हतियारधारी अज्ञात समूहद्धारा नेकपा एसका अध्यक्ष श्याम बस्नेतको घर तोडफोड, अपहरणको प्रयास

कि अपहरण गर्ने, कि मलाई सिध्याउने उदेश्यले नै आएको हुन सक्नछन् भन्ने आशंका गर्दै बस्नेतले भन्नुभयो, “म हिजै मात्र पोखरा गएको थिए, राती पेस्तोलसहित आएको अज्ञात समूहले मेरो घरको ढोकाहरु तोडफोड गरि म सुत्ने कोठामा प्रवेश गरेर मेरो श्रीमतिको कन्चटमा पेस्तोल राखेर दुई झापड हानेर मेरो खोजी गरेछन्, मेरो जेठो छोरा आए पछि उसलाई समाएर लैजान खोज्दा आएका मध्येबाट एक जनाले त्यो होइन त्यति मोटो छैन छाडिदे भने पछि छोरालाई पनि दुई झापड हानेर गएछन्, मेरो अपहरण गर्ने उदेश्यले आएको आशंका हामीले गर्यौँ ।”

=============================================================

भक्तपुर, २५ भदौ । नेकपा एकीकृत समाजवादी भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरि तोडफोड गर्नुका साथै अपहरणको प्रयास गरेका छन् ।

आज बिहान ३ बजे हतियारधारी समूहले नेकपा एकीकृत समाजवादीका अध्यक्ष बस्नेतको घरमा चार पाँच जना व्यक्तिहरु प्रवेश गरि ढोकाहरु तोडफोड गरेको, एक थान मोवाइल र जुत्ता लगेको पाइएको जानकारी दिदै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले घट्ना फरक प्रकृतिको रहेकाले गम्भिर रुपमा अनुसन्धान अगाडि बढाएको बताउनु भयो ।

घट्नाबारे परिसरका प्रहरी उपरीक्षकसहित अनुसन्धान टोलीले निरिक्षण गरेको जानकारी दिदै उहाँले प्रहरी बृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीसहितको टोली दिनभर घट्नास्थलमा रहेर बिभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको बताउनु भयो । हतियारधारी समूहले समाजवादीका अध्यक्ष बस्नेतलाई अपहरण गर्ने प्रयास स्वरुप आएको तर नभेटे पछि तोडफोड गरेर फर्किएको हुनसक्ने परिवारले बताएका छन् ।

घट्नाबारे जानकारी दिदै बस्नेतले भन्नुभयो, “म हिजै मात्र पोखरा गएको थिए, राती पेस्तोलसहित आएको अज्ञात समूहले मेरो घरको ढोकाहरु तोडफोड गरि म सुत्ने कोठामा प्रवेश गरेर मेरो श्रीमतिको कन्चटमा पेस्तोल राखेर दुई झापड हानेर मेरो खोजी गरेछन्, मेरो जेठो छोरा आए पछि उसलाई समाएर लैजान खोज्दा आएका मध्येबाट एक जनाले त्यो होइन त्यति मोटो छैन छाडिदे भने पछि छोरालाई पनि दुई झापड हानेर गएछन्, मेरो अपहरण गर्ने उदेश्यले आएको आशंका हामीले गर्यौँ ।”

अपराधी समूहले घर कम्पाउण्डको गेट फुटाएर भित्र पसेको, त्यसपछि घरको मुख्य ढोका फुटाएर चेन गेटसमेत फुटाएर कोठामा छिरेको पाईएको उहाँले बताउनु भयो । घट्नाबारे जानकारी दिदै अध्यक्ष बस्नेतकी श्रीमति उषा कार्कीले अज्ञात समूह घरमा प्रवेश गरेपछि तेश्रो तल्लामा बस्नेत सुत्ने कोठामा पुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “करिब आठ जनाको समूह आएका थिए तर घर भित्र भने तीन जनामात्रै आएका थिए, कान्छो छोरा आडम मसँगै सुतेको थियो, एक जनाले हातमा पेस्तोल लिएको थियो, त्यसले सिधै हामी सुत्ने कोठामा ढोका फोडेर आएर पेस्तोल मेरो कन्चटमा राखेर डर, त्रास र धम्की दियो, अरुले अन्य कोठामा समेत खोजी गरे । तर मेरो श्रीमान्लाई देखेनन्, मेरो जेठो छोरा आदेशसंँगैको कोठामा सुतेको थियो, ऊ उठेर आएपछि एक जनाले उसलाई समाएर लैजान खोज्यो, अर्कोले त्यो होइन, यति मोटो छैन छाडिदे भने पछि गालामा हान्यो र ढोका तोडफोड गरेर फर्किए ।”

मुखमा नकाबसमेत नलगाएका र कालो लुगा लगाएका मोटा तीन जना कोठामा प्रवेश गर्दै अध्यक्ष बस्नेतको अपहरण गर्ने उदेश्यले आएको र नदेखे पछि तोडफोड गरेर फर्किएको हुनसक्ने आशंका उहाँको छ ।

उनीहरुले बस्नेतको घरबाट छोराले गेम खेल्ने एक थान सानो मोवाइल, एक जोर जुत्ता र किचेनबाट दुईवटा थाल मात्रै लगेको जानकारी दिदै बस्नेतले चोरी गर्ने उदेश्यले नआएको तर ध्यान अन्यत्र मोड्न चोरेको जस्तो पनि गरेको हुन सक्ने बताउनु भयो । हतियारधारी समूहले लगेको मोवाइल र लगाएको आएको जुत्ता छाडेर अर्को जुत्ता लगाएकाले प्रहरीले अनुसन्धानका लागि जुत्ता बरामद गरेको बताएको छ ।

घट्नास्थलमा रहनु भएका प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक चौधरीले घट्ना अपराधिक मानसिकताबाट भएको हो वा राजनीतिक के हो भन्ने अनुसन्धान भइरहेको बताउदै बस्नेत परिवारले दिएको बयानका आधारमा अनुसन्धान अगाडि बढाएको बताउनु भयो ।

घट्नास्थलमा अपराध अनुसन्धान महाशाखाको विशेष टोलीसमेत आएर अनुसन्धान अगाडि बढाएको बस्नेतले जानकारी दिनु भएको छ । उहाँले आफू र आफ्नो घर तथा टोलको कडा सुरक्षाको ब्यबस्था गर्न माग गर्नु भएको छ ।

काँग्रेस सभापति थापा र नगर प्रमुख खत्रीद्धारा इलेक्ट्रिक स्कुटरको शो रुम उद्घाटन

भक्तपुर, २५ भदौ । नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले संयुक्त रुपमा इलेक्ट्रिक स्कुटरको शो रुम उद्घाटन गर्नु भएको छ । मध्यपुरथिमिमा आजबाट सञ्चालनमा आएको शो रुमको आज सभापति थापा र प्रमुख खत्रीले उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा कांग्रेस सभापति थापाले विश्व बजारमा बढ्दो पेट्रोलियम पदार्थको मूल्य बृद्धिले नेपाल पनि अछूतो नरहेको अबस्थामा उपभोक्ताले मंहगोमा इन्धनको खरिद गर्नु पर्ने अबस्थामा भित्रिएको इलेक्ट्रिक सवारी साधनले नेपालीहरुको मन जित्न सफल भएको बताउनु भयो ।
उहाँले इलेक्ट्रिक सवारी साधनको आयातको क्रममा सुरुमा उपभोक्ताको रोजाईमा पर्न गाह्रो भए पनि पछिल्लो समयमा इलेक्ट्रिक सवारी साधनको रुची र आकर्षण नेपाली बजारमा बढिरहेको उहाँले बताउनु भयो ।

इलेक्ट्रिक स्कुटर नेपाली उपभोक्ताको रोजाइमा पर्न थालेको चर्चा गर्दै उहाँले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको मारबाट जोगिन र वातावरणलाई स्वच्छ राख्न पनि यसको प्रयोग उपयुक्त रहेको बताउनु भयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले अहिलेको आधुनिक युगमा सहज, सुलभ, वातावरण प्रदुषण रहित र खर्च कम लाग्ने साधनको उपयोग अत्यावश्यक र बुद्धिमानी रहने अबस्थामा इलेक्ट्रिक स्कुटरले उपभोक्ताको मन जित्न सक्ने बताउनु भयो ।

इलेक्ट्रिक स्कुटर र गाडीको माग पछिल्लो समयमा बढ्दै गइरहेको बताउदै उहाँले यसको आयतामा सरकारले भन्सार दरमा सहुलियत प्रदान गरेर सबैको पहुँचमा पुर्याउन सके नेपालबाट इन्धनका लागि वर्षेणी बाहिरिने करोडौ रुपैयाँ बच्ने चर्चा गर्नु भयो ।

उहाँले इलेक्ट्रिक सवारी साधनको चार्जिङ स्टेशन ठाउँ ठाउँमा व्यबस्था गर्न सके र यसको महत्व र उपयोगिताको बारेमा व्यापारीहरुले जनमानसमा सकारात्मक सन्देश लान सके धेरैको मन जित्न सफल हुने भनाइ राख्नु भयो । देशको विदेशिने रकम जोगाउन, पेट्रोलियम पदार्थको खपत कम गर्न, बिद्युतीय सवारी साधनको प्रयोग बढाउन राज्यले ठोस कदम चाल्न सके यसको प्रभावकारिता र उपयोगिता बढ्ने बताउनु भयो ।

माओवादी कार्यकर्ता एमाले प्रवेश

भक्तपुर, २४ भदौ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसीर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एमालेको बहुमत ल्याउने गरि कार्यक्षेत्रमा लाग्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

आज भक्तपुरमा राष्ट्रिय युवा संघ नेपाल वागमती प्रदेश सभाको प्रथम अधिवेशन तथा प्रदेश स्तरीय निर्वाचन परिचालन भेलामा बोल्दै उहाँले एमाले पार्टीले एक्लै चुनाब लड्ने बताउदै गठबन्धनलाई परास्त गर्न एक भएर चुनाबी अभियानमा लाग्न निर्देशन दिनु भएको हो ।

जिल्लास्तरमा अबस्था र आवश्यकता हेरेर पार्टी जिल्ला कमिटीको चाहनामा तालमेल गर्न पार्टी केन्द्रीय कमिटीले भने नरोक्ने उहाँले बताउनु भयो । पार्टीको नीति अनुसार केन्द्रीत रहेर आगामी निर्वाचनमा एमालेको जनलहर ल्याउने गरी लाग्न युवा कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका फ्याक्सन इन्चार्ज माननीय महेश बस्नेतले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ‘एक बुथ दुई सय युथ’ परिचालन गर्ने घोषणा गर्नुभएको छ । भक्तपुरमा आयोजित राष्ट्रिय युवा संघ नेपालको बागमती प्रदेश कमिटीको भेलालाई संबोधन गर्दै नेता बस्नेतले यस्तो बताउनुभएको हो ।

‘निर्वाचनको उम्मेदवारी छनौट,मतदान प्रकृया देखि मतगणना प्रक्रिया हुँदै बिजय घोषणासभा सम्म युथफोर्सको मुख्य भुमिका हुनेछ।युथफोर्स कुनैपनी कार्यमा ब्याक नहुने,गठबन्धनले सत्ताको दुरुपयोग गरेर।प्रहरी प्रशासन लगाएर आफू बलियो भएको स्थनमा हामी माथी भौतिक आक्रमण पनि गर्न सक्छन्।’

‘हामी संयामित र अनुशासित भएर जान्छौं।हामी प्रहरी प्रशासनको सहयोग लिन्छौं।प्रशासनले सहयोग दिएमा हामी त्यही ढङ्गले समस्या हल गर्छौं।यदि प्रहरी प्रशासनले सहयोग गरेन भने हामी मुखले सम्झाउछौं।मुखले सम्झाउंदा मान्ने स्थिति भएन भने हातगोडाले पनि सम्झाउन युवा संघ नेपाल तयार रहेको छ।कानुन मिचेर हामिमाथी आक्रमणनै गर्दा राष्ट्रिय युवा संघ निरीह भएर नबस्ने जनाउनु भएको छ।’

त्यस्तै,मंसिरको ४ को निर्वाचनपछि आफ्नो पार्टी नेकपा एमालेले सरकार बनाउने दावी गर्दै देशमा विकास निर्माणको कार्य हुन नदिन।भ्रष्टाचारीहरुलाई संरक्षण दिन राष्ट्रियतालाई समाप्त पार्नको लागि सत्तारुढ गठबन्धन एमालेको बिरुद्ध लागि परेको र गठबन्धनको त्यो सपना पूरा हुन नदिने पनि बताउनुभएको छ ।

आज भक्तपुरमा आयोजित राष्ट्रिय युवा संघ बागमती प्रदेश कमिटीको ऐतिहासिक पहिलो अधिवेशनमा दर्जनौं युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेको युवा नेता तथा व्यवसायी किरण थापाको पहलमा आज चार दर्जना युवाहरु एमालेमा प्रवेश गरेका हुन् । कांग्रेस, माओवादी लगायतका ४८ जना युवाहरु एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा सूर्यविनायक नगरपालिका वडा नं ९ का युवाहरु एमालेमा प्रवेश गरेका हुन् । जिल्लाको विकास र समृद्धिको नेतृत्व एमालेको विकल्प नभएको उल्लेख गर्दै युवाहरु एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई एमालेका महासचिव शंकर पोखरेल, पोलिटव्युरो सदस्य महेश बस्नेत, संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, पार्टीका जिल्ला अध्यक्ष बचन देउजा तथा संघको केन्द्रीय कमिटीका पदाधिकारीहरुले अविर तथा खादा लगाएर एमालेमा प्रवेश गराउनुभयो ।

गठबन्धनका नाममा मुलुक र जनताको हित नभई आफ्नो र आफ्नो परिवारको हितमा मात्र काम गरेकाले अबको दिनमा मुलुकको नेतृत्वमा एमालेको हुनुपर्ने भन्दै उक्त युवाहरु एमालेमा प्रवेश गरेका हुन् । गठबन्धनले आफन्तवानको साथ साथै भ्रष्टाचार, अनियमितता, विभिन्न प्रकारका राष्ट्रघाती कदम, गैरकानुनी गतिविधि सैह्य नभएकाले एमाले प्रवेश गरेको नवप्रवेशी युवाहरुले उल्लेख गरेका छन् । नवप्रवेशी युवाहरुले नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा भक्तपुरको विकासले कायापल ल्याएको उल्लेख गर्दै अबको उज्वल राजनीतिक भविष्य तथा भक्तपुरको विकासमा एमालेमा रहेर जस्तोसुकै कठिन परिस्थितीलाई पनि सामना गरी अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

यो सँगै भक्तपुर क्षेत्र नं. २ मा गठबन्धनलाई दैनिक रुपमा क्षती हुँदै गएको छ भने एमालेलाई विजयी यात्राको शिखर चुम्दै गएको बुझ्न सकिन्छ ।

संविधान बचाउने जिम्मा राजनीतिक दलको काँधमा आएको छ : पूर्वराष्ट्रपति

काठमाडौँ, २४ भदौ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान बचाउने जिम्मा राजनीतिक दलको काँधमा आएको बताउनुभएको छ । जननायक बिपी कोइरालाको १०९औँ जन्मजयन्तीका अवसरमा तेज–तीर्थ ट्रष्टले आज यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’मा उहाँले संविधानमाथि आक्रमण हुन लागेको भन्दै यसलाई जोगाउन राजनीतिक दलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

“संविधानको रक्षा गर्ने प्रमुख जिम्मा कांग्रेससहितका राजनीतिक दलको हो, राजनीतिक दलबाट बनेको संविधानको रक्षा गर्ने काम पनि राजनीतिक दलकै हो”, उहाँले भन्नुभयो । देशको एकता, अखण्डता आवश्यकतालाई समेटेर समृद्ध मुलुक निर्माणमा सबै लाग्नुपर्ने उहाँको भनाइ थियो । पूर्वराष्ट्रपति डा यादवले सङ्घ, प्रदेश र स्थानीय तहको कानून बन्न नसक्नु दुःखद् कुरा भएको बताउनुभयो । उहाँले राष्ट्रियता, सार्वभौमिकता, भूगोललाई मिलाएर संविधान निर्माण भएको बताउँदै संविधानको रक्षाका लागि लाग्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।

संविधान निर्माणसँगै तीन तहको सरकार निर्माण हुनु सुखद पक्ष भए पनि जनतामा भ्रष्टाचार भएको र सुशासन नभएकामा असन्तुष्टि पैदा भएको बताउनुभयो । पूर्वराष्ट्रपति डा यादवले बिपी कोइराला देश र लोकतन्त्रका पक्षमा सधैँ चिन्तित हुने गरेको बताउनुभयो । उहाँले पछिल्लो समय बिपी कोइरालाको जेल जर्नल, भाषण, आत्मावृत्तान्त कांग्रेसले पढ्न र बुझ्न नसकेको उल्लेख गर्नुभयो ।

कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले प्रजातन्त्रलाई जनतामाँझ लैजान जननायक बिपी कोइरालाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । सङ्घीय लोकतन्त्र स्थापना गर्न बिपी कोइरालाको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । नेता प्रधानले बिपी कोइरालाको योगदानका कारण देश सङ्घीय गणतन्त्र मुलुकमा निर्माण भएको बताउनुभयो ।

गठबन्धन टुट्दैन र तोड्नु हुँदैन : प्रधानमन्त्री देउवा

चितवन, २४ भदौ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।” नेपाली कांग्रेस चितवनद्वारा आज यहाँ आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवं विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र भएको जनाउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिध्याएर के हुन्छ । यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।” उहाँले गठबन्धन गर्दा पार्टीलाई बढीभन्दा बढी फाइदा हुने गरी लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौँ, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन ।

यसमा ठूलो सहयोग भएको छ । गठबन्धन तोड्ने कुरा गर्नुहुँदैन ।” गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको जनाउँदै प्रधानमन्त्री देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताउनुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई एकढिक्का भएर निर्वाचनमा होमिन आग्रह गर्नुभयो । गठबन्धन भएर सरकार बनेकै कारण नेकपा (एमाले)को एकलौटी अन्त्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुको एकलौटी चलेको छैन, मनोपोली चलेको छैन ।”

हिजो बाहिर हुँदा तत्कालीन एमालेको सरकारले गरेको क्रियाकलापको स्मरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उहाँले गठबन्धन अघि बढ्दै गर्दा सबै ठाउँमा कांग्रेसको सरकार बन्ने सम्भावना रहेको बताउनुभयो । प्रम देउवाले भन्नुभयो, “हिजोको अवस्था कस्तो थियो । ओली सरकारलाई हटाउनुप¥यो, हटाउनुप¥यो भनेको होइन सबैले ।” प्रधानमन्त्री देउवाले भन्नुभयो, “अहिले यो हुँदैन, त्यो हुँदैन भन्नु हुँदैन । कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन गठबन्धन आवश्यक छ, भ्रमको पछाडि नलाग्न पनि आग्रह गर्दछु ।”

कतिपयले एमसिसीसँगै अमेरिकी सेना बस्छ भनेर भ्रम फैलाएकामा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, “खै विदेशी सेना आयो त ? अहिले विदेशी सेना आएको छ त ? यस्तो पनि कुरा पत्याएर हिँड्ने हो ? झुटा आक्षेप लगाउने र प्रचार गरेर पार्टीलाई सिध्याउन खोजेका हुन् । झुटा प्रचार गरेर हाम्रो पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ, षड्यन्त्र भइरहेको छ ।” उहाँले वर्तमान सरकारले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भएरहित वातावरणमा सम्पन्न गरेको र अगामी मङ्सिरमा हुने प्रदेश र सङ्घको चुनाव पनि शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न हुने बताउनुभयो । उहाँले सरकारले नेपालको संविधान कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो ।

यस कारण महत्वपूर्ण इन्द्रजात्रा

काठमाडौँ, २४ भदौ : राजधानी काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरता मात्र नभई आपसी सद्भाव र भाइचारा अभिवृद्धिको उपयुक्त माध्यम पनि हो । विशेष गरी काठमाडौँका नेवार समुदायले महान्पर्वका रुपमा धुमधामसँग मनाइने इन्द्रजात्रा नेवारी समुदायमा मात्र सीमित नभई राष्ट्रिय पर्वका रुपमा स्थापित भएको जानकारहरु बताउँछन् ।

इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरताका साथै सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने महत्वपूर्ण आधार रहेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो । “इन्द्र जात्राको धार्मिक, ऐतिहासिक सम्बन्ध रहेको छ, यो जात्राको खेतीसँग पनि सम्बन्ध छ, ऐतिहासिकरुपमा भन्नुपर्दा आजैका दिन पृथ्वीनारायण शाहले काठमाडौँ विजय हासिल गर्नुभएको, मल्लराजाले आफ्नो शासनकाल गुमाएको दुई परिघटनाको संयोग रहेको छ ।”

राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका निम्ति पनि इन्द्रजात्रा पर्वको महत्व फराकिलो बनेको छ । मुलुकको संस्कृतिको जगेर्नाका साथै विदेशी नागरिकलाई आकर्षण गर्ने कार्यक्रमका रुपमा पनि पहिचान थपिएको छ । वसन्तपुर दरबार क्षेत्रका पुरातात्विक महत्वका सम्पदा, विभिन्न देवीदेवताको मठमन्दिर, जात्रा, पर्व आदिले काठमाडौँको संस्कृति र सभ्यतालाई संसारभर चिनाएको छ । यसैका माध्यमबाट नेपालको पहिचान विश्वभर फैलिएको छ ।

महानगर प्रमुख महर्जनले वर्षा र सहकालका देवताका रुपमा मानिने ललितपुरको प्रसिद्ध मच्छिन्द्रनाथको जात्रा र काठमाडौँको सेतो मच्छिन्द्रनाथको जात्रा दुई सहरको महत्व र सम्बन्धलाई जोड्ने महत्वपूर्ण पर्व भएको र यसले दुई सहरको मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाएको धारणा राख्नुभयो । उहाँले मच्छिन्द्रनाथको जात्रा ललितपुरको मात्र नभई उपत्यका र समग्र देशभरकै महत्वपूर्ण पर्व भएको पनि बताउनुभयो ।

जात्राका क्रममा विभिन्न देवीदेवताको गण, पुलुकिसी (ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै आज सहर परिक्रमा गरेका छन् । भाद्र शुक्ल चतुर्दशीका दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा अवलोकनमा देशका विशिष्ठ व्यक्ति, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहन्छ । जात्रा अवलोकनका लागि हरेक वर्ष वसन्तपुर दरबार क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयवासी र सर्वसाधारणको घुइँचो लाग्ने गर्छ । स्वदेशी मात्र हैन विदेशी पर्यटकसमेत जात्राको उत्सुकतापूर्व अवलोकन गर्ने गर्छन् । पाख्रिबास नगरपालीका धनकुटाका प्रमुख ज्ञानबहादुर गुरुङले इन्द्रजात्रा राष्ट्रिय पर्वमात्र नभएर अन्तर्राष्ट्रिय पर्वका रुपमा मान्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

उहाँले देशको सांस्कृतिक सम्पदाको संरक्षण प्रवद्र्धनका साथै विदेशी पर्यटक आकर्षण गर्न यसबाट महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “देशमा मात्र हैन विदेशमा पनि यो पर्वलाई महत्वका साथ लिने गरिएको छ । यसले परम्परागत संस्कृतिको जगेर्ना गर्दै विदेशी पर्यटकलाई आकर्षण गर्न महत्वपूर्ण भूमिका खेलेको छ”, नगरप्रमुख गुरुङले भन्नुभयो । जात्राका अवसरमा महानगरले छवटै महानगर र भगिनी सम्बन्ध भएका सातवटा नगरप्रमुख एवं प्रतिनिधिलाई बोलाएर सम्पदा यात्रा र पुरातात्विक महत्वका सम्पदाको भ्रमण गराउने गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले इन्द्र जात्रा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यम बनेको बताउनुभयो ।

जात्राका अवसरमा महानगरले भगिनी सम्बन्ध भएको भारत, चीन, जापान, अमेरिकालगायत मुलुकका प्रतिनिधिलाई बोलाउने गरेको र यो पटक पनि केही मुलुकबाट जात्रा अवलोकनका लागि पाहुना आएको जानकारी दिनुभयो । जात्राको अवलोकनका लागि स्वतःस्फूर्तरुपमा उल्लेख्य सङ्ख्यामा सर्वसाधारण उपस्थित हुने गरेको उहाँले जानकारी दिनुभयो । कोभिड–१९ महामारीका कारण इन्द्रजात्रा उत्सवका रुपमा मनाउन नपाइए पनि विधिपूर्वक मनाइएको थियो । यो वर्षभने भब्यरुपमा जात्रा मनाइएको छ । काठमाडौँ महानगरपालिकाको सम्पदा विभागका उपनिर्देशक श्रीजु प्रधानले काठमाडौँका नेवारी समुदायको महत्वपूर्ण चाड इन्द्रजात्रा भएको र यो पर्व देश तथा विदेशमा पनि मनाइने गरेको बताउनुभयो ।

किंवदन्तीअनुसार स्वर्गबाट इन्द्रको आमाले पारिजातको फूल खोज्न पठाएको र फूल भेटिएपछि कान्तिपुर नगरीको एक किसानको घरमा आश्रय लिएर बसेको व्यक्ति चोर भनेर किसानले समातेर सात दिनसम्म बाँधेर राखेका थिए । इन्द्रको आमा छोरो हरायो भनेर खोज्दै जादा वसन्तपुर क्षेत्रमा भेटिएपछि इन्द्रकी आमाले मेरो छोरालाई छाडिदेउ त्यसबापत के चाहन्छौँ म वरदान दिन्छु भनेपछि आजैको दिनलाई इन्द्र जात्राका रुपमा मनाइन्छ । इन्द्रजात्रा नेवारी समुदायको महत्वपूर्ण चाड मानिन्छ । आफन्त विशेषगरी छोरी ज्वाइँलाई बोलाएर विभिन्न परिकार भोजन गराउने चलन रहेको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आरधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोका फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।—

विरामीको ज्यान माथि खेल्ने डा. तिवारी लगायतलाई कारबाहीको माग

भक्तपुर, २४ भदौ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विरामीको स्वास्थ्य माथि गम्भिर खेडवाड गर्ने डा.अनिषा तिवारीसहितलाई कारबाही गर्न माग गरेको छ ।

आज केन्द्रमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसहित पीडित विरामीका दाजु गणेशराम कोजूले विरामीको ज्यानै जोखिममा राखेर शल्यक्रिया गर्ने गराउने डा. तिवारीसहितलाई कारबाचही गर्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा घट्नाबारे जानकारी दिदै निर्देशक डा. श्रेष्ठले अस्पतालका शल्यक्रिया कक्षका प्राबिधिक गणेशराम कोजूको बहिनी स्थानीय कमल केशरी कोजुको गत साउन २४ गते केन्द्रमा पित्तथैलीको शल्यक्रिया गर्दा डा. तिवारीले गम्भिर लापर्वाही गरेको र विरामीको ज्यान जोखिममा पारेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “मेडिकलको नियममै कुनै पनि अप्रेशन गर्नु अगाडि डाक्टरले आफूभन्दा माथिको कन्सल्टेण्डलाई जानकारी गराउनु पर्छ, तर त्यसो नगरी जथाभावी र लापर्वाही रुपमा शल्यक्रिया गरेर अत्यन्तै रक्तश्राव भएर ज्यानै जोखिममा परेपछि केन्द्रले त्यसबारे स्पष्टिकरण लिएर कारबाही प्रक्रिया अगाडि बढाउन खोज्दा डा. तिवारीले आफ्नो कारबाही बच्न मेडिकल काउन्सिल, जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर लगायतमा उजुरी गरेर अस्पतालकै बदनाम गराउन खोजेकी छिन् ।”

उहाँले घट्नाबारे सुक्ष्म रुपमा अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्न माग गर्नु भयो । उहाँले भन्नुभयो, “अस्पतालमा अक्षम्य र गम्भिर घट्ना भएको छ, यसले यहाँ आउने बिरामीको स्वास्थ्य र जीवन सुरक्षामा समेत चुनौती थपिएको छ, डा. तिवारीको लापर्वाहीको यो पहिलो घट्ना होइन, एउटा डाक्टरले लापर्वाही गरेर विरामीको ज्यानै जोखिममा पार्ने र स्पष्टिकरण खोध्न खोज्दा उल्टै बिभिन्न आरोप लगाएर चरित्र हत्या गर्न खोज्ने, यो घट्नाको सत्यतथ्य छानबिन होस् म दोषी ठहरिए कारबाही भोग्न तयार छु, अरु दोषी देखिए कारबाही हुनु पर्छ, चिकित्सकीय पेशा र यो अस्पतालको मर्यादा कायम राख्नु पर्छ ।”

गत साउन २४ गते स्थानीय कमल केशरी कोजुको पित्तथैलीको दूरबिन प्रबिधिबाट शल्यक्रिया गर्न डा. तिवारी जटिल रुपमा लापर्वाही गरेर आफ्नो बहिनीको ज्यानै जोखिममा पारेको पत्रकार सम्मेलनमा शल्यक्रिया कक्षकै प्राबिधिक एवं पीडित विरामीको दाजू गणेशराम कोजूले डा. तिवारीलाई कारबाही गरि क्षतिपूर्ती भराउनु पर्ने माग गर्नु भयो ।

उहाँले भन्नुभयो, “दूरबिन प्रबिधिबाट सुरु गरेको अप्रेशन डाक्टरको लापर्वाहीले अत्यन्तै रक्तश्राब भएपछि ओपन गर्नु पर्यो, म अप्रेशन थियटरमै काम गर्ने कर्मचारी, धेरै अप्रेशन हेरेको छु, मेरो बहिनीको अबस्था अब बिग्रियो भनेर ज्यान बचाउन सिनियर डाक्टरलाई बोलाए, त्यसपछि डा. राकेश बर्मा र डा. पुकार चन्द्र श्रेष्ठ आएर थप उपचार गरेर बहिनीको ज्यान बचाउन लाग्दा उल्दै डा. तिवारीले जथाभावी भनेर बाहिरको डा. संजिव शाहलाई बोलाएर भिडियो खिचेर रमिता गर्न थाल्नु भयो ।”

यस अस्प्तालमा प्रभावकारी उपचार हुन नसके पछि बहिनीलाई अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार गराईरहेको बताउदै उहाँले केएमसीको डाक्टरले जान्दै नजानेको डाक्टरबाट शल्यक्रिया गर्न लगाएर ज्यान जोखिममा पारेको प्रतिक्रिया दिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, “मेरो बहिनीको अबस्था निकै नाजुक छ, उपचारमा लाखौ खर्च भइसकेको छ, विरामीको ज्यान माथि खेलबाड गर्ने डाक्टरलाई कारबाही होस्, उपचारमा लागेको खर्चको क्षतिपूर्ति भराईयोस् ।”

अपरेसन गर्दा लापरवाही अत्याधिक रक्तश्राव भई बिरामीको ज्यानै जाने अवस्था डा.राकेशकुमार वर्मा र डा.पुकारचन्द्र श्रेष्ठले विरामीको ज्यान बचाएको उहाँले बताउनु भयो । डा. अनिसाले यहाँ कार्यरत स्टाफ नर्सलाई समेत पटक पटक अभद्र व्यबहार गर्दै अपरेशन थियटरबाटै निकालेको भन्दै अस्पतालका नर्सिङ विभागदेखि अन्य कर्मचारीले संयुक्त हस्ताक्षर सहित कारबाहीको माग गर्दै आवेदन दिएका छन् ।

पत्रकार सम्मेलनमा शल्यक्रिया कक्षमा कार्यरत डा. सभिया नागा, एनेस्थेसिया प्रमुख डा. आरती राई, एनेस्थेसियन डा. शिव सिटौला, नर्स बबिता कोजूलगायतले डा. तिवारीले विरामीको शल्यक्रिया र उपचारका गम्भिर लापर्वाही गरेको बताउनु भयो ।

केन्द्रका प्रशासन प्रमुख हरिहर पोखरेलले यहाँका डाक्टरको १ण् देखि ५ बजेसम्म डियुटी गर्नु पर्ने भए पनि डा. तिवारीसहित केही कर्मचारी प्रायः ढिला आउने, छिटो जाने, विरामीको उपचारमा ओपिडीमा धेरै समय नबस्ने, डायलोसिसका लागि फिस्टुला नबनाई विरामी फर्काउने गरेको गुनासो धेरै आएको र विरामीको ज्यान जोखिममा राखेर लापर्वाही गरेकोमा अस्पतालले स्पष्टीकरण सोधेको बताउनु भयो ।

कार्यक्रममा मिर्गौला पीडित सरोकार समाजको अध्यक्ष बलराम सुवेदी, मिर्गौलाका विरामी झंक श्रेष्ठले डा. तिवारीसहित केही डाक्टरहरु ओपिडीमा विरामी थुपारेर उपचारमा समेत नआउने, चिया खाएर बाहिरै बस्ने र पटक पटक गुनासो गर्दा पनि सुनुवाई नभएको भन्दै त्यस्ता डाक्टरलाई कारबाही नगरे विरामीले आन्दोलन गर्ने बताउनु भयो ।

गठबन्धनमा सिठ बाँडफाँडको टुङ्गो लागिसकेको छैन : उपसभापति खड्का

भक्तपुर, २४ भदौ । नेपाली कांग्रेसका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले गठबन्धन दलहरुबीच अझै सिठ बाँडफाँडको टुङ्गो नलागेको बताउनु भएको छ ।

आज भक्तपुरका नेपाली काँग्रेस जिल्ला प्रशिक्षण शाखा भक्तपुरले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले मंसीर ४ को चुनाबमा गठबन्धनसहित जाने भएपनि सिठ बाँडफाँडको टुङ्गो भने अझै नलागेको बताउनु भएको हो ।

अहिलेको गठबन्धन काँग्रेसका लागि रहर नभई बाध्यता भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “राजनीतिले यस्तो अबस्था सृजना गर्यो कि, गठबन्धनलाई सँगै लिएर नजाने हो भने काँग्रेस एक्लै चुनाब लड्ने अबस्था छैन, काँग्रेस एक्लै जान खोजे फेरी एमालेसँग माओवादी केन्द्र, समाजवादी, मधेशवादी दलको गठबन्धन हुने अबस्था देखियो, त्यसैले पनि काँग्रेसले गठबन्धन छाड्न सक्दैन ।”

उपसभापति खड्काले संविधानको रक्षा गर्ने एजेण्डा बोकेको दलहरु गठबन्धन र तालमेलको अबस्थामा पुगेको बताउदै उहाँले गठबन्धन काँग्रेसका लागि रुची नभई बाध्यता भएकोृ बताउनु भयो । गठबन्धनमा सिठ बाँडफाँड मिलाउँदा काँग्रेसले पाउने सिठ संँख्या घट्न सक्ने भन्दै उहाँले त्यस्तो अबस्थामा कतिपय कतिपय नेताले टिकट नपाउने अबस्थालाई बुझिदिन आग्रहसमेत गर्नु भयो ।

गठबन्धन गर्दा काँग्रेसलाई बढी भन्दा बढी फाइदा हुने र क्षति कम हुने गरिनै गठबन्धनमा सिठ बाँडफाँड हुन्छ भन्दै उहाँले गठबन्धनका उम्मेदवार जो भएपनि जिताउने अभियानमा लाग्नु पर्नेमा जोड दिनु भयो । मंसीर ४ गते पछाडि नेपाली कांग्रेसले बहुमतको सरकार सञ्चालन गर्ने बताउदै गठबन्धन सहित दुईतिहाई नजिकको सरकार बनाएर अगाडि बढ्ने उहाँको भनाई थियो ।

आगामी निर्वाचनमा मतदाताको मन जित्ने गरि घरघरमा जान निर्देशन दिदै उहाँले भन्नुभयो, “काँग्रेसका कारणले जनताको ठेस पुगेको मनमा के भनेर मन परिवर्तन गर्न सकिन्छ, त्यो गरौँ, मत माग्न नरम, शालिन भएर मतदाताको मन जित्ने गरि जाऔँ, काँग्रेस भित्रको असहमति, विभेद, चित्त दुखाई, असन्तुष्टी जे जे छन्, त्यो सबैलाई मंसीर ४ गतेसम्म पोको पारेर गाँठो पारेर कुटटिलो पारेर राख्नस्, चुनाब पछि त्यसलाई खोलेर छलफल गरौँला र काँग्रेसलाई अझै समृद्ध बनाउँला ।”

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं भक्तपुर ईन्चार्ज अम्बिका बस्नेतले संसदको गत निर्वाचनमा प्रतक्ष्य तर्फ २३ सिट मात्रै जितेको नेपाली काँग्रेसलाई अबको निर्वाचनमा बढी भन्दा बढी कसरी जिताउने, संघमा १६५ र प्रदेशमा ३३० मै काँग्रेस सहितको गठबन्धनलाई जिताउने अभियानमा लाग्न निर्देशन दिनु भयो । अहिले गठबन्धनमा सिठ बाँडफँडमा निकै कठिनाइ आइपरेको चर्चा गर्दै उहाँले टिकट पाउँन गरेको प्रतिस्पर्धामा पार्टीले जनतासँग भिजेको व्यक्तिलाई टिकट दिनु स्वभाविकै भएको बताउनु भयो ।

काँग्रेस वाग्मति प्रदेश समितिका महामन्त्री कञ्चन बाँडे श्रेष्ठले काँग्रेस एक भएको सन्देश बोकेर निर्वाचनमा कार्यकर्ता होमिने बेला आएको बताउनु भयो ।

त्यस अवसरमा काँग्रेस भक्तपुर जिल्ला सभापति दूर्लभ थापाले स्थानीय तहको निर्वाचनमा भक्तपुरमा काँग्र.सलाई पहिलो पार्टी बनाएको चर्चा गर्दै मंसीर ४ गतेको निर्वाचनमा पनि काँग्रेस अझै शसक्त भएर लाग्नेब ताउनु भयो ।

टिकटका लागि संघ र प्रदेशमा धेरै आकांक्षी रहेको बताउदै उहाँले भन्नुभयो, “पार्टीलाई गठबन्धनको सकस छ, भक्तपुरमा धेरै साथीहरु आकांक्षी हुनुहुन्छ, भक्तपुरमा कांग्रेस एक्लै चुनाब लड्न सक्छ तर पार्टीले जसलाई टिकट दिन्छ, जे निर्णय लिन्छ त्यसैलाई मानेर अगाडि बढ्छौँ, चिया पसल, सामाजिक सञ्जालमा जथाभावी लेख्न छाडेर चुनाबमा केन्द्रीत हुन सबैलाई आव्हान गर्छु ।”

कार्यक्रमका सभापति एवं भक्तपुरका प्रशिक्षण विभाग प्रमुख विजेश अवालले प्रशिक्षणमा २०० भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहेको बताउनु भयो ।

क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले बिहीबार बलात्कारको आरोप लागेका लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । केहीबेर अघि जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको हो ।

मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेकोमा बिहीबार अदालतबाट पक्राउ पुर्जी लिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालायका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० रवीन्द्रबहादुर धानुकले लामिछानेलाई पक्राउ गरी अनुसन्धानका लागि अनुमति प्राप्त भएको जानकारी दिए ।

पक्राउ पुर्जी ल्याएपछि प्रहरीले नेपाल क्रिकेट संघ ९क्यान०मार्फत लामिछानेलाई फिर्ता गर्न औपचारिक आग्रह गर्ने तयारी गरेको छ । त्यसपछि पनि लामिछाने नआए इन्टरपोल वा अरू माध्यमबाट उनलाई नेपाल झिकाइने प्रहरी स्रोतको भनाइ छ ।

 

सम्मानजनक ढङ्गले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन : अध्यक्ष यादव

पर्सा, २३ भदौ  : जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताउनुभएको छ । मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको आज वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै अध्यक्ष यादवले सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँट नभए दलहरुबीच गठबन्धनको कुनै औचित्व नरहने बताउनुभयो ।

उहाँले आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट कांग्रेस नेतृत्वसँग माग गरेको र सोही विषयमा दलका शीर्षनेताहरूबीच छलफल चलिरहेको समेत जानकारी दिनुभयो । सिट बाँडफाँटको विषयमा सहमति नभएका विषयलाई चाँडै नै शीर्ष नेतृत्वले किनारा लगाएर आसन्न निर्वाचनको तयारीमा जुट्ने अध्यक्ष यादवले बताउनुभयो ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले सिट बाँडफाँटको विषय चाँडै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री तथा मधेस विश्वविद्यलायका कुलपति लालबाबु राउत गद्दी, नेपाल सरकारका वनमन्त्री प्रदीप यादव, विश्वविद्यलायका सहकुलपति तथा प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह, मधेस विश्वविद्यलायका उपकुलपति प्रा डा दीपक शाक्य, विभिन्न विश्वविद्यलायका उपकुलपति, समाजसेवी तथा राजनतीतिक दलका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।