सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पुनर्जीवित गराउनेतर्फ तत्काल कदम चाल्न सरकारसंग इन्सेकको माग

हेटौडा , १५ भदौ । इन्सेक बागमती प्रदेश कार्यालयले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पुनर्जीवित गराउनेतर्फ तत्काल कदम चाल्न सरकार तथा सम्बन्धित जिम्मेवार निकायसँग माग गरेको छ ।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस २०२२ (30th August)को अवसरमा इन्सेक बागमती प्रदेश कार्यालयले १० वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वमा बलपूर्वक बेपत्ता पार्ने कार्यको शिकार हुन पुगेका परिवारका सदस्यहरूले द्वन्द्व अन्त्य भएको १६ वर्षसम्म पनि न्यायको अनुभूति गर्न नपाएका भन्दै यस्तो माग गरेको हो ।

तत्कालीन सरकार र नेपाल कम्युनिस्ट पार्टी (नेकपा–माओवादी) बीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्थाबारे ६० दिनभित्र सार्वजनिक गरिने बाचा गरिए तापनि हजारौँ परिवारहरूलाई विगत १६ वर्षदेखि ती घटनाहरूको सत्यतथ्य जान्न पाउने अधिकारबाट वञ्चित गरिँदै आएको इन्सेक बागमती कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।

उनीहरुको अधिकारबाट बञ्चित गराउदा जवाफदेहिता, न्यायमा पहुँच र प्रभावकारी उपचार तथा परिपूरणलाई व्यापक रूपमा उपेक्षा गर्ने काम भएको भन्दै नेपाल पक्षराष्ट्र भएको महासन्धिहरूसहित अन्तर्राष्ट्रिय कानून अनुसार राज्यहरूले बेपत्ताका परिवार र बेपत्ताका कारण क्षति पुगेका अन्यहरूलाई प्रभावकारी उपचार उपलब्ध गराउनुपर्छ, जसमा सत्य, न्याय, परिपूरण र नदोहोरिने प्रत्याभूति समावेश भएको स्मरण गराउनु भयो ।

२०७१ मा गठन भएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग दुवैमा आयुक्तहरूले आफ्नो चार वर्षको कार्यकाल पूरा गरे पनि आफ्नो कार्यादेश अनुरूप काम गर्न नसकेको भन्दै पुनः नियुक्त भएका आयुक्तहरुले पनि तलब भक्ता बुझ्ने बाहेका कुनै काम गर्न नसकेको जगजाहेरै रहेको बताएको छ ।

आयोगका आयुक्तहरूलाई प्रशासनिक जिम्मेवारी दिई राजनीतिक संयन्त्रको उच्चस्तिरीय आयोगको गठन नहुने हो भने बेपत्ता परिवारको न्यायका आसा बीसौँ वर्ष उस्तै रहने निश्चित भएको भन्दै इन्सेकले सर्वदलीय सर्वसम्मत गठन गर्ने उच्चस्तिरीय राजनीतिक आयोगले गर्ने निर्णयको कार्यान्वयन गर्ने भन्दा माथिको दायित्व हाल कायम रहेका आयुक्तले गर्ने अवस्था रहेन भनिएको छ ।

अन्त्यमा बलपूर्वक बेपत्ता पार्ने कार्यबाट सबै व्यक्तिको संरक्षण गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको अनुमोदन गर्न नेपाल सरकारसँग माग इन्सेकले माग गरेको छ ।

थप भक्तपुर-नगरकोट सडक आठौँ पटक म्याद नगर प्रमुख खत्रीको टोलीद्धारा सडक अनुगमन, दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन

भक्तपुर, १५ भदौ : सडकको बीचबीचमा खाल्डै खाल्डो, कतै कालोपत्र गर्न ग्राइबेल बिछ्याउदै, कतै पर्खाल भत्किएर सडकनै पहिरोले बगाएर जोखिम अबस्था, त कतै कुलो र कलर्भट पुरिदाँ सडकबाटै पानी बगेर ओहोर दोहोर गर्नै जोखिम । यो दृश्य हो विगत ८ वर्षदेखि स्तरोन्नती सुरु भएर अझै निर्माण सम्पन्न नभएको ‘भक्तपुर नगरकोट सडक खण्ड’को ।

बिहानै आठ बजे चाँगुनारायण नगरपालिका कार्यालयमा भेला हुनु भएका नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, सञ्चारकर्मी र नगरपालिकाको टोली भक्तपुर नगरकोट सडकको अनुगमनमा निस्कदै नगर प्रमुख खत्रीले भन्नुभयो, “जनताले धेरै दुःख पाइसके, अब जे सुकै होस् सहेर बसिन्न, आज सडकको अनुगमन गरौँ, दुई महिना भित्र सडक निर्माण सम्पन्न नभए, ठेक्का रद्ध गर्न नगरपालिकाले नेतृत्व गर्छ ।”

उपप्रमुख बुढाथोकीले भन्नुभयो, “मंसीरमा चुनाब आउन लाग्यो, त्यही भएर जनतालाई देखाउन नगरपालिका अगाडि सर्यो भन्लान, अब सडक निर्माण सम्पन्न गराएर जनतालाई देखाउने नै हो ।” नगरपालिकाको टोलीले खरिपाटी स्थित आयोजनाको कार्यालयमा रहेका सडक निर्माणको ठेक्का पाएको शैलुङ् कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर अनुप अधिकारीलाईसँगै लिएर अनुगमनमा निस्कियो । कहाँ के के हुदैछ, कहाँ के कति काम भइरहेको छ, कहाँ के गर्नु पर्नेछ, अनुगमनकै क्रममा नगर प्रमुख खत्रीले अधिकारीसँग जानकारी लिदै र निर्देशन दिदै नगरकोट बसपार्कसम्म पुगियो ।

“अन्तको काम छाडेर भएपनि यहाँ काम गर्नुस्, अबको दुई महिना भित्र यो सडक निर्माण सम्पन्न भएर हस्तान्तरण हुनै पर्छ, नत्र नगरपालिका ठेक्का रद्ध गर्न लाग्छ, यो वा त्यो बाहना अब हामी सुन्दैनौ,” म्यानेसर अधिकारीलाई निर्देशन दिदै नगर प्रमुख खत्रीले भन्नुभयो, “सडकको सुरुको भाग, बीच भाग र नगरकोट बसपार्क तीन खण्डबाट एकै पटक काम अगाडि बढाउनुस्, ड्रेन खोल्नुस्, पुरिएको कलभर्ट बनाउनुस्, पर्खाल लगाउन बाँकी भएको ठाउँमा लगाउन सुरु गर्नुस्, पैसा छैन भनेर पन्छिन पाइदैन ।” जनताले धेरै दुःख पाइसकेकाले कहि कतै समस्या र अबरोध आए नगरपालिकाले सहजीकरण गरिदिने बताउदै उहाँले काम नरोक्न निर्देशन दिनु भयो ।

नगर प्रमुख खत्रीले नगरकोट बसपार्क पुगेपछि स्थानीय र पर्यटनव्यवसायीसँग छलफल गर्दै भन्नुभयो, “गलत मनसाय, गलत नियत कसैले नराखौ, नगरपालिकाको राम्रो कामलाई जनताको साथ चाहियो, हामी जनप्रतिनिधिको कुनै व्यक्तिगत स्वार्थ छैन, सबैको अपनत्व हुने गरि पारदर्शी ढंगले हामी काम गर्छौ ।”

अनुगमनमा नगरपालिकाका उपप्रमुख बुढाथोकीले ठेकेदार कम्पनीको लापर्वाहीले सडक निर्माण सम्पन्न नहुँदा त्यसको अपजस नगरपालिकाले खेप्नु परेको बताउनु भयो । उहाँले भन्नुभयो, “ठेक्का लिने कम्पनीले समयमै निर्माण नसक्दा जनताले हामीलाई गाली गरेका छन्, अपजस हामीले खेप्नु परेको छ, सडक नबन्दा नगरपालिकाले दुई वर्षदेखि पर्यटन शुल्क उठाउन पाएको छैन, जनताको आक्रोस हामी माथि छ, अब पनि सडक निर्माण ढिलाई गरे नगरपालिका चुप बस्दैन ।” उहाँले जनतालाई सम्झाउने र उनीहरुबाट बिरोध आए जनप्रतिनिधि उभिएर समस्या समाधान गर्छौ भन्दै अब निर्माण कार्य नरोक्न भन्नुभयो ।

 

चाँगुनारायण नगरपालिका(६ का वडाध्यक्ष धनबहादुर लामाले माथिल्लोतर्फ नगरकोट बसपार्कबाट काम अगाडि बढाउन आग्रह गर्नु भयो । सडक निर्माण सम्पन्न गर्न माग गर्दै गत असारमा पनि तीन दिन सडकमै वडा कार्यालयको काम सञ्चालन गरेर बिरोध जनाउनु परेको भन्दै अब बिरोध गर्नु पर्ने अबस्थाको सृजना नगर्न कम्पनीलाई आग्रह गर्नु भयो ।

सडक स्तरोन्नति नभएकै कारण स्थानीयले सास्ती बेहोरिरहेको, यातायात सञ्चालनमा समस्या र जोखिम बढेको, पर्यटकीय गन्तव्य नगरकोट जाने पर्यटकलाई सास्ती भोग्नु परेको वडाध्यक्ष लामाले बताउनु भयो ।

 

बसपार्कको छलफलमा स्थानीय मनोज गिरीले निर्माण कम्पनीले नक्सा अनुसार काम नगर्दा खरिपाटीमा आफ्नै र दीपक लामिछानेको निकै जग्गा मिचिएको भन्दै अन्यत्र पनि यस्ता समस्या रहेकाले त्यो समस्या सुल्झाएर निर्माण सम्पन्न गर्न माग गर्नु भयो । उहाँले वर्षामा सडकको पानी व्यक्तिको घरमा पस्ने, पानी पर्दा सडक हिलाम्मे र घाम लाग्यो धुलाम्मे हुँदा यहाँका बासिन्दा बिभिन्न रोगको शिकार बन्नु परेको गुनासो गर्नु भयो ।

नगरकोटका होटल व्यवसायी एवं होटल मेरिगोल्डका सञ्चालक गोकूल लामिछानेले सडक नबन्दा कोरोना महामारी अगाडि र अहिले पनि पर्यटकको आगमन घटेको बताउनु भयो । यहाँका होटल व्यवसायी निकै मारमा परेको भन्दै उहाँले नगरपालिकाले पर्यटन शुल्क यथास्थितिमा नउठाउन माग गर्नु भयो ।

शैलुङ् कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर अधिकारीले सार्वजनिक खरिद नियमावली १२ औं संशोधनले एक वर्ष म्याद थपेकाले आगामी पुस मसान्तसम्म सडक हस्तान्रण गर्ने म्याद रहेपनि मंसीर भित्रै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरि काम अगाडि बढाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “कूल १५ दशमलव ६४ किलोमिटर लम्बाइ रहेको यो सडकको १३ किमिमा कालोपत्र गर्न बेस हालिसकेका छौँ, धेरै ठाउँमा फस्ट कोड पनि गरिसक्यौ, ५ दशमलव ५ किमिमा सेकेण्ड कोड हालिसक्यौ, अब धेरै काम बाँकी छैन, बालाजुको काम रोकिएकाले त्यहाँको जनशक्ति र रोलर, ग्रेडर लगायतका मेशिनहरु यहीँ ल्याएर तिब्र गतिमा काम गर्छौ ।”

एक्जिम बैंक इन्डियासँग ऋण लिएर भारतीय आरामाली इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सन जेभीले सडक स्तरोन्नतिको ठेक्का सम्झौता गरेको थियो । २०७३ असार ३ गतेभित्र सम्पन्न गर्ने गरि सम्झौता गरि ०७१ जेठ २२ बाट भक्तपुर(नगरकोट सडकको स्तरोन्नति सुरु गरेपनि अझै अलपत्र छ । अहिले आठौँ पटकसम्म म्याद थप गर्दासम्म ८३ प्रतिशत काम सम्पन्न गरेको छ ।

यस अवधिमा महाभूकम्प, सडकमा रुख, खम्बा, र अन्य भौतिक संरचना स्थानान्तरणमा ढिलाइ, निर्माण सामग्री आपूर्तिमा कठिनाइ जस्ता कारण देखाउदै ढिलाई भएको दाबी गर्दै आएको छ । अन्तिम पटक भन्दै २०७८ चैत १९ सम्म म्याद थप गर्दा त्यस अबधीमा पनि सम्पन्न नगरेपछि सरकारले फेरी आठाँै पटक म्याद थप गरेर २०७९ पुस मसान्तसम्म पुर्याएको छ ।

एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा कूल ३१ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएपनि अहिले संशोधन गरेर ३६ करोड रुपैयाँ पु¥याइएको छ भने सरकारले ठेकेदार कम्पनीलाई करिब ३० करोड रुपैयाँ भुक्तानी दिईसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलगायतलाई पटक पटक भेटेर सडक निर्माण छिटो सम्पन्न गर्न दबाब दिएर पनि म्याद थप्ने काम भइरहेको छ ।

स्तरोन्नतिको जिम्मा लिएको कम्पनीले काम नगरेको भन्दै यसअघि पनि नगरपालिकाका प्रमुख, सत्ताधारी दल, प्रतिपक्ष दलका नेता, प्रदेश मन्त्री, सर्वसाधारण कयौ पटक मन्त्रालय पुगेर ज्ञापन पत्र बुझाउने, शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारी र उहाँकै घरमा बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पटक पटक भेटेर सडक निर्माण छिटो सम्पन्न गर्न आग्रह गरेका थिए ।

पीडित स्थानीयले कयौ पटक सडकमै उत्रिएर आन्दोलन गरे भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई नगरकोट सडकमै रोकेर अबरोध गरेपछि म्याद भित्र काम नसके ठेक्का रद्ध गर्ने बचन दिए पनि पुनः म्याद थपिएको छ । स्थानीयले ठेकेदार शारदाप्रसाद अधिकारीको फोटोसहितको ब्यानर बनाएर सार्वजनिक यातायातदेखि चोकचौतारासम्म टाँसेका बिरोध समेत गरेका थिए ।

भक्तपुरको दरबारस्क्वायरमा टी(२० विश्वकप ट्रफी प्रर्दशनी

भक्तपुर, १५ भदौ : भक्तपुरको दरबार स्क्वायरमा आज टी(२० विश्वकप ट्रफी प्रर्दशनीमा राखिएको छ । आज दिउँसो १ बजेसम्म ऐतिहासिक सम्पदास्थल दरबारस्क्वायरमा प्रर्दशनमा राखिएको आईसीसी पुरुष ट्वान्टी(२० विश्वकप क्रिकेटको ट्रफी खेलाडी, विद्यार्थीलगायत हजारौले अबलोकन गरेका छन् ।

विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिने विश्वकपको १०० दिने ट्रफी भ्रमणअन्तर्गत अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने टी(२० विश्वकप ट्रफी नेपालमा ल्याएर भक्तपुर दरबार स्क्वायरमा प्रर्दशन गरिएको हो । ट्रफी नेपालमा दुई दिन राखिने छ ।

प्रदर्शनीमा नेपाली टिमका पूर्वकप्तान विनोद दास, खेलाडी शरद् भेषावकर, महबुब आलम, रुबिना क्षेत्री र कलाकार सरोज खनाललगायतको सहभागितामा कार्यक्रमको महत्वमाथि प्रकाश पारिएको थियो । कार्यक्रममा धिमे बाजा, लाखे नाच लगायत प्रर्दशन गरिएको थियो । दरबार स्क्वायरबाट टौमढी पाँच तले मन्दिर क्षेत्रमा पनि ट्रफी प्रर्दशनी गरिएको थियो ।

नेपालमा ल्याइएको क्रिकेटको विश्वकप ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जानकारी दिएको छ । यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी पनि प्रर्दशनीका लागि नेपाल ल्याइएको थियो ।

अस्ट्रेलियाको ७ सहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।

विद्यार्थीलाई राजनीतिमा आउन बिजुक्छेँको आग्रह : बिजुक्छेँ

भक्तपुर, १५ भदौ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विश्वविद्यालयहरुले नेपालको शिक्षा र प्रविधिलाई विदेशमा बेच्ने मालसामानको रुपमा गलत ढंग प्रयोग गरिरहेको बताउनु भएको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा आयोजना गरिएको विद्यार्थी अभिुमखीकरण कार्यक्रममा बोल्दै उहाँले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रमाणपत्रसँगसँगै विभिन्न अनुसन्धानमार्फत देशलाई योगदान दिने काम पनि गर्नु पर्ने बताउनुभयो ।

विश्वका अन्य मुलुकहरुमा इन्जिनियर, डाक्टरलगायत अन्य विषयका विद्यार्थीहरु राजनीतिक क्षेत्रमा सक्रिय रहेको चर्चा गर्दै उहाँले ख्वपका विद्यार्थीहरुले पनि आफ्नो विज्ञतासँगै समाज र देशको हितका लागि देशको राजनीतिमा चासो राख्नुपर्नेमा जोड दिनु भयो ।

बन्द, हड्तालले देशको शैक्षिक स्तर उठाउन बाधा पु¥याउने बताउदै बिजुक्छेँले अंग्रेजीलगायतका विदेशी भाषाको प्रयोग र तालिम सञ्चालन पनि आवश्यक रहेको बताउनु भयो । अध्ययन र सिकाइ भनेको निरन्तर प्रक्रिया भएकाले विश्वसँग प्रतिस्पर्धा गर्न अंग्रेजी भाषामा पोख्त हुनु आवश्यक रहेको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।

कार्यक्रममा कलेज सञ्चालन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका शिक्षा क्षेत्रमा नेपालमै सबभन्दा अगाडि रहेको बताउदै विद्यार्थीहरुले आफ्नो अध्ययन सँगसँगै गलत राजनीतिको खुल्ला रुपमा आलोचना गर्नुपर्ने बताउनु भयो । सरकारले सहयोग नगर्दा ख्वप विश्वविद्यालयले सम्बन्धनमा पाउन ढिलाइ भइरहेको भन्दै उहाँले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्य लिएर अगाडि बढिरहेको चर्चा गर्नु भयो ।

ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, विभागीय प्रमुख डा. मन्जिप शाक्य, कलेजको अनुसन्धान र विकास विभागका संयोजक डा. सुवेगमान बिजुक्छे, कलेजका उपप्राचार्य रबिन्द्र फोँजुलगायतले कलेजले देशभरका बिभिन्न जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीलाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेको बताउनु भयो ।

 

उपत्यकाका नगर प्रमुखहरुद्धारा मध्यपुरथिमिको अवलोकन

भक्तपुर, १५ भदौ : फोहोरमैला व्यवस्थापन गर्न काठमाडौं उपत्यका भरिका १८ वटा नगरपालिकाले साझा अवधारणा बनाएर अगाडि बढ्ने भएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको आव्हानमा आज मध्यपुरथिमिको फोहोर संकलन गरि जापानिज प्रबिधिबाट प्राङ्गारिक मल उत्पादन गरिरहेको मध्यपुरथिमिको रिकिसी प्राङ्रिक मल उत्पादन केन्द्रमा उपत्यकाका नगर प्रमुखहरुले अवलोकन भ्रमण गर्नु भएको छ ।

उपत्यकाका फोहोरलाई व्यबस्थापन गर्न साझा अबधारणा बनाउने लक्ष्यका साथ काठमाडौं महानगरका प्रमुख साहको नेतृत्वमा उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरका प्रमुख चिरीबावु महर्जन, दक्षिणकाली नगरप्रमुख मोहन बस्नेत, गोकर्णेश्वर नगरप्रमुख दिपककुमार रिसाल, मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायणका प्रमुख जीवन खत्रीलगायतका उपत्यकाका नगर प्रमुखहरुले यहाँको फोहोरबाट मल उत्पादनबारे स्थलगत अबलोकन गरि जानकारी लिएको मध्यपुरथिमि नगरपालिकाका सूचना अधिकृत केशव सिलवालले जानकारी दिनु भयो ।

अवलोकनपछि नगर प्रमुखहरुले बञ्चरे डाँडाको विकल्पमा अन्य स्थानको खोजी गर्ने र उपत्यकाको घर–घरबाट दैनिक निस्किने फोहोर छुट्याएर व्यवस्थापन गर्न सक्ने गरि विकल्प खोजी गर्ने क्रममा मध्यपुरथिमि आएको उहाँले बताउनु भयो ।

मध्यपुरथिमिमा चार वर्षअघि तत्कालिन नगर प्रमुख मदनसुन्दर श्रेष्ठ जपान भ्रमण गरि जापानी प्रविधिबाट कम्पोस्ट मल उत्पादन सिकेर प्राबिधिक टोलीसहित ल्याएर थिमिमा मल उत्पादन सुरु गर्नु भएको थियो । मध्यपुरथिमि वडा नं.े ४ र ५ बाट फोहोर मात्रै संकलन गरि मल बनाउदै आए पनि अन्य वडाको फोहोरबाट मल उत्पादन गर्न भने सकिएको छैन । यो प्रबिधिलाई भक्तपुर नगरपालिकाले पनि परीक्षणको रुपमा सुरु गरेको छ ।

सूर्यविनायक गणेश खट जात्रा सम्पन्न

भक्तपुर, १५ भदौ : गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक गणेश मन्दिरमा आज बिहानै सुरु भई दिनभर भव्य रुपमा टोल टोल परिक्रमा गरी मनाइएको सूर्यविनायक गणेश खट जात्रा साँझ सम्पन्न भएको छ ।

भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात भगवाण गणेशको जन्मोत्सवको अवसरमा आज सूर्यविनायक नगरपालिका वडा नं. ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरि मूल गणेशको मूर्तीलाई खटमा बिराजमान गराई सुरु भएको रथ जात्रा बिभिन्न टोलको परिक्रमा गरि पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरि सम्पन्न गरिएको छ ।

सूर्यविनायक क्षेत्र संरक्षण समिति र सूर्यविनायक युवा क्लवको संयुक्त आयोजनामा भएको सूर्यविनायक गणेश अर्थात इनारे गणेद्यो खट जात्रा सम्पन्न भएको सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पुर्खाले मनाउदै आएको गणेश रथ जात्रा आर्थिक श्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, गत वर्षबाट सुरु भएको यो जात्रा यस वर्ष हजारौ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोल टोल पुर्याएर हर्षोल्लासका साथ सम्पन्न भएको छ, यो जात्रालाई अब हरेक वर्ष सञ्चालन गर्नेछौ ।”

गतवर्ष जात्रा मनाउन वडा नं. ६ र ८ कार्यालयले वडाको बजेटबाट रु. दुई–दुई लाख गरि रु. चार लाखको बजेट व्यबस्थापन गरेपनि यसवर्ष भने दुई वटै वडाबाट रु. तीन तीन लखा रुपैयाँ गरि कूल ६ लाख रुपैयाँ सहयोग गरेको उहाँले बताउनु भयो ।

गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिम तर्फ राजथला टोलसम्म, पूर्व तर्फ चालिसे गाँऊ गहनादेवी मन्दिरसम्म, उत्तर तर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिएको हो ।

खट जात्राको क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखेर त्यसपछि खट जात्रा गरि टोल टोलमा परिक्रमा गराएको स्थानीय रामजी अवालले जानकारी दिनुभयो । गणेशलाई रथारोहन गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराएको उहाँले बताउनु भयो ।

जात्रामा यसवर्ष गतवर्ष भन्दा तेब्बर मानिसको सहभागिता रहेको र जात्रामा महिला तथा पुरुषले अबिर खेल्दै मनाएको बताउनु भयो । जात्रालाई यहाँको अन्य टोलमा पनि लैजानु पर्ने उहाँले बताउनु भयो ।

 

बाख्राले जन्मायो एकै पटक पाँच पाठापाठी, किसानको घरमा खुसी

भक्तपुर, १५ भदौ । दुई देखि तीनवटासम्म पाठापाठी पाउदै आएको बाख्राले एकै बेतमा पाँच वटा पाठापाठी पाए पछि को किसान खुसी हुदैन र ? यस्तै खुसी आएको छ भक्तपुरको सूर्यविनायक–५ कटुन्जेका मिना भुजुको घरमा ।

एक छोरा र एक छोरी अष्ट्रेलिया अध्ययनरत तथा एक छोरी बैंकमा अधिकृतस्तरमा कार्यरत मिनाको श्रीमान पत्रकार अमर भुजु पनि अधिकांश समयमा व्यबस्त हुने भएपछि घरमा समय कटाउनकै लागि भएपछि पुस्तौदेखि गर्दै आएको कृषि एवं पशुपालनलाई निरन्तरता दिदै आएको उहाँको घरमा पहिलो पटक ३ पाठी र २ पाठा जन्माए पछि उहाँको खुसीले मन प्रफुल्ल बनेको हो ।

पाँच वटै पाठा पाठी स्वस्थ रहेको बताउदै उहाँले विगतमा झै यस वर्ष पनि दुई वा तीन वटा पाठापाठी पाउँने अपेक्षा गरेपनि पाँच वटा जन्मिए पछि त्यसलाई गाईको दूध खुवाएर हुर्काउने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका सचिव एवं पत्रकार महासंघ भक्तपुरका पूर्व अध्यक्ष दबाब साप्ताहिकका प्रकाशक, सम्पादक अमर भुजुले बा्रखाले पाँच पाठा पाठी पाए पछि श्रीमति मिनाको निकै खुसी रहेको बताउनु भयो ।

मिनाले आफ्नो घरमा उन्नत जातको बाख्रा पालेको र यसको स्याहार तथा आहार बिहारमा राम्रो ध्यान दिएकाले पाठा पाठी पनि स्वस्थ्य जन्मिएको भन्दै यस्ता किसानलाई स्थानीय सरकारले पुरस्कृत गर्ने र व्यवसायिक बाख्रा पालनका लागि प्रोत्साहन गर्नु पर्ने बताउनु भयो ।

वार्षिक नीति, चाँगुनारायण नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउने नगर प्रमुख खत्रीको घोषणा

भक्तपुर, १४ भदौ : चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकालाई आफ्नो कार्यकालमा भ्रष्टाचार मुक्त बनाउने घोषणा गर्नु भएको छ । चाँगुनारायण नगरपालिकामा जनप्रतिनीधिको १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै उहाँले नगरपालिकालाई भ्रष्टाचार मुक्त राख्ने जनप्रतिनिधिको अभियानलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।

बीर अस्पताल बनाउन आफू लागिपरेको बताउदै नगर प्रमुख खत्रीले भन्नुभयो, “नेपाल सरकारले चाँगुनारायण नगरपालिकामा निर्माण गर्ने भनिएको वीर अस्पतालको निर्माण कार्य तत्काल सुरु गर्न माग हामीले सरकारसँग आवश्यक पहल गरिरहेका छौँ, चाँगुनारायण नगरपालिका वडा नं. १ र ४ को सिमानामा रहेको ५०० रोपनी जग्गामा नेपाल सरकारले अत्याधुनिक सेवा सुरु गर्न अस्पतालको भवन निर्माण गरे पनि अगाडि नबढेकाले तत्काल अगाडि बढाएर बिशेषज्ञ सेवा प्रदान गर्न हामी सरकारसँग माग गर्दछौँ ।”

उहाँले चाँगुनारायणको नेपाल इञ्जिनियरिङ कलेज सञ्चालन नगरपालिका मातहत ल्याएर सामाजिक शैक्षिक कलेजका रुपमा सञ्चालन गर्न नगरपालिका लागिरहेको बताउनु भयो ।

नगर प्रमुख खत्रीले स्वदेशी तथा विदेशी पर्यटकहरुको मूल गन्तब्य बनको पर्यटकीय स्थल नगरकोट जाने मुख्य सडकका रुपमा रहेको भक्तपुर नगरकोट सडक तत्काल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई ताकेता र पहल गरिरहेको बताउनु भयो । केही जिम्मेवार निकाय नै गैरजिम्मेवार बन्दा भक्तपुर नगरकोट सडक निर्माणमा ढिलाई भइरहेको यसले स्थानीय बासिन्दार र पर्यटन व्यवसायीले ठूलो नोक्सान व्यहोर्नु परेको उहाँको भनाई थियो ।

चालू आर्थिक वर्ष २०७९÷०८० को बजेटको पूर्व तयारीस्वरुप स्थानीय राजनीतिक दलका प्रमुख एवं विज्ञ र प्रशासकहरुसँग राय सुझाव लिएर काम सुरु गरिएको, नगरवासीका लागि निःशुल्क रक्तदानको व्यबस्था गरिएको कार्यक्रममा उहाँले बताउनु भयो ।
हरेक वर्ष वर्षामा हुने मनोहरा नदीको कटान दीर्घकालिन रुपमा नियन्त्रण गर्न चाँगुनारायण, मध्यपुरथिमि र काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकाबीच समन्वय गरि डिपिआरको तयारी गरिएको, सबै नगरवासीलाई निःशुल्क बिमा कार्यक्रम लागू गर्ने चरणमा रहेको उहाँले बताउनु भयो ।

 

यसवर्ष एसईई उत्तीर्ण ६६४ विद्यार्थीलाई सम्मान गरिएको, नगरभित्रका सबै सामुदायिक विद्यालयका १२ हजार छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिएको, कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गरिएको, नगर कार्यपालिकाको बैठक महिनाको २ पटक बस्ने तय गरिएको उहाँले बताउनु भयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयन कार्यबिधि(२०७९, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति(२०७९, स्वास्थ्य संस्था सञ्चालन कार्यबिधि(२०७९, नगर खेलकुद बिकास समिति सञ्चालन कार्यबिधि(२०७९ निर्माण गरेका छौँ ।”

नगरपालिकाले शैक्षिक कार्यपात्रो सार्वजनिक गरेको, उपभोक्ता समिति वा लाभग्राही समुदायमार्फत सार्वजनिक निमर्काण कार्यबिधि, मेलमिलाप केन्द्र सञ्चालन कार्यबिधि, शैक्षिक कार्यक्रम कार्यान्वयन कार्यबिधि निर्माण कार्य गरिरहेको छ ।

नगरलाई पूर्ण सरसफाईयुक्त बनाउन पूर्वाधारको तयारीका साथ काम गरिरहेको, ठेक्कामार्फत् सञ्चालनमा रहेका सडक निर्माण तथा अन्य निर्माणका कामहरुमा समयमै सम्पन्न गर्न निर्देशन दिएको, विपद जोखिम न्यूनीकरणका लागि आवश्यक कार्य अगाडि बढाएको, वडास्तरमै विवाद सुल्झाउन सबै वडामा मेलमिलाप केन्द्र सञ्चालनको तयारी गरेको, नगरपालिकाको स्वीकृति नलिई जग्गा विकास तथा प्लानिङ गरिएका जग्गाको घरबाटो सिफारिसमा पहिलो पटक रु. १५ हजार कायम गरिएको, खोरेत लागेका ५०० भन्दा बढी पशुको उपचार गरेको, संघीय सरकारले दिएको ८० प्रतिशत अनुदानमा २० प्रतिशत नगरपालिको थप गरि १०० प्रतिशत पशु बिमा लागू गर्ने व्यबस्था गरेको, कृषकलाई कृषि औजारहरु वितरण गरिएको, भूउपयोग ऐन बमोजिम जग्गा वर्गिकरणका लागि वडा वडामा बिज्ञ एवं प्राबिधिक टोलीसहित सुझाब संकलन टोली परिचालन गरिएको नगर प्रमुख खत्रीले बताउनु भयो ।

उहाँले जनप्रतिनिधि भए पछि आफू सबै नागरिकका साझा प्रमुख भएकाले कुनै पनि पार्टी, दल, जातजाति, भाषा, लिङग, धर्म, संस्कृति कुनैमा पनि भेदभाव नगरी समान रुपमा काम गर्ने प्रतिबद्धता कार्यक्रममा गर्नु भयो । नगरपालिकाका प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीले संयुक्त रुपमा आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रमपुस्तिका सार्वजनिक गर्नु भयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले नगरपालिकामा जिम्मेवारी सम्हालेपछि बजेट निर्माणदेखि नगरका विभिन्न ठाउँमा भएका कामहरुको अनुगमन गरेको बताउनु भयो । उहाँले अनुगमनलाई तिब्रता दिएको बताउदै एकैदिनमा १८ वटा योजनाको समेत अनुगमन गरेको बताउनु भयो ।

उहाँले सडक निर्माणको क्रममा वडा नं. १ दुवाकोटमा सडक बिस्तारको क्रममा उद्धव न्यौपानेले आफ्नो घर अगाडि आएपछि अबरोध गरेपनि नगरपालिकाको नियमानुसार सडक बिस्तार गर्दा वडा अध्यक्ष र आफूलाई मुद्धा हालेको बताउदै जनताको पक्षमा काम गर्दा अबरोध गर्नेहरुले १०० मुद्धा हाले पनि राम्रा काम गर्न पछि नपर्ने बताउनु भयो ।

उहाँले अबदेखि चैत मसान्त भित्र योजनाको माग र सम्झौता सम्पन्न गरिसक्नु पर्ने, चैत पछि योजना फेरबदल गर्न नपाइने, कुनै पनि निर्माण तथा योजनाको गुणस्तरमा कुनै सम्झौता नगर्ने बताउदै नगरपालिका भित्रको अब्यबस्थित प्लानिङलाई व्यबस्थित गर्न लागि परेको बताउनु भयो ।

कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि,, पेशा व्यवसायी एवं संघसंस्थाहरुका प्रतिनिधिले नगरपालिकाको बिकास तथा योजनाकाबारेमा बोल्दै शुभकामना व्यक्त गरेका थिए ।

राष्ट्रपति भण्डारी पशुपतिमा

काठमाडौँ, १४ भदौ  : राष्ट्रपति विद्यादेवी भण्डारी आज हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज साँझ सो मन्दिरमा पुगेर मन्दिरको दर्शन र पूजाआजा गर्नाका साथै ब्रतालु महिलालाई तीजको शुभकामना दिनुभयो । राष्ट्रपति त्यहाँ पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

झापा क्षेत्र नम्बर १ बाटै चुनाब लड्ने कांग्रेस महामन्त्री शर्माको घोषणा

झापा, १४ भदौ  : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताउनुभएको छ । काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गर्नुभएको हो । शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो तेस्रो पटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु ।” तर शर्माले आफू उम्मेदवार हुने नहुने भन्ने विषयको टुङ्गो नलागेको बताउनुभयो । चुनाव जित्ने दाबी गर्नुभएका शर्माले तीन पटकमा राँगा त छिन्छ भन्दै यसपटकको निर्वाचनमा राम्रो हिसाब किताब गरेर मात्रै उम्मेदवार बन्ने बताउनुभयो ।

संविधान, लोकतन्त्र, मुलुक र जनताका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन अपरिहार्य भएको बताउँदै शर्माले गठबन्धन हुँदा झापा–१ माओवादीको भागमा पर्न सक्ने संकेत गर्नुभयो । उहाँले आफू उम्मेदवार बन्ने विषयमा आन्तरिक छलफल भइरहेको स्पष्ट पार्नुभयो । गठबन्धनमा सिट बाँडफाँट हुँदा पहिले जितेको ठाउँमा त्यही पार्टीलाई दिने भन्ने मापदण्ड रहेको उल्लेख गर्दै भन्नुभयो, “पार्टी पदाधिकारीले उठ्ने इच्छा गरेको ठाउँमा छलफलबाट टुङ्ग्याउने सहमति भएको छ ।”

विसं २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गर्नुभएको थियो । त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का नेता रविन कोइरालाले शर्मालाई पराजित गर्नुभएको थियो ।