ऐतिहासिक बोकाचो गढीँदेखि मालीगाउँसम्म पर्यटकीय गन्तव्य बन्दै

भक्तपुर, १० बैशाख : सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थि ऐतिहासिक बोकाचो गढीँ अचेल आन्तरिक पर्यटकको रोजाईको गन्तव्य बन्न थालेको छ । पाँचवर्ष अगाडिसम्म निकै ओझेलमा परेको यो गढीँ जनप्रतिनिधिको आगमनसँगै यसले स्वरुप फेरिए पछि अचेल आन्तरिक गन्तव्य बन्न थालेको हो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा भक्तपुर आक्रमण गर्नु अगाडि बंकर बनाएर बसेको २१०० फिट माथिको उचाइमा रहेको यो गढीँमा वडाध्यक्ष किरण थापाले सडकनै निर्माण गरिदिए पछि भने अहिले आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको हो । सडक एवं पूर्वाधारको बिकाससँगै आन्तरिक पर्यटकको आगमन बढेपछि यहाँका बासिन्दाको आम्दानीको श्रोतसमेत बढेको छभने स्थानीयस्तरमै रोजगारीको अवसरहरु जुट्न थालेका छन् ।

पाँचवर्ष अगाडिसम्म पैदल हिड्ने सजिलो गोरेटो बाटो समेत नभएर जंगलको ठाडो बाटो हिड्नु पर्ने यहाँका अधिकांश लामा बस्तीका बासिन्दा यतिखेर भने ६ मिटर फराकिलो सडकमा हुइकिन पाए पछि दंग पर्न थालेका छन् ।

नेपाल एकीकरणको क्रममा भक्तपुर आक्रमण गर्नु अगाडि पृथ्वीनारायण शाहले यहाँको आशापुरेश्वर महादेव मन्दिरमा दर्शन गरि बोकाचो गढीमा आएर बंकर बनाएर बसी भक्तपुृरलाई हेर्दै यहाँको आक्रमणको योजना बनाएर भक्तपुरमाथि विजयी हासिल गरेकोे ऐतिहासिक कथन रहेको वडाध्यक्ष किरण थापा बताउनु हुन्छ ।

उहाँले भन्नुभयो, “विगतमा यो ठाउँ निकै ओझेलमा परेको थियो, यो रमणीय ठाउँ जहाँबाट सिंगो भक्तपुरमात्र नभई, उपत्यका र हिमाली दृश्यहरु देख्न सकिन्छ । यो ऐतिहासिक ठाउँ भएपनि निकै ओझेलमा परेको ठाउँलाई हामी आएपछि गढीँसम्म आइपुग्ने सडक निर्माण गर्न सफल भयौँ, अहिले टावर बनिसक्यो, मन्दिर बन्दैछ ।”

बोकाचो गढीँमा वडाले सडक पुर्याए पछि नेपाली सेनाले टावर बनाइदिएको छ । गढीँ आफैमा टावर हो, त्यसमाथि पनि सेनाले टावर बनाइदिए पछि उपत्यकाको मनोरम दृश्य छर्लङ्ग देखिने भएपछि आन्तरिक पर्यटकको आगमन बढेको हो । शनिवार यहाँ निकै भीड लाग्ने गरेको छ । नगरपालिकाले टावर नजिकै बिन्ध्यवासिनी मन्दिर निर्माण गरिरहेको छ । वडाले यो ठाउँलाई पिकनिक स्पोर्टका रुपमा विकास गरेको र नगरपालिकाको लगानीमा सार्वजनिक शौचालय निर्माण गरेको छ । यहाँ अझै धेरै पूर्वाधार निर्माण गर्न बाँकी रहेको वडाध्यक्ष थापाले बताउनु भयो ।

वडाध्यक्ष थापाले भन्नुभयो, “गढीको भित्र रहेको बंकर अहिले पुरिएको छ । यो उत्खनन्को पर्खाइमा छ, ऐतिहासिक एवं पुरातात्विक सम्पदा जथाभावी उत्खनन गर्नु पनि भएन, नेपाली सेनाले उत्खनन् गर्ने कुरा गरिरहेको छ, पुरातत्व विभागले उत्खनन्मा पक्कै ध्यान दिनु पर्ने आवश्यकता छ ।” बंकर माथि पुराना र ऐतिहासिक इँटा तथा ढुङ्गाहरु अहिले पनि भेटिन्छन् । यसको संरक्षण आवश्यक रहेको छ । नगरपालिकाले संरक्षणको योजना बनाइ रहेको उहाँ बताउनु हुन्छ ।

तत्कालिन जिल्ला विकास समितिको सदस्य हुँदा थापाकै पहलमा सडक निर्माण गरेर सिपाडोल, पाटी भञ्याङमा सडक उद्घाटनको क्रममा पहिलो पटक गाडी जादा गाडीलाई समेत फूलमालाले स्वागत गरेको यो ठाउँमा अहिले पक्की सडकहरु बनेका छन् ।
सिपाडोलमा रु. ३ करोड ५० लाखको लागतमा घ्याम्पे डाँडाबाट पाटी भञ्याङ, आशापुरी, कुशादेवी ६ किलोमिटर सडक, रु. ५० लाखको लागतमा घ्याम्पेडाँडा रानीकोट सडक, पाटी भञ्याङबाट बोकाचो गढीसम्म जान सडकको नयाँ ट्रयाक खोल्दै नालीसहितको सडक निर्माण गर्न सफल भएपछि स्थानीयको मुहार सधै हास्न थालेको छ ।

लामा बस्तीले भरिएको यो ठाउँका स्थानीय सन्तबहादुर तामाङ्ले यो ठाउँको मुहार फेरिएला र यहाँको बस्तीमा खुसी आउँला भन्ने भन्ने सोच्नै नसोचे पछि जनप्रतिनिधि आएपछि यो ठाउँले मुहार फेरेको बताउनु भयो । उहाँले भन्नुभयो, “बोकाचो गढीँको केही प्रचार थिएन, यहाँ बाहिरबाट मान्छे आउदैनथे, बरु मकै, कोदो, आलू खान बदेँल आउथे, हिड्ने फराकिलो बाटो थिएन, भारी बोकेर साधुरो उकालो बाटो हिड्नु पर्दा टाउँकोबाट मात्रै हैन, पैतालाबाट पनि पसिना आउँथ्यो, हेर्दा हेर्दै पाँच वर्षमै यहाँको मुहार फेरियो, हाम्रो अनुहारमा खुसी लिएर आयो ।”

वडाअध्यक्ष थापाको पहल र बजेट व्यबस्थापनमा सडक बनेपछि अहिले आम्दानीको श्रोत बढ्न थालेको यहाँका बासिन्दा बताउँछन् । स्थानीय कूलबहादुर तामाङ अचेल यहाँ रमाउन, यहाँको लोकल कुखुरासँग ढिडो खान टाढाबाट मानिसहरु आउँने क्रम बढेको, चिया, खाजाहरु बिक्री हुन थालेकाले स्थानीयमा आम्दानीको श्रोत गाउँमै आउन थालेको बताउनु हुन्छ ।

त्यसैगरि डोलेश्वरबाट मालीगाउँ जाने र काक्राबारीजाने चार किमि सडक बनेपछि ओझेलमा परेको मालीगाउँ समेत पर्यटकीय गन्तव्य बनेको छ । माली गाउँमा होटलहरु खुल्न थालेको, आन्तरिक पर्यटकको आगमन बढेको वडाध्यक्ष थापा बताउनु हुन्छ । रानीकोटका दीपक सापकोटा रानीकोट, पाटी भञ्याङ, काभ्रेको कुसादेवी जोड्ने सडक, बोकाचो गढी जाने सडक, मालीगाउँ काक्राबारी जाने सडक बनेसँगै पिछडिएको यहाँको बस्तीको मुहारमा खुसी आएको बताउनु हुन्छ ।

दरबार स्क्वायरमा हाट बजार सम्पन्न

भक्तपुर, १० बैशाख : भक्तपुर चेम्बर अफ कमर्सले भक्तपुरमा आयोजना गरेको एक दिने हाट बजार सम्पन्न भएको छ । स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्ने उदेश्यले जुजु इभेण्टसले भक्तपुर दरवार स्क्वायर परिसरमा सञ्चालन गरेको हाट बजारमा २५ वटा स्टलहरु राखिएको थियो । खाद्य सामग्री, हस्तकला, कृषि उत्पादन, नेपाली लत्ता कपडा आदिका स्टलहरु राखिएको बजारको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बिहान उद्घाटन गर्नु भएको थियो ।

मल्लले स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्ने उदेश्यले तथा आयात प्रतिस्थापन गर्न सकिने किसिमका उत्पादनहरुलाई विशेष प्रथमिकतामा राखेर प्रवद्र्धन गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले सबैको सहकार्यबाट स्थानीय उत्पादनहरुको विकासमा सहयोग पुग्ने बताउदै भक्तपुर चेम्बर अफ कसर्मले जिल्लाका विभिन्न स्थानहरुमा यस प्रकारको हाटबजारहरु सञ्चालनका लागि प्रोत्साहन गर्ने बताउनु भयो ।

जुजु इभेण्टसका सुसान्त सुवाल, आसिम वेंजु, कमर्सका केन्द्रिय सदस्य रोशन भोयद्यो, परशुराम दाहाल लगायतले हाट बजारले उपभोक्तामा दिने राहत र प्रभावकारीताकोबारेमा चर्चा गर्नु भएको थियो । हाट बजारमा स्थानीय बासिन्दाले अवलोकन गर्नुका साथै सामानहरु सुपथ मूल्यमा बिक्री गरिएको बताइएको छ ।

भोलीबाट सुरु हुने एसईई परीक्षाको सबै तयारी पुरा

भक्तपुर, ८ बैशाख : बैशाख ९ गते अर्थात भोली बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पुरा भएको छ ।

कोरोना महामारीका कारण शैक्षिक सत्र २०७७ र २०७६ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वाथ्य मापदण्ड पुरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरि तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनु भयो । परीक्षाका लागि ती केन्द्रहरुमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका आवश्यक सामग्रीहरु जिल्लाजिल्ला पठाइसकेको उहाँले जानकारी दिनु भयो ।

एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिनु भयो । उहाँले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र १ लाख ५७ हजार ९१४ र छात्रा २ लाख ५७ हजार ५३ जना कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागि हुने भएका छन् ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारकातर्फका २९९ वटा विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईई परीक्षामा सहभागि हुदैछन् । परीक्षामा सबभन्दा कम मनाङ जिल्लाबाट ४३ विद्यार्थी सहभागी हुँदैछन् । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् ।

बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यबस्थापन समिति गठन गरेको छ । यस वर्षको एसईई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यबस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तर पुस्तिका परीक्षण, संपरिक्षण र रुजुको काम समेत गर्ने भएको अध्यक्ष शर्माले जानकारी दिनु भयो ।

परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरेको छ । बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेशअनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरि व्यबस्था गरिएको छ ।
प्रदेश परीक्षा व्यबस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्ने उहाँले बताउनु भयो ।

अध्यक्ष शर्माले भन्नुभयो, “यस वर्ष एक महिना ढिलो गरि परीक्षा सुर हुदैछ, बोर्डले परीक्षाका नियमावली संशोधन गरेर प्रदेशलाई धेरै जिम्मेवारी दिएको छ, त्यसले नतिजाका केही दिन तल माथि हुन सक्ला, यद्यपी बोर्डले बोर्डले साउन १ देखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएका छौँ ।”

कोरोना महामारीका कारण गत वर्षको पढाई प्रभाभिव भएपछि चैत महिनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा सम्पन्न गरि भर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १–१० को आगामी शैक्षिक सत्र सुरु गर्ने गरि शिक्षा मन्त्रालयले व्यबस्था गरेको छ ।–––

नेकपा (एस)द्धारा भक्तपुरमा एक नगर प्रमुख, दुई उपप्रमुख र ३३ प्रतिशत वडाध्यक्षको माग, एमाले र नेमकिपालाई शून्य बनाउने दाबी

भक्तपुर, ७ बैशाख । नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन दलसँग भक्तपुरका चार नगरपालिकामध्ये एक नगरपालिकामा प्रमुख र दुई उपप्रमुख पद माग गरेको छ । एकीकृत समाजवादी भक्तपुर जिल्ला कमिटीले बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको निर्वाचनका लागि गरेको तयारीकाबारेमा जानकारी दिन आज भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो ।

पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर श्रेष्ठले भक्तपुर जिल्लाको चार वटै नगरपालिकामा एमालेको ४० प्रतिशतभन्दा बढी भोट काट्ने दाबी गर्दै यस्तो माग गर्नु भयो ।

त्यस्तै भक्तपुरका ३८ वटामध्ये ३३ प्रतिशतमा वडाध्यक्ष नेकपा (एस) ले पाउनु पर्ने माग गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो, “भक्तपुरमा रहेका पार्टीहरुमध्ये हाम्रो पार्टी अहिले जिल्लामा तेस्रो स्थानमा छ, पहिलो शक्तिका रुपमा काँग्रेस, दोस्रो शक्तिका रुपमा एमाले र तेस्रो शक्तिका रुपमा नेकपा एस नै हो, अबको चुनाब पछि हाम्रो पार्टी भक्तपुरमा दोश्रो हुन्छ ।”

गठबन्धनबाट बाहिर रहेर एक्लै चुनाब लड्नु परे पनि आफ्नो पार्टीले सबै उम्मेदवारलाई तयारी अबस्थामा राखेको बताउदै उहाँले भक्तपुरमा रहेको चार दलीय गठबन्धनमा यसकाबारेमा चार पटक छलफल भएको बताउनु भयो ।

अध्यक्ष बस्नेतले भन्नुभयो, “‘हामीलाई भक्तपुरका चार नगरपालिका मध्ये एक नगरका प्रमुख चाहिन्छ, चारवटा उपप्रमुखमध्ये दुईवटा उपप्रमु्ख चाहिन्छ, ३३ प्रतिशत वडाध्यक्ष चाहिन्छ, हामीले गठबन्धनमा यो प्रस्ताव राखिसकेका छौँ, एउटा पार्टीको करिब टुङ्निे अबस्थामा पुगेको छ, यदी हामीलाई मागको सुनुवाई भएन भने पनि हामी सबै नगरपालिका र वडाहरुमा सबै पदमा उम्मेदवारी दिन उम्मेदवारहरु तयारी अबस्थामा राखेका छौँ ।”

देशको ७७ जिल्ला मध्ये भक्तपुरमात्रै एउटा यस्तो जिल्ला हो जुन जिल्लामा नेकपा एसको ३८ वटै वडामा वडा कमिटी गठन गरिसकेको र सबै तहमा आफ्नो उम्मेदवारी दिन पार्टी तयार रहेको बताउदै गठनबन्धनसँग पार्टीका लागि सिट बाँडफाँडबारे सहमति बन्ने विश्वास व्यक्त गर्नु भयो ।

नेकपा (एस)बाट को को छन् उम्मेदवारका आकांक्षी :

पार्टी अध्यक्ष बस्नेतले चार वटा नगरपालिकाका नगर प्रमुख र उपप्रमुखको उम्मेदवारको नामावली संकलन गरेको छ । जसमा भक्तपुर नगरपालिकामा नगर प्रमुखमा ओमचरण अमात्य र रीता अवाल तथा उपप्रमुखमा डा. राजेन्द्र कोजू र प्रविण वाटी, मध्यपुरथिमि नगरपालिकामा प्रेमानन्दलाल श्रेष्ठ, दुर्गामोहन श्रेष्ठ, भवानी खड्का र पूण्य रत्न, तथा उपप्रमुखमा नविनप्रकाश श्रेष्ठ, शुसिला श्रेष्ठ र ऋतु चित्रकारको नाम जिल्ला कमिटीमा आएको बताउनु भयो ।

त्यसैगरि चाँगुनारायण नगरपालिकामा नगर प्रमुखमा सर्वसम्मत रुपमा रामप्रसाद न्यौपाने तथा उपप्रमुखमा शान्ति पौडेल खड्का, अञ्जना पोखरेल, सूर्यविनायक नगरपालिकामा प्रमुखमा पार्टी अध्यक्ष श्यामसुन्दर बस्नेत, अर्जुन बस्नेत, मधुकर थापा र उपप्रमुखमा दिलिप केसी, शोभा श्रेष्ठको नाम सिफारिस भइ आएकोले उम्मेदवार छनौटका लागि पार्टीको प्रदेश कमिटीमा नाम पठाइने उहाँले बताउनु भयो ।

वडाध्यक्ष तथा सदस्यहरुको नाम भने जिल्ला कमिटीले नै छान्ने गरि तय भएको बताउदै उहाँले ३८ वटा वडामा तय भएका वडाध्यक्ष र सदस्यहरुको नाम भने अहिले सार्वजनिक नगर्ने बताउनु भयो । अध्यक्ष बस्नेतले भन्नुभयो, “वडा तहको नाम अहिले सार्वजनिक गर्दैनौ, केही नाम सार्वजनिक हुँदा एमालेले तीन व्यक्तिलाई फकाएर लैजान खोजेको चाल पायौ, त्यसैले हामी १२ गते मात्रै जानकारी दिन्छौँ, सबैको नाम तयारीमा राखेका छौँ ।”

एउटै उदेश्य एमाले परास्त गर्ने :

आफ्नो पार्टीको एउटै उदेश्य भनेको एमालेलाई शून्यमा पुर्याउनु रहेको भन्दै अध्यक्ष बस्नेतले एमालेलाई निर्वाचनमा परास्त गर्न सिट बाँडफाँडमा नमिले पनि गठबन्धन भने कायम राख्ने बताउनु भयो ।

उहाँले एमालेलाई वडा सदस्य समेत जित्न नदिने रणनीति आफ्नो पार्टीको रहेको बताउदै भन्नुभयो, “एउटा वडा सदस्यसम्म पनि जित्न नदिने गरि मसिनो ढंगले गठबन्धनमा तयारी गरेका छौँ, हाम्रो पार्टीले र अन्य पार्टीले सबै मतदाताको तथ्यांक संकलन गरेका छौँ, अघिल्लो चुनाबमा एमालेले कति मतले जित्यो, हामीले उसको कति भोट घटायौँ, अब कति मतले हराउने भनेर तयारी गरेका छौँ, अब प्रत्येक घर दैलोमा पुगेर २०७४ को भोट धोका भो, माफी दिनुस भन्दै एमाले हराऊ अभियानमा हामी लाग्ने छौँ ।”

माओवादी केन्द्र भन्दा नेकपा एस ठूलो पार्टी भएको दाबी :

पत्रकार सम्मेलनमा नेकपा (एस) का अध्यक्ष बस्नेतले भक्तपुरमा आफ्नो दल तेश्रो स्थानमा रहेको दाबी गर्नु भयो । माओवादी केन्द्रभन्दा आफ्नो पार्टी ठूलो र अगाडि रहेको दाबी प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “भक्तपुरमा रहेका पार्टीहरुमध्ये हाम्रो पार्टी अहिले जिल्लामा तेस्रो स्थानमा छ, पहिलो शक्तिका रुपमा काँग्रेस, दोस्रो शक्तिका रुपमा एमाले र तेस्रो शक्तिका रुपमा नेकपा एस नै हो, अबको चुनाब पछि हाम्रो पार्टी भक्तपुरमा दोश्रो हुन्छ ।”

उहाँले एमालेले विगतमा प्राप्त गरेको मतका आधारमा अहिले ३८ देखि ५५ प्रतिशत मतदाता आफ्नो पार्टीमा ल्याउन सफल भएको दाबी गर्दै भन्नुभयो, “२०७४ को चुनाबमा एमालेले ल्याएको मत र मतादाा मध्ये भक्तपुर नपामा ५५ प्रतिशत, मध्यपुरथिमि नपामा ३८ प्रतिशत, सूर्यविनायक नपाका ४० प्रतिशत र चाँगुनारायणमा २८ प्रतिशत मतदाता हाम्रो पार्टीमा छन्् हाम्रो पाटीमा खुलेर आउन नसकेकाहरुले भोट हाम्रैलाई दिन्छन् ।”

भक्तपुर नगरपालिकामा नेमकिपा शून्य बनाउने दाबी :

पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले नेमकिपाको एकछत्र राज गरेको भक्तपुर नगरपालिकासमेत अब गठबन्धनले कब्जा गर्ने दाबी गर्नु भयो । उहाँले ३० गतेको निर्वाचनमा भक्तपुर नगरभित्रका पाँच वटा वडा गठबन्धनले जित्ने योजना बनाए पनि तीन वटा जित्ने निश्चित भएको दाबी प्रस्तुत गर्नु भयो । उहाँले भन्नुभयो, “यसपालीको चुनाबमा भक्तपुर नगरमा गठबन्धनले तीन वटा वडा जित्ने निश्चित छ, अर्को पाँच वर्षमा त भक्तपुरबाट नेमकिपालाई शून्य बनाउँछौँ, भक्तपुर नगर पनि हामी कब्जा गर्छौ ।”

 

 

कमलबिनायकबाट महिला सम्पर्क विहिन

भक्तपुर, ७ बैशाख । भक्तपुर कमलविनायकबाट एक जना महिला सम्पर्क विहिन भएकी छिन् । सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा न. २, घर भइ भक्तपुर नगरपालिका वडा न. १० कमलविनायक, भत्केकोपाटी बस्ने ४८ वर्षकी विद्यादेवि बराल सम्पर्क विहिन भएकी हुन् ।

उनका छोरो प्रविण बरालका अनुसार हिजो मंलगबार बिहान ६ः३० बजेदेखिबाट विद्यादेबि परिवारको सम्पर्कमा छैनन् । प्रहरीमा खोजी गरिदिन भन्दै परिवारले आज बुधबार निवेदन दिएको छ । उनका छोरा प्रविणले कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा आफन्तलाई खबर गरिदिन समेत आग्रह गरेका छन् ।

एमाले भक्तपुरद्धारा निर्वाचन परिचाल कमिटी

भक्तपुर, ७ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले भक्तपुरले निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

शंखधर पार्टी प्यालेस थिमिमा आज बसेको जिल्ला कमिटीको पूर्ण बैठकले एमालेले निर्वाचनमा केन्द्रित रहेर निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभागका प्रमुख निरन्जन बजगाइले जानकारी दिनु भयो ।

एमाले भक्तपुर जिल्ला अध्यक्ष अध्यक्ष बचन देउजाको नेतृत्व एवं संयोजकत्वमा ३०१ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरेको जानकारी दिदै उहाँले निर्वाचनको गतिबिधिलाई पार्टीले तिब्र बनाउने बताउनु भयो ।

नवौँ पटक जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण

भक्तपुर, २ बैशाख : मध्यान्ह १२ बजेदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भीड बढ्दै गयो । बिस्केट जात्रामा मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न एकैछिनमा मानिसहरु खचाखच भए ।

बासको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर आए, सबैको ध्यान त्यतै केन्द्रित भयो, बिचमा जिब्रो छेड्न तयार भएर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गर्दै आईपुगे ४९ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठ ।

बोडेका बासिन्दाले उहाँको जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाईएको मञ्चमा उक्लिए पछि कर्मी नाईकेहरुले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ति बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो फलामको सुइरोले हजारौ मानिसहरूकै अगाडि वागश्रेष्ठको जिब्रो छेडियो ।

त्यसपछि उहाँले सबैलाई नमस्कार र अभिभावदन गरेपछि चन्द्राँकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर निस्किए बुद्धकृष्ण । महाद्विप बोकेर करिब पौने एकघण्टासम्म बोडेको टोलटोल घुमेर पुनः भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिर भित्र प्रवेश गरेपछि सुईरो निकालेर मन्दिरमा ठोके पछि आज मनाइएको जिब्रो छेड्ने जात्रा सम्पन्न भयो ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रुपमा कार्यरत बुद्धकृष्णले अन्तिम पटक भन्दै यसवर्ष नवौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिलाएका छन् ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने श्रेष्ठले बताउनुभयो ।

परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष नवौ पटक आफूले बिज्रो छेडेको उहाँले बताउनुभयो । यो आफ्नो अन्तिम पटक भएकाले अर्को साल जिब्रो छेडेर जात्रालाई नियमित सञ्चालन गर्न युवा पुस्तालाई तयारीमा रहन उहाँले आग्रह गर्नु भयो ।

यसअघि २०६१ सालदेखि ०६४ सालसम्म जिब्रो छेडेको उहाँले आमाको निधन पछि बोडेको जुजुभाई बाँसश्रेष्ठले ०६५ देखि ०७२ सालसम्म जिब्रो छेड्ेर यो जात्रालाई निरन्तरता दिनुभयो । २०७६ सालमा पुन ः जिब्रो छेड्नु भएका बुद्धकृष्णले २०७७ सालमा लकडाउनका कारण जात्रा हुन नसक्दा जात्रा रोकिएको र २०७८ सालमा पुन आठौँ पटक जिब्रो छेड्नु भएको थियो । यस वर्ष जिब्रो छेडेर उहाँले नवौँ पटक पुर्याउनु भएको हो । २०६० सालसम्म उहाँकै दाजू कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर जात्रा चलाईएको थियो ।

मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जात्रालाई निरन्तर रुपमा सञ्चालन गर्न नगरपालिकाले बजेटको व्यबस्थापन गरेको बताउनु भयो । जात्रा हेर्दै उहाँले भन्नुभयो, “जिब्रो छेड्ने ठाउँ साँघुरो भएपछि जग्गा खरिद गरेर नयाँ पाटी बनाएर यसवर्ष जिब्रो छेडाएका छौँ यो जात्रालाई सहज बनाउन आथिएक व्यबस्थापन गरेका छौँ, अब नयाँ पुस्ताले जात्रालाई निरन्तरता दिनु पर्छ ।”

जात्राको किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले थापेको पासोमा त्यसलाई पारेर कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए बलेको महाद्वीप काठको गहुङ्गो भारी बोकाएर बोडे घुमाए ।

कष्ट सहन नसकी पिशाचले आपूmलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि,अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती छ । एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ ।

तर यो कथनलाई मान्न तयार छैनन्, बुद्धकृष्ण । उहाँ भन्नुहुन्छ, “यो जात्रा नील बाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति भूत, पिसाच कोही नभई नील बाराहीका देव गण हुन् तर यहाँका केही व्यक्तिले भनेको भन्दै पत्रकारले जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर प्रचार गर्दा परम्पराको बदनाम भएको छ, त्यसैले पनि युवा पुस्ता जिब्रो छेड्न तयार छैनन्, जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षर होइनन्, देवगण हुन् यो सबैलाई बुझाइदिनु पर्यो ।”

दिउँसो तीन बजे उठेको ‘योसिङ द्यः’ अर्थात लिङ्गो सात बजे ढालियो

भक्तपुर, १ वैशाख : नयाँ वर्षको अवसरका भक्तपुरमा आठ दिन नौ रातसम्म भव्य रुपमा मनाइने विश्व प्रसिद्ध बिस्केट अर्थात बिस्काः जात्राको योसिङ द्यः अर्थात ५५ हात लामो लिङ्गो आज सँझ सात बजे ढालिएको छ । वर्षको अन्तिम दिन भक्तपुर नगरपालिका ५ योसिंखेलमा साँझ लिङ्गो उठाएर नयाँ वर्ष अर्थात वैशाख १ गते दिनभरी जात्रा गरी साँझ ढाल्ने परम्परा रहेको छ ।

तर यसवर्ष हिजो ३० गते साँझ करिब ५ बजेदेखि हजारौ व्यक्तिहरुको अगाडि यहाँका बासिन्दाहरुले ५५ हात लामो योसिङ द्यः अर्थात लिङ्गो उठाउन खोजे पनि राती अबेरसम्म नसके पछि आज फेरी उठाउने प्रयास गरेका थिए । अथक प्रयास पछि आज साँझ दिउँसो तीन बजे उठाएको लिङगो साँझ सात बजे सम्पूर्ण पुजा गरि तान्त्रिक बिधि अनुसार आजै ढालिएको हो ।

गत वर्ष पनि चैत मसान्तको दिन लिङ्गो उठाउन नसकेपछि बैशाख १ गते दिनभरी प्रयास गरि साँझ पौने सात बजेमात्रै उठाएर एक घण्टा पछि नै ढालिएको थियो । ५५ हात लामो लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो उठाउने प्रचलन अनुसार आठ वटा मोटो एवं लामो डोरी बाधेर चारै तिरबाट गोालाकार रुपमा बसेर लिङ्योलाई योसिङ्को प्वालमा छिराएर वरिपरिबाट डोरीको माध्यमले तानेर ठड्याइएको हो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ । यो जात्रा हेर्न आज हजारौको मानव सागर उर्लिएको छ । लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाईएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो जात्रालाई स्थानीय भाषामा ‘द्यो ल्वाकिगु‘ भनिन्छ ।

जात्रामा रथ जुधाउनुअघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा रहेको छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा रहेको छ । विक्रम संवत् अनुसार सौरमासको आधारमा मनाईने बिस्केट जात्रा बिःसीत अर्थात नागनागिन म¥यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको संस्कृतविदहरुको भनाई छ ।

इतिहासविद्का अनुसार किरात शासकले शासन गर्दै आएको प्राचीन नेपाललाई जितेको खुसीयालीमा लिच्छवि शासकले विजयी ध्वजासहित बिस्का जात्रा मनाइएको जनश्रुति रहेको छ ।

 

माओवादीको प्रचार गरेको भन्दै कुलमानलाई सोध्यो निर्वाचन आयोगले स्पष्टिकरण

काठमाडौं, १  वैशाख । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण पत्र काटेको छ । नेकपा माओवादी केन्द्रको प्रचारसामग्रीमा निर्वाचन आचारसंहिताविपरीत घिसिङको तस्बिर प्रयोग गरिएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

प्रचार सामग्रीमा तस्बिर प्रयोग गर्दा अनुमति लिए/नलिएबारे जानकारी लिन घिसिङलाई पत्र काटिएको आयोग स्रोतले जनाएको छ । स्पष्टीकरणको समयावधि सात दिन दिइएको छ ।

माओवादीको प्रचार सामग्रीमा आफ्नो अनुमतिबेगर तस्बिर प्रयोग गरिएको घिसिङले बताएका छन् । तर उनले यसबारे अहिलेसम्म निर्वाचन आयोगलाई जानकारी गराएका छैनन् । आयोगले घिसिङसँग यसबारे पनि प्रश्न गरेको छ ।

त्यसैगरी गण्डकी प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । सार्वजनिक कार्यक्रममा निर्वाचन खर्च ढाँटेर आयोगमा विवरण पेश गरेको अभिव्यक्ति दिएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । उनलाई पनि सात दिनभित्र लिखित जवाफ दिन भनिएको छ ।

वर्ष २०७८ : चुनौतीपूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

काठमाडौँ, १ वैशाख : वर्ष २०७८ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कमी आउन सकेन । यस वर्ष पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण हुनुका साथै श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा खासै कमी आउन सकेको छैन । नेपाल पत्रकार महासङ्घमा अभिलेखीकरण भएअनुसार २०७८ सालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ७४ घटना भएका छन् ।

पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुव्र्यवहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नीतिगत बन्देजका घटना भएका छन् । श्रमजीवी पत्रकार ऐनले दिएका सेवा, सुविधा कार्यान्वयनको पक्ष भने अघिल्लो वर्षमा पनि चुनौतीपूर्ण रह्यो । विसं २०७७ मा ५१७ पत्रकारको श्रम समस्या रहेकामा २०७८ मा २२१ श्रम समस्या आएको महासङ्घका अध्यक्ष विपुल पोखरेलले जानकारी दिनुभयो । विसं २०७७ मा समाधान हुन बाँकी श्रम समस्या र २०७८ का श्रम समस्यामध्ये झण्डै ३०० पत्रकारका समस्या समाधान भएका छन् ।

महासङ्घको कानुनी सहायता डेस्कमार्फत श्रम समस्या र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननविरुद्ध ३३ घटनाका बारेमा न्यायिक प्रक्रिया चलिरहेको छ । त्यसैगरी २०७८ मा सङ्घ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुन बनाउने तथा संसद्मा दर्ता गर्ने कार्य भएको छ । “संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानुनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थासमेतलाई चुनौती थपिदिएको छ”, अध्यक्ष पोखरेलले भन्नुभयो । कोरोना भाइरस सङ्क्रमणबाट अहिलेसम्म २६ सञ्चारकर्मीले ज्यान गुमाएको महासङ्घले जनाएको छ ।

त्यसमध्ये २०७८ सालमा १८ सञ्चारकर्मीले ज्यान गुमाएका थिए । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न पत्रकार महासङ्घको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै छ । कोभिडको बहाना देखाएर पत्रकारलाई नियमित तलब नदिने, बेतलवी बिदामा राख्ने र जागिरबाट निष्काशन गर्ने कामले निरन्तरता पाएको छ । अध्यक्ष पोखरेलले नयाँ वर्ष २०७९ चुनावी वर्ष रहेकाले नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा तथा भौतिक सुरक्षा, सेल्फ सेन्सरसिपलगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

वैशाख पहिलो हप्तादेखि नै श्रम समस्या समाधानका लागि आवश्यक आन्दोलन, दबाब, कानुनी लडाइँलाई एकसाथ लैजानेगरी योजना बनाएको छ । महासङ्घले यो वर्ष हुने स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनका लागि निर्वाचन आयोगसँगकै साझेदारीमा सबै जिल्लामा महासङ्घले अनुगमन गरेर नागरिकको आफूले चाहेको राजनीतिक दल तथा उम्मेदवारलाई मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने काममा सघाउ प¥ुयाउने योजना बनाएको छ । महासङ्घले निर्वाचनमा कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा निर्वाचन आयोग र अन्य सङ्घसंस्थासँग मिलेर विभिन्न जिल्लामा तालिम दिन थालेको छ ।

महासङ्घका महासचिव रोशन पुरीले भन्नुभयो, “तीन तहकै सरकारले ल्याएका, ल्याउने तयारी गरिरहेका कानुन पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रत्याभूत गरेका अधिकारको पक्षमा हुनुपर्दछ, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम गरिनु हुन्न, त्यसो भएको खण्डमा आन्दोलनमा उत्रिन्छौँ ।” पत्रकारको भौतिक तथा पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक अधिकारको पक्षमा विगत वर्षमा जस्तै नेतृत्वदायी भूमिकामा रहेर आवाज बुलन्द पार्ने महासङ्घले प्रतिवद्धता व्यक्त गरेको छ । महासङ्घले महङ्गी, बजार मूल्य वृद्धि भइरहेको सन्दर्भमा श्रमजीवि पत्रकारको पारिश्रमिक ५० प्रतिशतले वृद्धि हुनुपर्ने माग गर्दै आएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले भने गत फागुनमा श्रमजीवी पत्रकारको पारिश्रमिक २५ प्रतिशतले वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ ।