भक्तपुरमा ७६ प्रतिहत मत खस्यो, सबभन्दा बढी चाँगुनारायणमा खस्यो, आजैबाट मतगणना गरिने

भक्तपुर, ३० बैशाख ; आज सम्पन्न भएको स्थानीय तह निर्वाचनमा भक्तपुर जिल्लामा ७६ प्रतिशत मत खसेको छ । जिल्लाको चार वटै नगरपालिकामा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा सुरु भएको मतदान दिनभर उत्साह जनक रुपमा साँझ ५ बजे शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “भक्तपुर जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सुरु भइ सम्पन्न भएको छ, मतदाताको उत्साह जनक रुमा सहभागिता रहेको पाइयो, जिल्लामा कूल ७६ प्रतिशत मत खस्यो ।” उहाँका अनुसार भक्तपुर नगरपालिकामा ७६ प्रतिशत, मध्यपुरथिमि नगरपालिकामा ७५ प्रतिशत, चाँगुनारायण नगरपालिकामा ७७ प्रतिशत र सूर्यविनायक नगरपालिकामा ७५ प्रतिशत मत खसेको छ ।
जिल्लामा कूल एक लाख ८९ हजार ५८४ मतदाता रहेका छन् ।

जसमध्ये भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरपालिकामा ४३ हजार १०४, सूर्यविनायक नगरपालिकामा ४७ हजार ३६७ र मध्यपुरथिमि नगरपालिकामा ४१ हजार ८४३ जना छन् । मतदान सम्पन्न भएपछि जिल्लाको चार वटै नगरपालिकाकामा रहेको ७७ मतदान स्थलमाको २१९ मतदान केन्द्रबाट मत पेटिका मत गणना स्थलमा ल्याउने क्रम जारी छ ।

प्रमुख न्यौपानेले भन्नुभयो, “जिल्लाको चार वटै नगरपालिकाका मतदान केन्द्रबाट मत पेटिका मत गणना स्थलमा ल्याउने क्रम जारी छ, सबै मत पेटिका आए पछि त्यसलाई रुजू गरि सर्वदलइि बैठक राखेर सोही निर्णय अनुसार मतगणना सुरु गर्छौँ ।”

उहाँले मतगणना आज रातीबाटै सुरु हुने जानकारी दिदै मतगणना स्थललाई सुरक्षित राख्न तार जारीले घेरिएको र सबै मतगणना स्थलमा सीसी क्यामरा जडान गरिएको जानकार िदिनु भयो । भक्तपुर नगरपालिकाको दरबारस्क्वायरस्थित जनज्योती पुस्तकालयको पुरोना भवन, मध्यपुरथिमिको बोडेस्थित कृषि बिकास तालिम केन्द्रमा, सूर्यविनायकको प्राणी उद्यानको कार्यालयमा र चाँगुनारायणको नेपाल विद्युत प्राधिकरण तालिम भवन खरिपाटीमा मत गणना हुने भएको छ ।

त्यसैगरि मध्यपुरथिमिस्थित निर्वाचन अधिकृतको कार्यालयले मध्यपुरथिमिबाट मत पेटिका सबै आइसकेको जानकारी दिएको छ । थिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले थिमि नगरपालिका भित्रका सबै मत पेटिका आइसकेकाले आजैबाट मत गणना सुरु गर्ने तयारी गरिएको जानकारी दिनु भयो । भक्तपुर नगरपालिकामा पनि सबै मत पेटिका आइसकेकाले आजैबाट मत गणना सुरु गरिने तयारी भएको बताइएको छ ।

 

१४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं, ३० बैशाख ।  आज भएको स्थानीय तहको निर्वाचनका क्रममा ४४ वटा मतदान केन्द्रको मतदान स्थगित भएको छ। १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदानस्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

सबै स्थानीय तहमा निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षा गरिएको भए पनि निर्वाचनको दौरान विभिन्न जिल्लामा भएका छिटपुट घटना र केही ठाउँमा भएका अप्रिय घटनाले मतदान स्थगित हुन गएको हो।

‘मौसम प्र।तिकुलता र केही ठाउँमा भएका छिटपुट घटना तथा केही अप्रिय घटनाका कारण ४४ वटा मतदान केन्द्रको निर्वाचन रोकिएको छ’, थपलियाले भने’, ‘त्यहाँको बस्तुस्थिति हेरेर चाडै नै मतदानको प्रक्रिया अगाडि बढाउनेछौ।’

ओलीले भने निर्वाचनको परिणाम एमालेको पक्षमा आउछ, अस्ती ९ गतेसम्म देउवाले चुनाब सार्न पठाएको प्रस्ताव मैले मानिन

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको परिणाम एमालेको पक्षमा आउने विश्वास व्यक्त गरेका छन् । शुक्रबार भक्तपुरको बालकोटमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले स्थानीय निर्वाचनमा गठबन्धन भन्दा एमालेले धेरै स्थानमा जित्ने दाबी गरे । ओलीले अब एमाले एक्लै एउटा र अरु मिलिजुली अर्को दल बन्ने बताए ।

वडासम्म पनि एक्लै लड्ने हिम्मत कांग्रेसमा नरहेको उनले बताए । त्यस्तै ओलीले ९ वैशाखसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न प्रस्ताव गरेको र आफुले अस्वीकार गरेको जिकिर गरे । उनले निर्वाचन हार्ने गठबन्धनका तर्फबाट आक्रमण गर्ने काम भइरहेको आरोप लगाए ।

अध्यक्ष शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको दाबी गरेका छन् ।क्रबार स्थानीय तह निर्वाचन २०७९ को अवसरमा भक्तपुरको सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मतदान केन्द्रबाट भोट हाल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

मतदानपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले प्रधानमन्त्री देउवाले गत वैशाख ९ गतेसम्म पनि औपचारिक रुपमा वैशाख ३० बाट चुनाव सार्ने प्रस्ताव गरेको दाबी गरे। उनले आफ्नो अस्वीकारले सहमति नमिलेपछि चुनाव तोकिएकै समयभित्र भएको जिकीर गरे। अध्यक्ष ओलीले देश मूलतः दुई दलीय प्रणालीतर्फ गएको बताए।

दुई दलीय प्रणालीमा एकातर्फ एमाले र अर्कोतर्फ कांग्रेसहितका दलहरु रहेको बताए। नेपाली कांग्रेस पार्टी अब वडा तहमा समेत एक्लै लड्न नसक्ने स्थितिमा नरहेको उनको टिप्पणी थियो।

उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गते मलाई स्थानीय निर्वाचन पर सारौँ भन्ने औपचारिक प्रस्ताव पठाउनुभएको थियो।  निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि र कानूनले बाध्यता भएपछि उहाँहरु तयार हुनुभएको हो। देश मुलतः दुई दलीय प्रणालीतर्फ गएको देखिन्छ। कांग्रेस पनि एक्लै चुनाव लड्ने स्थितिमा रहेन। वडासम्म पनि एक्लै लड्ने हिम्मत रहेन।’

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा जनताको सहभागीता उल्लेख्य र उत्साहजनक रहेको बताए। उनले केही स्थानमा लोकतन्त्रको मूल्य मान्यता विपरीत गठबन्धनले आक्रमणका घटनाहरु गरिरहेको बताए। अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) तर्फ लक्षित गर्दै अहिले पनि केही स्थानमा २०६४ मा झैं बुथ कब्जा गरेर जित्नका लागि विभिन्न आक्रामक गतिविधि गरिरहेको आरोप लगाए।

अध्यक्ष ओलीलले स्थानीय तहको निर्वाचनले अपेक्षित परिणाम ल्याउनेमा विश्वस्त रहेको बताए।

एमाले अध्यक्ष केपी ओली, नेमकिपाका अध्यक्ष बिजुक्छेसम्म गरे मतदान (फोटो फिचर)

भक्तपुर, ३० बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकस्थित बालकोट २ मा रहेको महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गर्नु भएको छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका–५ दरवार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान स्थलबाट मतदान गर्नु भएको हो ।

त्यसैगरि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि मतदान गर्नु भएको छ । उहाँले मध्यपुरथिमि–१ लोकन्थली उप स्वास्थ्य चौकी, निस्ट स्कुलको मतदानस्थलबाट मतदान गर्नु भएको हो ।

आजै नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभा सांसद महेश बस्नेतलेसाविक गुण्डु गाविस भवन हालको वडा कार्यालय भवन मतदान स्थलबाट मतदान गर्नु भएको हो ।

देउवाले डडेल्धुराबाट र ओलीले बालकोटबाट गरे वादप्रतिवाद

काठमाडाै, ३० वैशाख । कम बोल्ने प्रधानमन्त्री शेरबहादुर देउवा र बेलाबखत बोलिराख्ने एमाले अध्यक्ष केपी शर्मा ओलीबीच धेरै वादप्रतिवाद भएको सुनिँदैन । तर, आज चुनावका दिन उनीहरूको रोचक वादप्रतिवाद भयो ।

संयुक्त सत्ता गठबन्धन हाँकिरहेका कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा पुगेर भोट खसाल्दै सरकारले चुनावसम्बन्धी सबै भ्रम चिरेको दाबी गर्दै थिए । उनको प्रतिस्पर्धी दल एमालेका अध्यक्ष केपी ओलीले भक्तपुरबाट देउवाको टिप्पणीको जवाफ एकै छिनपछि दिएका छन् ।

देउवाले निर्वाचनविरोधी शक्तिहरूलाई समेत सहभागी गराएर ३० वैशाखमै निर्वाचन गराउनु सरकारको सफलता भएको बताएका थिए । उनले त्यसो भनेर एमालेसमेतलाई संकेत गर्न खोजेका थिए ।

उनले व्यंग्य गर्दै भनेका थिए,’चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला ।’

गन्यापधुरास्थित असिग्राममा मतदानका लागि पुगेका प्रधानमन्त्री देउवाले भनेका थिए, ‘अहिले चुनाव भइरहेको छ । निर्वाचनविरोधी शक्तिहरू पनि आएका छन् । स्थानीय तहको समृद्धि र विकासका निम्ति यो निर्वाचन महत्त्वपूर्ण छ ।’

अनि देउवाले थपे, ‘अवाञ्छित क्रियाकलाप र तौरतरिका अपनाएर रोक्न खोजियो, हामीले चुनाव गरायौँ । आज सबैले भोट हालिरहेको देखिरहनुभएको छ ।’ के देउवाले भनेझैं ओलीली चुनाव रोक्न लागि परेका हुन् त रु महेन्द्र शान्ति स्कुलमा भोट हाल्न पुगेका एमाले अध्यक्ष ओलीलाई यही कुरा सोधियो ।

‘तपाइले नचाहे पनि शंकाकै बीचमा चुनाव गर्न सफल भएको भनी देउवाले बोलेको कुरामा तपाईंको टिप्पणी के छु भनी सञ्चारकर्मीले मतदानस्थलमा सोधेको प्रश्नमा ओलीको जवाफ थियो- ‘वैशाख ९ गते उहाँले चुनाव सारौँ भनी प्रस्ताव पठाउनुभएको थियो, मैले देशलाई यस्ता कुरा गरेर अब द्वन्द्वतिर नधकेल्नुहोस् भनेँ, अलोकतान्त्रिक बाटो नहिँड्नुहोस् भनेर अलिक राम्रैसँग खबर पठाएको थिएँ । निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि, कानुनले बाध्यता भएपछि उहाँहरू तयार भएको हो । त्यसैले गफै नगरे हुन्छ ।’

ओलीले अरु थपे, ‘मैले अहिलेसम्म यो कुरा भनेको थिइनँ । यस्ता राजनीतिक संवादका कुरा साधारणतया भनिँदैनन् । तर अब भन्दा फरक पर्दैन जस्तो लाग्यो ।’

भोट किन्न राती गुण्डु पुगेर भोज खाइरहेका कांग्रेस नेता परे जनताको घेराबन्दीमा

भक्तपुर । सुर्यबिनायक नगरपालिका ७ गुण्डुका जनतालाई पैसा बाड्न र प्रलोभन दिदै हिडेका कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हरि खडका, क्षेत्रीय सभापति भेषबहादुर कार्की र जिल्ला सचिब शुशिल बस्नेत सहितको टोलीलाई जनताले राती १० बजे घेराबन्दीमा पारेका छन् ।

कांग्रेसको उक्त टोलीले ३ वटा गाडी र २० वटा मोटरसाइकलमा मतदाताको भोट किन्न राति साँडे १० बजे धोबिखोला स्थित पिपल डाँडामा भोज खाइरहदा स्थानियको घेरामा परेका हुन् । एमालेका प्रभावाली नेता महेश बस्नेतको घर भएको र एमालेको लालकिल्ला मानिएको त्यस क्षेत्रमा कांग्रेसले निर्वाचन आचार संहिता विपरित गरेको उक्त कार्यको स्थानीय जनताले घोर बिरोध गरेका छन् ।

राती १० बजे उनीहरुलाई घ्याम्पेडाँडा, खहरे र अन्तलिङ्गेश्वरबाट स्थानियले घेरा हालेपछि गुण्डु क्षेत्र राति ३ बजे सम्म तनाब ग्रस्त बनेको स्थानीयले बताएका छन् । राति नै कांग्रेस जिल्ला सभापति दुर्लभ थापा निकै अत्तालिदै प्रधान्मन्त्री देउवा र बाल्कृष्ण खाँडसंग सहयोग मागे पछि मध्यराती १ बजे डिएसपीको नेतृत्वको जनपथ, सशस्त्र र सेनाको टोली घटना स्थलमा पुगेर आक्रोसित स्थानीयलाई सम्झाएर राती नै काग्रेस नेता कर्यकर्ताको उद्धार गरेको स्थानीयले जानकारी दिएका छन् ।

अहिलेसम्मका विगतमा निर्वाचनमा शान्तिपुर्ण ढंगले निर्बाचन हुने भक्तपुरमा हिजो पनि बिरामी हेरेर फर्कने क्रममा सूर्यबिनायक–५ कटुन्जेमा एमाले अध्यक्ष उम्मेदवार रहेका राजकुमार जोशी र सद्स्य उम्मेदवार मनोज थापा समेतलाई कांग्रेस नेता कार्यकर्ताले दुव्र्यबहार गरि हात पात गरेका थिए ।

अघिल्ला निर्बाचनमा समेत संबेदनशिल ठानिएका बालकोटको गणेश प्राबि र महेन्द्रशान्ति मतदान केन्द्र एवं कटुन्जेको वार्ड कार्यालय, शुसिला भैरब मतदान केन्द्रमा कांग्रेसले कुने हर्कत गर्यो भने एमालेको बलियो पकड भएको सिरुटार दधिकोट गुण्डु सिपाडोल चित्तपोल नंखेलमा रहेका १२ वटा केन्द्रमा समस्या हुन सक्ने बताइएको छ । प्रशासनले सबैतिर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्ने वातावरण मिलाउन र शान्निपूर्ण निर्वाचन सम्पन्न गराउन एमाले भक्तपुरले आव्हान गरेको छ ।

बिरामी भेटन गएका एमाले उम्मेदवारलाई काँग्रेस कार्यकर्ताद्धारा आक्रमण

भक्तपुर, २९ बैशाख । मोटरसाइकल दुर्घटना परेर घाइते भएका पार्टीको कार्यकर्तालाई भेट्न जादै गरेका एमालेका उम्मेदवारलाई काँग्रेस कार्यकर्ताले आक्रमण गरि कुटपिट गरेका छन् । नेकपा एमालेको तर्फबाट सूर्यबिनायक नगरपालिका वडा न. ५ का वडा अध्यक्षका उम्मेदवार राजकुमार जोशी र वडा सदस्यको उम्मेदवार मनोज थापा विरामी भेट्न जादै गरेको अबस्थामा झूटो आरोप लगाउदै कुटपिट गरेर घाइते बनाएका छन् ।

निवर्तमान वडाध्यक्षसमेत रहेका जोशीले भने “हामी बैशाख २७ गते चुनदेवीमा स्कुटर दुर्घटना भई मध्यपुर अस्पतालमा उपचार गरिरहेका हाम्रो पार्टीका सदस्य सुजन त्वायनालाई भेटघाट गर्न जादै थियौं, हामी चढेको गाडीलाई गुण्डा शैलीमा ३÷४ वटा मोटरसाइकलमा आएका कांग्रेस कार्यकर्ताहरुले अपशब्द प्रयोग गरी थप व्यक्तिहरु र प्रहरीलाई बोलाई गाडी खानतलासी गरे, प्रहरीले गाडी र हाम्रो खानतलासी गर्यो, तर कुनै प्रचार सामग्री र पैसा नभेटे पछि त्यस विषयमा छलफल गरेर घर फर्कने क्रममा फेरी स्थानीय नेपाल तरुण दल भक्तपुर जिल्ला अध्यक्ष राजु थापाको भाइ पर्ने प्रदिप थापा (बटे) भन्नेले निर्वतमान न.स.स एवं हाल एमालेबाट न.स.स पदका उम्मेदवार मनोज थापालाई एक्कासी सांघातिक आक्रमण गरि कुटपिट गरे ।”

निवर्तमान वडाअध्यक्षसमेत रहनु भएका जोशीले आफूसहितको उम्मेदवारलाई काग्रेस कार्यकर्ताले झुटो आरोप लगाउदै आक्रमण गरेको र एमाले बिरुद्ध जनतालाई भ्रम फैलाउन केही सञ्चार माध्यमहरुमा ‘पैसा बाढ्न हिडेका एमालेका वडाध्यक्षका उम्मेदवार र वडा सदस्य कटुञ्जेमा नियन्त्रणमा’ भन्ने भ्रम पूर्ण समाचार सम्प्रेषण गर्न लगाएको भन्दै आपत्ति जनाएका छन् ।

नेकपा एमाले सबै खाले निर्वाचनलाई अत्यन्त शान्तिपुर्ण र सौहार्दपूर्ण तबरले सफल बनाउन प्रतिवद्ध जनाउदै निर्वाचन आचारसहिंताको पूर्णपालन गर्न र गराउन प्रतिबद्ध रहदै आएको अबस्थामा झूटो आरोप लगाउदै कांग्रेसले गाडीमै आक्रमण गरेर कुटपिट गरेको उनको भनाइ छ ।

अध्यक्षका प्रत्यासी उम्मेदवार तथा निवर्तमान वडाध्यक्ष जोशीले कांग्रेसले चुनावमा झुटको राजनीतिक फण्डामात्र मच्चाएको भन्दै काँग्रेसको योजनाबद्ध रुपमा फैलाएको भ्रममा नपर्न आम मतदाताहरुलाई हार्दिक अपिल गरेका छन् ।

यसबारेमा बुझ्दा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले मौन अवधिमा एमाले र कांग्रेस दुवै पक्ष रातको समयमा हिडेको तर एमालेका उम्मेदवारहरुले पैसा बाढेको भन्ने प्रमाण कही कतै नभेटिएको बताए । दुवै पक्षको दावी फरक फरक भएता पनि पैसा बाँढेको प्रमाण पुग्ने कुनै पनि ठोस आधार नभएको एसपी श्रेष्ठको भनाइ छ ।

कांग्रेसको आक्रमण र भ्रम फैलाउने गतिविधिलाई कडा शब्दमा खण्डन गर्दै एमाले निकट राष्ट्रिय युवा संघको युथ फोर्सका जिल्ला प्रमुख रविन थापाले कांग्रेस तथा केही मिडियाको गलत प्रयोग गरेको भन्दै समाचारलाई पुष्टी गर्न चुनौती दिए । एमाले कार्यकर्ता माथि आक्रमण गरेर कानूनी फन्दामा परिने डरले भ्रम फैलाएको भन्दै कति पैसा कुन घरमा वा गाडीमा बरामद भयो ? प्रमाण पेश गर्न र सत्यता बुझेर समाचार लेख्न चुनौती दिनु भए ।

निर्वाचनका दिन सूचना विभागको परिचय पत्र देखाएर सवारी साधन चलाउन पाइने

 काठमाडौँ २८ बैशाख : काठमाडौँ २८ बैशाख : स्थानीय निर्वाचन हुने दिन वैशाख ३० गते पत्रकारले सवारी साधन चलाउन पाउने भएका छन्। बुधबार निर्वाचन आयोग र नेपाल पत्रकार महासंघबीच सूचना विभागबाट जारी भएको परिचय पत्र देखाएर पत्रकारलाई सवारी साधन चलाउन दिने सहमति भएको हो। सूचना विभागको परिचय पत्र नभएकाको हकमा भने सम्बन्धित सञ्चार गृहको सिफारिसका आधारमा पास उपलब्ध गराउने सहमति भएको छ।

यसअघि निर्वाचन आयोगले सम्बन्धित सञ्चार गृहको सिफारिसमा निश्चित संख्यामा पत्रकारलाई पास उपलब्ध गराउने र सोही आधारमा सवारी साधन चलाउन दिने बताएको थियो। अब भने सूचना विभागको परिचय पत्र भएकाले सवारी साधन चलाउन पास लिन नपर्ने भएको छ।

मौन अवधिमा दुई पक्षीय झडप, बम विष्फोटसम्म

स्थानीय तह निर्वाचनको मौन अवधि वैशाख २७ मा मध्यरातदेखि शुरु भएको छ । मौन अवधिमा कुनैपनि कार्यक्रम गर्न र मत माग्न निर्वाचन आयोगले निषेध गरेको छ । तर, सो अवधिमा पनि बुधवार दिनभर झडपका घटना भइरहे ।रुपन्देहीको बुटवल उप–महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बाबुराम भट्टराईले पैसा बाँड्न खोजेको आरोप लागेको छ ।

भट्टराई पत्नी माया भट्टराईलाई पैसा बाँड्न खोजेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । वुटवल–१२ स्थित देवीनगरको सुकुम्बासी बस्तीमा उनले पैसा बाँड्न खोजेको आरोप स्थानीयले लगाएका छन् ।

तर, उनको साथमा पैसा फेला नगरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । उनले भने–‘पैसा भेटिएको छैन, विवाद समाधान भैसक्यो ।’ पैसा बाँड्न खोजेको विवाद समाधान भएको केही घण्टामा बुटवलको मिलनचोकमा बम विष्फोट भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकस्थित सनराइज बैंक अगाडि विष्फोट भएको थियो । विष्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्युठानमा मौन अवधिमा भेला भएका सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताको बीचमा झडप भएको छ । सरुमारानी गाउँपालिका–३ मा झडप हुँदा ४ जना घाइते भएका प्युठानकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।

घाइते हुनेहरुमा शंकर विश्वकर्मा, टेकेन्द्र मस्याङ्गी, गुमानसिंह लम्तरी र रमेश राना छन् । घाइते मध्येका रमेश राना सत्तारुढ गठबन्धनका कार्यकर्ता हुन् । उनलाई उपचारका लागि बुटवल लगिएको छ । अरु ३ जना एमालेका कार्यकर्ता हुन् ।

मध्यपुरथिमिमा मतदान केन्द्रको निरिक्षण, प्रचार सामग्री हटाइयो

भक्तपुर, २८ बैशाख । स्थानीय तहको निर्वाचन आउँन दुई दिन बाँकी हुँदा बुधबार जिल्लाका बिभिन्न मतदान स्थल तथा मतदान केन्द्रहरुको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा जिल्लाका बिभिन्न ठाउँका मतदान केन्द्र एवं मतदान स्थल र मतगणना स्थलको अनुगमन गरिएको हो ।

 

मतदान स्थलको तयारी कस्तो भइरहेको छ, मतदान पछि कसरी मतपेटिका लैजाने, मतगणना स्थलको तयारी कस्तो छ, थप गर्नु पर्ने अबस्था छ कि छैन लगायतकाबारेमा अनुगमन गरिएको प्रजिअ शर्माले जानकारी दिनु भयो ।

मध्यपुरथिमिस्थित निर्वाचन अधिकृतको कार्यालयले यहाँका बिभिन्न मतदान केन्द्रहरुको अनुगमन सम्पन्न गरेको छ । मौन अबधीमा पनि आचार संहिता पालना भए नभएको र मतदान स्थलको अबस्था कस्तो छ भन्ने जानारी लिदै आवश्यक तयारी पुरा गर्न अनुगमन गरिएको सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, निर्वाचन अधिकृत मैँया कडेँल, सहायक मतदान अधिकृत केशव सिलवाल, नेपाली सेनाको भैरबवाण गुल्म गठ्ठाघरका मेजर परशुराम थापा, प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनारायण चौधरी, शसस्त्र प्रहरी दुवाकोट गणका प्रहरी नायब उपरीक्षक सुरज कार्कीलगायतको टोलीले बिभिन्न मतदान स्थलको अनगुमन गरेको हो ।

अनुगमनमा मतदानस्थल लगायतका क्षेत्रमा आचारसंहिता विपरित बिभिन्न राजनीतिक दलका झण्डा, फ्लेक्स, मतदान चिन्हलगायतका प्रचार सामग्रीहरु तत्काल हटाउन लगाएको सहायक निर्वाचन अधिकृत सिलवालले जानकारी दिनु भयो ।

मौषमको प्रतिकुल अबस्थाको मध्यनगर गर्दै मतदान केन्द्र र स्थलको तयारी गर्न निर्देशन दिएको जानकारी दिनु भयो । आजै मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण कार्यको समेत अनुगमन गरिएको उहाँले जानकारी दिनु भयो । मतदानको सबै तयारी पुरा भएको समेत उहाँले जानकारी दिनु भयो ।