भक्तपुर नपाद्वारा संस्कृतिकर्मी तथा सांस्कृतिक गुरुहरूको सम्मान

भक्तपुर, ११ असोज :  ४३ औं विश्व पर्यटन दिवसको अवसरमा गाईजात्रा पर्व २०७९ मा प्रदर्शन गरेका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक विधाका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण तथा भक्तपुरका सांस्कृतिक गुरुहरुको सम्मान कार्यक्रम मंगलबार भक्तपुरको दरबार क्षेत्रमा भव्य समारोहबीच सम्पन्न भयो । कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले हाम्रो कला संस्कृति नै हाम्रो सम्पत्ति हो र यसको संरक्षण गर्न स्थानीय सरकार, सहकारी संस्था र विद्यालयहरु क्रियाशील हुनुपर्ने बताउनुभयो ।

परम्परागत सांस्कृतिक नाच र अन्य गतिविधिहरुमा महिलाहरुको उत्साहजनक सहभागिता बढ्दै गएको बताउनुहुँदै उहाँले भक्तपुरको कला संस्कृति जगेर्णामा यहाँका कलाकार, लोहँकर्मी र सिकर्मीको योगदान उल्लेखनीय छ भन्नुभयो ।

भक्तपुर नपाले पर्यटन शुल्कबाट उठाएको रकमबाट यहाँको सरसफाई, शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा निकै सुधार हुँदै गएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले भक्तपुरको समाजवादी मोडल हेर्न देशभरिका जनप्रतिनिधि, पत्रकार र शुभचिन्तकहरुले भक्तपुर भ्रमणले अझ व्यापकता लिँदै गएको छ भन्नुभयो ।

भक्तपुर आफैमा एउटा खुल्ला विश्वविद्यालयको रुपमा रहेको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले सांस्कृतिक गुरुहरु स्वयम् समाजका सम्मानित प्राध्यापकको रुपमा रहेको बताउनुभयो ।

सरकारको मुख नताकी भक्तपुर नपाले आफ्नै बलबुत्तामा गरेको विकास निर्माण कार्यले आज विश्वमै ख्याति कमाइरहेको बताउनुहुँदै उहाँले चाडबाडमा हुने फोहर व्यवस्थापनमा नगरबासी स्वयम् सचेत भए भक्तपुर नगर अझ सुन्दर र व्यवस्थित हुने बताउनुभयो ।

नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले बलियो अर्थतन्त्रले देशको मूल्य मान्यता बढ्ने भन्दै देशको अर्थतन्त्र बलियो बनाउन सरकार बलियो र सरकारमा जाने राजनीतिक दलहरु इमानदार हुनुपर्छ भन्नुभयो ।

भूकम्पपछिको पुनःनिर्माणमा ढिलाइ गर्न नहुनेतर्फ सचेत पार्नुहुँदै उहाँले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालयको भवन पुनःनिर्माण मल्लकालीन शैलीमा गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन निकै भड्किलो र खर्चिलो हुँदै गइरहेको बताउनुहुँदै उहाँले मंसिरमा हुने निर्वाचनको मिति घोषणा भएकै दिनदेखि चुनावमा भाग नलिने व्यक्तिहरुको तटस्थ निर्वाचन सरकार गठन गर्नुपर्ने धारणा राख्नुभयो ।

सचिव सुवालले भन्नुभयो, ‘भूगोल र संस्कृतिको अध्ययन गर्न पर्यटकहरु एक देशबाट अर्को देश घुम्ने गर्छन् । पर्यटन उद्योग प्रवद्र्धन गर्नु भनेकै हाम्रो कला, संस्कृति, सम्पदा विश्वमाझ चिनाउन हो ।’

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई सांस्कृतिक क्षेत्रमा अगाडि बढाउन र आजको स्थितिमा पु¥याउन सांस्कृतिक गुरुहरुको योगदान कदरयोग्य भएको बताउनुहुँदै सांस्कृतिक गुरुहरु विश्वविद्यालयको प्रमाणपत्र विनाका प्राध्यापकहरु हुन् भन्नुभयो ।

उहाँले देशका विभिन्न क्षेत्रका सम्पदाहरुको पुनःनिर्माणमा भक्तपुरकै कालिगढहरुको खोजी हुने क्रम सुरु भएको बताउनुहुँदै भक्तपुर नपाले अग्रजहरुले सुरु गरेका कार्यलाई निरन्तरता दिँदै यहाँका जनतालाई रोजगारीको निम्ति विभिन्न सीपमूलक तालिम पनि सञ्चालन गर्नुका साथै सीप र प्रविधि भक्तपुरमा मात्रै सीमित नराखी देशभर फैलाउने अवसर पनि प्राप्त भएको बताउनुभयो ।

पर्यटकीय गन्तव्यस्थल र सांस्कृतिक नगरको रुपमा विकास भइरहेको भक्तपुर नगरलाई कतिपय विद्धानहरुले जीवित संग्रहालयको रुपमा परिभाषित गरिरहेको प्रसंग जोडदै उहाँले पारदर्शी र आर्थिक अनुशासनलाई कडाइका साथ लागू गर्दै भक्तपुर नगरलाई भ्रष्टाचारमुक्त नगरको रुपमा विकास गर्दै अगाडि बढिरहेको बताउनुभयो ।

त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले सापारुको सांस्कृतिक गतिविधिमा महिलाहरुको उत्साहजनक रुपमा कलाकारको रुपमा सहभागिता रहनु आफैमा राम्रो पक्ष हो र अझ व्यवस्थित रुपमा उत्साहित बनाउँदै लानु आवश्यक छ भन्नुभयो ।

इतिहास जोगाउने अभियानमा भक्तपुर नपा निरन्तर अगाडि बढ्नुपर्छ भन्दै उहाँले छिमेकी देश चीनका विशिष्ट व्यक्तित्वहरुको मनपर्ने ठाउँको रुपमा भक्तपुर रहेको र उहाँहरुले यस ठाउँकाबारे उच्च मूल्यांकन गर्दै आउनुभएको स्मरण गर्नुभयो ।

उहाँले सांस्कृतिक हमलाविरुद्ध हामी राजनीतिक, वैचारिक र सैद्धान्तिक रुपमा लड्न तयारी अवस्थामा रहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

संस्कृतिविद् विश्वमोहन जोशीले संस्कृति भनेको हाम्रो जीवनचर्या भएको बताउनुहुँदै साँस्कृतिक अतिक्रमणले हाम्रो भाषा र पहिचानमा खतरा पुग्ने भएकोले भक्तपुर नपाले सँस्कृतिलाई हस्तान्तरण गरिरहेको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

सांस्कृतिक मूल्यांकनकर्ता इन्दिरा लाछिमस्यूले गाईजात्रामा नयाँ पुस्ता र महिलाहरुको सहभागिता उत्साहजनक रहेको बताउनुहुँदै आफूले सिकेको सीप र कला नयाँ पुस्तामा पुस्तान्तरण गर्नु हाम्रो कर्तव्य भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक विधाहरुको मूल्यांकनको समीक्षा गर्नुहुँदै प्रतियोगिताको मूल्यांकन निष्पक्ष ढंगबाट भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले प्रत्येक वडाबाट २२ जना सांस्कृतिक गुरुहरुलाई दोसल्ला ओढाई नगद रु. १५,०००।– सहित सम्मान पत्र प्रदान गर्नुभएको थियो भने उहाँले उत्कृष्ट कलाकारहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

त्यस्तै विशेष अतिथि सुवालले घिन्ताङघिसी, माक प्याखं, आधुनिक विधा र परम्परागत विधाका विजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो भने प्रमुख प्रजापतिले प्रतियोगिताका मूल्यांकनकर्ताहरु र सहयोगी सबैलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रतियोगितामा प्रथम हुन सफल माक प्याखंमा प्रथम हुन सफल कोतदेवी दाफा भजनको माक प्याखं, देवी प्याखंमा प्रथम हुन सफल गलसी पुखुको देवी प्याखं, दोस्रो हुन सफल पासा पुच समूहको लाखो प्याखं देखाइएको थियो ।

 

नगर प्रमुख जीवन खत्रीको नेतृत्वमा चाँगुनारायण नगपालिकाको पदयात्रा सम्पन्न

भक्तपुर, ११ असोज : विश्व पर्यटन दिवसको अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्र भित्र लुकेर रहेका पर्यटकीय गन्तव्यको उजागर गर्ने उदेश्यले आज चाँगुनारायण नगरपालिकाले आयोजना गरेको ‘एक दिवसीय पदयात्रा कार्यक्रम–२०७९’ सम्पन्न भएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले खरिपाटीस्थित चाँगुनारायण नगरपालिका कार्यालयमा उद्घाटन गर्दै नगरपालिकाको प्राङ्गणबाट सुरु भएको पदयात्रा यहाँका धार्मिक सम्पदाहरु मर्णिकर्णिका, वाल्मिकेश्व, सरस्वतीथान हुँदै कल्पेश्वर महादेव मन्दिर कलमसि पुगेर सम्पन्न भएको हो ।

पदयात्रा कार्यक्रमको समापन गर्दै नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिका धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्व रहेको विश्व सम्पदा सूचीँमा सुचिकृत चाँगुनारायण मन्दिरदेखि विश्व प्रसिद्ध पर्यटकीयस्थल नगरकोट यहीँ नगरपालिका क्षेत्र भित्रका रहेको बताउदै यहाँका सबै पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको बनाउनु भयो ।

उहाँले नगरपालिकाले आगामी २०८२ सालमा चाँगुनारायण पर्यटन भ्रमण वर्ष मनाउने घोषणा यसवर्षको नगर सभाले गरेको बताउदै त्यस अघिनै नगरपालिकाले सबै पर्यटकीय गन्तव्यलाई पर्यटकको नजरसम्म पुर्याउने गरि कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “हामीले यसै वर्षको नगर सभाबाट आगामी २०८२ साललाई चाँगुनारायण पर्यटन भ्रमण वर्ष मनाउने घोषणा गरिसकेका छौँ, त्यसका लागि आवश्यक तयारी सुरु भइसकेको छ, हामीले यहाँका सबै सम्पदाहरुको संरक्षण, विकास, मर्मत, पदमार्गको पहिचान एवं स्तरोन्तती गर्ने, आवश्यक पूर्वाधारहरुको तयार गर्ने गरि काम अगाडि बढाएका छौँ ।”

आजको पदयात्रा कार्यक्रमले नगरपालिका क्षेत्रभित्र रहेको पर्यटकीय सम्भावना रहेका धार्मिक, ऐतिहासिक पदयात्रा गरि पर्यटनको प्रबद्र्धन र आर्थिक विकासको मुख्य पाटोको रुपमा पर्यटन क्षेत्रको विकास गर्नु मुख्य लक्ष्य रहेको बताउनु भयो ।

पदयात्रानमा सहभागि नगरपालिकाका प्रवक्ता जनक खत्रीले यहाँको धार्मिक पर्यटकीयस्थलहरु लगायत यस क्षेत्रमा रहेको वन जंगल, प्राकृतिक श्रोत एवं झरणा, कृषि पर्यटन, पानीका मुहान एवं यहाँबाट देखिने काठमाडौं उपत्यकाका मनोरम दृश्य अवलोकन गर्दै कलमसीसम्मको पाँच घण्टा पदयात्रामा निकै आनन्द दिएको बताउनु भयो ।

उहाँले यो यात्राले चाँगुनारायण नगरपालिका भित्र लुकेर रहेका धेरै पर्यटकीय क्षेत्रहरु छन्, यसलाई उजागर गर्दै आगामी दिनमा यी क्षेत्रहरुलाई सवदेशी तथा विदेशी पर्यटकका लागि पदमार्गको रुपमा स्थापित गर्न टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले विश्य पर्यटन दिवसको महत्वमाथि प्रकाश पार्दै पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रवर्दन आर्थिक विकासको मेरुदण्ड बन्ने बताउदै यहाँका नागरिकको आर्थिकस्तर विकासका लागि पर्यटकीय क्षेत्रको विकास र बिस्तार आवश्यक रहेको औल्याउनु भयो ।

नगरपालिका पर्यटन शाखाको संयोजनमा भएको पाँच घण्टामा १० किलो मिटर लामो पदयात्रामा नगर प्रमुख खत्री, प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदी, प्रवक्ता जनक खत्रीलगायत कार्यपालिका सदस्यहरु, बिभिन्न वडाका वडाध्यक्ष, वडासदस्य, शाखा प्रमुखहरु, कर्मचारीहरु, सरोकारवाला निकायका प्रतिनिधि एवं पत्रकारहरुको सहभागिता रहेको नगरपालिका पर्यटन शाखाकी प्रमुख सन्तोषी नेपालीले जानकारी दिनु भयो ।

 

कांग्रेस प्रचार प्रसार समिति संयोजकमा डा महत

काठमाडौँ, ११ असोज : नेपाली कांग्रेसको ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ को संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महत मनोनित हुनुभएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम उहाँलाई आज समितिको संयोजकमा मनोनयन गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

राजनीतिक दललाई आयोगको ६० बुँदे निर्देशन

काठमाडौँ, ११ असोज  : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ ।

आयोगको आज बसेको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई सो निर्देशन दिएको हो । दर्ता भएका दलहरुले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रचार गर्न, मतदानको अधिकारबाट वञ्चित गराउन, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न नपाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

निर्वाचनको अवधिभित्र कुनै पनि मतदातालाई मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि तथा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र बकसका रुपमा नगद वा जिन्सी नदिन, सार्वजनिक भोजभतेरको आयोजना नगर्न आयोगले निर्देशन दिएको छ ।

अन्जनको ह्याट्रिकमा नेपालद्वारा बङ्गलादेश पराजित

काठमाडौँ, ११ असोज  : अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराएको हो । नेपालले पहिलो हाफमा तीन गोल ग¥यो भने बङ्गलादेशलले खेलको दोस्रो हाफमा एक गोल फर्काएको थियो ।

नेपालको जितमा अन्जन विष्ट नायक बने । उनले नेपालका लागि ह्याट्रिक पूरा गरे । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विष्टले खेलको १८, २७ र ३८आँै मिनेटमा गोल गरे । विष्टले खेलको १८ औँ मिनेटमा नेपाललाई पहिलो अग्रता दिलाए । विमल घर्तीमगरको फ्रिकिक बललाई हेडरमार्फत गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएका हुन ।

त्यस्तै खेलको २७औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । विशाल राईबाट आएको पासलाई तेज तामाङले गरेको प्रहार गोलरक्षक अनिसुर रहमानले पञ्च गर्दै बचाए पनि रिबाउन्ड बललाई अन्जनले गोलमा परिणत गर्दै नेपालको अग्रता दोब्बर बनाए । खेलको ३८औँ मिनेटमा विकास राईको फ्रिकिक बललाई सदुपयोग गर्दै विष्टले गोल गरे । उनको यस गोलसँगै नेपालको अग्रता तेब्बर भयो भने उनले ह्याट्रिक पूरा गरे ।

खेलको ५५औँ मिनेटमा बङ्गलादेशका सजाद हुसेनले सान्त्वना गोल फर्काए । नेपालका खेलाडी रोहित चन्दलाई बिट गर्दै हुसेनले उपलब्ध गराएको क्रस बललाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । खेलमा नेपाली टोलीका फरवार्ड विष्ट नै मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

हिमपहिरामा परेर मृत्यु भएका राईको शव काठमाडौँ ल्याईयो

काठमाडौँ, ११ असोज  : उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी मृत्यु भएका सङ्खुवासभाका ३४ वर्षीय अनुप राईको शव हेलिकप्टरमा आज काठमाडौँ ल्याईयो छ । लामो प्रयासपछि राईको शव हेलिकप्टरमार्फत राजधानी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

मौसममा सुधार आएपछि राईको शव हेलिकप्टरमा काठमाडाँै लैजान सहज भएको हो । खोँचमा रहेको शव निकाल्न दिनभर प्रयास गरिएको थियो । उहाँले भन्नुभयो, “मौसम प्रतिकूलताका कारण हेलिकप्टर हिमपहिरो गएको ठाउँमा पुग्न कठिन भएको थियो, साँझपख मौसममा सुधार आएपछि शव हिउँबाट निकाल्न सहज भएको हो ।”

राईको शव सामागाउँ ल्याई मुचुल्का तयार पारेर काठमाडौँ पठाइएको लामिछानेले बताउनुभयो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि अन्त्येष्टिका लागी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । मनास्लु आधार शिविरमा सोमबार गएको हिमपहिरामा परेर १३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये १२ जनाको सकुशल उद्धार गरिएको थियो । राईलाई भने बचाउन सकिएको थिएन ।

नवरात्रको दोस्रो दिन गरियो ब्रह्मचारिणी देवीको पूजा आराधना

काठमाडौँ, ११ असोज  : नवरात्रको दोस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद स्वरूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।

बलात्कार गरेको अभियोगमा गिरफ्तार

भक्तपुर,  ११ असोज । १९ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा रामेछाप उमाकुण्ड गाउँपालिका–३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापालाई असोज ११ गते मंगलबार प्रहरीले गिरफ्तार गरेको छ ।
गत भदौ २१ गते दिउँसो आफ्नै घर कोठा बोलाएर जबरजस्ती करणी गरी फरार रहेको पीडित किशोरीले महानगरीय प्रहरी बृत्त थिमिमा भदौ २२ गते उजुरी गरेपछि प्रहरीले आरोपीको खोजी सुरु गरेको थियो ।

कप्रहरीले थापालाई घरमा आएको जानकारी पाए लगत्तै गिरफ्तार गरेको र थप अनुसन्धान अगाडि बढाएको डिएसपी राजू पाण्डेले जानकारी दिनु भयो । पीडित किशोरीको भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षण २२ गते गरिएको प्रहरीको भनाइ छ ।

विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर प्रवेश गर्ने पर्यटकहरुलाई स्वागत

भक्तपुर, ११ असोज : विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाको विश्व सम्पदासूचीँमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबारस्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आउनुभएका विदेशी पर्यटकहरुको पहिलो समूहलाई ४३ औं विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैलीमा पुष्पगुच्छा दिदै स्वागत एवं सम्मान गर्नु भएको हो ।

कार्यक्रममा भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकहरु जर्मनीका Andry saidesch, अष्ट्रियाका Rebecca Tritz,, बुल्गेरियाका mimi reumova र George Golev गरि चार जना पर्यटकहरुलाई लाखे प्याखं (नाच)का साथ भक्तपुरमा स्वागत गरिएको थियो ।

भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा भएको कार्यक्रममा पर्यटकहरुलाई स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुरको प्रकाशनहरु, काठको मयुरको झ्याल प्रदान गर्नुभएको थियो ।
नगर प्रमुख प्रजापतिले पर्यटकहरुबाट उठेको शुल्कबाटै भक्तपुर नगरपालिकाले यहाँका सम्पदाहरुको संरक्षण गर्नुका साथै शिक्षा, स्वास्थ्य, सरसफाईजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको बताउनु भयो ।

कोभिडले पर्यटन क्षेत्रमा नराम्रो असर पुगेको बताउदै उहाँले नगरपालिकाले पर्यटकहरुको लागि आवश्यक स्थानीय पथप्रदर्शकहरुको तालिम, चिनियाँ, जापानीजलगायत विदेशी भाषाहरुको प्रशिक्षण दिनुको साथै बिभिन्न ठाउँमा पर्यटक शौचालय र पर्यटक सूचना केन्द्रको व्यवस्था गर्दै आएको बताउनु भयो । भक्तपुरलाई संसारकै हेर्न र घुम्नलायक सहरको रुपमा विकास गर्ने उद्देश्यका साथ नगरपालिका लागिरहेको बताउनु भयो ।

संविधान जोगाउदै गाउँ गाउँमा सिंहदरबार पुर्याउन मंसीर ४ मा काँग्रेसको जीत आवश्यक : काँग्रेस नेता सिंह

भक्तपुर, १० असोज : नेपाली काँग्रेसका केन्द्रयि सदस्य एवं पूर्वमन्त्री प्रकाशमान सिंहले देशको संबिधान जोगाउदै गाउँ गाउँमा सिंहदरबार पुर्याउन आगामी मंसीर ४ गतेको निर्वाचनमा काँगेसको बहुमत आबश्यक भएको बताउनु भएको छ ।

आज नेपाली काँग्रेस सूर्यविनायक नगर कार्य समितिले सूर्यविनायकको गणेशमान बाटिकामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले मंसिर ४ गतेको निर्वाचनमा काँग्रेसको जीत सुनिश्चित गर्न जनताको घरघरमा अभियान लिएर जान कार्यकर्तालाई निर्देशन दिनु भयो ।

“हाम्रै नेतृत्वमा शान्ति प्रक्रियादेखि संंविधान निर्माणसम्मको अभिभारा पुरा भयो, अब संविधान कार्यान्वयन गरेर अगाडि बढ्ने जिम्मेवारी पनि काँग्रेसको काँधमा आएको छ,” उहाँले भन्नुभयो, “झण्डै दुई तिहाई बहुमतको नजिक रहेको कम्युनिष्टबाट संविधानलाई निमोठ्ने प्रयास भयो, उनीहरुको भित्रभित्रैको मारामारले दुई दुई पटक सरकार भंग भयो, अनि बाध्य भएर काँग्रेसले सरकारको नेतृत्व गर्नु पर्ने अबस्था आयो ।”

नेता सिंहले देशमा लोकतन्त्र बलियो बनाउदै संविधानलाई कार्यान्वयन गर्न अब काँग्रेसको नेतृत्व आवश्यक भएको बताउनु भयो । कार्यक्रममा काँग्रेसका अर्का केन्द्रीय सदस्य रमा पौडेलले महेश बस्नेतका कारण भक्तपुरको बासिन्दा हुँ भन्न पनि लाज लागेको टिप्पणी गर्नु भयो ।

त्यसअवसरमा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले महेश बस्नेतका कारण भक्तपुरको बदनाम भएको बताउदै मंसीर ४ गतेबाट उनी बदनाम पूर्व सांसद बन्ने बताउनु भयो । उहाँले मंसीर ४ गतेको निर्वाचन पछि बस्नेतको गुृण्डागर्दीको उद्योग र रोजी रोटी खोसिने टिप्पणी गर्दै अब काँग्रेसको जीत सुनिश्चित रहेको बताउनु भयो । कार्यक्रम संयोजक सुरेश केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर सभापति निशान ढुङ्गेलले निर्वाचनमा काँग्रेसमय बनाउन सबै कार्यकर्ता लाग्ने बताउनु भयो ।