनाउन थालेको स्थानीय संस्कृकर्मी रामशेखर शाक्यले बताउनु भयो । हरेक दिन दुईदेखि ३०० धर्मावलम्बीको सहभागिता रहने गुँला बाजाले प्रत्येक बिहान नगरका विभिन्न मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ मनाउने उहाँलेक बताउनु भयो ।
यो पर्वको एक महिनाको अवधिमा नागपञ्चमीका दिन चाँगुनारायण मन्दिरमा, गाईजात्राका दिन भक्तपुर सहरको विभिन्न मठमन्दिर, देवालय र विहारको परिक्रमा समेत गर्ने प्रचलन छ । यस पर्वमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्य, स्थानीइ बहाः, बही, चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ । यो पर्वमा राँगा, भेडाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत नौ बाजा बजाएर परिक्रमा गर्ने प्रचलन छ ।
काठमाडौंवासीले स्वयम्भू महाचैत्य दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्ने, ललितपुरवासीले पाटन र चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मन्जुश्री, गोल्डेन टेम्पल लगायत पाटनका विभिन्न विहार÷महाविहारमा पूजा गर्न गर्ने गर्दछन् । भक्तपुर र मध्यपुरथिमिमा पनि यो पर्व बिभिन्न बहाः बहि, चैतयलगायतको परिक्रमा गरि मनाउने गरिन्छ ।
धार्मिक दृष्टिकोणले यस पर्वसँगै नाग पञ्चमी, पञ्चदान, रक्षाबन्धन जनैपूर्णिमा, गाईजात्रा, मतःयाः, देवपत्तनमा खड्गजात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने पर्व आउँछन् । उपत्यकावासीले गाईजात्रा सापारुका दिन ललितपुरस्थित कुम्भेश्वर मन्दिर, काठमाडौँको स्वयम्भू, शोभा भगवती, गणबहालको सेतो मच्छिन्द्र्रनाथ र अन्तिम दिन ललितपुरको बुङ्मती, खोकना, कीर्तिपुरको जलविनायक र चोभारको आदित्यनाथ मन्दिरमा गएर विशेष पूजाआजा गरी सम्पन्न गर्ने गुरु महाबीर बज्राचार्यले बताउनुभयो ।
कतिपय ठाउँमा गुँला पर्वमा बजाउने बाजागाजामा आर्थिक अभाव र जनशक्ति अभावका कारण कपाली समुदायले बजाउने म्वाली बाजाबिना नै गुँला पर्व मनाएको गरिएको छ । गुरु बज्राचार्यले यो पर्वमा एक महिनासम्म दशशीलको पालना गर्नु पर्ने बताउनु हुन्छ । त्यो नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले पञ्चशील पालना गर्नुपर्ने भन्दै यो अबधीमा कम्तीमा पनि प्राणी हिंसा नगर्ने, कसैले नदिइ केही पनि नलिने, नराम्रो काम गर्ने, झुटो कुरा नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने, परस्त्री सम्पर्क नगर्ने बताउनुहुन्छ ।
सकेसम्म अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने सके दशशीलनै पालना हुने उहाँले बताउनुभयो । त्यस्तै यसवर्ष आज बिहान मध्यपुरथिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्यश्वरी ज्ञानमाला भजन खलःले गुँला यात्रा निकालेको छ । खलले सार्वजनिक रुपमा आव्हान गरि गुँला पर्वको अवसरमा ४ गते चाँगुनारायण, ६ गते बुधवार साँखु बज्रयोगिनी,१३ गते काभ्रेपलाञ्चोकको नमो बुद्ध, २० बुधवार बाडेगाउँ, २७ गते ललितपुरको जलविनायक र कार्यविनायक तथा ३० गतेस्वम्भु महाचैत्यको परिक्रमा गर्ने गरि पर्वमा सहभागि हुन आव्हान गरेको छ ।
स्थानीयले महिलाहरुले नेवारी पोशाक लगाएर परिक्रमा र्गे प्रचलनछ । स्थानीयले बौद्ध चैत्यसँगै इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको छ । पर्व अबधीभर माछा मासु, जाँडरक्सी, गुन्द्रुक खान नहुने नियम छ । आज बिहानैदेखि मधयपुरथिपम, भक्तपुरका बिभिन्न चैतयहरुमा नौ बाजा बजाउदै परिक्रमा गरि गुलाँ पर्व सुरु भएको छ ।
धार्मिक पर्यटकीय गन्तव्य भक्तपुर बिकासको आधार : एमाले अध्यक्ष ओली
भक्तपुर, ३० साउन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमाझ गौरबपूर्ण पहिचान बनाउन सकेको नेपालको धार्मिक संस्कृति, परम्परा र पहिचानलाई जोगाउन युवा वर्ग लाग्नु पर्ने बताउनु भएको छ । पत्नी राधिका शाक्यसहित अध्यक्ष ओली सूर्यविनायक नगरपालिका–८ स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको भ्रमण, अवलोकन, पूजा एवं आरती गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
“हाम्रो गौरबपूर्ण धर्म, संस्कृति, परम्परा, सम्झिएर विश्वका नागरिक नेपाल घुम्न आउाछन्, पूजा दर्शन गर्न आउँछन्, मैले पनि आज डोलेश्वर महादेवको दर्शन गरे, पुज गरे, आरती लगाए, हामी हाम्रा परम्परागत कार्य गर्छौ,  साँस्कृतिक, संस्कार गर्ने कार्यमा सरिक हुन्छौँ,” अध्यक्ष ओलीले भन्नुभयो, “यस्ता धर्म, चाँडबाडले हाम्रो देशको महिमा विश्वमा बढाएको छ, धेरै विकसित देशमा यस्ता संस्कृति परम्परा छैन, सनातन धर्म भन्ने नै छैन, त्यसैले हाम्रो देश अत्यन्तै गौरबपूर्ण रहेको छ ।”
उहाँले देशका महान् बिभूतिहरु जसले विश्वमा नेपाल चिनाएको छ, त्यस्ता विभूति र पहिचानको संरक्षण् गर्नु पर्नेमा जोड दिनुभयो । साउन १ गतेदेखि सुरु भई साउनको ६ गतेसमम ३८ दिन लाग्ने यहाँको मेलामा स्वदेश तथा विदेशबाट आउने दर्शनार्थीको भीडले धार्मिक महत्व बढाइरहेको उहाँले बताउनु भयो । यस मन्दिरको पुर्ननिर्माण सुरुदेखिनै आफूले सहयोग गर्दै आएको बताउदै उहाँले आगामी दिनमा पनि आश्वयक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य पद्मा अर्र्याल, गायिका एवं पूर्व सांसद कोमल वली, वागमती प्रदेश सभा सदस्य किरण थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराई, वडा नंं ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, डोलेश्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले स्वागत गर्नु भएको थियो । डोलेश्वरमा झण्डै दुई घण्टा बिताउनु भएका ओलीले पूजादेखि आरतीमा सहभागि हुनु भएको थियो ।
डोलेश्वरमा श्रावणी मेला, उच्च पदस्थहरुको भ्रमण
भक्तपुर, ८ साउन ; भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउनको सोमबार मेला भर्ने दर्शनार्थीको घुईचो लागेको छ । मन्दिरमा सर्वसाधारणसँगै उच्च पदस्थ व्यक्तित्वको समेत आगमन बढेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो ।
डोलेश्वरको दर्शन एवं पूजा पछि श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीले मन्दिर परिसरको अवलोकनका गर्नु भएको छ । उहाँले मन्दिरमा निर्माण भएका बिभिन्न संरचना र आश्रमको अवलोकन गर्नु भएको वढा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले बताउनु भयो ।
साउन १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३८ दिने श्रावणी मेलाको अवसरमा मन्दिर आउनु भएका मन्त्री भण्डारीले डोलेश्वरले धार्मिक पर्यटनको बिकासमा टेवा पुर्याएको बताउनु भएको थियो । उहाँले यहाँको बिभिन्न संरचनाकोबारेमा चासो दिनु भएको थियो ।
मन्दिरमा आज वागमती प्रदेशसभाका उपसभामुख अपसरा चापागाई खत्रीले पनि अवलोकन गर्नु भएको छ । त्यस्तै पूर्व मन्त्री राजेन्द्र महतो, वागमती प्रदेशका वन मन्त्रि मसिना खड्का, वागमती प्रदेश सभाका सदस्य किरण थापा, सुरेश श्रेष्ठ, पूर्व सदस्य शशीजंग थापालगायतले मन्दिरको बिकासमा तीन तहकै सरकारले पुर्याएको योगदानबारे जानकारी लिनु भएको थियो ।
आज बिहानैदेखि डोलेश्वरमा दर्शनार्थीको भीड लागेको बताउदै समितिका अध्यक्ष बस्नेतले मेला भर्न आएका दर्शनार्थीलाई आधा घण्टामै दर्शन गर्ने गरि व्यबस्था गरिएको र स्वयंसेवक परिचालन गरिएको बताउनु भयो ।
आजै सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि बिहानैदेखि दशनार्थीको भीड लागेको छ । मनोकांक्षा पुरा गर्ने मन्दिरको रुपमा लिईने यस मन्दिरमा दर्शन एवं पुजा गर्न दर्शनार्थीका भीड लागेको हो । त्यस्तै दत्तात्रय मन्दिर, गुप्तेश्वर, सोमलिङ्गेश्वर, अनन्तलिङ्गेश्वर, नन्दिकेश्वर, लटरम्मेश्वर, सुवर्णेश्वर, कैलाशेश्वर, चरखण्डीश्वरलगायतका मन्दिरमा भव्य मेला लगको छ ।
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सुरु
भक्तपुर, ३ साउन : पुरूषोत्तम महिना (मलमास) सुरु भएसंगै चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुल गाउँमास्थित मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ सुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिनामा मत्स्यनारायणको एक महिने मेला यस मन्दिरमा साउन दुईगतेदेखि सुरु भएको गोकुल गाउँका मन्दिरको स्थानीय संरक्षक गोकर्ण पुरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो तीनसय वर्ष पुरानो मन्दिर हो, दुईवटा पिपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुर्ननिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरिनै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”
स–साना तीन वटा नदीको संगमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका रुपमा समेत लिइने गरिन्छ ।  मन्दिर संरक्षणसँगै ६४ शिव लिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिषरमा मलमासमा दर्शनार्थीको घुइचो लागेको छ । यहाँको कुण्डमा स्नान गरेमा छालालगायतका बिभिन्न रोगहरु नाश हुने जनविश्वास रहदै आएको छ ।
एक महिनाभरीनै लाग्ने मेलाका लागि सहज रुपमा दर्शन एवं पुजा गर्ने व्यबस्था गरिएको जानकारी दिदै उहाँले मेला बाहेक अन्य महिनामा पनि प्राकृतिक सौन्दर्यता र पार्कहरु निर्माण गरेकाले आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताउनु भयो । यस मन्दिरमा तीज, जनै पूर्णिमामा पनि मेला लाग्ने गरेको छभने, बालाचर्तुदशीमा महाद्धिप बाल्न र ६४ शिवलिङ्ग रिक्रमा गरि सदबिज छर्न पनि यहाँ घुईचो लाग्ने गर्दछ ।
मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गरिनेछ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छ जनविश्वास समेत रहदै आएको छ ।
मन्दिरसम्म पुग्ने सडक कच्ची भएकाले यसलाई पक्क सडकको रुपमा बिकास गर्न सके उपत्यकाबाट नजिक पर्ने यस क्षेत्रमा पारिवारिक रुपमा घुम्म र रमाइलो गर्न आउने आन्तरिक पर्यटकको संख्या अझै बढ्ने भएकाले यसका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।
त्यसैगरि भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा पनि साउन २ गतेदेखि एक महिने मत्स्येनारायण पुरुषोत्तम मलमास मेला सुरु भएको छ । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको यस मन्दिरमा हरेक दिन पुरा, पुरुषोत्तम महात्मेय वाचन सुरु गरिएको छ । यहाँका कुण्डमा स्नान गरि मन्दिरमा दर्शन गरे रोगव्याधी नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहदै आएको छ ।
केदारनाथको शीर डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा
भक्तपुर, ३१ असार : भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको अन्तिम तयारी पुरा भएको छ ।
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले मेलाबारे जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष धर्मराज थापाले हरेक वर्ष झैं यसवर्ष पनि श्रावण १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३५ दिने श्रावणी मेलाको अन्तिम तयारी पुरा भएको बताउनु भयो ।
मेला अवधीभर करिब दुई लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अनुमान गरिएको जानकारी दिदै उहाँले श्रावणी मेलामा शनिवार र सोमबार दर्शनार्थीको अत्याधिक घुईचो हुने भएपनि लाइन बसेको एकघण्टा भित्र दर्शन एवं पूजा गरिसक्ने गरि व्यबस्थापन गरेको उहाँले बताउनुभयो ।
उहाँले विगतका वर्षहरुमा धर्मावलम्बीहरुबाट संकलन भएको भेटी तथा चन्दाबाट श्रावणी मेलामा खर्च कटाएर करिब ५० लाख वचत गर्दै आएकोमा अहिले भारतीय पर्यटकको समेत आगमन बढेकाले यसवर्ष भेटी तथा चन्दा गरेर एक करोड २५ लाख संकलन हुने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताउनु भयो ।
पञ्चस्नान गर्ने दर्शनार्थीको हकमा भने पञ्चसनानका सामग्रीहरुको रु. ११ सय रुपैयाको रसिद काटेर मन्दिरको पूर्वी ढोकाबाट दर्शन गर्न सक्ने व्यबस्था गरिएको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा समितिका महासचिव हरिशरण बस्नेतले श्रावण १ गते सोमबार बिहान स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट कलश यात्रा गरी मेलाको शुभारम्भ गरिने बताउनु भयो  ।
उहाँले २ गतेदेखी ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिव पुराण कथा वाचन, ९ गतेदेखी १५ गतेसम्म पण्डित उद्धव नारायण बास्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्म्य वाचन, १६ गतेदेखी २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद् भागवत महापुराण वाचन, २३ गतेदेखी २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, २८ गतेदेखी भदौ ५ गतेसम्म विभिन्न गुरुहरुबाट धार्मिक प्रवचनका साथै कलाकारहरुबाट भजन किर्तन हुने बताउनु भयो । २०६६ साल भदौ यस मन्दिरलाई केदारनाथको शीर घोषणा गरेको दिनकोृ अवसरमा भदौ ६ गते विशेष कार्यक्रमका साथ मेलाको समापन गरिने छ ।
डोलेश्वर महादेवलाई वि. सं. २०६६ भाद्र ६ गते केदारनाथको शिर भएको घोषणा गरिएको थियो । सोही अवसरमा प्रत्येक वर्ष भाद्र ६ गते डोलेश्वरको विशेष पुजाका साथै विविध कार्यक्रम र श्रावणी मेलाको समापन समारोह हुँदैं आएको छ । मेला अबधीभर स्वयंसेवक परिचालन गरिने, स्वास्थ्य शिविर एवं हेल्थ डेक्सको व्यबस्था गरिने भएको छ ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर मन्दिर धार्मिकसंगै पर्यटकीय गन्तव्यको रुपमा समेत बिकास गर्दै गएको बताउदै नगरपालिकाले यहाँका शिवालयहरुलाई समेटेर शिव सर्किटको निर्माण सुरु गरेको बताउनुभयो ।
डोलेश्वर क्षेत्र धार्मिक पर्यटकीय दृष्टिकोणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाउन थालेको बताउदै स्थानीयस्तर र यहाँको जनतासँग जाडेर यहाँको आर्थिक विकासका लागि समेत नगरपालिका र वडा कार्यालयले कार्यक्रम अगाडि बढाएको बताउनु भयो । श्रावणी मेलामा शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन हुने र दर्शनार्थीको आवतजावतका लागि यातायातको सहज व्यबसथा गरिएको बताउनुभयो ।
मेलाका लागि नेपाली सेनाको ईन्द्र बक्स गण सुर्यविनायक, नेपाल प्रहरी, सामुदायीक बन उपभोक्ता महासंघ भक्तपुर, संघ संस्था एवं स्थानीय बासिन्दा लगाएको सहभागितामा डोलेश्वर मन्दिर परिसरको सरसफाई गर्ने कार्य र मन्दिरलाई सिंगार्ने कार्य सम्पन्न भएको छ ।
सूर्यविनायक नगरपालिकाको सहयोगमा निर्माण भएको मुलद्वारको समेत भोली उद्घाटन गरिने भएको छ । मूल मन्दिरको पिलरदेखि छानोसमेत तामाको राखिएको, कुनै अवान्छित कार्य नहोस भनेर सीसी टिभी थप गरिएको छ ।
गठामंगल पर्व मनाईयो नेवार समुदायमा

-रमेश गिरी

भक्तपुर, ३० असार : साँझ ढल्केर झमक्क भयो । नगर टोलका चोक चोकमा महिला, पुरुष, बालबालिका, युवायुवतीको उपस्थिति बाक्लिदै गयो । दिउँसो देखि टोलटोलमा नर्कट र परालको मिश्रणबाट बनाईएको राक्षस अर्थात गठाःमुंगको परालकै हात खुट्टा, टाउँको, टाउँकोमा पुरानो हाडी राखिएको, अगाडि नाङ्गोलमा आँखा, नाक, कान बनाइएको, नर्कटमा परालको डोरीले बाँधेर लिङ्ग र भोगटेको दुई अण्डकोष बनाएर प्रर्दशन गर्न थालेपछि स्थानीयले नेपाल भाषमा बोल्न थालेको अश्लिल शब्द र गीतले एक प्कारको भीडमा शरम र हाँसोको फोहरा उत्तिकै सुनिन्थ्यिो ।

त्यसपछि साँझ झमक्क परेपछि बालबालिका, युवा एवं पुरुषहरुले हातहातमा छ्वालीको राँको बाल्दै अगाडि अगाडि बिभिन्न नारा लगाउदै र अर्को समूहले राक्षसरुपी गठाःमंगलाई बोकेर गीत गाउँदै चौबाटो, दोबाटो र नगर एवं टोल बाहिर खोला किनारा, मन्दिरको अगाडि चोकमा लगेर त्यसलाई बालेर राक्षस नष्ट गरेको भन्दै गठाःमुंग मनाएका छन् । यसरी बलेको आगोमाथि र वरिपरि रुन्चे लागेको र भूत लागेको भनिएका ससाना बालबालिकालाई आगो तपाउने गरेको पनि प्रष्ट देखिन्थ्यो । यसो गर्दा भूत र रुन्चे लागेको निको हुने जनविश्वास रहेको पाइन्छ ।

भक्तपुरमा पृथक शैलीमा मनाइने यस पर्वमा गठाःमुंग नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट जठाःमंग निकालिएको थियो । भूत पिशाच आदिले दुःख दिइरहेको घरमा आजको दिन भूत भगाएर पठाउने र भूत–प्रेतलाई घरबाट बाहिर धपाइँदा घरका जहान, परिवारलाई कुनै रोग–व्याधिले छुन नपाओस् भन्ने हेतुले त्यस दिन पञ्चरंगी औंठी लगाउने पनि गर्दछन् ।

यो औंठी टोलटोलमा उभ्याइराखेको गठेमङ्गललाई छुवाएर लगाएमा भूत–प्रेत, पिशाच आदिले छुन नसक्ने र अनेक रोगव्याधिबाट बच्ने विश्वास रहदै आएको छ । यहि दिन टोलटोलमा उभ्याइराखेको गठेमङ्गललाई घरका केटाकेटीले खेल्ने कपडाले बनाइराखेको पुतलीका मालालाई लगाइदिनाले बालबालिकाले पिरेर दुःख दिइराखेका पिशाच आदिले छोडेर जाने गर्दछ भन्ने जनविश्वास रहदै आएको छ ।

भक्तपुरका इतिहास एवं संस्कृतविद डा. पुरुषोत्तमलोचन श्रेष्ठले सातौ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेसंग जोडिएको बताउनुहुन्छ । उहाँले महादेवलाई मन पराउने राक्षसको रुपमा गठाःमुंग वीर शैव सम्प्रदाय अन्तर्गत रहेको बताउनुभयो ।
आजको दिनलाई महादेव उत्पत्तिको दिन समेत मानिने, आजदेखि रोपाई सकेर रमाईलो गर्ने, चाँडबाडको परम्परा सुरु हुने दिनका रुपमा पनि मानिने डा. श्रेष्ठले बताउनुभयो । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राती राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ ।

गोपाल वंशावलीअनुसार गठाःमुंगलाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास समेत रहेको छ ।

भक्तपुरमा यो पर्वलाई यौनसंग पनि दाज्ने गरिन्छ । राक्षस रुपी गठाःमुंगलायृ शरीरको रुप दिएर परालबाट लिङ्ग बनाई दुईवटा भोगटेको अण्डकोष बनाएर दिनभरी टोलटोलको दोबाटो, चौबाटोमा उभ्याईराखेपछि साँझ त्यसलाई बोकेर अश्लिल गीतहरु गाउँदै चोकचोकबाट निकालेर टोल नगरब बाहिर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा समेत रहेको छ ।

राँको बालेर भूत भगाउँने भन्दै पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याईन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखी नै अश्लिल शब्दहरुको प्रयोग गर्ने छुट रहेको किम्बदन्ती पाउन सकिन्छ । त्यसपछि राति घरघरमा राक्षसहरू मरिसक्यो भनेर आफ्ना श्रद्धानुसार बलीपूजा गर्ने चलन पनि रहेको छ । तान्त्रिकहरू यसलाई ‘चर्हेपूजा’ भन्दछन् ।

त्यसअघि गठाःमुंग चर्हे पर्वको अवसरमा आज भक्तपुरका बिभिन्न देवदेवीको शक्ति पिठमा दर्शनार्थीको भीड लागेको थियो । नेवार समुदायले आज घरघरमा लिपपोत गरि शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । जल नछर्केसम्म कसैले खान नहुने मान्यता रहेको छ ।

घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भुत मन्छाउने) गर्दछन । काँचो माटोको सानो दहीको कतारो वा सलीचामा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ति बालेर टोल बाहिरको दोवाटो वा चौवाटोमा लगेर राख्दै भुत पन्छाउने गरिन्छ ।

त्यसपछि घरमा भुत प्रेत पस्न नदिन घरघरको मुल ढोका र मुख्य निदालमा पंचरंगी मयूरको प्वांख र तिन खुट्टे फलामको किला ठोकेर गरिन्छ । यसो गर्दा घरमा भूत, प्रेत पस्दैन भन्ने मान्यता अझै रहदै आएको छ । आजकै दिन घरका साना केटाकेटीहरुलाई फलाम वा तामाको औंठी लगाईदिने प्रचलन रहेको छभने वयस्क युवतीहरुले घण्टाकर्णको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन रहदै आएको छ ।
नेवार समुदायले रोपाई सकिएको पर्वको रुपमा पनि गठाःमुंगलाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने प्रचलन रहेको छ । आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गर्ने गरिन्छ । त्यसको साथै गाइजात्रामा प्रदर्शन गरिने भैरव लगायतका बिभिन्न नाच तथा व्यंग्यात्मक नाटकको प्रशिक्षणसमेत आजबाट सुरु गरिन्छ ।

यस्तो छ किम्बदन्ती :

भक्तपुरका प्रसिद्ध संस्कृतकर्मी एवं ऐतिहासिक दस्तावेजका लेखक लिलाभक्त मुनंकर्मीको पुस्तकमा उल्लेख भए अनुसार रूद्रयामल–तन्त्रमा, नेपाललाई ध्वंस पार्न गठेमङ्गल नाम गरेको बडेअजंगको एक राक्षस आएर उत्पात मच्चायो । सो राक्षसलाई कसैले पनि मार्न सकेन । अन्त्यमा एक जना तान्त्रिकले आफू भ्यागुतोको रूप लिई त्यस राक्षसलाई यमलोक पठाइदिए । नेपालमा त्यस राक्षसलाई श्रावण कृष्ण चतुर्दशीको दिनमा मारेकोले त्यस दिनलाई नेपालीहरूले ठूलो उत्सव साथ पर्व मानिआएको हो ।

त्यसदिन टोलटोलमा सोही राक्षसकोमूर्तिको अनुकरण गरी नेपालमा उत्पात गरी दुःख दिने राक्षस यही नै हो भनी सबैलाई देखाई साँझ पर्न लागपछि घिसारेर लगी देशबाहिर पुर्याई आगोले जलाइदिने गर्दछ । राक्षसलाई मारेको दिनदेखि नेपालमा मानिसहरूको आयु बढेको मानयता यो समुदायमा रहेको छ । रूदयाल–तन्त्रबमोजिम उक्त दुष्ट राक्षसलाई मारिदिएको श्रावण कृष्ण चतुर्दशीको दिनको बडो महत्व भएकोले पर्व गरी मनाइआएको हो । यसैको आधारमा यो पर्व आजसम्म मनाइदै आएको छ ।

मुलमानको‘रोजा’ भोलि

विराटनगर, ८ वैशाख  : ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ भोलि हुने भएको छ । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो ।

रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानामा ब्रत बस्ने आज साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुशी हुने र एकआपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन रहँदै आएको छ ।

रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । इदुलफित्र मनाउनका लागि भोलि मुसलमान ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । इदुलफित्र मनाउनका लागि मुसलमान आज बिहानैदेखि तयारीमा जुटेको पाइएका छन् ।