एसईई परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक हुदैँ

भक्तपुर, ११ साउन : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज दिउँसो तीन बजे सार्वजनिक गर्ने भएको छ । एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने सबै तयारी पुरा भएको जानकारी दिदै एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायामाझीले आज दिउँसो ३ बजेभित्र परीक्षाफल सार्वजनिक गर्ने जानकारी दिनु भयो ।

विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरु कहिले जन्म मिति, कहिले अंक, त कहिले के मिस्टेक भयो भन्दै सच्याउन आउनेको भीड लाग्ने गरेकाले त्यस्तो समस्या नआओस भनेर यस पटक अलि कडाईका साथ विद्यार्थीको विवरण रुजु गर्ने कार्य भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन गएको उहाँले बताउनु भयो । स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उहाँले बताउनु भयो ।

शिक्षाका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक शिक्षिका निर्वाचनमा खटिएकाले उत्तर पुस्तिका परीक्षणमा पनि केही ढिला हुँदा नतिजा सार्वजनिक गर्न पनि केही दिन ढिलाई हुन गएको नतिजा केही दिन ढिला हुन गएको उहाँको भनाई छ ।

कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा दुई हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरि ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागि भएका छन् नियन्त्रक रायामाझीले जानकारी दिनु भयो ।
एसईईको नतिजा यसरी हेर्न सकिन्छ :

एसईईको परीक्षाको नतिजा हेर्नका लागि परीक्षार्थीले बार्डको बेवसाइटका साथै एसएमएस र आईभीआरबाट पनि हेर्न सकिने व्यबस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेभसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको हो ।

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, नीमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्नेछन् ।

यस पटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरेको छ । ग्रेडिङ सिस्टमले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अंक ल्याउनुपर्ने व्यवस्थालाई जोड दिएको हो ।

जठामंगल पर्व टोलटोलमा घुमाएर मारियो, राक्षसको प्रतिक घण्टाकर्ण

भक्तपुर, १० साउन : प्रत्येक साउन कृष्ण चतु्र्दशीका दिन नेवार समुदायमा मनाईने घण्टा कर्ण अर्थात गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले भव्य र उपत्यकामै पृथक शैलीमा मनाएका छन् ।

नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रुप बनाएर टोलटोल घुमाउदै दोबाटो र चौबाटोमा पुर्याई जलाएर पर्व मनाएको हो ।

भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथक शैलीमा यो पर्व मनाउने परम्परा रहेको छ । निगालोको चोयाबाट पूर्ण राक्षर रुपी गठांमंगल बनाई बाहिर कपडाले मोडेर बिभिन्न रंग लगाई राक्षसको स्वरुप बनाएर टोलटोलमा घुमाएर जगाती लगेर बिसर्जन गर्ने परम्परा छ । यस प्रकारको राक्षस रुपी अन्य कतै पनि नभएको र यहाँ पृथक शैली रहेको स्थानिय बाबुरत्न द्यौलाले बताउनुभयो ।

भक्तपुरका ईतिहासविद् एवं संस्कृतविद डा. पुरुषोत्तमलोचन श्रेष्ठ सातौ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसंग जोडिएको बताउनुहुन्छ । उहाँले महादेवलाई मन पराउने राक्षसको रुपमा गठामङ्गल वीर शैव सम्प्रदाय अन्तर्गत रहेको बताउनुभयो ।

उहाँका अनुसार आजको दिनलाई महादेव उत्पत्तिको दिन समेत मानिने गरिन्छ । आजदेखि रोपाई सकेर रमाईलो गर्ने, चाँडबाडको परम्परा सुरु हुने दिनका रुपमा पनि मानिने डा. श्रेष्ठले बताउनु हुन्छ । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र साँझ राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ ।

गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास रहेको संस्कृतकर्मी रामेश्वर बैद्य बताउनु हुन्छ ।

भक्तपुरमा यौनसंग पनि यसलाई दाज्ने गरिन्छ । राक्षस रुपी गठामङ्गललाई शरीरको रुप दिएर परालबको लिङ्ग बनाई दुईवटा भोगटेको अण्डकोष बनाएर अश्लिल गीतहरु गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा वर्षौदेखि चल्दै आएको उहाँ बताउनु हुन्छ ।

यहाँका बासिन्दाले राँको बालेर भूत भगाउँने भन्दै पुत्लाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याईन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखी नै यो पर्व मनाउँदा अश्लिल शब्दहरुको प्रयोग गर्ने छुट रहेको उहाँ बताउनु हुन्छ ।

घण्टाकर्णको दाहसंस्कार गरि फर्किदा बाटोमा पर्ने धारा, ढुंगेधारा, कुँवा, पोखरी, इनार आदिमा पुगेर चोखिने प्रचलन रहेको छ । फर्केर घर पुगेपछि छ्वाली बालेर धुवाले घर सेक्ने प्रचलन पनि छ भने घरको ढोकामा किला ठोकेर सम्हेबजी खाने प्रचलन छ ।

आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ । गाईजात्राका बेला प्रदर्शन गरिने भैरवलगायतका बिभिन्न नाच, व्यङ्ग्यात्मक नाटकको प्रशिक्षण पनि आजैबाट गरिन्छ । यहाँको नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्य सुरु गरिन्छ ।

शक्तिपिठमा घुईचो

त्यसैगरि भक्तपुरका विभिन्न शक्ति पिठहरुमा आज विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशी दिन मनाइने घण्टाकर्ण अर्थात गठेमंगल पर्वको अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको थियो ।

नेवार समुदायले आज बिहानै स्नान गरि शुद्ध भएर घरघरमा लिपपोत गरि विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । नेवार समुदायले रोपाई सकिएको पर्वको रुपमा पनि गठेमंगललाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा पनि यो पर्व मनाउने प्रचलन रहेको छ ।

उपप्रमुख भट्टराईको नेतृत्वमा सूर्यबिनायक क्षेत्रमा बजार अनुगमन

भक्तपुर, १० साउन । बजारमा महँगी र कालोबजारी अनियन्त्रित रुपमा बढेको गुनासो बढेपछि सूर्यविनायक नगरपालिकाले बजार अनुगमन अभियान सुरु गरेको छ । नगरपालिकाले सोमबार र मंगलबार नगरपालिकाको उपप्रमुख सरिता भट्टराईको नेतृत्वमा नगर भित्रको बिभिन्न बजारमा खाद्यान्न, किराना तथा ग्यास पसलको अनुगमन गरेको छ ।

नगरपालिकाको बजार अनुगमन टोलीले बालकोट र सूर्यबिनायक लगायतका क्षेत्रका बिभिन्न पसलको अनुगमन गरेको छ । उहाँले बजार निकै अनियन्त्रित भएको, जथाभावी आफूखुसी मूल्य निर्धारण गर्दै मंहगी अचाक्ली बढाएको, म्याद गुज्रेका अखाद्य बस्तुहरु बिक्रीमा राखेको, अनियमित रुपमा बजार सञ्चालन गरिरहेको पाईएको उहाँले जानकारी दिनु भयो ।

अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेका सामान बिक्री गरेको, दर्ता तथा नवीकरण नगरेको, मूल्यसूची नराखेको, ढक तराजु गुणस्तर तथा नाप तौल बिभागबाट प्रमाणीकरण नगराएको नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडलले जानकारी दिनुभयो ।

टोलीले म्याद गुज्रेका सामानहरु बरामद गरि नष्ट गरेको उहाँले जानकारी दिनु भयो । नगरपालिकाको टोलीले नियमपुर्वक ब्यबसाय संचालन गर्न निर्देशन दिदै पुनः यस्ता गल्ती दोहरिए पसल शिलबन्दी गर्ने चेतावनी दिईएको उहाँको जानकारी दिनु भयो । टोलीले त्यस्ता पसलबाट अखाद्य सामान बरामद गर्दै पसल नवीकरण गर्न, मूल्य सूची राख्न र नियमानुसार पसल सञ्चालन गर्न निर्देशन दिएको अधिकृत पौडेलले जानकारी दिनु भयो ।

टोलीले सुनपा २ बालकोटका लक्ष्मी खाद्यान्न स्टोर, सापकोटा ग्रोसरी, एस टु एस मार्ट, बंगलामुखी बि.के.स्टोर तथा वडा नं. ६ का कृष्ण कन्हैया डिपार्टमण्टल स्टोर, उज्यालो मल्टी स्टोर, साख मार्ट, पञ्च किराना एण्ड ग्याँस पसललगायतका स्टोर तथा पसलमा अनुगमन गरेको छ ।

अनुगमनको टोली पुगेपछि सुनपा २ बालकोटको सीता खाद्य स्टोर सञ्चालकले पसलनै बन्द गरी हिंडेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले तालिका बनाएर नगरपालिकाभित्र निरन्तर बजार अनुगमन गरिने उपप्रमुख भट्टराईले बताउनुभयो ।

टोलीमा घरेलु कार्यालयका उमेश कुमार दाहाल, जिल्ला प्रशासन कार्यालयका यादबराज मिश्र, राष्ट्रिय उपभोक्ता मञ्च, खाद्य तथा गुण नियन्त्रण बिभाग, गुणस्तर तथा नाप तौल कार्यालय, उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग संघका प्रतिनिधि तथा प्रहरीलगायतका टोलीले बजार अनुगमन गरेको थियो ।

गर्मी छल्दै समुद्री छालमा रमाउन काठमाडौं फन भ्याली जाऔँ पानीको मज्जा लिर्औँ

भक्तपुर, ९ साउन । समुद्री छालमा रमाउने चाहना सबैको हुन्छ नै । तर नेपालमै बसेर वास्तविक समुदी छालमा रमाउन भने सकिदैन । यद्यपी भक्तपुरमा युवा पर्यटन व्यवसायीले समुद्री छालमा रमाउन चाहनेहरुका लागि कृत्रिम समुद्री छालको निर्माण गरेर सञ्चालनमा ल्याएका छन् ।

बढ्दो गर्मी छल्न र पानीमा रमाउन चाहनेहरुका लागि युवा व्यवसायीको नयाँ समूहले भक्तपुरको पलाँसेमा सञ्चालनमा ल्याएको ‘काठमाडौं फन पार्क’ को कृत्रिम सुमद्री छालमा रमाउनेहरुको अचेल दैनिक भीड लाग्ने गरेको छ । बालबालिकादेखि युवायुवती, परिवारदेखि विद्यार्थीसम्मको भीड कृत्रिम समुद्री छाललाई रमाउन आउने गरेका छन् ।

काठमाडौं फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आन्तरिक पर्यटनको विकास, काठमाडौँ उपत्यकाका बासिन्दालाई कृत्रिम समुद्री छालसहित पानीको बिभिन्न खेलको मनोरञ्जन प्रदान गर्ने उद्देश्यले रु ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरूपमा सञ्चालनमा पार्क सञ्चालनमा ल्याएको बताउनुभयो । दुई वर्षदेखि बन्द रहेको देशकै पहिलो फन भ्यालीलाई नयाँ व्यबस्थापनले सञ्चालनमा ल्याएर स्थानीय ३० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको उहाँले बताउनु भयो ।

“मुम्बईको ‘वाटर किङडम’ मा लाग्ने भीड देखेर नेपालमै पहिलोपल्ट अरनिको राजमार्गसँगै भक्तपुरको पलाँसेमा ५६ रोपनी क्षेत्रफलमा एकै दिनमा तीन हजार जना रमाउन सक्ने गरी काठमाडौं फन भ्याली सञ्चालनमा ल्याएका हौँ,” उहाँले भन्नुभयो, “यहाँ जल र स्थल गरी ११ वटा भन्दा विभिन्न खेल खेल्न पाइन्छ, उमेरअनुसारको तीनवटा पौडी पोखरीको व्यवस्था गरिएको छ, सबभन्दा आकर्षण त यहाँको कृत्रिम समुद्री छाल र स्लाइडिङ हो जहाँ मन खोलेर मज्जाले रमाउन पाइन्छ ।”

यहाँ १२ वटा ‘गेमिङ जोन’ र चारवटा ‘वाटर जोन’ छन्, । बालबालिकाका लागि पौडी पोखरीसँगै रोटेपिङ शैलीको हेलिकप्टर, ४० फिट उचाइको ह्वील चेयर ट्रेन, वेभ पुल, ४० फिट उचाइबाट १५० देखि २०० फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल छ । त्यस्तै अक्वा डान्स, वेभ पुल, स्लाइडिङ, टिप्स पुलको मज्जा लिन सकिन्छ ।

काठमाडौँ उपत्यकामा बालबालिका, युवायुवतीदेखि परिवारसम्म एकै ठाउँमा घुम्न र रमाइलो गर्न यो पार्क सुरक्षित र व्यवस्थित रहेको भन्दै अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फनपार्क मनोरञ्जनको प्रमुख गन्तव्य बनेको उहाँले बताउनु भयो । यहाँ हरेक दिन पानी परिवर्तन गरि पानीको शुद्धतालाई प्राथमिकतामा राखिएको बताउदै उहाँले आन्तरिक पर्यटक भित्रर्याई जिल्लामा पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्य पनि यसको. रहेको बताउनु भयो ।

कर्णाली म्युजियम (सग्रहालय) यहाँको अर्को मुख्य आकर्षण हो । कर्णालीको वेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पर्व एवं परम्परा, सयौ वर्ष अगाडिका सामग्री कर्णाली म्युजियममा राखिएको प्रबन्ध निर्देशक थापाले जानकारी दिनु भयो ।

फन भ्यालीमा स्कुलका विद्यार्थी लिएर आउनु भएको मोर्डन इङ्लिस स्कुलका प्रिन्सिपल राजन कसपालले पारिवारिक मनोरञ्जन मात्रै नभई विद्यार्थीहरुका लागि पनि फन भ्याली प्रमुख गन्तव्य बनेको बताउनु हुन्छ । आफ्ना विद्यार्थीहरुलाई यहाँ ल्याएर पौडी खेल्न मात्र नभई यहाँ रहेका अन्य बाल मनोरञ्जनका खेलहरु खेल्नुका साथै यहाँको कर्णाली म्युजियमको अवलोकनले विद्यार्थीहरुलाई मनोरञ्जनका साथै ज्ञान आर्जन गर्ने थलोको रुपमा पनि आफूले लिएको बताउनु भयो ।

फन भ्याली प्रवेश गरे पछि एकै थलोमा पौडीको मजासँगै बिभिन्न खेलहरुको मज्जा लिन, कर्णाली म्युजियमको अवलोकन गर्न र खाजा वा खाना खानका लागि समेत बाहिर जान नपर्ने गरि व्यबस्एथापन गरिएको प्रबन्ध निर्देशक थापा बताउनु हुन्छ ।

काठमाडौँको कोटेश्वर–सूर्यविनायक छ लेन सडकको अन्तिम बिन्दु सूर्यविनायक चोकबाट चार किलोमिटर पूर्वस्थित अरनिको राजमार्गसँगै पलासेमा सञ्चालित फन भ्यालीमा ५०० जनाले एकैपटक खान सकिने क्षमता रहेको विवाह, जन्मदिन, विवाह, वैवाहिक वार्षिकोत्सव, इन्गेजमेन्टदेखि विभिन्न पार्टी गर्न सकिने व्यबस्था छ । यहाँ पाँच सय वटा सवारी साधन पार्किङ गर्न सकिने सुबिधा रहेको छ ।

 

रुखले बस र स्कुटर किच्दा मृत्यु भएका तीन र १२ जना घाइतेको पहिचान खुल्यो

भक्तपुर, ८ साउन । भक्तपुर नगरपालिका–१ सल्लाघारी स्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडकमा सडक छेउको सल्लाको रुख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीनको पहिचान खुलेको छ ।

दिउँसो काठमाण्डौंबाट यात्रु बोकेर दूधपाटीहुँदै कमलविनायक जादै गरेको बा. २ ख. ३५८४ नं. को यात्रु बाहक बस र दूधपाटीबाट सल्लाघारी तर्फ जाँदै गरेको बा. ६१ प. ३९७८ नं. स्कुटरलाई ढलेको रुखले किच्दा बसमा सवार दुई र स्कुटरमा सवार एक जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका १५ जना मध्ये बसमा सवार भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २५ वर्षीय विशेष खर्बुजा, चाँगुनारायण नगरपालिका–२ का ५५ वर्षीय न्हुच्छेराम बखाद्यो र स्कुटरमा सवार सर्लाही हरिवन नगरपालिका–४ घरभएका ४५ वर्षीय राजकुमार भुजेलको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।

दुर्घटनामा घाइते भएका १२ जनाको मध्ये भनपा.–१० कमलविनायक बस्ने १९ वर्षीय रितिक बासुकला, चानपा– ४ चाँगु बस्ने १८ वर्षीया निशा लिगल, काठमान्डौ–१० बुद्धनगर बस्ने ६८ वर्षीय पदमप्रसाद योजु, रामेछाप दोरम्वा गा.पा.–७ घर भई हाल सूर्यविनायक न.पा–८ सिपाडोल बस्ने बस चालक २२ वर्षीय हुमबहादुर मगर, सर्लाही घर भई हाल सूर्यविनायक वस्ने १६ वर्षीय आकाश वाईवा र भक्तपुर नपा–७ बस्ने १८ वर्षीय सिम्रन लागेजुको इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ ।

त्यसैगरि उदयपुर लिचुंगु गापा.–१ भई हाल काठमाण्डौ स्वयम्भु बस्ने बर्ष ४१ को निलबहादुर राई, पर्वत जलजला गा.पा.–७ घर भई हाल काठमान्डौ शंखमुल बस्ने १९ वर्षीय समिर आचार्य, पाँचथर याङ्गवरक गा.पा.३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने १२ वर्षीया समृद्धि लिम्बु, पाँचथर याङ्गवरक गा.पा.३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने १८ वर्षीया अप्सरा लिम्बु, पर्वत फलेवास न.पा.२ घर भई हाल काठमान्डौ वानेश्वर बस्ने १९ वर्षीय सागर शर्मा र भक्तपुर न.पा.८ जेला बस्ने ४८ वर्षीया लक्ष्मी दुवालको भक्तपुर ईन्टरनेशनल अस्पताल कौशल्टारमा उपचार भइरहेको छ ।

घट्नाको बारेमा भक्तपुरका सांसद प्रेस सुवालले संसदमा बोल्दै मृतक परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको उपचार गर्न सरकारसँग माग गर्नु भयो । त्यस्तै गृहमन्त्री बाल कृष्ण खाँडको घाइतेको उपचारको व्यबस्था तत्काल मिलाउन निर्देशन दिनु भएको छ । मन्त्रीको निर्देशन पछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलगायतको टोलीले घट्नास्थल, अस्पतालमा उपचार गराइरहेका अस्पतालमा पुगेर विरामीको अबस्थाकाबारेमा जानकारी लिनु भएको छ ।

नेपाली कांग्रेसका वडा सभापतिसहित सिंगो वडा समिति एमाले प्रवेश : यो चार वर्षको अबधीमा भक्तपुरको बिकासले यहाँको मुहार फेरिएको छ : एमाले नेता महेश बस्नेत

नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका वडा नं. ६ का सभापति राजेन्द्र त्वातीको नेतृत्वमा, वडा समितिका सचिव अनिल बके, सहसचिव राजेश शिलाकार, वडासमितिका सदस्यहरु निराजन सुवाल, सरोज बके, कांग्रेस क्रियासिल सदस्यहरु प्रकाश घिसिङ, सुजन बके, सुजन सुकुभुटु, ई.कुसल सुवाल, शिव श्रेष्ठ, दिपक श्रेष्ठ, सागर सुवाल, बावुराम श्रेष्ठ नेकपा एमाले प्रवेश गर्नु भएको हो । त्यसैगरि आजै विवेकशिल पार्टीका केन्द्रिय सचिवालय सदस्य विवेक पौडेल र नेकपा माले भक्तपुर जिल्ला सचिव हिमान्चल कार्की पनि आफ्नो पार्टीं परित्याग गर्दै नेकपा एमाले प्रवेश गर्नु भएको हो ।

======================================================

भक्तपुर, ८ साउन : नेपाली कांग्रेस लगायत बिभिन्न पार्टीमा नेतृत्व तहमा रहेका नेता तथा कार्यकर्ता आज नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको कार्यालय सूर्यविनायकमा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, विवेकशिल पार्टी र नेकपा मालेको जिम्मेवार तहमा रहेका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट अब देश विकास हुन नसक्ने र देशनै फुटको संघारमा पुर्याउन लागेको भन्दै नेपाली काँग्रेसका वडासभापति सहित सिंगो वडा समितिले काँग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका वडा नं. ६ का सभापति राजेन्द्र त्वातीको नेतृत्वमा, वडा समितिका सचिव अनिल बके, सहसचिव राजेश शिलाकार, वडासमितिका सदस्यहरु निराजन सुवाल, सरोज बके, कांग्रेस क्रियासिल सदस्यहरु प्रकाश घिसिङ, सुजन बके, सुजन सुकुभुटु, ई.कुसल सुवाल, शिव श्रेष्ठ, दिपक श्रेष्ठ, सागर सुवाल, बावुराम श्रेष्ठ नेकपा एमाले प्रवेश गर्नु भएको हो ।

त्यसैगरि आजै विवेकशिल पार्टीका केन्द्रिय सचिवालय सदस्य विवेक पौडेल र नेकपा माले भक्तपुर जिल्ला सचिव हिमान्चल कार्की पनि आफ्नो पार्टीं परित्याग गर्दै नेकपा एमाले प्रवेश गर्नु भएको हो । पार्टी प्रवेश गर्नेहरुलाई नेकपा एमालेका पोलिव्यूरो सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेत, नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्रले टीका तथा खादा लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।

कार्यक्रममा एमालेका युवा नेता एवं सांसद महेश बस्नेले यो पार्टी प्रवेशले नेकपा एमालेको प्रभावलाई सूर्यविनायकलाई अझ बलियो बनाएको भन्दै सूर्यविनायक वडा नं. ६ मा पनि एमालेको प्रभाव निणर्ायक र बहुमत बनेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “स्थानीय तहको चुनाब अगाडि यो निणर्य गरेको भए आज निर्वाचित वडा अध्यक्ष बन्नु हुने थियो, यद्यपी त्यस वडामा परिणामको हिसाब यो कार्यकाल एमालेको नभए पनि एमालेको उम्मेदवार र त्वातीजीले पाउनु भएको मत परिणामलाइै जोड्दा अब जनमतको हिसाबले पनि ६ नं. वडामा एमालेका धेरै अगाडि छ ।”

एमालेले जत्तिको लोकतान्त्रिक, प्रजातन्त्रवादी पार्टी अहिले अरु छैन भन्दै उहाँले अहिले कांग्रेसले पनि डेमोक्रेटिक हुने कुरा एमालेबाट सिकिरहेको बताउनु भयो । एमालेले कम्युनिष्ट आन्दोलनको मात्रै नभई प्रजातान्त्रिक आन्दोलनको पनि नेतृत्व गरिरहेको उहाँको भनाइ थियो ।
एमाले प्रवेश गर्नेहरुले एमालेमै अरु पार्टी भन्दा उत्कृष्ट डेमोक्रेटिक पार्टी हो भन्ने गरेको चर्चा गर्दै नेता बस्नेतले आज एमाले प्रवेश गर्नेहरुलाई केही समय पछाडि नै पार्टीले दिने जिम्मेवारीलाई गहन र महत्वपूणर् ढ.गले निर्वाह गर्ने विश्वास लिएको बताउनु भयो ।

सामाजिक न्यायको सन्दर्भमा समेत एमालेले अहिलेसम्म काम गर्दै आएको बताउदै उहाँले जेष्ठ नागरिकदेखि, एकल महिला, गरिब, जनजाती, दलित, पछाडि पारिएका वर्ग, युवा, विद्यार्थी सबैको सामाजिक न्यायका लागि एमालेले निकै महत्वपूणर् भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नु भयो । जेष्ठ नागरिक सबै एमाले भए भनेर कांग्रेस माओवादीले बृद्ध भत्ता दिने उमेर घटाएर ६८ वर्षमा झारे पनि त्यो एमालेकै दबाबमा भएको उहाँको भनाइ छ ।

हरेक पहेलो धातु सुन हुदैन भने झै सबै पार्टीले बोलेका कुरा सच्चा नै हुन्छ भन्ने छैन भन्दै उहाँले नेताले बोलेका कुरा उनले उनको पार्टीले व्यबहारमा कतिको कार्यान्वयनमा ल्याएर भनेर जनताले मूल्यांकन गर्ने बताउनु भयो ।

उहाँले चार वर्षको अन्तरालमा भक्तपुरको विकासले यहाँको मुहार परिवर्तन गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “एमालेले ४० महिना संघीय, प्रदेश र स्थानीय सरकार चलाउँदा यो अन्तरालमा भक्तपुरवासीले के महसुस गरे, प्रत्येक कुना कुना, टोल टोलमा गएर त्यहाँका जनतालाई सोध्यो भने भक्तपुरका ९९ प्रतिशत मानिसले यो चार वर्षमा धेरै बिकास भएको छ, परिवर्तन भएको छ भन्ने छन् ।”

एमालेले तीन तअकै बजेट ल्याएरु बिकासका काम गरिहदाँ कुनै राजनीतिक आग्रह पूर्वाग्र्रह नराखी काम गरिरहेको बताउदै उहाँले भन्नुभयो, “हामीले बजेट ल्याएर काम गर्दा यो एमालेले जितेको वडा, यो काँग्रेसले जितेको वडा भनेर विभेद गरेनौ, हामीले बिकासमा कुनै विभेद गरेनौ, कांग्रेसले जितेका ठाउँमा पनि एमालेले बजेट ल्याएर बिकासमा गरेको भक्तपुरमा धेरै उदाहरण छन्, सडक, पुल, सामुदायिक भवन, मेलम्चीको पानी, खानेपानी धारा वितरणलगायत सबै कुरामा एमालेले समान भूमिका निर्वाह गर्यो ।”

उहाँले भक्तपुरलाई पहिलो चरणमा छुटाएको मेलम्चीको पानी आफ्नो पहलमा ल्याउन सफल भएको भन्दै केपी ओली नेतृत्व सरकारमा ४ करोड डिपिआर गरेर भक्तपुरमा पानी ट्यांकी निर्माण गरेर, मेलम्चीका पानी पहिशलो चरणमै ल्याउन सफल भएका हौ, भक्तपुरमा सुरुमा मध्यपुरथिमिको टिगनीमा र दोश्रोमा पाण्डु बजारमा मेलम्चीको पानी झारेर सफल परीक्षण समेत गरेका छौ, भन्नुभयो ।

उज्यालो भक्तपुर बनाउने अभियानका क्रममा अरनिको राजमार्गदेखि सूर्यविनायक नगरपालिकाको वडा वडामा सडक बत्ति जडान गर्न सफल भएको भन्दै उहाँले सूर्यविनायकको पाण्डु बजारदेखि ट्राफिक कार्यालयसम्मको क्षेत्रलाई नयाँ ठमेल बनाएर रात्रीकालिन पर्यटकीय गन्तव्य बनाउने कामको बजेट वर्तमान् सरकारले काटेको बताउनु भयो ।

उहाँले सूर्यविनायकको पाण्डुबजार, मध्यपुथिमिको नीलबाराही, साँगादेखि घ्याम्पेडाँडासम्म पर्यटनको नयाँ गन्तव्य बनाउने उदेश्यले चार वर्षदेखि सरकारले छुट्याउदै आएको बजेट वर्तमान् सरकारले काटेर योनाज अपूरो बनाएको बताउनु भयो ।

एमाले नेता एवं सांसद बस्नेतले भन्नुभयो, “सूर्यविनायकको पाण्डु बजारदेखि ट्राफिक कार्यालयसम्मको क्षेत्रलाई भक्तपुरको ठमेल बनाएर रात्रीकालिन पर्यटन प्रबद्र्धन गर्ने विगत चार वर्षदेखि निरन्तर बजेट आउने काम भइरहेको थियो, तर यो सरकारले यस वर्ष बजेट काट्यो, काठमार्डौमा ठमेल, ललितपुरमा झम्सिखेलभने जस्तै भक्तपुरमा यो क्षेत्रलाई बनाउने गरि नगरपालिकाले समेत डिपिआर बनाउन बजेट विनियोजन गरेको थियो, तर अहिले बजेटनै काटियो ।”

विगतमा यस क्षेत्रमा नेमकिपा, कांग्रेस र अहिले एमालेले जित्दा भक्तपुरको २ नं. क्षेत्रमा कति फरक भएको छ त्यो जनताले मनन गरिरहेको उहाँको भनाइ थियो ।

एमालेले गुमेको भूमि नक्सामा राखेर जमिन फिर्ता ल्याउने खोज्दा भारतसँग सम्बन्ध बिग्रियो भनेर भ्रम फैलाउनेहरु अहिले भारतसँग लम्पसारवाद बनेको टिप्पणी गर्नु भयो । एमालेले भारत र चीनलगायतका अन्तर्राष्ट्रिय सम्बन्धलाई राष्ट्रहितमा राखेर मजबुद बनाइ रहदाँ बिरोध गर्नेहरु अहिले भारतसँगको सम्बन्ध आत्मसमर्पण र चाकरीवादमा परिणत गरेको बताउनु भयो ।

एमसीसीको सन्दर्भ कोट्याउदै उहाँले एमसीसी पास नगरौ भन्दा पनि सडकमा ढुङ्गा पनि आफै हान्ने, सदनमा पास पनि आफै गर्ने र प्रचण्ड, गगन जस्ताले जनतलाई भ्रममा राख्दै व्याख्यात्मक टिप्पणी पनि उनीहरु आफै भन्नेले देश बिगारेको भन्दै उहाँले एमसीसीबारे जनताले जान्न चाहेको कुरा समेत जानकारी नगराई षडयन्त्र पूणर् ढंगले पारित गराएको बताउनु भयो ।

अहिले नेपालमा अमेरिकी राज्य साझेदार कार्यृक्रम (एसएसपी) कार्यक्रमका नाममा अमिरिकन सैन्य गतिबिधि खुल्लम खुल्ला गरेकोमा आपत्ति जनाउदै उहाँले देवा नेतृत्व गठबन्धन सरकारले अझै पनि यो चाहिदैन भन्न नसकेको र यसको नामै फेरेर भए पनि पास गर्ने रणनीतिमा लागेको बताउनु भयो ।

आत्मसमर्पाणवाद, चाकरीवादमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लाग्दा देश गम्भिर संकटमा धकेलिदै गएको भन्दै नेता बस्नेतले चार वर्ष सदनमा रोकेर बृहत छलफल गरेर राष्ट्रघात नहुने गरि पारित गर्नु पर्छ भन्दा भन्दै प्रचण्ड भारत गएर आए लगत्तै नागरिकता विधेयकको पारित गरेको टिप्पणी गर्नु भयो ।

बैदेशिक बुहारीलाई सात वर्ष अगाडि नागरिकता नदिने सहमति दलहरु बीच यसअघि नै भएको भए पनि अहिले सरकारले रातारात नागरिकता विधेयक पारित गराएर लम्पसारवादको नमूना प्रस्तुत गरेको भन्दै सत्ता गठबन्धनले पारित गरेको नागरिकता बिधेयकमा गडबढी रहेको औल्याउनु भयो ।

नेपाल जस्तो संवेदनशिल मुलुकले नागरिकता जस्तो गहन बिषयलाई हल्का रुपमा लिनु भनेको देशलाई खतरा हनु हो भन्दै उहाँले सरकार जनताको ढाड सेक्ने गरि भएको मंहगी, पेट्रोलीयम पदार्थको मूल्य बृद्धि र मल ल्याउन नसक्नुले सरकार जनता प्रति कत्तिको उत्तरदायी छ भन्ने पुष्टी भएको बताउनु भयो ।

केपी ओलीले बंगलादेशसँग मल ल्याए पनि अहिलेका सरकारले पैसा दिएर पनि भारतबाट मल ल्याउन नसकेर किसानलाई पिडा दिएको भनाई उहाँले राख्नु भयो । मंहगीको नाममा सरकार आयल निगमलाई निजीकरण गर्न उन्मुख भएको भन्दै हतियार खरिदमा अरबौ कसिमसन खान पूर्व अर्थमन्त्री र प्रधानमन्त्रीको मिलिभगत रहेको समेत दाबी गर्नु भयो ।

जनतालाई राहत दिने कार्यक्रम, एद्योगी व्यवसायीलाई टिकाउने कार्यक्रम ल्याउनु पर्ने सरकार कच्चा पदार्थको भन्सार बृद्धि अत्याधिक गरेर नेपाली उद्योगलाई बन्द गराउने षडयन्त्रमा लागेको भन्दै यसको नमूना प्रधानमन्त्रीका छोराले आयात गर्ने स्यानेटरी प्याडमा ८५ प्रतिशत भन्सार छुट दिनुले पनि पुष्टी गरेको बताउनु भयो ।

नेपालमै उत्पादन हुने सामानको कच्चा पदार्थलाई धेरै भन्सार लगाउने र यहाँको उद्योग बन्द गराउने ठूलो चलखेल भइरहको भन्दै उहाँले अर्थमन्त्रीको मात्रै हात होइन यहाँ प्रधानमन्त्रीदेखि धेरेको संलग्नता रहेको बताउनु भयो ।

अर्थ मन्त्रालयको सिसि टिभिको फुटेज हराउनु लज्जास्पद विषय होइन र ? भन्दै उहाँले सरकार गठबन्धन निर्माण गर्ने, आगामी निर्वाचन पछि प्रचण्ड र आरजूलाई आलोपालो प्रधानमन्त्री बनाउने र भारतसँग लम्पसारवाद गर्दै परिवारवादमा देश चलाउने षडयन्त्र भइरहेको सांसद बस्नेतले जिकिर गर्नु भयो ।

आउँदो संसदीय चुनाव र प्रदेश चुनावमा यसको क्षतिपूर्ति दिने गरि जनताले फैसला गर्ने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, एमाले जिल्ला अध्यक्ष बचन देउजालगायतले एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा काँग्रेस वडा सभापति परित्याग गरि एमाले प्रवेश गर्नु भएका राजेन्द्र त्वातीले अब आउने संघीय र प्रदेश चुनाबमा एमालेलाई जिताउन महत्वपूणर् भूमिका निर्वाह गर्ने बताउनु भयो । अब पाँच वर्षमा हुने स्थानीयको तहको निर्वाचनमा वडा नं. ६ लाई एमालेमय बनाउने बताउदै उहाँले पार्टीले दिएको जिम्मेवारीलाई गहन रुपमा बहन गर्दै इमान्दातिार्पूक लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

“काँग्रेसमा निकै लामो समय मिहेनत र दुःख गरेर पार्टी बनायौं, तर काँग्रेस पार्टीले सहि मानेमा मूल्यांकन गरेन । काँग्रेस कार्यकर्ताको मूल्यांकन गर्ने पार्टी होइन रहेछ भन्ने प्रमाणित भयो ।” उहाँले भन्नुभयो, “गत चुनाबमा कांग्रेसले मेरै दाजुभाईबीच फाटो ल्याएर घर फुटाउने प्रयास गर्यो, कांग्रेस बिकास गर्ने पार्टी होइन, घर फुटाउने, टोल फुटाउन, समाज फुटाउने र मौका मिले देशै फटाउने पार्टी देखेँ त्यसैले हामी एमालेका प्रवेश गर्यौ ।”

कार्यक्रममा सूर्यविनायक नगरका प्रमुख एवं एमाले जिल्ला उपाध्यक्ष वासुदेव थापा, एमाले भक्तपुर जिल्ला सचिव मोहनबिर श्रेष्ठ, एमाले भक्तपुर जल्ला सहसचिव मिलन श्रेष्ठ, एमाले सूर्यविनाक नगर अध्यक्ष रविन्द्र सपाकोटा, एमाले चागुनारायण नगर अध्यक्ष रामप्रसाद तिमिल्सिनालगायतको सहभागिता रहेको थियो ।

विकास निर्माणसँगै जनताका सुख दुःखमा सधै साथमा रहने छु : एमाले नेता महेश बस्नेत

भक्तपुर, ७ साउन । नेकपा एमालेका पोलिटब्युरो सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले भक्तपुरको बिकासमा मात्रै नभई सधै जनताको सुख दुःखमा साथमा रहने बताउनु भएको छ ।मध्यपुरथिमि नगरपालिका–८ स्थित सहयोगी निलबाराही टोल सुधार समाजको सातौँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले जिल्लाको समग्र बिकासमा आफूले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

भक्तपुरमा पाँच वर्षको अबधीमा आफ्नो पहलमा १६ अर्ब भन्दा बढी बजेट ल्याएर बिकासको काम गर्दा यहाँको मुहार फेरिएको चर्चा गर्दै उहाँले वर्तमान् सरकारले भक्तपुरलाई यसअघि छुट्याएको बजेट समेत काटेर भक्तपुर बिरोधी काम गरेको बताउनु भयो ।

सांसद बस्नेतले भन्नुभयो, “अहिले सरकार छ कि छैन भन्ने कुरामा जनता अन्योलमा छन् । जनताले देशप्रमेमी सरकार अहिले हाम्रो देशमा छ भन्ने कुनै अनुभूति गर्न पाएका छैनन् । यतिसम्म की यसअघिको सरकारले बहुबर्षिय योजनामा छुट्याएको बजेट समेत वर्तमान् शेरबहादुर देउवा गठबन्धन सरकारले काटेर बिकास बिरोधी काम गरेको छ ।”

भक्तपुरको सिंगो जिल्लाको बिकासमा आफूले कुनै पनि कमिकजाृरी रहनस नदिने बताउदै उहाँले वजेटको कमीले बिकास रोकिने अबस्था आउन दिन नहुने बताउनु भयो । उहाँले मध्यपुर नगरपालिका वडा नं. ८ नयाँबस्तीमा रहेका हरेक बिबिधखालका समस्यालाई आफूले जानकारीमा लिएको बताउदै उहाँले यहाँको समस्या समाधानका लागि आफू तयार रहेको बताउनु भयो ।

विकासप्रेमी नेता बस्नेतले व्यक्तिगत रुपमा पनि आफू टोल भित्रका प्रमुख समस्या ढल, बाटोघाटो र यहाँको स्थानीयका लागि सानै भएपनि खेल मैदानका लागि बजेट ल्याउन पूर्ण रुपमा प्रयास गर्ने प्रतिबद्धता जनाउदै उहाँले आफ्नो सांसद बिकास कोषबाट भएपनि यहाँका लागि बजेटको व्यवस्थापन गर्ने बचन बद्धता व्यक्त गर्नु भयो । वर्तमान देउवा नेतृत्व गठबन्धन सरकार जंगलमा सिंह सुतेझैँ सुतेको टिप्पणी गर्दै उहाँले अहिले दिन दुई गुणा रात दश गुणाका दरले महँगी बढ्दा समेत देउवा सरकारले कुनै दाबी गर्नु भयो ।

कार्यक्रममा समाजका अध्यक्ष तथा पत्रकार पुस्कर बस्नेतले आफ्नो टोल भित्रको समस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने बताउनु भयो । उहाँले आफ्नो टोलमा रहेको केही अधुरो योजनाहरुलाई पूरा गर्ने प्रतिवद्धता यहाँका सबै दलहरुसँग समन्वय गरेर टोल भित्रका समस्या समाधान गर्दै आवश्यक विकासका गतिबिधिलाई पूर्णता दिन आपूm लागिरहने बताउनु भयो ।

उक्त कार्यक्रममा (नेकपा एमाले)का जिल्ला कमिटी सदस्य शैलेन्द्र श्रेष्ठ, मध्यपुर थिमी नगरपालिका–८ का अध्यक्ष रामचन्द्र जयना, युवा उद्यमी तथा समाजसेवी भीम गिरी, युवा उद्यमी तथा सहकारीकर्मी बाबुराम थापा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शिव बस्नेत, समाजका निर्वतमान अध्यक्ष ठेलुमान राईलगायतले विकासको अग्रगतिमा समाज अगाडि बढ्न सकोस भन्ने कामना व्यक्त गर्नु भयो । समाजका सचिव जान्दबी प्रसाद दाहालले सञ्चालन गरेको सभाले आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन सर्वसम्मत रुपले पारित गरेको थियो ।

 

श्रीभक्त कासिछ्वा प्रदेश खेलकुद बिकास परिषदको सदस्यमा नियुक्त

काठमाडौं, ५ साउन । वाग्मति प्रदेश सरकारले प्रदेश खेलकुद बिकास परिषदको सदस्यमा भक्तपुरका श्रीभक्त कासिछ्वालाई नियुक्त गरेको छ ।

वाग्मति प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आज भक्तपुरका समाजसेवी, व्यवसायी, एवं जिल्ला खेलकुद विकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष श्रीभक्त कासिछ्वालाई परिषदको सदस्यमा नियुक्त गरेको हो ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले उहाँलाई नियुक्त पत्र प्रदान गरि आजै सपथ ग्रहण गराउनु भएको छ । मन्त्री ढकालसँगै वाग्मति प्रदेशका अर्थ मन्त्री शालिकराम जमरकट्टेल, प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठलगायतले उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।

लामो समयदेखि खेलकुदको विकासमा निरन्तर लाग्नु भएका कासिछ्वा तेक्वाण्डो र ब्याडमिन्टनको खेलाडी हुनु हुन्छ ।
भक्तपुर व्याडमिन्टन संघका कोषाध्यक्ष, चाँगुनारायण उद्योग वाणिज्य संघका अध्यक्षलगायत बिभिन्न संघसंस्थामा आबद्ध रहनु भएका कासिछ्वा राजनीतिकर्मीसमेत हुनुहुन्छ ।

जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्ष हुँदा उहाँले भाडामा बस्दै आएको समितिको कार्यालयलाई आफ्नै पहलमा जिल्ला मै पहिलो पटक समितिको आफ्नै कार्यालय राख्न सफल हुनु भएको थियो ।

भक्तपुरमा खेलकुदको विकासका लागि बिभिन्न खेलको प्रतियोगितासमेत गर्दै आउनु भएका उहाँले बिभिन्न संघसंस्था एवं सामाजिक विकासमा समेत योगदान दिदै आउनु भएको छ । भक्तपुरका अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणको सुरु गर्नु भएको छ । कासिछ्वाकै नेतृत्वमा चाँगुनारायणमा अन्तर्राष्ट्रियस्तरको रग्बी रंगशाला निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । प्रदेश सरकारले मध्यपुरथिमिकी खेलाडी रत्नकेशरी प्रजापतिलाई पनि पुनः समितिको जिल्ला सदस्यमा नियुक्त गरेको छ ।

कोरोनाले दुई वर्ष रोकिएको सापारु अर्थात गाईजात्रा यस वर्ष भव्य रुपमा मनाइने

भक्तपुर, ५ साउन : कोभिड–१९ का कारण दुई वर्षदेखि मनाउन नपाइएको सापारु अर्थात गाईजात्रा यसवर्ष भव्य र सभ्य रुपमा मनाइने भएको छ ।

भक्तपुर नगरपालिकाले २०७९ सालको गाईजात्रा पर्व (सापारु) प्रदर्शन गर्नेबारे आज संस्कृतिकर्मीको भेला गरेर कोरोनाका कारण दुई वर्षसम्म औपचारिकतामा मात्रै मनाएको गाइजात्रा पर्वलाई यसवर्ष भने टोल टोलमा भव्य र सभ्य रुपमा मनाउने भएको हो ।

नगरका दाफा, भजन, साँस्कृतिक टोलीलगायतको सहभागितामा भएको छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड महामारीका कारण दुई वर्षसम्म गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपरे पनि यस पटकको गाईजात्रा भने सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गरिने बताउनु भयो ।

यस वर्षको सापारुमा बढीभन्दा बढी साँस्कृतिक गतिविधिहरु प्रदर्शनीका लागि नगरबासीहरुलाई उत्साहित गरिने बताउदै उहाँले गाईजात्रामार्फत जनतालाई राजनीतिक र सामाजिक रुपमा सचेत बनाउँदै लैजाने बताउनु भयो । भनपा–५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वलगायतले गाठामंग र सापारुमा पर्वमा भित्रिन थालेका विकृति हटाउदै लैजानु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा सहभागि संस्कृतिकर्मीहरूले घिन्ताङघिसी नाचमा देखिएका विकृति रोक्नु पर्ने, परम्परागत बाजाहरुको संरक्षण गर्नुपर्ने, लोप भएका संस्कृति तथा बाजागाजा उत्थान गर्न आर्थिक सहयोगको गर्नु पर्ने, पर्यटकहरुलाई आकर्षण गर्न सांस्कृतिक प्रदर्शनी गर्नुपर्ने, गाइजात्रा रुटमा केबल र तारहरुको उचित व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।

नेपालको समृद्धिको यात्रा साझेदार बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ५ साउन  : प्रधानमन्त्री शेरबहादुर देउवासँग वल्र्ड एसोसियसन अफ पब्लिक प्राइभेट पार्टनरसीप युनिट एण्ड प्रोफेसनल्स (डब्लुएपिपिपी) का प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । डब्लुएपिपिपीका अध्यक्ष जियाद अलेक्जेन्डर हायेकसहित तीन जनाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेको हो । भेटमा सार्वजनिक–निजी साझेदारी (पिपिपी)मार्फत पूर्वाधार तथा अन्य व्यावसायिक सम्भाव्यता भएका परियोजना कार्यान्वयन गरी सरकारको सेवा प्रवाहलाई अझै चुस्त र गुणस्तरीय बनाउन सकिनेबारे छलफल भएको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

यसबाट स्वदेशी एवं प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गरी दिगो र समावेशी आर्थिक विस्तारको आधार तयार गर्ने विश्वास लिइएको छ । पिपिपी तथा लगानीसम्बन्धी कानूनी र संस्थागत व्यवस्थामार्फत नेपालले सार्वजनिक–निजी साझेदारीमार्फत् स्रोतको खाडल पूर्ति गरी आर्थिक विकासको लाभ हासिल गर्न गरिरहेको प्रयासको प्रशंसा गर्दै उक्त प्रतिनिधिमण्डलले नेपालले पिपिपीअन्तर्गत लगानी सहजीकरणमा प्रतिस्पर्धी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको लगानी बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पिपिपी आकर्षक भए पनि आफैँमा जटिल विषय भएको भन्दै यसका विविध पक्ष–वित्तीय, कानूनी, प्राविधिक, वातावरणीय, सामाजिक, राजनीतिक, कार्यक्रम, परियोजना, स्थानीय र अन्तर्राष्ट्रिय परिदृश्यलगायतको कुशल तादात्म्यताबाट मात्र प्रभावकारी परिणाम निकाल्न सकिने भएकाले पिपिपीका क्षेत्रमा काम गर्ने संस्थाको सोहीअनुसार क्षमता विकास हुनुपर्ने प्रतिनिधिमण्डलको धारणा थियो । प्रतिनिधिमण्डलले लगानी बोर्डको कार्यालय डब्लुएपिपिपीको सदस्य भएकाले सहयोगका लागि सधैँ तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको उहाँले जानकारी दिनुभयो ।

उक्त अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले संस्थागत र व्यावसायिक क्षमता विकासमा डब्लुएपिपिपीका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै प्रधानमन्त्रीको अध्यक्षतामा गठित बोर्ड सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐनबाट निर्देशित रहेको र पिपिपी परियोजना विकासलाई नेपाल सरकारले उच्च महत्व दिएको बताउनुभयो । उहाँले लगानी बोर्ड नेपालले ३३ परियोजनाका लागि रु १० खर्ब ४० अर्ब लगानी स्वीकृत गरिसकेको बताउँदै पिपिपी परियोजना विकासमा नेपालले आफूलाई प्रमाणित गर्दै अघि बढेको र बोर्डको रणनीतिक योजनाअनुसार सन् २०२५–२६ सम्म १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो ।

उक्त भेटमा प्रधानमन्त्री देउवाले नेपालमा पिपिपीअन्तर्गत स्वच्छ र नवीकरणीय ऊर्जा, दिगो एवं उत्थानशील पर्यटकीय एवं स्वास्थ्य, शिक्षा, सूचना–प्रविधि, सुरक्षित सहरी पूर्वाधार, विद्युतीय यातायात, सुरुङमार्ग, सडक, औद्योगिक उत्पादन, कृषि प्रशोधनलगायत विविध क्षेत्रमा लगानीको सम्भाव्यता रहेको भन्दै पिपिपी परियोजनालाई लगानी सम्भाव्य बनाउन डब्लुएपिपिपीको विज्ञताको लाभ लिन इच्छुक रहेको बताउनुभएको विज्ञप्तिमा उल्लेख छ । उहाँले नेपाल लगानीका लागि उदयमान गन्तव्य भएकाले त्यसको सन्देश लिएर सद्भावना दूतका रूपमा नेपालको समृद्धितर्फको यात्रामा साझेदार बन्न प्रतिनिधिमण्डललाई आग्रह गर्नुभएको थियो ।