सरकार र प्रा डा केसीबीच १० बुँदे सहमति, अनशन अन्त्य

काठमाडौँ, ८ असोज :सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्रा डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । आज साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेय र प्रा डा केसीबीच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमतिअनुसार आजैदेखि नै प्रा डा केसीले अनशन अन्त्य गर्नुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कुरुवा कैलालीका सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोड्नुभयो ।

सहमतिअनुसार स्वास्थ्य क्षेत्र सुधारका लागि देशभरिका सरकारी अस्पतालमा कम्तीमा हाल सञ्चालनमा रहेका श्यया सङ्ख्याअनुसार दरबन्दी कायम गर्ने, कैलालीको गेटास्थित मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा १८ मा स्वार्थ बाझिएमा निर्णय गर्न नहुने व्यवस्था रहेको र अब उप्रान्त नियुक्ति वा मनोनयन हुने व्यक्तिको स्वार्थको द्वन्द्व लागि गाह्रो नहुने कानुनी व्यवस्था थप गर्न संशोधनसम्बन्धी मस्यौदा तयारी गरी सरकारले आगामी संसद्को अधिवेशनमा पेश गर्नुपर्ने छ ।

प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको लागि मापदण्ड बनाइ पारदर्शी ढङ्गले गर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा ४७ बमोजिम चिकित्सासम्बन्धी शिक्षण संस्थालाई क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थामा रुपान्तरण गर्ने सम्बन्धमा आवश्यक विषयमा ठोस रायसहितको प्रतिवेदन पेश गर्न चिकित्सा शिक्षा आयोगलाई लेखी पठाउने सहमति भएको छ ।

चिकित्सा शिक्षा आयोगको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको काम भइरहेकोले शीघ्र स्वीकृतिको प्रक्रिया अगाडि बढाउने र निःशुल्क स्नातकोत्तर कार्यक्रमका लागि आवश्यक बजेट आगामी आवदेखि आयोगका नाममा विनियोजन गर्ने, जलवायु सङ्कटका कारण उत्पन्न हुने जटिलता न्यूनीकरणका लागि तत्काल पेट्रोलियम पदार्थको खपत कम गर्न तथा दीर्घकालीन नेपाललाई निर्धारित लक्ष्य बमोजिम जिरो नेट कार्बन देश बनाउनका लागि स्वच्छ ऊर्जामा आधारित प्रविधिलाई प्रोत्साहन र प्रवद्र्धन गर्न आवश्यक नीतिगत तथा कानुनी प्रबन्ध गर्ने सहमति भएको उल्लेख छ । सहमति पत्रमा सहमतिमा उल्लेख भएका बुँदाको कार्यन्वयन सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायले कार्ययोजना बनाइ तत्काल कार्यान्वयनको प्रक्रियामाम लैजाने र सहमति अनुमोदनका लागि सहमति भए पश्चात सरकार मन्त्रिपरिषद्को बैठकसमक्ष प्रस्ताव पेश गर्ने उल्लेख छ । स्वास्थ्य सुधारका विभिन्न माग राखी प्रा डा केसी कैलालीको धनगढीमा अनशन सुरु गर्नुभएको थियो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि यहीँ बिहीबार (असोज ६) गते उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उहाँले १३औँ दिनमा अनशन तोड्नुभएको हो । –––

मध्यपुरमा राँगो भन्दै रोगी भैँसीको मासु बजारमा

भक्तपुर, ८ असोज : नजिकै सिद्धिकाली मन्दिर । मन्दिरको पूर्वपट्टि मध्यपुरथिमि नगरपालिका–५ हात्तिमहांकालमा रहेको सिद्धिकाली मिट फ्रेस सेन्टरको नाममा २५ वर्ष अगाडिदेखि सञ्चालित बधशाला । बधशालाको खाली भुईमा बुढा भैसीँ काटेर मासुहरु छरपष्ट छरिएका । सँगै गोठमा बध गर्ने तयारीका लागि बाधिएका आठ वटा भैसीँ ।

त्यहीँ गोठबाट बगेर आएको मलमुत्र बिक्रीका लागि काटिदै गरेको मासुमै मिसिएर ढलतिर बगिरहेको । मासु, रगत, आन्द्रा, कलेजो, फोक्सोमा झिंगा भन्किरहेको । खुद्रा पसलमा बिक्रीका लागि मासु लैजान भेला भएका मासु पसल सञ्चालकहरु त्यही फोहोर भैसीको मासु बिक्री गर्न लैजाने तयारी गरिरहेका । अत्यन्तै घिनलाग्दो दृश्य हो, यहाँको बधशालाको । बस्तीमा तीन बधशाला सबैको अबस्था उस्तै नै छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा मध्यपुरथिमि नगरपालिका भित्रका बिभिन्न बधबास्थित एवं मासु पसलहरुमा गरिएको अनुगमनका दृश्य फोहोर, घिनलाग्दो मात्रै थिए । वर्षौदेखि कानून उलंघन गरेर आमउपभोक्ता ठग्दै उनीहरुको स्वास्थ्यमाथि चरम खेलबाड थियो । अनुगमनमा निस्केको टोली मध्येका अधिकांशले भन्दै थिए, ‘छि, भैसीँको मासु, त्यो पनि यस्तो फोहोर र लापर्वाही ? हजारौ उपभोक्ता ठगि गर्दै मानवीय स्वास्थ्य माथि खेलबाड गर्नेलाई त जति कारबाही गरे पनि कम हुन्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा गएको अनुगमनमा रत्नदेवी खड्गी, बुधरत्न शाहीले सञ्चालन गरेको सिद्धिकाली मिट फ्रेस सेन्टरले भैसीँ काटेर राँगोको मासु भन्दै बिक्री गरेको, बधशालामै भैसीँ बाधेर मलमुत्र काटेको मासुमै मिसिने गरेको, बधस्थल दर्ता नगरी सञ्चालन गरेको, वातावरण प्रतिकुल पार्ने गरि लादी फालिएकोलगायतका कसुर देखिए पछि टोलीले रु. २० हजार जरिवाना लगाएको छ ।

पसलमा बिक्रीका लागि मासु लैजान कुरिरहेकी कमला खड्गीले भैसीँकै मासु भन्ने थाहा पाएर पनि बिक्रीका लागि लैजाने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “धेरै जस्तो ग्राहक छालामा बाक्लो बोसो भएको मासु खोज्न आउँछन्, त्यस्तो मासु भैसीको मात्रै हुन्छ, मःमः मसलमा पनि बोसो भएकै मासु खोज्न आउँछन्, त्यसैले बिक्री गर्न भैसीको मासु लाने गरेको हो ।” ग्राहकले भैसीको मासु बिक्री गर्दा पनि राँगोकै भन्ने बुझेर लैजाने गरेको र भैसीको मासु पनि राँगोकै मासुको मूल्यमा बिक्री गर्ने गरेको उहाँले बताउनु भयो ।

अनुगमन हेर्न आएकी एक छिमेकीले टोलीमाथि गुनासो गर्दै भन्नुभयो, “अनुगमन गरेर मात्रै हुदैन, सिमाना कटाएर भैसीँ नेपाल ल्याउन दिनै भएन, यहाँ कति बुढा, रोगी र कहिले त पेटमा बच्चा भएको भैसीँ पनि काट्छन्, त्यस्तो मासु बजारमा जान्छ ।” नजिकै रहेको जय श्री बालकुमारी बफलो सप्लायर्स र भगवाणकृष्ण खड्गीले सञ्चालन गरेको सिद्धिकाली मिट सप्लायर्सको अबस्था पनि उस्तै थियो । दुबै बधशाला २५ वर्ष अगाडिदेखि नै दर्ता बिनानै सञ्चालनमा रहेको कामदारहरुले बताए । ती दुबै बधशालामा पनि भुईमै राँगो काटेर नजिकै लादी राखिएको, रगत, मासु फोहोर भुईमै राखेर काटिएर बजार पठाएको, बधशाखा अत्यन्तै फोहोर रहेको, हड्डीहरुको व्यबस्थापन नगरिएको पाइएको थियो ।

अनुगमन टोलीले बालकुमारी बफलो सप्लायर्स र सिद्धिकाली मिट सप्लायर्सलाई पहिलो पटकलाई चेतावनी दिदै रु. १० हजारका दरले जरिवाना लगाएको छ भने बधशाला दर्ता गर्न र मापदण्ड भित्र रहेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको सहायक प्रजिअ शर्माले जानकारी दिनु भयो । सिद्धिकाली मिट सप्लायर्सका सञ्चालकले भने मध्यपुरथिमि नगरपालिकाले बधशाला दर्ता गर्न जादा दर्ता नगरी पठाएको र नगरपालिकाले यसअघि कुनै अनुगमन नगरेको, बधशाला कसरी सञ्चालन गर्ने भनेर जानकारी नगराएको गुनासो गरेका थिए ।

अनुगमन टोलीले बाहाखा, बोडे, नगरदेश लगायतका मासु पसल अनुगमन गर्दा सबै पसल अत्यन्तै फोहोर र मापदण्ड भित्र नरहेको पाइए पछि जरिवाना लगाएको छ । अनुगमनमा लक्ष्मी खड्गी, विनोद खड्गी, रमेश खड्गी भनिने बुद्धिबहादुर खड्गी, सुनिल खड्गीको पसल र अरनिको फ्रेस हाउस गरि पाँच वटै पसललाई रु. पाँच हजारका दरले जरिवाना लगाएको छभने दिलकाजी मासु पसललाई रु. दुई हजार जरिवाना लगाएको छ । सबैलाई चार दिन भित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको र रामेछाप फ्रेस मिटलाई अझै सफा गर्न सचेत गराएको सहायक प्रजिअ शर्माले जानकारी दिनु भयो ।

टोलीले तीन बधशाला र सात मासु पसलको अनुगमन गरि कूल रु. ६७ हजार जरिवाना लगाएको जानकारी दिदै सहायक प्रजिअ एवं टोलीका संयोजक शर्माले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ खण्ड (क) र (ग) अनुसार जरिवना गरि दर्ता नभएका पसललाई सम्बन्धित निकायमा दर्ता गर्न, नियमित रुपमा नविकरण गर्न, हरेक वर्ष कर चुक्ता गर्न, सरसफाई गर्न, मूल्य सूचीँ टाँस्न र मापदण्ड भित्र रहेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको बताउनु भयो ।

अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले अत्यन्तै अब्यबस्थित, फोहोर, लापर्वाही रुपमा व्यबसाय सञ्चालन गरेको र पशुको स्वास्थ्यसमेत जाँच नगरी अस्वस्थकर मासु बिक्री गरिएको पाइएको बताउनु भयो । यस्ता व्यबसायीले अटेर गरे कडा कारबाहीको नीति अबलम्बन गर्नु पर्ने उहाँले बताउनु भयो ।

अनुगमनमा मध्यपुरथिमि नगरपालिकाका शाखा अधिकृत धनकुष्ण श्रेष्ठले नगरपालिकाले बधशाला प्रक्रिया सबै पुर्याएर आएमा व्यवसाय दर्ता गर्ने बताउदै नगरपालिकाले पनि यस्ता अनुगमनलाई तिब्रता दिएर कडा कारबाहीको नीति लिने बताउनु भयो ।

अनुगमनमै संलग्न राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले बधशाला र मासु पसलको अनुगमनले प्रष्ट रुपमा व्यवसायीले मानवीय स्वास्थ्यमाथि चरम लापर्वाही गरेको पाइएकाले कडा कारबाही गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “राँगो भनेर भैसीँ काटेर बिक्री गर्नु कानूनमा पनि दण्डनीय हो, बधशालाको आफ्नै मापदण्ड छ, त्यसको पालना नगरी खुल्ला भुईमा भैसी र राँगो काटेर पसल पसलमा मासु पठाएर दैनिक हजारौ उपभोक्ता ठग्ने र उनीहरुको स्वास्थ्य माथि खेडबाड गर्ने काम भएको छ, अचम्म, यस्तो हुँदा पनि यहाँको नगरपालिकाले के हेरेर बसिरहेको छ ?”

अनुगमनमै रहेका भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधि विश्वराम दुवालले बधशाला र मासु पसल हेर्दा अत्यन्तै निकृष्ट देखिएको बताउनु भयो । व्यबसायीले व्यवसाय सञ्चालन गर्दा न्यूनतम मापदण्ड पनि पालना नगर्ने र दैनिक उपभोग्य एवं यस्ता मासुजन्य पदार्थ जसले छिट्टै रोग निम्त्याउन सक्छ, त्यस्तो व्यबसाय सञ्चालनमा संवेदनशील हुनु पर्नेमा लापर्वाही गरेको पाइएको बताउनु भयो ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भने २०७९ साउनदेखि आजसम्म जिल्ला प्रशासन कार्यालयको संयोजनमा ६५ वटा पसल र फर्महरुको अनुगमन गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “यो अबधीको अनुगमनमा चार लाख १६ हजार रुपैयाँ जरिवाना र ११ लाख बराबरको म्याद गुज्रेको खाद्यान्न जफत गरि नष्ट गरेका छौँ, हाम्रो उदेश्य जरिवाना लगाउने र नष्ट गर्ने भन्दा पनि व्यबसायलाई स्वच्छ सफा, नियमसंगत र कानूनको दायरामा ल्याउने प्रयास हो ।” उहाँले दशैँ, तिहार लगायतको चाँडपर्व नजिकिएकाले बजार अनुगमनलाई अझै तिब्रता दिने बताउनु भयो ।

पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग

काठमाडौँ, ८ असोज : समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको आज भएको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवासुविधा प्राप्तिका जारी आन्दोलनप्रति समर्थन गरेको छ । उपत्यका प्रदेश इन्चार्ज शन्तराम बिडारीका अनुसार सञ्चार प्रतिष्ठानहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दशैँ भत्तालगायत अन्य सेवा सुविधा उपलब्ध गराउन माग गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई महँगीलाई दृष्टिगत गर्दै पत्रकारको न्यूनतम मासिक पारिश्रमिक रु ४० हजार सिफारिस गर्न माग गरेको छ ।

साना लगानीमा सञ्चालित स्वरोजगारमूलक मिडियाको संरक्षणका लागि सबै सरोकारवालासँग छलफल गरी विशेष कार्ययोजना ल्याउन केन्द्रीय सरकार र प्रदेश सरकारलाई सुझाव दिएको छ । साना लगानीका सञ्चारमाध्यमलाई सहुलियतस्वरुप कागज, ल्यापटप, विद्युतीय उपकरण, क्यामरालगायत सामग्री खरिद गर्न ५० प्रतिशत अनुदानको माग गर्दै भेलाले हाल पत्रपत्रिकालाई उपलब्ध गराइएको लोककल्याणकारी विज्ञापनवापतको रकम तत्काल शतप्रतिशत वृद्धि गर्न र अनलाइन मिडियालाई समेत लोककल्याणकारी विज्ञापन प्रदान गर्न आग्रह गरेको छ ।

भेलाले पारित गरेको १३ बुँदे विशेष प्रस्तावमा मिडिया काउन्सिल विधेयक जारी हुन नसकेकामा चिन्ता प्रकट गर्दै सरोकारवालाको सहमति समेतमा लामो छलफलपछि प्राप्त सुझावलाई समावेश गरेर विधेयक अगाडि बढाउन आग्रह गरेको छ । भेलाले प्रेस काउन्सिललगायतका निकायबाट वितरण हुने पुरस्कार तथा अन्य सहुलियतमा राजनीतिक आस्थाका आधारमा नभई निष्पक्षता तथा वैज्ञानिक, पारदर्शी र भेदभावरहित बनाउन आग्रह गरेको छ ।

देशैभरिका साना लगानी तथा स्वरोजगार सञ्चारमाध्यमलाई आन्तरिक राजस्व कार्यालयका अतिरिक्त स्थानीय तहमा व्यवसाय दर्ता गरी दोहोरो कर तिर्न बाध्य पारिएकामा आपत्ति प्रकट गर्दै सबै सञ्चारमाध्यमलाई लगाइएको दोहोरो करको व्यवस्था हटाउन माग गरेको भेलाले विज्ञापन बोर्डले उपलब्ध गराउने सुविधालाई सहज बनाउन र अन्यथा बोर्डको औचित्यताका प्रश्न उठाउने काम नगर्न आग्रह गरेको छ । ज्येष्ठ पत्रकारहरूका लागि सुरु गरिएको जीवनवृत्ति भत्ताको स्वागत गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारबाट प्रमाणीकरण गर्नुपर्ने संविधानको व्यवस्थालाई उल्लङ्घन गरेकामा खेद व्यक्त गरेको छ ।

फुटले धोका भयो : अध्यक्ष दाहाल

काठमाडौँ, ८ असोज  : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताउनुभएको छ । नेपाल समाजवादी पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले डा बाबुराम भट्टराई र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको उल्लेख गर्दै अब समाजवादका लागि पनि आफूहरु मिल्नै पर्ने निष्कर्षमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “ भट्टराई र मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौँ । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देश

लाई ठूलो उथलपुथल ग¥यो । अहिले फेरि समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौँ ।” माओवादी विभाजनको तीतो प्रयोग नेपाली समाजमा भएको र त्यसले परिणाम सही ल्याउन नसकेको निष्कर्षमा भट्टराई र आफू पुगेको दोहो¥याउँदै अध्यक्ष दाहालले भन्नुभयो, “यी प्रयोग गर्दा हाम्रो उद्देश्य जतिसुकै राम्रो र ठूलो भए पनि सफल हुन सकेन ।”

घटनाक्रमले के साबित ग¥यो भने हामी अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यता, त्यसले ल्याएका परिवर्तन धरापमा पर्ने खतरा देखापरेको उहाँले उल्लेख गर्नुभयो । जनविरोधी शक्तिले माओवादी आन्दोलनका नेता–कार्यकर्तालाई अपमानित गर्ने र यसका उपलब्धि उल्ट्याउन अनेक खालाका कसरत गर्ने बीचमा देखापरेको उहाँको भनाइ छ ।

पछिल्ला दिनमा देखिएका घटनाको समीक्षा गर्न आवश्यक देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको समीक्षा नगर्ने हो भने युगान्तकारी आन्दोलनका उपलब्धि नै उल्टिने र देश फेरि अराजकतातिर जाने खतरा सबैले महसुस गरेको पनि स्पष्ट पार्नुभयो । “यो परिवर्तन ल्याउन जसले विचार र राजनीतिक दृष्टिकोणको नेतृत्व ग¥यो उनीहरू अलग–अलग हुँदा प्रतिक्रान्ति र प्रतिगमनले टाउको उठाउने प्रत्यक्ष महसुस ग¥यौँ,” अध्यक्ष दाहालले भन्नुभयो, “प्रचण्ड–बाबुराम दुई नाम भएर मात्र परिवर्तन आएको होइन । नेपाली जनताले ठूलो बलिदान र त्यागबाट पैदा गरेका नाम हुन् यी ।

इतिहासले पैदा गरेको नेतृत्व अलग हुँदा आन्दोलन नै धक्का खाँदो रहेछ भन्ने तीतो मार्मिक यथार्थ भोगिरहेका छौँ ।” “बाबुराम–प्रचण्ड मिल्दा एक प्लस एक दुई मात्र हुने होइन, यसको महत्व ठूलो हुन्छ”, उहाँले भन्नुभयो, “हामी एक अर्काका पूरक हौँ । हामी परिवर्तनका वाहक हौँ । अब हामीहरू समाजवादको नयाँ मोडल दिन्छौँ ।” संविधानको घोषणापछि आफूले एमालेसँग एकता र भट्टराईले नयाँ शक्तिको स्थापना गर्ने दुस्साहसिक प्रयोग गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले ती दुवै प्रयोग असफल भएको स्वीकार गर्नुभयो ।

उहाँले भट्टराई र आफू केही महिनादेखि निरन्तर छलफलमा रहेको र छलफलको निष्कर्ष फुट होइन एकता नै भएको र एकता सङ्घर्ष रुपान्तरणमा पनि मुख्यतः रुपान्तरण नै रहेको बताउनुभयो । नेपालमा फेरि युगलाई सन्देश दिने गरी समाजवादको नयाँ क्रान्तिको आधारशिला खडा गर्न सक्छौँ कि सक्दैनौँ भनेर आफूहरुले छलफल गरेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले एकता चुनावका लागि मात्रै नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “ यो निर्णय चुनावका लागि मात्र गरिएको होइन, त्योभन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौँ ।” कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गरेर अगाडि जाने सङ्कल्पका साथ आफूहरु अगाडि बढेको बताउनुभयो ।

आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ : अध्यक्ष ओली

धनुषा, ८ असोज  : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले फेरि पनि देशको ठूलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।

धनुषाको विदेह नगरपालिकास्थित–३ कौरिया चोकमा एमाले धनुषाद्वारा आज आयोजित जनसभामा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरेको आरोप लगाउँदै भन्नुभयो, “कोही प्रहरी अहिलेको गठबन्धन तिर लाग्दैन भन्ने शङ्का लागेको ठाउँमा प्रहरी सरुवा गर्ने, कर्मचारी सरुवा गर्ने काम गरेको छ ।”

दशैँको समयमा महंगीको मारमा जनता, चुपचाप सरकार

-रुषा थापा (भक्तपुर)

काठकाडौं । बजारमा व्यापारीहरुले पसल नै पिछे सामानको मूल्य फरक फरक राखेका छन् र हप्तैपिछे सामानको मूल्य बढाएका छन् । दशैँ जनताको ढोकामा आइसकेको छ र व्यापारीहरुले यँही दशैँको मौका छोपेर सामानको मूल्य बढाएर जनता ठगीरहेका छन् । महँगी बढेको कारण वा व्यापारीहरुले सामानको मुल्य अभिवृद्धि गरेपछि जनताहरु दशैँ मनाउन नसक्ने अवस्थामा पुगेका छन् ।

त्यस्तै यता महँगो पैसा लिएपनि व्यापारीहरुले सामान भने गुणस्तरहीन वा खानयोग्य नरहेको र कम तौल रहेको बिक्रीवितरण गरिरहेका छन् । व्यापारीले सामानको मूल्य जति भन्यो त्यति नै जनताले तिर्नुपरिरहेको छ । साथै सामानको मूल्यनिर्धारण सरकारले गरेको छैन जसले गर्दा सामानको भाउ व्यापारीको जिब्रोमा रहेको पाइन्छ । यसरी व्यापारी वा व्यवसायीको अगाडी सरकार लम्पसार पर्दा वा सरकारले बजार अनुगमन नगर्दा आर्थिक कमजोर भएका मानिसहरु महंगीका कारण दशैँ मनाउन नसक्ने अवस्थामा पुगेका छन् ।

दशैँ त हामी सबै नेपालीको महान् पर्व हो नि तर पछिल्लो समय महंगीका कारण दशैँ हुनेखाने वा धनीहरुको लागि मात्र चाड हुन पुगेको छ । अहिलेपनि सरकारले बजार अनुगमन गरेको छैन र बजार अनुगमन गर्न जिम्मा पाएका जिल्लाका सिडियो, मन्त्री वा सरकारी कर्मचारीहरुले बजार अनुगमन नगरी व्यापारीसँग कमिशन वा पैसा खाएर जनता ठगेको चुपचाप हेरेर बसिरहेका छन् ।

व्यापारीहरुले राजनितिक पार्टीको झोला बोकेर वा सदस्यता लिएर सय रुपैँयाको सामान ५ सयमा बिक्रीवितरण गरिरहेका छन् । साथै यता राजनितिक दलहरु पनि व्यापारीहरुसँग पैसा लिएर आफ्नो पार्टी वा घरखर्च चलाइरहेका छन् । राजनितिक दलहरु आफ्नो घरखर्च वा पार्टी चलाउन पर्दाभित्र बसेर व्यापारीसँग मिलेर जनता ठगीरहेका छन् ।

आज देशमा यस्तो भ्रष्टाचार, महंगी र विदेशी ऋणको बोध भयो तर राजनितिक दलहरु अझैपनि व्यापारीसँग मिलेर आफ्नो घरखर्च र पार्टी चलाउनमा नै व्यस्त छन् । यिनीहरुलाई जनता र देश जति डुबेपनि केही मतलब छैन । राजनतिकि दलहरु व्यापारीसँग पार्टी वा घरखर्च चलाउन चन्दा वा पैसा लिने गर्छन् र व्यापारीहरु आफुले राजनितिक दललाई दिएको पैसा सामानमा जोड्छन् र सामानको मूल्य अभिवृद्धि गर्ने गर्छन् ।

साथै यता भने व्यापारी र राजनितिक दलहरुको मिलोमत्तोमा जनता नराम्ररी ठगिन्छन् । अहिले महंगीका कारण जनताको घरमा चुलो बल्न छोडिसकेको छ भने जनताले पेटभरि खाना खान पाउने दिन गइसकेको छ । राज्यलाई राजस्व छलेर र जनतालाई महंगोमा सामान बेचेर व्यापारीहरु आज अर्बपति बनेका छन् र चिल्लो गाडीमा चढिरहेका छन् । यो देश सरकारले नचलाई व्यापारीहरुले चलाइरहेका छन् भनेर जनताले स्पष्ट रुपमा थाहा पाइसकेका छन् ।

राजनितिक दलहरु पनि चन्दा वा पैसाका लागि व्यापारीहरुलाई आफ्नो पार्टीको मनोनित सांसद वा मन्त्री बनाइदिने गर्छन् । तर जनताहरु यसरी महंगीको मारमा पर्दा न एमालेका अध्यक्ष केपी ओली नै यसको विरोधमा बोल्छन् न प्रधानमन्त्री शेरबहादुर देउवा नै बजार अनुगमन गर्छन् । झन् यता प्रचण्डलाई त महंगीका विरोधमा बोल्न फुर्सद नै छैन र जनताको बारेमा सोच्न टाइम नै छैन ।

उनलाई एउटै मतलब छ , झलनाथ खनाल, माधव नेपाल , उपेन्द्र यादव मेरो पछि लाग्छ कि लाग्दैन र शेरबहादुर देउवालाई झप्याङ् बनाएर म अगाडी बढ्न सक्छु कि सक्दिँन । प्रचण्ड देशको नेता नभइ केही सिमिति व्यक्तिहरुका नेता हुन् । साथै यता काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा , गगन थापा र डा. शेखर कोइरालालाई पनि जनता महंगीका कारण भोकै बसेका छन् भनेर बोल्ने फुर्सद नै छैन । यिनीहरुलाई एउटै चिन्ता छ , पार्टीले टिकट दिन्छ कि दिदैँन ।

यिनीहरुलाई पार्टीले टिकट दिएतापनि जनताले भोट दिदैँनन् । साथै यता राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन त महंगीका विरोधमा बोल्दै बोल्दैँनन् । उनी त व्यापारीसँग पैसा लिन्छन् अनि पार्टी चलाउँछन् । कमल थापाले त झन् व्यापारीसँग नै पैसा लिएर पटकपटक चुनाव जितेको र धनसम्पत्ति जोडेको कुरा लुकेर लुक्दैँन । उनलाई त व्यापारीहरुले नै पालेको हो भनेर पनि व्यापारीहरु नै बताउँछन् ।

साथै यता रवि लामिछाने तै यी नेताहरुले पदमा पुगेर कमाएको देखेर आज डाहा वा लोभले सञ्चारकर्मी जस्तो जागिर छोडेर पार्टी खोलेर बसेका छन् । साथै पार्टी चलाउन पनि व्यापारीसँग नै पैसा लिइरहेको कुरा पनि सुन्नमा आएको छ । आगामी चुनावमा जनताले रवि लामिछानेलाई भोट दिदैँनन् र उनी फेरि सञ्चारकर्मी पैसा तिर नै फर्किन्छन् । उनको पृष्ठभूमि केलाउने हो भने उनलाई जनताले भोट दिदैँनन् ।

उनी आफ्नो फाइदा लागि कहिले अमेरिका पुग्छन् त कहिले नेपाल आउँछन् । उनले अहिलेसम्म जनता र राष्ट्रको हितमा हुने कुनै काम गरेका छैनन् भनेर जनता नै बताउँछन् । एउटा टेलिभिजनमा कार्यक्रम चलाउँदा ठुल्ठुलो आवाजले बोल्दैमा जनताले भोट दिन्छन् त । उनले त आफ्नो कामका लागि पनि ठुल्ठुल्लो आवाजले कराएका थिए त । यदि ठुल्ठुल्लो स्वरले टेलिभिजनमा कार्यक्रम चलाउँदैमा नेता हुने भएमा त सबै टेलिभिजनमा ठुल्ठुल्लो स्वरले कार्यक्रम चलाउने पत्रकारहरुलाई जनताले भोट दिएर नेता बनाइ हाल्छन् नि ।

मंसिर ४ गतेभन्दा पछि रविलामिछाने पनि दुलोभित्र र्छिछन्् र जनताले पनि उनलाई नङ्गाइ दिन्छन् । उनको एउटै पोलिसी रहेको छ त्यो हो, नेतामाथि विभिन्न आरोप लगाउने र सङ्गो पानीलाई धमिलो बनाएर माछा मार्ने दाउ उनले बोकेका छन् । नेताहरुले देशको राजनितिक परिवर्तनका लागि धेरै सङ्घर्ष गरेका छन् वा जेल बसेका छन् तर रवि लामिछानेले अहिलेसम्म देशको राजनितिक परिवर्तनका लागि के गरेका छन् त ।

पछिल्लो समय रवि लामिछानेको कार्यक्रममा कलाकार वा ५०÷६० जना कार्यकता मात्रै भेटिन्छन् । जनताहरु उनको कार्यक्रममा सहभागि हुदैँनन् । उनले टेलिभिजनमा कार्यक्रम चलाउँदा जनताले उनलाई चिन्थे तर कार्यक्रम चलाउन छोडेर राजनितितिर लागेपछि उनलाई चिन्ने जनताले पनि उनलाई बिर्सिसकेका छन् । अहिले महंगो यत्रो बढ्दा पनि उनी यसको विरोधमा बोल्दैँनन् र व्यापारीसँग नै पैसा लिएर पार्टी र घरखर्च चलाइरहेको भनेर जनता बताउँछन् ।

काँग्रेसमा त झन् जनताको पक्षमा बोल्ने नेता नै छैन । मीन विश्वकर्मा जनताले चुनेर नेता बनेका मनोनित सांसद होइनन् , उनी नेताको झोला बोकेर मनोनित सांसद बनेका हुन् । साथै यता एमालेमा त जनता र राष्ट्रको हितमा काम गर्ने नेता नै छैनन् भनेर जनता नै बताउँछन् । एमालेका नेता महेश बस्नेतको भाषण सुन्दा जनताहरु कुनै गुण्डाको भाषण सुनिरहेको महसुस गर्छन् भनेर जनता नै बताउँछन् ।

नेता भनेको त जनता र राष्ट्रको हितमा काम गर्ने र आफ्नो व्यक्तिगत सम्पत्ति पनि सबै त्यागेर साधारण जीवन जीउनेलाई बुझिन्छ तर जनता र राष्ट्रको नाम बेचेर र व्यापारीसँग मिलेर भ्रष्टाचार गर्नेलाई पनि नेता भनिन्छ र । यस्तालाई त चोर भनिन्छ । अहिले भएका राजनितिक दलका नेताहरुसँग जनता र राष्ट्रको नेता हुने क्षमता नै छैन । न त केपी ओलीसँग नै छ न बाबुराम भट्टराईसँग नै । यिनीहरु जनता र राष्ट्रको त नेता बन्न सकेन तर आफ्रनै पार्टीको समेत असल र इमान्दार नेता बन्न सकेनन् ।

यिनीहरु सिमित व्यक्तिका नेता बने र पार्टीको पनि नेता नबनी निजी कम्पनीको नेता बन्न पुगे । विदेशी ऋणले नेपाल डुबिसकेको छ , एक नेपालीको टाउकोमा ७१ ह्जार विदेशी ऋण पुगेको छ , जनताले सरकारलाई कर तिर्न छोडिसकेका छन् र देशमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीलाई तलब दिने पैसा नभएको भन्दै विदेशी ऋण लिनुपर्ने अवस्था समेत आएको बताइसकेका छन् । नेपालको अर्थतन्त्र डुबिसकेको छ वा श्रीलंका भइसकेको छ भनेर जनताले बुझिसकेका छन् । अब नेपाल नै विश्वसामु रहन्छ कि रहदैँन भनेर जनता अन्योलमा छन् ।

अहिले नेता, सरकारी कर्मचारी र व्यापारीहरुले आफ्नो कालो धन वा भ्रष्टाचार गरेको पैसा जति सबै विदेशी बैंकमा राखिसकेका छन् । साथै व्यापारीहरु बताउँछन्, नेता र सरकारी कर्मचारीले भ्रष्टाचार गरेर देश डुब्यो, सरकारी कर्मचारीहरु भन्छन्, नेताले देश डुबायो तर नेताहरु भन्छन्, सरकारी कर्मचारीले काम नगरेर भ्रष्टाचार मात्र गरेर देश डुब्यो । तर यता जनताहरु भन्छन्, नेता, सरकारी कर्मचारी र व्यापारीहरुले गर्दा आज देश डुब्यो ।

अब नेपालका नेता, व्यापारी र सरकारी कर्मचारीहरु कुन देशबाट सञ्चालन भएका छन् भनेर जनताले पनि राम्ररी थाहा पाइसकेका छन् । आफ्नो देश र जनताको लागिभन्दा पनि अरु देशको फाइदाका लागि यिनीहरुले काम गर्छन् भनेर पनि जनताले थाहा पाइसकेका छन् । बाहिरी मुलुकहरुले नेपालमा खाघान्न वा कपडाहरु नपठाएमा नेपालीहरु भोकै वा नाङ्ग्रै बस्नुपर्ने हुन्छ । हामी नेपालीहरु नेपाली भनेर गौरव गछौँ तर भन्सामा पकाउनेदेखि जिउमा लगाउनेसम्म हामी बाहिरी मुलुकको प्रयोग गछौँ ।

हाम्रो नेपालको खेतीयोग्य जमिनजति सबै दलाली वा भूमाफियाहरुले बाटो र घर बनाउँदै सिधाँए । अब नेपालमा खाद्य संकट आउँछ र भोकमारी हुन्छ भनेर जनताले थाहा पाइसकेका छन् । बाहिरी मुलुकले नेपालमा सामान पठाउन छोडेमा यँहा सामानको हाहाकार हुन्छ र महंगी तेब्बर बढ्छ । पछिल्लो समय चीनबाट सामान नआएको बहाना बनाउँदै व्यापारीहरुले ५ सय नपर्ने सामान २५ सयमा बिक्रीवितरण गरिरहेका छन् । दशैँ आइसक्यो तर बजार अनुगमन शून्य छ ।

सरकारी कर्मचारीहरुले बजार अनुगमन नगर्दा जनता महंगीको मारमा परिरहेका छन् भने उनीहरुलाई दशै मनाउने खर्च आइरहेको छ । सर्वसाधारणहरु बताउँछन्, पोहोर सालको भन्दा अहिले सामानको मूल्य तेब्बर महंगो भएको छ । साथै अब चाडबाड मनाउन नसक्ने अवस्थामा पुगेको समेत बताउँछन् । दशैँ पनि अबदेखि राजनितिक दल, व्यापारी र सरकारी कर्मचारीले मात्र मनाउन पाउने छन् ।

अबको दिनमा महंगीका कारण जनता भोकै बस्नुपर्छ र चाडपर्व मनाउनबाट पछि हट्नुपर्छ तर सरकार बजार अनुगमन गर्दैन । उघोग मन्त्री दिलेन्द्रप्रसाद बडुँ र सचिव तोय नारायण ज्ञवालीले व्यापारीसँग पैसा लिएर बजार अनुगमन गर्दैनन् । यिनीहरु व्यापारीसँग पैसा लिनमा नै व्यस्त रहेका छन् । त्यस्तै यता उघोग वाण्ज्यि तथा आपूर्ति विभागका महानिर्दैशक महेश भटट्राई पनि बजार अनुगमन गर्दैनन् ।

साथै जिल्लाका वडाध्यक्ष , मेयर तथा सिडियोहरु पनि बजार अनुगमन गर्दैनन् । यिनीहरु पनि व्यापारीसँग पैसा लिएर बसिरहेका छन् । व्यापारीहरुले म्याट सिधिँएको , कम तौल भएको र बिग्रिएको सामानहरु बेचिरहेका छन् । सानो किरान पसलदेखि ठुल्ठुल्ला व्यापारी महल तथा भाटभटेनीसम्ममा नै जनता ठग्ने काम सुरु भइसकेको छ । साथै यता उपभोक्ता संस्था खोलेर जनताको हितमा काम गर्छु भन्ने पे्रम महर्जन, ज्योति बानिँया र माधव तिल्मिसेनाहरु पनि व्यापारीले पैसा दिएमा जतिसुकै गुणस्तरहीन सामान बेचे पनि वा महंगोमा बिक्री गरेपनि विरोध नगर्ने र पैसा नदिएमा मात्र बल्ल विरोध गर्ने गर्छन् ।

यिनीहरुको न जागिर नै छ न कुनै व्यापार नै तर यिनीहरुले नै अर्बोको सम्पत्ति जोडेका छन् । अब सरकारले यिनीहरुको सम्पत्ति छानबिन गर्नुपर्छ र भ्रष्टाचार गरेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । जनताको नाम लिने तर व्यापारीहरुसँग पैसा खाने । साथै सरकारले अब बजार अनुगमन गर्नुपर्छ र दशैँको समयमा जनता ठगिनबाट जोगाउँनुपर्छ ।

 

पूर्वसचिव किशोर थापाले गरे बालेनको डोजर अभियानको प्रक्रियाको विरोध

काठमाडौं, ८ असोज । नेपाल सरकारका पूर्वसचिव किशोर थापाले कुनैपनि आयोजना अघि बढाउँदा स्थानीय जनता र सरोकारवालाहरुको सहभागिता बिना कार्यान्वयन गर्न नहुनेमा बताएका छन् ।

काठमाण्डौं महानगरको डोजर अभियानको विषयमा टुकुचा खोला अतिक्रमणबारे पीडित, महानगर प्रतिनिधि, र कानून विज्ञहरुसंगको अन्तक्रिया कार्यक्रममो बोल्दै टुकुचा खोला उत्खननबारे काठमाडौं महानगरको अहिलेकोे उदेश्य ठिक रहेपनि कार्यको प्रक्रिया र योजना ठिक नभएको बताए ।

कानूनी रुपमा बर्षाेदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका पीडितहरु सँग आवश्यक छलफल, कानुनी परामर्श लगायतका योजनाको अध्ययन र छलफल बिनै काम अघि बढाउदा समाजमा समस्या र पीडितलाई न्यायमाथि व्यङ्ग्य भएको आभास हुन नदिन सरोकारलाहरुले ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।

शहरी विकासको सन्दर्भमा टकुचा खोला कस्तो हुनुपर्ने हो र त्यसलाई कस्तो बनाउनु पर्ने हो भन्नेबारे महानगरले योजना बिनै उत्खननमा लागेको बताउदै उनले ढल र फोहरको उचित व्यवस्थापन र नदी क्षेत्रमा भइरहेको अतिक्रमणलाई ध्यान दिएर डोजर अभियानलाई अगाडि बढाउनुपर्ने बताए ।

‘यो योजनाको फाईदा र नोक्सान प्रभावित क्षेत्रकै स्थानीयहरुले बेहोर्ने हुन् । टुकुटा क्षेत्रमा नक्सा पास गरी कानुनी रुपमै बसोबास गर्दै आएका पीडित र अतिक्रमण गरी बसेकाहरुसंग छुट्टा छुट्टै छलफल गरेर समस्याको समाधानतर्फ लाग्न महानगर चुक्नु हुँदैन,’ उनले बताए । टुकुचालाई सभ्य रुपमा बग्न दिन त्यसक्षेत्रमा हरियाली, अतिक्रमण मुक्त अभियान चलाउँदा समावेशी सहरी योजना बनाउँदा नगरवासीलाई महानगरको योजना स्पष्ट रुपमा बुझाउन सक्नुपर्नेमा जोड दिए ।

इन्जिनियर योगेश मिश्रले काठमाडौं महानगरले टुकुचा उत्खनन सुरु गर्नु पूर्व नै सम्पूर्ण अध्ययन अनुसन्धान सुरु हुनुपर्नेमा जोड दिए । टुकुचा उत्खननबारे छानविनमा कुनै कमि कमजोरी देखिन नहुनेमा जोड दिदै उनले विधि र प्रक्रिया मिलायर कानुन नमिचिने गरी जनतामो मौलिकहकमा महानगर प्रष्ट हुन आवश्यक रहेको उनको भनाई ।

आफू स्वयंम टुकुचा पीडित रहेको बताउँदै आफ्ना बुबाको पालामा वि.सं २०२१ मा तत्कालिन पञ्चायतबाट नक्सा पास गरी कानुनी रुपमै सो क्षेत्रमा बसोबास गर्दै आएकाले आफूहरुलाई भूमाफियामा गणना नगर्न समेत आग्रह गरेका छन् । टुकुचा आफूहरुले नमिचेको बताउदै उनले अहिलेको अवस्थामा रहेको टुकुचा वीर शमसेरको पालादेखि सोही अवस्थामा रहेको बताए । आफ्नो घर मुनी टुकुचा परेको नक्सान भएकाले आफूले जग्गा किन्दा सो कार्य गर्ने सरकारी कर्मचारी, नापीका कर्मचारीहरु माथी अनुसन्धान अघि बढाउनुपने उनको माग रहेको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै जलस्रोत विज्ञ अरुणभक्त श्रेष्ठले चुडालदेविको मन्दिरको कुवाबाट निस्केको पानीमा अरु खोल्साहरु मिसियर चुनदेवि मन्दिरबाट बनेको टुकुचा उत्खनन् गर्दा वस्तुगत अनुसन्धानबाट व्यवस्थानबारे निकास दिनुपर्नेमा जोड दिए ।

महानगरले उत्खननको योजना अघि बढाउदा लहैलहैमा भन्दा आवश्यक परामर्श, कानुनी प्रक्रियाका बारेमा स्थानीयहरुसंग छलफल गर्न आवश्यक रहेको बताए । कानुनी राज्यमा मानव तथा मेसिनको बल प्रयोगबाट मात्रै समस्या समाधान नहुने बताउदै उनले भोट र लोकप्रियताकै आधारमा यस्ता अभियान चलाउन नहुनेमा उनको जोड रहेको छ ।

त्यस्तै काुनव विद भरत खरेलले व्यक्तिगत तथा नीजि सम्पत्तीको वास्ता नगरी जोडर चलाउन नहुने बताए । सरकारी सम्पत्ती अतिक्रमण मै परेको भएपनि पीडितसंग भएको नक्सा, नक्साको मूल्याङकन, तत्कालिन समयमा नक्सा प्रदान गर्ने निकायहरुसंगको छलफलबाट अभियानलाई अघि बढाउन आवश्यक रहेको उनको भनाई छ । कानुनी दायर मिचेर कसैले पनि काम गर्न नसक्ने बतउदै उनले व्यक्तिको मौलिक हकको संरक्षणबारे समेत भुल्न नहुने बताए ।

शैक्षिक गुणस्तर बृद्धि गर्नेबारे मन्त्री पौडेल र मेयर खत्रीबीच भेटवार्ता

भक्तपुर, ३० भदौ : शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न स्थानीय तहले बिशेष शैक्षिक योजनाहरु ल्याउनु पर्नेे बताउनु भएको छ ।

आज मन्त्री पौडेल र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीबीच भएको भेटवार्तामा उहाँले स्थानीय तहले आफ्ना पालिका भित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने योजना र त्यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बताउनु भएको हो ।

उहाँले चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनु हुदै चाँगुनारायण इन्जिनियरिङ् कलेजकाबारेमा चासो राख्दै छलफल गर्नु भएको थियो ।

मन्त्री पौडेललाई नगर प्रमुख खत्रीले चाँगुनारायण इन्जिनियरिङको वर्तमान् अबस्था र समस्याकाबारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तरमा बृद्धि गर्दै देशकै नमूनाको शैक्षिक गन्तव्य बनाउने अभियान सञ्चालन गरेको बताउनु भयो ।

नमूना शैक्षिक गन्तव्य बनाउने नगरपालिकाको अभियानलाई सफल पार्न आवश्यक सहयोग गर्न उहाँले मन्त्री पौडेललाई आग्रह गर्नु भएको थियो ।

राष्ट्रपति भण्डारीसँग अध्यक्ष लीको भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

काठमाडौँ, २९ भदौ  : राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा क्रममा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको हो । भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीचको परम्परागत मित्रवत् सम्बन्धका बारेमा चर्चा गर्दै यस्ता उच्चस्तरीय भेटवार्ताले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष लीले यस अघि सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति सम्झौता कार्यान्वयन गर्ने आफ्नो लक्ष्य भएको बताउनुभएको थियो ।

राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको उहाँको भनाइ थियो । भेटवार्तामा अध्यक्ष लीले राजनीतिक पारस्परिक विश्वास अझ सुदृढ गर्नु र विविध क्षेत्रका सहाकर्यलाई गहन बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले नेपालको संविधान दिवसका अवसरमा शुभकामना दिनुभएको थियो । यसैगरी आज बिहान चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो ।

भ्रमणको पहिलो दिन सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबँुदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो । मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदानप्रदान र सहकार्यका विषयमा छलफल भएको थियो ।

मङ्गलबार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको जनाइएको छ । मङ्गलबार नै दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि भदौ ३० गते बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

चिनियाँ नेता लीले भन्नुभयो, ‘नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो’

भक्तपुर, २९ भदौ : नेपालको चारदिने भ्रमणमा रहनु भएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नु भएको छ ।

आज बिहान ९ बजेर २० मिनेटमा ऐतिहासिक विश्व सम्पदा सूचीँमा सुचिकृत भक्तपुर दरबारस्क्वायर पुग्नु भएका अध्यक्ष ली चान्सुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, संघीय सांसद प्रेम सुवाल, वाग्मति प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, सृजना सैंजु, नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत, नगर कार्यपालिकाका सदस्यहरुले दरबारस्क्वाय गेटमा स्वागत गर्नु भएको थियो ।

अध्यक्ष चान्सुको टोलीले नगरपालिकाले उहाँको स्वागतमा दरबारस्क्वायरको डबलीमा प्रर्दशन गरेको ऐतिहासिक भैरब प्याँख नाचको अवलोकन गर्नु भएको थियो । उहाँले यो नाचले चिनियाँ संस्कृतिको सम्झाएको भन्दै चीन र नेपालको सस्कृति मिल्दो जुल्दो रहेको बताउनु भएको थियो ।

उहाँले भक्तपुर दरबारक्वायर, पचपन्न झ्याले दरबार, स्वर्णद्धार, सुनधाराको अवलोकन गर्नु भएको थियो । पचपन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै यहाँका सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिको बारेमा जानकारी दिनु भएको थियो ।

भक्तपुर दरबार क्षेत्रमा अवस्थित रामेश्वर मन्दिर, द्वारिकानाथ मन्दिर, बसन्तपुर दरबार, केदारनाथ मन्दिर, राष्ट्रिय कला संग्रहालय भवन, लुँ ध्वाका, पच्पन्न झ्याल दरबार, वत्सला मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, लापां देग, तब सत्तल, सिलु महादेव मन्दिर, चतुब्रम्ह महाविहारबाट पैदल यात्रा गर्दै टौमढीको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको निकै रुचिपूर्वक अवलोकन गर्नुभयो ।

प्रतिनिधिमण्डल टोलीको स्वागतमा केदारनाथसँगैको डबलीमा भैल प्याखं प्रदर्शन गरिएको थियो ।उहाँलाई भक्तपुर नगरपालिकाका पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले भक्तपुरको सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिकोबारेमा जानकारी गराउनु भएको थियो । भक्तपुरका भूकम्पले क्षति पुर्याएको ८० प्रतिशत सम्पदाहरुको पुर्ननिर्माण सम्पन्न भएको जानकारी गराउनु भएको थियो ।

अध्यक्ष चान्सुले यहाँको पुर्ननिर्माणमा विदेशी दातृ निकायको सहयोगकोबारेमा जिज्ञासा राख्नु भएको जानकारी दिदै लासिवाले भक्तपुर नगरभित्रका सम्पदाको पुर्ननिर्माणमा कुनै पनि विदेशी दातृ निकायको सहयोग नलिएको र नगरपालिका, नेपाल सरकार एवं स्थानीयवासीको सहयोगमा सम्पदा पुर्ननिर्माण गरिएको जानकारी गराउनु भएको थियो ।

टोलीले नगरपालिकाले हालै पुर्ननिर्माण सम्पन्न गरेको सिलु महादेव (फसीदेग)को अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गर्नु भएको थियो । अध्यक्ष चान्सुले पाँच तले मन्दिरमा भूकम्पले क्षति नपुर्याउने गरि बलियोसँग कसरी बन्यो होला भन्ने जिज्ञासा राख्नु भएको लासिवाले जानकारी दिनुभयो ।

पाँच तले मन्दिर र सँगैको भैरब मन्दिरको बनावट, निर्माणमा परम्परागत सामग्रीको प्रयोग तथा यहाँका पुराना आर्किटेक्चरको योजना अनुसार निर्माण भएकाले क्षति नपुगेको जानकारी गराउनु भएको थियो ।

टौमढीमा नगरपालिकाले यहाँका सम्पदा, कला, संस्कृति र नाचका तस्विरहरु प्रर्दशन गरेको थियो । तस्विरहरुको अवलोकनको क्रममा अध्यक्ष चान्सुलाई लासिवाले नयाँ वर्षमा बिस्केट जात्रा मनाउने यहीँ ठाउँ रथ, जात्राको सञ्चालनकोबारेमा जानकारी गराउनु भएको थियो । यहाँका बिभिन्न जात्रा, पर्व जात्रादेखि आज मनाइने पुलु किसी जात्राकोबारेमा समेत जानकारी गराउनु भएको थियो ।

जात्रा, पर्व, नाचहरुकोबारेमा जानकारी लिए पछि अध्यक्ष चान्सुले नेपालका धेरै कला, संस्कृति, नाच र परम्पराहरु चीनको संस्कृतिसँग मिल्दो जुल्दो रहेको बताउदै विश्वका बिभिन्न देशका संस्कृति र यहाँको संस्कृतिका केही पक्षहरुमा समानता रहेको बताउनु भएको थियो ।

पाँच तले मन्दिरको अवलोकन पछि विदाइको क्रममा हेर्न बसेका स्थानीयलाई अध्यक्ष चान्सुले नेपाली भाषामै नमस्ते भनेर सम्बोधन गर्नु भएको थियो । विदाईको क्रममा अध्यक्ष चान्सुसहितको टोलीलाई नगरपालिकाको तर्फबाट मयूर झ्याल, नगरपालिकाका बिभिन्न प्रकाशनहरु प्रदान गरिएको थियो । स्वास्थ्यलाई ध्यानमा दिदै नगरपालिकाले ती उपहारहरु हातमा नदिई एक मुष्ट प्रदान गर्नु भएको थियो ।

अध्यक्ष चान्सुले नगर प्रमुख प्रजापति, संघीय सांसद सुवाललगायतलाई उपहार प्रदान गर्नु भएको थियो । टोलीले भक्तपुरको एक घण्टासम्मको अवलोकन सकेर १० बजेर २० मिनेटमा फर्किएको थियो ।

टोलीले आजै अपरान्ह चार बजे शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेको थियो ।

राष्ट्रपतिलाई भेटेपछि आज पनि उनले सभामुख सापकोटालाई भेट्ने कार्यसूची छ । सभामुख अग्नि सापकोटाको निमन्त्रणामा सोमबार नेपाल आएको टोलीले सोही दिन सभामुख सापकोटासँग भेट गरेको थियो भने आज पनि राष्ट्रपति भण्डारीसँगको भेटपछि सभामुख सापकोटासँग भेट गर्ने कार्यक्रम तय भएको छ । चिनियाँ जनकंग्रेस अध्यक्ष चान्सु नेतृत्वको प्रतिनिधिमण्डल भोली बिहीबार बिहान काठमाडौंबाट दक्षिण कोरिया प्रस्थान गर्ने बताइएको छ ।