नयाँ वर्षका अवसरमा बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थी

काठमाडौँ, १ वैशाख : नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो । नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले  जानकारी दिनुभयो ।

बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको उहाँले सुनाउनुभयो । नयाँ वर्षका अवसरमा आज पशुपतिनाथ आउने भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूल ढोकाबाट दर्शन गर्न जान सक्ने गरी व्यवस्था गरिएको छ । पछिल्ला केही वर्षदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथको दर्शनमा आउने भक्तजन बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो । यस अवसरमा पश्चिम मूलढोकामा विशेष सजावट गरिएको छ । महानगरीय प्रहरी वृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध पनि मिलाइएको कोषका संस्कृति महाशाखा प्रमुख पराजुलीले बताउनुभयो ।

नयाँ वर्षका अवसरमा विशेष पूजा गर्न चाहने भक्तजनका लागि पनि व्यवस्था मिलाइएको छ । विगत वर्षदेखि नै वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको थियो । दर्शनार्थीको चापलाई हेरेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ । नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको बाग्द्वार (बाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा भक्तजनको भीड बढ्छ । –––

 

एक करोड २५ लाख ९० हजारको गोल्डेन ह्यान्डसेक प्रदान गर्दै बिदा भए चाँगुनारायणका ३७ शिक्षक शिक्षिका

भक्तपुर, १६ पुस :  गोल्डेन ह्यान्डसेक दिएर चाँगुनारायण नगरपालिकाले आज शिक्षक शिक्षिकालाई बिदाई गरेको छ । चाँगुनारायण नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा कूल एक करोड २५ लाख ९० हजार रुपैयाँ प्रदान गर्दै ३७ जना शिक्षक शिक्षिकालाई बिदा गरेको हो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले गोल्डेन ह्यान्डसेक कार्यविधि बनाएर सेवा निवृत्त भएका शिक्षकहरुको सम्मान गर्दै बिदाई गरेको बताउनु भयो । नगरपालिकाले सेवा निवृत्त हुन बाँकी रहेकोको अवधिको मूल्यांङ्न गर्दै प्रति शिक्षक ५० हजारदेखि ४ लाख रुपैयाँसम्मको चेक तथा सम्मान पत्र प्रदान गर्दै बिदाइ र सम्मान गरेको उहाँले बताउनु भयो ।

उहाँले शिक्षण पेशामै आफ्नो जीवन अर्पण गर्दै हजारौँ विद्यार्थीलाई देशको योग्य नागरिक बनाउन उहाँहरुले गरेको योगदानको नगरपालिकाले उच्च मूल्याङ्न गर्दै नगद सहित सम्मान गरेको बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख बिना बास्तोलाले नगरपालिकाले सामुदायीक विद्यालयको शैक्षिक पद्धतिमा सुधार ल्याएको बताउदै बिदा भएका शिक्षकको रिक्त दरबन्दीमा आउने नयाँ पुस्ताका शिक्षकले गुणस्तरीय शिक्षाको उदेश्य प्राप्तीमा थप टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बिदा भएर जाने बेलामा शिक्षकको मूल्याङ्न गर्दै गोल्डेन ह्यान्सेकको शुरुवात गरेर शिक्षकको मनोबल उच्च बनाउने कार्यको शुरुवात नगरपालिकाले गरेको बताउनु भयो ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले २०७८ साल पुससम्म अनिवार्य अवकाश हुनेलाई ५० हजारदेखि २०८१ सालपछि अवकाश हुनेलाई चार लाख रुपैयाँ दिने गरि नगरपालिकाले कार्यविधि बनाएर गोल्डेन ह्यान्डसेक बितरण गरेको बताउनु भयो ।
विदाई कार्यक्रम पछि शिक्षक केशव सुवेदीले नगरपालिकाले गोल्डेन ह्यान्डसेक सहित सम्मान गरेर बिदाई गर्दा निकै खुसी लागेको बताउनु भयो ।

विद्यार्थीले बनाए विद्युतीय कार

सुदूरपश्चिम, ११ पुस  :  निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् । उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् । झण्डै चार महिना लगाएर निर्माण गरिएको कारको निर्माण लागत रु एक लाख ५० हजार रहेको विद्यार्थीले बताएका छन् ।

कारको नाम ‘सारअल्फा’ राखिएको छ । कार निर्माणमा घरपरिवार र विद्यालयबाट सहयोग तथा हौसला मिलेको विद्यार्थी रोहितले बताउनुभयो । चार वटा ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन् । अर्का विद्यार्थी ऋषिकेशले भन्नुभयो, “अध्ययन सँगसँगै आफूहरुको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौं ।” गुणस्तरीय शिक्षाका लागि पछिल्ला वर्षमा एक्सीस विद्याश्रम अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।