नेकपा एमालेको ११ औं महाधिवेशन र यसको आगामी नेतृत्वका विषय बढी चासो
भक्तपुर, २७ मङ्सिर : नेकपा एमालेको १० औं महाधिवेशनबाट आएको नेतृत्वले आफ्नो कार्यकालको एक वर्ष अगाडि नै ११ औं महाधिवेशन थालेको छ । जेनजी आन्दोलनको दबाबपछि आफ्नो नेतृत्वको सरकार अपदस्थ भएको, २१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचन तोकिएको र देशको समग्र राजनीतिक तापक्रम उच्च बनेको परिस्थितिबीच सुरु हुन थालेको यो महाधिवेशन र यसको आगामी नेतृत्वका विषय बढी चासोका साथ हेरिएको छ ।
आजदेखि २९ मंसिरसम्म चल्ने महाधिवेशनमा सहभागी २,२६२ प्रतिनिधिले आगामी पाँच वर्षका लागि पार्टीको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । महाधिवेशनमा भूगोल, प्रवास र जनसंगठनबाट निर्वाचित १,६७५ जना, केन्द्रीय कमिटी तथा आयोगबाट पदेन ४६१ जना, मनोनीत १०८ जना र एकीकृत समाजवादीबाट आएका १८ जना गरी कुल २,२६२ प्रतिनिधि सहभागी भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जनाएका छन् । भदौमा भएको विधान अधिवेशनले दिएको म्याडेडअनुसार यी प्रतिनिधिले २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन गर्नेछन् ।
विधान महाधिवेशनले पारित गरेको संरचनाअनुसार अध्यक्ष, महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिव रहने व्यवस्था छ । यसअघि रहेको वरिष्ठ उपाध्यक्ष पद विधानबाट हटाइए पनि सोही पद सम्हालिरहेका ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बनेको छ ।
ओली–पोखरेल प्रतिस्पर्धा, प्यानलमै चुनावको सम्भावना
११औँ महाधिवेशनको सबैभन्दा केन्द्रमा अध्यक्ष पदको प्रतिस्पर्धा छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै १५ सदस्यीय पदाधिकारीका लागि प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने सम्भावना देखिएको छ । दुवै पक्षले आ–आफ्नो समूह मजबुत बनाउन प्रतिनिधिसँग तीव्र भेटघाट र लबिङ गरिरहेका छन् ।
१० मंसिर ०७८ मा चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि पाँच वर्षे कार्यकाल पूरा हुन अझै एक वर्ष बाँकी रहँदै एमालेले नयाँ नेतृत्व चयन गर्न लागेको हो । गत भदौमा सम्पन्न विधान महाधिवेशनले पारित गरेको विधान र नीति कायम राखेर नेतृत्व चयन गर्ने निर्णय केन्द्रीय सचिवालय बैठकले गरिसकेको छ ।
विधान संशोधन प्रस्तावमा ओली पछि हटे
पदाधिकारीमा आकांक्षीको व्यवस्थापनका लागि एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरुले पदाधिकारीको संख्या १० औ महाधिवेशनमै रहेका संख्यामा पदाधिकारी बनाएर जान सकिने धारणा औपचारिक रुपमा राखिरहेका थिए । तर शुक्रबार च्यासलस्थित केन्द्रीय कार्यालयमा साढे चार घण्टाभन्दा बढी समय बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पदाधिकारी संख्या १९ पुर्याउने र केन्द्रीय कमिटी ३०० भन्दा माथि लैजाने गरी विधान संशोधनको प्रस्ताव अघि सारेपनि अघि बढ्न सकेन ।
विधान संशोधन गरेर जाने प्रस्तावलाई अध्यक्ष ओलीको निरन्तरता नचाहेका नेताहरुले असंभव हुने बताइरहेका थिए । शुक्रबार पनि वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईलगायत नेताहरूले तीव्र असहमति जनाएपछि ओली उक्त प्रस्तावबाट पछि हटेको दावी यी नेताहरुको छ ।
तर उपमहासचिव प्रदीप ज्ञवालीले विधान अधिवेशन गरेको धेरै समय नभएको र अहिले नै विधान संशोधन गर्दा बाहिर सन्देश राम्रो नजाने भएकोले यसलाइृ अघि नबढाइएको जनाएका छन् ।
सचिवालयबाट यो प्रस्ताव अघि नबढेपनि अझै पनि बन्द सत्र अगाडि हलमा समेत पदाधिकारी थपेरजान सक्ने दबाब आउनसक्ने केही नेताहरुको आंकलन छ । ‘अध्यक्ष ओलीले साँच्चिकै विधान संशोधन गरेर जाने चाहनुभएको हो भने अझै पनि हलबाट अगाडि बढाउन सक्नुहुन्छ, यो उहाँको चाहनामा भर पर्नेछ’ उनी निकट एक नेताले भने ।
हिजोको सचिवालय बैठकमा ती नेताहरूले तीन महिना अघि मात्रै विधान महाधिवेशनबाट पारित निर्णय उल्ट्याउन नहुने अडान लिए । विवाद बढेर महाधिवेशन नै प्रभावित हुन सक्ने जोखिम देखिएपछि अन्ततः विधान संशोधनको प्रस्ताव अघि नबढाउने सहमति बनेको हो । यससँगै १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम रहने निश्चित भएको छ ।
तर अहिलेको विधान अनुसार १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, स्थायी कमिटीमा रहेका नेताहरु जो निरन्तरता दिन चाहेका थिए र अहिले पदाधिकारी तथा केन्द्रीय कमिटीमा पुग्ने आकांक्षा राखेकाहरुको व्यवस्थापनका लागि नेतृत्वलाई गम्भीर संकट नै पुग्ने समन्वय गर्ने नेताहरुको आंकलन छ ।
सरकार–जेन–जी सम्झौताविरुद्ध विशेष प्रस्ताव, शक्ति प्रदर्शनको तयारी
सचिवालय बैठकले सरकार र जेन–जी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौतालाई असंवैधानिक, अनधिकृत र निर्वाचन नैतिकताविपरीत ठहर गर्दै विशेष प्रस्ताव पारित गरेको छ । प्रस्तावमा विध्वंसमा संलग्न अपराधीलाई उन्मुक्ति दिन खोजिएको, संविधानका आधारस्तम्भ कमजोर पार्ने प्रयास भएको र निर्वाचनको पूर्वसन्ध्यामा सरकार आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएको आरोप लगाइएको छ ।
दसौँ महाधिवेशनझैँ यसपटक पनि एमालेले उद्घाटन सत्रमा ‘मानवसागर’ उतार्ने दाबी गरेको छ । करिब तीन लाख सहभागी हुने अनुमान गरिएको छ । कौशलटार–गठ्ठाघर र जगाती गरी दुईतिरबाट जुलुस निकालिनेछ । १० हजार स्वयंसेवक परिचालन हुनेछन्, तीमध्ये ५०० विशेष तालिमप्राप्त ड्रेसधारी स्वयंसेवक रहनेछन् ।
१०८ रोपनी चौरमा तीन किलोमिटर टाढासम्म ध्वनि सुनिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम र ३० फिट अग्ला दुई एलइडी स्क्रिन जडान गरिएका छन् । मञ्चमा चाँगुनारायण मन्दिरको प्रतिमा स्थापना गरिएको छ, जसले राष्ट्रिय एकता र सांस्कृतिक पहिचानको सन्देश दिने एमालेको दाबी छ ।
हजारभन्दा बढी आकांक्षी, तीव्र लबिङ
काठमाठौंमा आएका प्रतिनिधिहरु अधिकांश उम्मेदवार न बन्ने मुडमा देखिन्छन् । साढे २२ सय प्रतिनिधिमध्ये करिब आधा केन्द्रीय कमिटीका लागि आकांक्षी देखिएका छन् । उनीहरु मध्ये धेरै एकसाता पहिलेबाट आफ्नो सचिवालय नै बनाएर प्रचारमा लागेका देखिन्छन् पार्टीका एक पदाधिकारीका अनुसार कम्तीमा एक हजारभन्दा बढी प्रतिनिधि केन्द्रीय कमिटीमा पुग्ने चाहनामा देखिन्छ अहिलेको प्रचार हेर्दा ।
आकांक्षीहरूले अध्यक्ष ओली, अध्यक्षका प्रत्यासी पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, विष्णु पौडेल तथा आफ्नो भूगोलबाट प्रतिनिधित्व गरेका नेताहरुलाई दिनहुँ भेटघाट तथा लबिङ गरेका छन् ।
कतिपय आकांक्षी सामाजिक सञ्जालमार्फत अभियान चलाइरहेका छन् भने थुप्रै च्यासलस्थित पार्टी कार्यालयमा दिनहुँ उपस्थित भएर समर्थन जुटाइरहेका छन् । अध्यक्ष ओलीलाई गुन्डुस्थित निवासमै पुगेर भेट्नेहरूको संख्या पनि कम छैन । ओलीले सकेसम्म सूचीमा पार्ने, नभए पार्टीले मूल्यांकन गर्ने भन्दै आश्वासन दिने गरेको त्यहाँ पुग्ने नेताहरुको बुझाई छ । उनले धेरैलाई ढुक्क भएर जानुस् नै नभनेको त्यहाँ पुग्ने नेताहरुको भनाइ छ ।
अध्यक्ष पदका उम्मेदवार पोखरेल समूहले शुक्रबार अलग्गै युवा भेला आयोजना गर्दै महाधिवेशनका लागि छुट्टै ‘फोर्स’ गठन गरेको छ । अध्यक्ष ओली पक्षले नेसनल भोलेन्टियर फोर्स र राष्ट्रिय युवा संघलाई मतदान प्रक्रियामा एकलौटी प्रयोग गर्न सक्ने आशंकासहित पोखरेल समूहले कम्तीमा पाँच सय युवासहितको टोली परिचालन गरेको हो ।
रातो क्याप लगाएको टोली बानेश्वर बैंक्वेटदेखि पार्टी कार्यालय च्यासलसम्म प्रदर्शनसहित पुगेको थियो । भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटीमा युवाको सहभागिता कम्तीमा २० प्रतिशत पुर्याइनुपर्ने धारणा राखे । पोखरेलले ‘सूचना टाँस’ र ‘नाम पढेर कमिटी बनाउने’ प्रवृत्तिले पार्टी कमजोर बनाएको भन्दै आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए ।
सचिव योगेश भट्टराईले ४० वर्षमुनिका प्रतिनिधिलाई आधार बनाउँदै कम्तीमा १५ प्रतिशत युवा आरक्षण सुनिश्चित गर्नुपर्ने प्रस्ताव सचिवालय बैठकमा राखेका छन् । उपमहासचिव प्रदीप ज्ञवालीले पनि युवालाई केन्द्रीय कमिटीमा प्रतिनिधित्व गराएर पार्टीलाई ऊर्जाशील बनाउने बताए । यसपटक एमालेले विद्युतीय मतदान प्रणाली प्रयोग गर्दैछ । मतदाता शिक्षाका लागि पार्टी कार्यालय र बन्दसत्र स्थलमा डेमो सञ्चालन गरिएको छ ।
अध्यक्ष ओली र पोखरेलबीच सर्वसम्मतिको विकल्पबारे अनौपचारिक छलफल भए पनि सहमति जुट्न सकेन । सहमति सम्भव नभए स्वस्थ प्रतिस्पर्धामार्फत आन्तरिक लोकतन्त्र बलियो बनाउने दुवै पक्षको प्रतिबद्धता छ । पोखरेलको अवधारणापत्र प्रतिनिधिलाई वितरण गर्न र आवश्यक परे हलमै बोल्न दिने निर्णय भइसकेको छ । अब साढे २२ सय प्रतिनिधिको मतले एमालेको भावी दिशा, नेतृत्व शैली र संगठनात्मक चरित्र तय गर्नेछ । चुनावी प्रतिस्पर्धा, शक्ति प्रदर्शन र आन्तरिक लोकतन्त्रको परीक्षणको रूपमा ११औँ महाधिवेशनलाई हेरिएको छ ।
एमालेको ११ औं महाधिवशनको उद्घाटन अध्यक्ष ओलीको सल्लाघारीमा ससद पुर्नस्थापना हुनु पर्ने माग
भक्तपुर, २७ मङ्सिर ः भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आज एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुभयो । उद्घाटनका उहाँले निकै लामो सन्देश सहितका भाषण गर्नु भयो उहाँले देशका लागि एमाले अपरिहार्य भ भएको बताउनु भयो । यस्तो थिया उहाँको भाषण :
मानक बनाएको दाबी
ओलीले पार्टीलाई मानक बनाएको दाबी गरे । ‘राष्ट्रियता, पहरेदार, आन्दोलनको नायक पार्टी एमाले भएको दाबी गरे । सामाजिक न्याय र सामाजिक सुरक्षाको ‘पायोनियर’ भन्दै उभ्याए ।
‘नेकपा (एमाले) अर्थात् सामाजिक न्याय र सामाजिक सुरक्षाको ‘पायनियर’, जसका कारण आज ३८ लाख नागरिकले जीवनमा एउटा सहारा पाउनुभएको छ,’ ओलीले भनेका छन्, ‘नेकपा (एमाले) अर्थात् सामाजिक सद्भाव र राष्ट्रिय एकताको संवाहक, जसले विभिन्न बहानामा समाजलाई विखण्डित गर्ने र जनतालाई विभाजित गर्ने कुचेष्टालाई असफल पार्दै आएको छ ।
गाउँमुखी र जनसहभागितामूलक विकासको अग्रणी, ठूला पूर्वाधार निर्माणको पहलकर्ता, भूकम्पपछिको पुनर्निर्माणको सफल अभियन्ता, आर्थिक वृद्धि र अल्पविकसित अवस्थाबाट नेपालको स्तरोन्नतिका लागि काम गरेको उनले दाबी गरे । उनले भने, ‘यिनै विरासतले गर्दा आज पनि यो पार्टी जनताको मन मनमा छ, मुटु मुटुमा छ ।’

ओलीले सल्लाघारीमा निकै जोड दिएर उठाएको अर्को विषय पार्टीमाथि निरन्तर प्रहारको हो । यस्तो प्रहार स्वदेशदेखि विदेशबाट समेत भइरहेको उनको ठम्याइ छ ।
‘हामी भन्छौँ– देशहरू भूगोलमा साना या ठूला होलान्, तर सार्वभौमसत्ताबराबर हो । कतिलाई लाग्छ, सानो देशले हामीसँग बराबरी गर्न खोज्ने ? प्रहार हुन्छ,’ ओलीले भनेका छन्, ‘हामी जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो, सबै नागरिक बराबरी हुन् र आजको युगमा अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन भन्छौँ । प्रहार हुन्छ ।’
शान्ति, विविधता, बहुलता मात्रै होइन, संविधान बनाउने अधिकारमाथिसमेत प्रहार भएको बताउन भुलेनन् ओली । अघिपछिको भन्दा फरक प्रस्तुतिको शैली लिएर आएका उनले भनेका छन्, ‘हामी सार्वभौम मुलुकका रूपमा संविधान बनाउने अधिकार हाम्रो हो । विकासको कुन बाटो रोज्ने भन्ने छनोट हाम्रो हो । कस्तो राजनीतिक प्रणाली बनाउने भन्ने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौँ । कतिलाई मन पर्दैन । अनि हामीमाथि प्रहार हुन्छ ।’
ओलीले भनेका छन्, ‘हामी रात जतिसुकै लामो भए पनि उज्यालो हुन्छ भन्ने विश्वास गर्छौं । सशस्त्र द्वन्द्व, सङ्क्रमणकाल र भूकम्पजस्ता चुनौतीका बीचमा पनि मुलुकले गरिरहेको प्रगतिलाई देख्छौँ । कमजोरीलाई पनि महसुस गर्छौं । मुलुक बन्छ र बन्दै छ भन्ने भरोसा राख्छौँ । निराशा र नकारात्मकताका अभियन्ताहरूलाई यो मन पर्दैन ।’
भारत र चीनको नाम नलिई ओलीले निरन्तर यस्तो प्रहार भोगिरहेको प्रस्ट्याए ।
‘भूपरिवेष्ठित मुलुकहरूलाई भू–जडित बनाउन गरिएको यातायात–पारवहन सम्झौता पनि धेरैलाई पचेको थिएन । उत्तर–दक्षिण जोड्ने कनेक्टिभिटी खुलोस्, नेपाल आफैँ हिँड्न सक्ने बनोस् भन्ने हाम्रो चाहना धेरैलाई मन परेको थिएन,’ ओलीले भनेका छन्, ‘सीमाको रक्षा र आफ्नै भू–भागमाथिको सार्वभौमसत्ताको दाबी स्पष्ट गर्दा पनि कतिलाई सहज लागेकै थिएन । यही कारणले बारम्बार हाम्रो पार्टी प्रहारको निसानामा परेको छ । आखिर खयरको बोटमा कसले ढुंगा हान्छ र ? ढुंगाको चोट खाने त बाटोछेउको आँपको बोटले त हो नि ।’
जेन–जीका नाममा राज्यको मेरुदण्ड भाँच्ने योजना
‘२३/२४ भदौको घटनालाई सम्झौँ न’ भन्दै ओलीले त्यस उपद्रवको लक्ष्य सरकार परिवर्तन मात्रै नभएको, बरु राज्यको मेरुदण्ड नै भाँच्ने योजना पनि लुकेको थियो ? भन्दै प्रश्न गरे ।
‘भ्रममा पर्नै हुन्न– स्थिरताको वाहक बनिरहेको, संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन त देशलाई खरानी पार्नै पर्थेन । संसदबाटै त्यो काम गर्न सकिन्थ्यो, या अर्को निर्वाचन कुर्न सकिन्थ्यो । तर, यो त संविधान, संवैधानिक प्रक्रिया र सात दशक लामो कठिन संघर्षको उपलब्धिका रूपमा प्राप्त हाम्रो लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने, अस्थिरता बढाउने र राज्यविहीनताको अवस्थामा पुर्याउने दीर्घ तयारीसहितको गम्भीर षड्यन्त्र थियो,’ ओलीले भनेका छन्, ‘तर यसो भनिरहँदा एउटा कुरा स्पष्ट पारौँ– सामाजिक सञ्जाल खुल्ला होस्, भ्रष्टाचार नियन्त्रण होस्, राज्यमा सुशासन कायम होस्–जेनेरेसन–जेड या नवयुवाहरूले उठाएका यी मागप्रति कसैको पनि असहमति थिएन । यी त हामी स्वयम्ले वर्षौंदेखि उठाउँदै र कार्यान्वयन गर्दै आएका एजेन्डा थिए ।’

मृतकप्रति पहिलोपटक खुलेर श्रद्धाञ्जली
ओलीले पहिलोपटक जेन–जी आन्दोलनमा घुसपैठ भएको पहिलेजस्तै दोहोर्याए ।
उनले भने, ‘नव–युवाहरूले प्रशासनलाई संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने वचन दिएका थिए । प्रशासनले अनुमति पनि दिएकै थियो । तर दुःखको कुरा, त्यो कार्यक्रममा घुसपैठ भयो । विभिन्न स्वार्थ समूह प्रवेश गरे,’ ओलीले भनेका छन्, ‘अनि, हिंसा र तोडफोड त के, फूलको हाँगा पनि भाँच्दैनौँ र निषेधित क्षेत्र तोड्दैनौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका युवा विद्यार्थीहरूलाई अगाडि लगाएर निषेधित क्षेत्र तोड्ने, संसद भवनमा आगजनी र तोडफोड गर्ने र त्यसैका आडमा आफ्नो निहित स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्वका कारण युवा विद्यार्थीहरूको ज्यान जाने दुःखद एवं अकल्पनीय परिस्थिति सिर्जना भयो ।’
ओलीले मारिएकाहरू प्रति खुलेर श्रद्धाञ्जली व्यक्त गरे, जुन जेन–जी आन्दोलको तीन महिनापछि पहिलोपटक थियो ।
‘२३ भदौमा गोली लागेर ज्यान गुमाएका युवा, २४ भदौमा अराजक भिडको आक्रमणमा परी मारिएका सुरक्षाकर्मी र नागरिक सबैप्रति म यस विशाल सभाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु,’ ओलीले भनेका छन् ।
राजीनामा दिएपछि सम्पदा जलेको दाबी
ओलीले आफूले राजीनामा दिएपछि राज्यका सम्पत्ति र सम्पदा जलेको बताए । २३ भदौको घटनापछि गृहमन्त्रीको राजीनामा र सरकारले छानबिन गर्न खोज्दासमेत नपुगेर देशमाथि आगो झोसिएको बताए ।
२४ भदौको भयानक आगजनी देशले भोग्दा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्ता तीनवटै निकायमाथि एकसाथ आक्रमण भएको उनको भनाइ थियो ।
‘जेलको ढोका फोरेर १४ हजारभन्दा बढी कैदीबन्दी भगाइए । नेता कार्यकर्ताहरूका निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट मच्चाइयो । यसरी राष्ट्रपति भवनदेखि सिंहदरबारजस्ता राष्ट्रिय सम्पदाहरू, शहीदका सालिक, लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनका स्मारक, आश्रम र स्मृति भवनसमेत १६ सयभन्दा बढी संरचना एकैपटक आगो, ढुंगा र लुटपाटको निसाना बने,’ ओलीले भनेका छन्, ‘यी सबै घटनाहरू प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि भए । त्यसैले ती घटना केवल सरकार परिवर्तनका लागि गरिएका दबाब थिएनन्; ती त मुलुकको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, नेपाली संस्कार र एकतालाई खलबल्याउने र गम्भीर रूपमा घाइते पार्ने योजनाबद्ध कदमहरू थिए ।’
राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाथि आगो झोस्ने कामलाई नै ‘आन्दोलन’, ‘विद्रोह’ र ‘क्रान्ति’का रूपमा महिमामण्डित गरिएको भन्दै उनले रोष प्रकट गरे ।
महाविनाश नबिर्सन अपिल
ओलीले २४ भदौको आगजनीलाई महाभारतकालीन परिस्थितिसँग तुलना गरेका छन् ।
‘राज्यको सिंगो प्रणाली तहसनहस पार्न खोजिएको त्यस घडीमा केही समय हामी पनि सुरक्षित स्थानमा रही समीक्षारत रह्यौँ । नेताहरू, समाजका अगुवाहरू मारिऊन्, समाप्त होऊन् भन्ने चाहना गर्ने कोही–कोहीले आज व्यंग्य गरेको सुनिन्छ– हेलिकोप्टर चढेर भागे । महाभारतमा पाण्डवहरूलाई लाक्षागृहमा थुनेर आगो लगाइयो, पाण्डवले सुरुङ खनेर बच्नुपर्यो । इतिहासले दोष कसलाई दियो– आगो बाल्ने दुर्योधन–शकुनीलाई कि आगोबाट बच्न खोज्ने पाण्डवलाई ?’
महाविनाशलाई कुनै हालतमा नबिर्सन उनले आह्वान रेका छन् ।
‘प्रश्न त्यत्ति न हो ! त्यो महाविनाश– न हामीले बिर्सेका छौँ, न बिर्सनेछौँ । दोहोर्याएरै भन्छु– नबिर्सौं !!! अहिलेलाई यत्ति मात्र.’ उनको भनाइ छ, ‘त्यस दिनको महाविनाशको छानबिन होस्, दोषी पहिचान होस्, अपराधीले सजाय पाऊन् !’

प्रतिनिधिसभा विघटन नमान्ने
अनधिकृत रूपमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै ओलीले त्यसलाई नमान्ने बताएका छन् ।
‘काम चलाउ प्रधानमन्त्रीको नाताले मैले संवैधानिक निकासको बाटो देखाएको थिएँ । तर, देशलाई उल्टो दिशामा लगियो– संविधानको बाटो छोडेर बाहिरबाट सरकार गठन गरियो । अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटन गरियो,’ ओलीले भाषणमा भनेका छन्, ‘त्यसैले हामी भन्छौँ– अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन असंवैधानिक छ, गलत छ । जनताले चुनेका प्रतिनिधि घर फर्काउनु भनेको जनतालाई नै राजनीतिबाहिर धकेल्नु हो ।’
यस्तो शैलीले लोकतन्त्र बलियो नहुने भन्दै उनले विघटन मान्य नभएको बताए ।
‘यस्तो कामले लोकतन्त्र बलियो हुँदैन । त्यसैले प्रतिनिधिसभा विघटन मान्य छैन,’ ओलीले भनेका छन्, ‘हाम्रो माग स्पष्ट छ– प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना होस्, देश संविधान र लोकतन्त्रको बाटोमै फर्कियोस् ।’
चुनावबाट नभाग्ने उद्घोष
ओलीले प्रतिनिधिसभा विघटन नै विकल्प भए पनि चुनावबाट भाग्ने पक्षमा नभएको पनि बताउन भुलेनन् । अर्थात् प्रतिनिधिसिभा पुनर्स्थापना गरेर राजनीतिक जित देखाउन खोजे पनि निर्वाचनको राजनीतिको भने उनले विरोध गरेनन् ।
‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ?’ उनले भने ।
‘चुनावको मिति तोकिएको छ, तर के तयारी कतै छ ? अहँ देखिँदैन ! चुनाव चाहने सरकार के गर्थ्यो ? सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता देखाउँथ्यो । सभा–जुलुस खुला गर्थ्यो । दलका गतिविधि प्रोत्साहित गर्थ्यो,’ ओलीले भनेका छन्, ‘चुनावको अनिवार्य सर्तका रूपमा रहेको निर्भयताको वातावरण निर्माण गर्थ्यो । तर, अहिले के भइरहेको छ ? संवादको सट्टा निषेध, बहसको सट्टा मुद्दा, प्रतिस्पर्धाको सट्टा धम्की, नेताको राहदानी रद्द र स्थान– हद … निषेधाज्ञा ! यसरी चुनावको वातावरण बन्छ कि डरको ?’
बहुमत ल्याउने दल चुनावबाट कसरी भाग्ने भन्न पनि उनी भुलेनन् ।
‘मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतङ्क बढ्छ ? जनताले चाहेको कुरा स्पष्ट छ– साँचो प्रतिस्पर्धा, स्वतन्त्र चुनाव र निष्पक्ष वातावरण ! हाम्रो पनि भनाइ यही हो,’ ओलीले भने, ‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ? तर, अहिले कहाँ चुनाव हुँदै छ र ? चुनावको कुरा मात्र भइरहेको छ । त्यसैले हाम्रो अडान छ– प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ ।’
जेन–जीविरोधी नभएको दाबी
ओलीले एमालेलाई जेन–जी विरोधी नभई मैत्री पार्टी भएको प्रस्ट्याए ।
उनले भने, ‘तपाईंको जायज गुनासोलाई हिंसा र विध्वंसको इन्धन बनाउन खोज्नेहरूबाट जोगिनुहोस् ।तपाईंहरूका जायज आवाजको आडमा देशका विरुद्ध हिंसा र सत्ता–स्वार्थको रोटी सेक्नेलाई चिन्नुहोस् । देशका संरचना जलाई खरानी बेच्नेहरूको जालबाट जोगिनुहोस् ।’
उनले थप भने, ‘म युवापुस्तालाई भन्न चाहन्छु–असहमति राख्नुस्, आलोचना गर्नुस्, जवाफ माग्नुस् । तर, एउटा कुरा नबिर्सनुस्– आफ्नो संस्कृतिमा र सभ्यतामा गर्व गर्ने, सही सिद्धान्त र देश बदल्ने सपना बोकेका दलबिना लोकतन्त्र सम्भव छैन । यसै मञ्चबाट म सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गर्छु– जहाँ सकिन्छ, त्यहाँ युवालाई अगाडि सारौँ; उनीहरूको कुरा ध्यान दिएर सुनौँ, उनीहरूका जायज एजेन्डालाई उचित स्थान दिऔँ । युवापुस्तासँगको हाम्रो सहकार्य भावनात्मक मात्र होइन ।’

ओलीको मिलेर काम गर्ने कुरा
सामान्यतया मिलेर काम गर्न अनुदार रहेका ओलीले लामो भाषणका क्रममा असहज परिस्थितिको मिलेर समाधान गर्न पनि आह्वा गरे ।
‘म नेपालका सम्पूर्ण राजनीतिक दलहरू, अन्य संघसंस्थाहरू, नागरिक समाज, मिडिया र आमजनसमुदायलाई आजको असहज परिस्थितिको मिलेर समाधान गर्न यस मञ्चबाट आग्रह गर्दछु,’ उनले भने, ‘साथीहरूलाई स्पष्ट हुन म आग्रह गर्छु । आजको हाम्रो संघर्ष– जेन–जी पुस्ता र पाको पुस्ताबीचको हुँदै होइन । पुराना दल र नयाँ पुस्ताबीचको पनि हुँदै होइन । संघर्षको केन्द्रविन्दु त देश बनाउने र देश जलाउनेबीचको हो ।’
मिल्ने कुरा गर्दा उनले जेन–जीलाई केन्द्रमा राखे ।
‘मलाई विश्वास छ, आजको नयाँ पुस्ता सधैँभरि देश बनाउने कित्तामा उभिनेछ । निश्चय नै, तपाईंहरूको अपेक्षा र राज्यको डेलिभरी क्षमताबीचमा ग्याप छ । तपाईंहरू प्रविधिमा अभ्यस्त हुनुहुन्छ र चाहनुहुन्छ– एक क्लिकमा काम होस्, सेवा दिनका लागि लम्बेतानको लाइन, फाइलहरूको भिड र कर्मचारीहरूको ढिलासुस्तीबाट मुक्त हुन पाइयोस्,’ ओलीले भनेका छन्, ‘अवसरहरू सबैका लागि बराबर होऊन् ।आफन्तवाद र भ्रष्टाचारको जालो चुँडाउन सकियोस् । योग्यताका आधारमा छनोट होस् । तपाईंहरूका अपेक्षा विल्कुल जायज छन् । यस दिशामा केही उपलब्धि पनि भएका छन् ।’

महाधिवेशनबारे औपचारिकता मात्रै
पार्टीको सबैभन्दा ठूलो कार्यक्रमको उद्घाटन गर्न आएका ओलीले यसबारे धेरै बोल्न आवश्यक ठानेनन् । लामो भाषणको अन्तिममा मात्रै महाधिवेशनकेन्द्रित भएर केही कुरा राखे । तर, पार्टी नीति, नेतृत्वका विवाद, अलमल र समीकरणबारे खुलेर बोलेनन् ।
‘हामी एघारौँ महाधिवेशनमा छौँ । यसको अंक ‘एघार’लाई एकछिन ध्यान दिएर हेरौँ– एघारमा दुईवटा ‘एक’ हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका ‘एक’ होइनन् । एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका ‘एक’ हुन् । त्यसैले, हामी प्रत्येक एक– एमालेले अर्को एक– एमालेसँग हात मिलाउँदा, छुट्टाछुट्टै एक रहँदैनौँ, एउटै ‘एघार’ बन्छौँ, बलियो शक्ति बन्छौँ,’ ओलीले भने, ‘एक एमाले र अर्को एमाले छुट्टिए, रिसाए, एक–अर्कामाथि घात–प्रतिघात गरे– हामी साधारण ‘एक–एक, एक’ मात्र रहनेछौँ । तर, एउटाले अर्कोको हात समायो, मन मिलायो भने हामी ‘एक–एक एघार’ बन्छौँ । हामी एघार बन्दै अघि बढ्यौँ भने यो एघारौँ राष्ट्रिय महाधिवेशन साँचो अर्थमा सफल हुनेछ । सबैलाई शुभकामना !’
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुन बिहानैदेखि बिभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड
‘तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन’ आज चाँगुनारायण नगरपालिकामा सम्पन्न





नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिकाे लागि सार्वजनिक रुपमा अपिल
भक्तपुर, २६ मङ्सिर : नेकपा एमाले भक्तपुरले नेकपा एमालेको भाेली भक्तपुरमा उद्घाटन हुने ११औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिकाे लागि सार्वजनिक रुपमा अपिल गरेकाे छ ।
शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा भव्य समारोहका साथ उद्घाटन कार्यक्रममा सहभागिताकाे लागि एमालेले अपिल गरेकाे हाे । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज सार्वजनिक अपिल जारी गर्दै जिल्लावासी, विभिन्न राजनीतिक दल, नागरिक समाज, पेशागत संगठन, युवायुवती तथा जेन–जी पुस्तासमेत उद्घाटन समारोहमा सहभागी भइ कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ। जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले महाधिवेशनलाई ‘देश निर्माणको साझा अभियान’का रूपमा सबैले साथ दिने विश्वास व्यक्त गर्नुभएकाे छ ।
देशभरबाट लाखौँ प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुक भक्तपुर आउने अपेक्षा भएकाले शनिबार भक्तपुर क्षेत्रका मुख्य मार्गमा सवारी चाप बढ्ने सम्भावना रहेको जिल्ला कमिटीले जनाएको छ। विशेष गरी पूर्वतर्फ जगातदेखि पश्चिमतर्फ मनोहरा पुलसम्मको सडक खण्ड केही समय अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ। यद्यपि सुरक्षा निकायसँगको समन्वयमा चाप घटाउने गरी आवश्यक तयारी भइरहेका भए पनि उद्घाटन सत्र सकिनुअघि अत्यावश्यकबाहेकका निजी सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न अपिल गरिएको छ।
शनिबार सार्वजनिक बिदा भएकाले अरनिको राजमार्गमा अनावश्यक सवारी साधन नचलाइदिन पनि जिल्लाको अपिलमा उल्लेख गरिएको छ। महाधिवेशन स्थलतर्फ चारैतिरबाट आउनेकाे लाइन मिलाउन सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको बताइएको छ।
अध्यक्ष देउजाले भक्तपुरमा निर्माण गरिएको मुख्य स्टेज परम्परागत कला, संस्कृति, भेसभुसा र सम्पदालाई झल्कने गरी तयार पारिएको जानकारी दिँदै यसले भक्तपुरको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएकाे छ । कार्यक्रमलाई सभ्य, मर्यादित र सफल बनाउन सबै क्षेत्रका नागरिकले सहयोग गर्ने अपेक्षा गरिएको छ।
पहिलो पटक भक्तपुरमा आयोजना हुन लागेको एमाले इतिहासकै महत्त्वपूर्ण महाधिवेशनका कारण जिल्लाभरि उत्साहजनक चहलपहल बढेको छ।

नेकपा एमालेको ११ औं महाधिवेशनको तयारी पुरा




एमाले महाधिवेशन उद्घाटन स्थल ऐतिहासिक चाँगुनारायण मन्दिरदेखि बिभिन्न सम्पदाको झल्को






बालुवाटारबाट भागेको होइन, ज्यान जोगाउन निस्किएको हुँ: केपी ओली
काठमाडौँ, २५ मंसिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि आफू प्रधानमन्त्री निवास बालुवाटारबाट ‘भागेको’ भन्ने आरोप अस्वीकार गर्नुभएको छ। आफू भागेको नभई मुकाम परिवर्तन मात्रै गरेको उहाँको भनाइ छ ।
बिहीबार राजधानीमा सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै ओलीले आफू भागेको नभई राजनीतिक षड्यन्त्र र घेराबन्दीबाट जोगिन सुरक्षित स्थानमा सरेको बताउनुभएको हो।
अध्यक्ष ओलीले महाभारतको ‘लाक्षागृह’ को प्रसङ्ग पनि सुनाउनुभयो। अध्यक्ष ओलीले विपक्षी गठबन्धनका नेताहरूलाई कौरव पक्षका दुर्योधन, शकुनि र दुशासनसँग तुलना गर्दै पाण्डवहरूको उदाहरण दिएर भाग्नु पनि कहिलेकाहीँ बुद्धिमत्तापूर्ण हुने तर्क गर्नुभयो ।
भाग्न त कौरवहरूले–दुर्योधन, शकुनि र दुशासनहरूले लाक्षागृह बनाएर भित्रै जलाएर मार्न खोज्दा पाण्डवहरू पनि एकतिरबाट आगो लगाएपछि अर्कातिरबाट भाग्दिए,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘भागेकै हुन् पाण्डवहरू। तर उनीहरू कातर भएर भागेको होइन, बुद्धि पुर्याएर भागेका हुन्।’
अध्यक्ष ओलीले आफूलाई चौतर्फी घेराबन्दी गरेर सिध्याउन खोजिएपछि अस्तित्व रक्षाका लागि बालुवाटार छोड्नु परेको तर्क गर्नुभयो। ‘दुष्टहरूको घेराबन्दी तोड्नु पर्दो रहेछ, त्यस्ता प्रयासहरूलाई असफल पार्नु पर्दो रहेछ, जस्तो पाण्डवले पारेका थिए,’ उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले आफू त्यतिबेला कामचलाउ प्रधानमन्त्रीकै हैसियतमा रहेको भन्दै भाग्यो भन्ने टिप्पणीलाई अस्वीकार गर्नुभयो। उहाँले प्रश्न गर्नुभयो, ‘म केयरटेकर प्रधानमन्त्री छँदै थिएँ । भागेर केयरटेकर प्रधानमन्त्री हुन्छ ? प्रधानमन्त्री भाग्यो भनेको केयरटेकर भएर भाग्छ ?’
विपक्षीहरूले आफूलाई जितेर लखेटेको नभई आफूले नै मुकाम परिवर्तन गरेको उहाँको दाबी थियो। ‘मैले किन बालुवाटार छोडे भन्दा नछोड्न सक्थेँ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘वल्लो घरबाट पल्लो घर सर्दिएँ भने राम्रो होइन ?’
विपक्षीहरूले ‘ओली भाग्यो’ भन्दै गरेको टिप्पणीप्रति व्यङ्ग्य गर्दै अध्यक्ष ओलीले यसलाई केटाकेटीको रमाइलोसँग तुलना गर्नुभयो। ‘भाग्यो, भाग्यो भन्दा बच्चाबच्चीहरू खुसी हुन्छन् क्या ! उसले खेदे जस्तो गर्छ, आफू कुद्दिनु पर्छ,’ ओलीले भन्नुभयो, ‘म कार्यवाही प्रधानमन्त्री चलाइराखेको छु, भाग्यो कसरी ?’
अध्यक्ष ओलीले आफूमाथि भएको घेराबन्दी र आक्रमणबाट जोगिनुलाई कायरता नभई बुद्धिमत्तापूर्ण कदम भएको जिकिर गर्नुभयो।
