कोरोनाको सङ्क्रमणको चौथो लहरको त्रास

काठमाडौँ, १९ साउन : नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा सङ्क्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि सङ्क्रमण बढ्न थालेको बताइएको छ ।

नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको सङ्क्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ । पहिले यहाँ सङ्क्रमणदर ०.५ प्रतिशतसम्म झरेकामा अहिले १५ प्रतिशतभन्दा माथि पुगेको छ । साउन १८ गते नौ सय १५ सङ्क्रमित, साउन १७ गते आठ सय १४, साउन १६ गते आठ सय ९५ सङ्क्रमित र एक जनाको निधन भएको छ । यस्तै साउन १५ गते छ सय २०, साउन १४ गते चार सय ३८ र दुई जनाको मृत्यु, साउन १३ गते पाँच सय ७७ जना र दुई जनाको मृत्यु, साउन १२ गते सात सय १० र दुई जनाको मृत्यु, साउन ११ गते पाँच सय ६४ र एक जनाको मृत्यु, साउन १० गते छ सय ३८ र दुई जनाको मृत्यु भएको छ ।

यसरी सङ्क्रमण दैनिक बढेर हजारको नजिक पुग्न थालेको छ । दैनिक सङ्क्रमण बढिरहेकाले नेपालमा कतै सङ्क्रमणको चौथो लहर आएको त होइन भन्ने लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको लहर ग्राफले देखाउने गरेको र अहिले देखिएको सङ्क्रमणको ग्राफले अर्को लहरको सङ्केत गरेको बताउनुभयो । सरकारले आधिकारिकरूपमा सङ्क्रमणको चौथो लहर भन्ने नगरेको र सङ्क्रमणको ग्राफले नै लहर बताउने गरेको उहाँको भनाइ रहेको छ । “हामीले पहिले पनि ग्राफ बढे पनि सङ्क्रमणको लहर भनेको थिएनाँै । अहिले पनि हामी भन्दैनौँ”, उहाँले भन्नुभयो, “तर अहिले सङ्क्रमणको ग्राफले आफैँ अर्को लहर देखाएको छ ।”

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले अहिले दैनिक बढिरहेको सङ्क्रमणले चौथो लहरको सङ्केत गरेको बताउनुहुन्छ । “सरकारले आधिकारिकरूपमा चौथो लहर भन्ने गरेको छैन । तर अहिले दैनिक हजारको सङ्ख्याले सङ्क्रमणको चौथो लहरको सङ्केत गरेको छ”, उहाँले भन्नुभयो, “यदि यसैगरी सङ्क्रमण बढ्न थाल्यो भने चौथो लहर नआउला भन्न सकिन्न ।” उहाँले सङ्क्रमण साउन र भदौमा धेरै माथि (पिक)मा पुग्ने र त्यसपछि घट्ने बताउनुहुन्छ ।

खुला सीमा भएकाले दैनिक सीमानाकाबाट आउने मानिसमा सङ्क्रमण देखिने गरेको छ । ती मानिसहरूले नै सङ्क्रमण सारिरहेका छन् । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले साउनदेखि नै कोरोना भाइरस सङ्क्रमणको चौथो लहर सुरु भएको बताउनुहुन्छ । “सङ्क्रमणको पाँच प्रतिशतभन्दा माथि भयो भने अर्को लहर आएको भन्ने हुन्छ”, उहाँले भन्नुभयो, “नेपालमा अहिले बढेको सङ्क्रमणको अवस्था हेर्दा १५ प्रतिशतकै हाराहारीमा रहेको छ ।” उहाँले अहिलेको सङ्क्रमणको तह माथिल्लो तह (पिक लेभल)मा पुगेपछि पुनः घट्ने बताउनुहुन्छ । उहाँले भारतको खुला सिमाना र विदेशबाट आएका सङ्क्रमितले सङ्क्रमण सार्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार अहिले देखिएको ‘विएफाइव’ भेरियन्टले छिटो मानिसमा सारे पनि सङ्क्रमितलाई भने गम्भीर बनाउँदैन । उहाँले सङ्क्रमित बढिरहेकाले जनस्वास्थ्यका मापदण्ड लागू गर्न र कोरोना भाइरसको चौथो बुष्टर लगाउन आग्रह गर्नुभयो ।

नेपालमा पहिलोपटक २०७६ माघ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । यस्तै दोस्रो सङ्क्रमित चैत १० गते देखिएको थियो । सरकारले दोस्रो सङ्क्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी (लकडाउन) गरेको थियो । नेपालमा पहिलो लहर विसं २०७६ चैतदेखि २०७७ मङ्सिरसम्म चलेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सङ्क्रमणका दोस्रो लहर विसं २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म देखिएको थियो ।

मन्त्रालयले सम्भावित सङ्क्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई सङक्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको छ । यस्तै मन्त्रालयले देशभरिका १७ अस्पताललााई सम्भावित जोखिमलाई ध्यानमा दिएर कोरोना भाइरसका बिरामीको उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड हुने स्थानमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ । सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

यस्तै कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ । मृतक अधिकांश खोप नलगाएका कोरोना भाइरसको सङ्क्रमणबाट छ महिनासम्म कसैको पनि निधन भएको थिएन । तर पछिल्लो दिनमा भने दैनिक एक वा दुई जनाको सङ्क्रमणबाट निधन हुने गरेको छ । साउन १ गतेबाट सङ्क्रमणबाट मानिस मर्न थालेका हुन् । पछिल्ला समय कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाएकामध्ये ८० प्रतिशतले खोप नलगाएको पाइएको छ । महाशाखाका प्रमुख डा गेलालले सङ्क्रमणबाट निधन भएकामध्ये ८० प्रतिशतले खोप नलगाएको र २० प्रतिशतले पूर्ण मात्राको खोप नलगाएको जानकारी दिनुभयो ।

बढ्दै भक्तपुरमा अपराध, एक वर्षमा ८३२ वटा घट्ना, एक हजार ६ अभियुक्त, ७४५ पक्राउ, २६३ जना फरार

भक्तपुर, १५ साउन : भक्तपुरमा गतवर्षहरुको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ । आज महानगरीय प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०७८/०७९ मा भएका बिभिन्न अपराधका घट्नाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा परिषर प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले यसबारे जानकारी दिदै भक्तपुरमा अपराधको घट्ना बढेको बताउनु भएको हो ।

पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, “अपराधका घट्नाहरु बढ्दै छ, आर्थिक वर्ष २०७६/०७७ मा ६५२ वटा अपराधका घटना भएको भक्तपुरमा आर्थिक वर्ष २०७७/०७८ मा ५६५ घट्ना थियो, तर आर्थिक वर्ष २०७८/०७९ मा अपराधका घट्ना बढेर असार मसान्सम्म ८३२ वटा पुगेको छ, अपराधसँगै चुनौती थपिएका छन् ।”
प्रहरी परिसर भक्तपुुरले आ.व. २०७८/०७९ मा ६६० वटा अपराधका घट्ना घट्ने अनुमान गरेकोमा अनुमान भन्दा घट्ना बढी भएको उहाँको भनाई थियो ।

भक्तपुरमा बलात्कार, बलात्कार उद्योग, हत्या, चोरी, ठगी, चेक बाउन्स, लागू औषध कारोबार तथा सेवन अध्याधिक बढेको पाईएको छ । यहाँ घटेका अपराध मध्ये १४ दशमलव ६६ प्रतिशत घट्ना महिला तथा बालबालिका सम्बन्धी रहेको उहाँले जानकारी दिनु भयो ।

एक वर्षको अबधिमा भक्तपुरमा बैंकिङ् कसुरमा २४७, चोरीमा ९७, अभद्र व्यबहारमा ७०, झुण्डिएर मृत्युमा ६०, भवितव्य ज्यान, ५२, फुटकर ज्यान ५२, लागू औषधमा ४२, जबरजस्ती करणीमा ४०, सवारी ज्यानमा ३१, ज्यान मार्ने उद्योग १९, विष सेवनमा १७, जुवामा १६, बहुबिवाहमा १२, ठगीमा ११, जबरजस्ती करणी उद्योगमा नौ, कर्तव्य ज्यानमा सात, मानव बेचबिखनमा सात, आत्महत्या दुरुत्साहनमा सात, बाल यौन दुव्र्यबहारमा चार, मुद्रा सम्बन्धी कसुरमा चार, चोरी उद्योगमा तीन मुद्धा दर्ता भएका छन् ।

त्यस्तै सवारी अंगभंगमा तीन, गम्भिर उत्तेजनामा कुटपिट गरेकोमा तीन, बगलीमारामा दुई, हामफाली आत्महत्या गरेकोमा दुई, लिखत सम्बन्धी कसुरमा दुई, पशु सम्बन्धी कसरमा दुई, जेष्ठ नागरिक सम्बन्धी कसुरमा दुई, अपराधिक उपद्रवमा दुई, संक्रमण रोग फैलाउनेमा दुई, बिस्फोटक पदार्थमा एक, चक्कुले घाँटी रेटी मृत्युमा एक, सार्वजनिक स्थलमा यौन कार्य गरेकोमा एक, बैंकिङ तथा बित्तिय कसुरमा एक, अपरहणमा एक, नागरिकता सम्बन्धी कसुरमा एक, गर्भ संरक्षक सम्बन्धी कसुरमा एक, बालबालिका सम्बन्धी कसुरमा एक र जातीय भेदभाव तथा छुवाछुतमा एक गरि कूल ८३२ वटा मुद्धा दर्ता भएको उहाँले जानकारी दिनु भयो ।

यी घट्नामा एक हजार ६ जना अभियुक्त रहेको मध्ये ७४५ जना पक्राउ परे पनि २६३ जना अझै फरार रहेको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजू पाण्डेले अपराधमा कूल घट्ना र अभियुक्त मध्ये ७४ दशमलव ५ प्रतिशत, बैंकिक कसुरमा २१ दशमलव ५ प्रतिशत र अन्यमा ९१ दशमलव तीन प्रतिशत अभियुक्त पक्राउ परेको जानकारी दिनु भयो ।

कार्यक्रममा प्रहरी उपरीक्षक श्रेष्ठले धेरै घट्नाको कारक लागू औषधनै रहेको बताउदै लागू औषध, जबरजस्ती करणी, चोरी जस्ता घट्ना हरेक वर्ष ११ प्रतिशतका दरले बढीरहेको भन्दै यसलाई नियन्त्रण गर्न सिंगो समाज सक्रिय हुनु पर्ने बताउनु भयो ।

एमाले केन्द्रीय कार्यालयमा खीर खाने कार्यक्रम

काठमाडौँ, १५ साउन  : नेकपा (एमाले) को केन्द्रीय कला, साहित्य तथा संस्कृति विभागले आज साउन १५ को अवसरमा स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रम आयोजना गरी किसान संस्कृति मनाएको छ । सो अवसरमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले हाम्रा चाडपर्वहरूले टाढिन लागेका सम्बन्ध ताजा बनाइराख्ने बताउनुभयो ।

एमालेको पार्टी कार्यालय च्यासल (ललितपुर)मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले हाम्रा चाडपर्वहरू सांस्कृतिका खानी भएकाले त्यस्ता पर्वका नकारात्मक कुरालाई छोड्दै सकारात्मक पक्षलाई मनन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सो विभागका प्रमुख रघुजी पन्तले किसान संस्कृतिका रुपमा रहेको खीर खाने कार्यक्रमले आपसी भेटघाट र सद्भाव बढाएको बताउनुभयो ।

खीर खाने कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यलगायत विभिन्न नेता, संस्कृतिकर्मी, लेखक, कलाकार र पत्रकारहरुको सहभागिता रहेको थियो ।

सभामुखबाट नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौँ, १५ साउन  : सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ २०७९ आज प्रमाणित गर्नुभएको छ । सो विधेयक प्रतिनिधिसभामा उत्पत्ति भई सङ्घीय संसद्बाट पारित भएको हो । अब सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिनेछ ।

खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर छ रेक्टर स्केलको भूकम्प

काठमाडौँ, १५ साउन : खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको राससलाई जानकारी दिनुभयो । साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले अहिलेसम्म भूकम्पबाट कुनै मानवीय क्षति नभएको जानकारी दिनुभयो ।

साउन १५ खिर खाएर मनाइँदै

काठमाडौँ, १५ साउन  : साउन १५ गते आज नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । इष्टमित्र र चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ ।

यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् । चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ ।

यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ । नेपाली वृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।

दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुन्छ ।

६२० मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

काठमाडौँ, १५ साउन : देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ६५१ जनाको पिसीआर र तीन हजार १९५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २९७ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार ६२ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २५ हजार ४३६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५६७ रहेको छ ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६७ पुगेको छ । होम आइसोलेशनमा चार हजार ४२४, संस्थागत आइसोलेशन १४३ र आइसियू ३३ र भेन्टिलेटरमा पाँच सङ्क्रमित रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ र कास्की छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ६०५ र ललितपुर ५०५ र भक्तपुरमा ३७ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सरकारी कर्मचारी र सार्वजनिक पदमा कायम रहेको व्यक्ति दलको सदस्य हुन नसक्ने

काठमाडौँ, १५ साउन  : निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति तथा कुनै सार्वजनिक पद धारण गरेको कारणबाट संविधान तथा कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य रहेको व्यक्ति कुनै राजनीतिक दलको सदस्य हुन नसक्ने स्पष्ट गरेको हो ।

केही दिनयता विभिन्न आम सञ्चारमाध्यमबाट सार्वजनिकरूपमा समेत राजनीतिक दलको सदस्यता वितरणका सम्बन्धमा विभिन्न टीकाटिप्पणी, बहस, छलफल, जिज्ञासा, चासो र चिन्ता व्यक्त भइरहेको प्रति आयोगको आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सोही व्यहोराको जानकारी गराई उपरोक्तअनुसार भए गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशन दिएको छ ।

त्यसैगरी नेपालको संविधान तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दर्ता भएका राजनीतिक दलहरुले दलको विधानबमोजिम सदस्यता वितरण गर्दा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ (२) को पूर्णरूपले पालना गर्न गराउन र यसरी वितरण गरिएको सदस्यतासम्बन्धी विवरण निर्वाचन आयोगबाट माग गरिएको बखत उपलब्ध गराउन सक्ने गरी स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहमा नेपाली नागरिकताको प्रमाणपत्र तथा निर्वाचन आयोगद्वारा जारी गरिएको मतदाता परिचयपत्रको आधारमा व्यवस्थित र अद्यावधिक गरी राख्ने व्यवस्था मिलाउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम सबै राजनीतिक दलहरुलाई निर्देशन दिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ ले दलको सदस्यता वितरण गर्ने सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ र उक्त दफाको उपदफा (१) ले दलको विधानबमोजिम अधिकार प्राप्त पदाधिकारीले दलको सदस्यता वितरण गर्न सक्नेछ भनी व्यवस्था गरेको साथै उपदफा (२) ले सदस्यता वितरण गर्दा १८ वर्ष उमेर पूरा भएको, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको पनि हुनुपर्ने आयोगले जनाएको छ ।

यसरी सदस्यता वितरण गर्ने र कुनै पनि व्यक्ति सम्बन्धित दलको सदस्यताका लागि योग्य भए÷नभएको यकिन गर्ने जिम्मेवारी स्वयं राजनीतिक दलकै हुने र आपूmले वितरण गरेको सदस्यको विवरण अद्यावधिक गरी दलको विधानबमोजिम स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहमा राख्नुपर्ने दायित्व पनि सम्बन्धित राजनीतिक दलकै भएकाले राजनीतिक दलको सदस्यता वितरण तथा अद्यावधिक सम्बन्धमा आयोगले सबै राजनीतिक दलहरुलाई कानूनबमोजिम गर्न÷गराउन स्मरण गराएको छ ।

साउन १५ : दूधको माग उच्च

काठमाडौँ, १५ साउन  : आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ । आज करिब ५० लाख लिटर दूध खपत भएको छ । मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा आज झन् धेरै माग भएको हो ।

नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ गते खीर खाने दिनका लागि बजारको मागअनुसार पु¥याउनका लागि दुग्ध उद्योगहरुलाई धेरै गाह्रो भएको थियो । उहाँले अन्य दुग्ध पदार्थ उत्पादन नगरी आजको दिन दूधको माग धान्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

एसोसिएशनले साउन १५ मा ‘खीर खाऔँ, आफ्नो परम्परा जोगाऔँ’ नाराका साथ देशभर सबैलाई खीर खान आह्वान गर्दै सबै प्रदेशहरुमा खीर खुवाउने कार्यक्रम भएको थियो थियो । केन्द्रीयस्तरको कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, मन्त्रालयका सचिव दीपककुमार खराल लगायतको उपस्थिति रहेको थियो ।

सूर्यविनायक वडा नं. ८ ले गर्यो एसईई उतीर्ण विद्यार्थी र खेलाडीलाई सम्मान

भक्तपुर, १४ साउन । सूर्यबिनायक नगरपालिका ८ नं.वडा कार्यालयले एसईई परीक्षा उीर्ण विद्यार्थी तथा खेलाडीलाई सम्मान गरेको छ । शनिवार कार्यालयले आयोजना गरेको सम्मान कार्यक्रममा वडा नं। ८ बाट एसइई परीक्षामा उत्तीर्ण हुने ८९ जना विद्यार्थीहरुलाई शसनवार विद्यार्थीहरुलाई सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईले सम्मान गर्नु भएको वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेले जानकारी दिनु भयो ।

त्यसैगरि कार्यक्रममा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम राख्न सफल सिपाडोलकी खेलाडी गोमा सापकोटालाई पनि सम्मान गरेको छ । सापकोटाले टेबुल टेनिस बललाई १ मिनेटमा २४९ पटक भुइमा नखसाई हानेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्व कीर्तिमान राख्न सफल भए पछि कार्यालयले उहाँलाई सम्मान गरेको हो । नगरपालिकाकी उपप्रमुख भट्टराईले उहाँलाई स्म्मान गर्नु भएको हो ।