अमेरिकन राजदूत बेरीलाई अभिनन्दन गर्दै लक्ष्मी-नारायणको मूर्ति उपहार, नेपाललाई बिर्सनै नसक्ने बेरीको भनाई

-रमेश गिरी

भक्तपुर, ४ असोज : भक्तपुर कमलविनायकस्थित सरस्वती बिद्यागृहदेखि नजिकै उत्तरतर्फको गल्लीसम्म बाँसको खम्बामा लहरै ठूला ठूला पहेलोँ कपडाको झण्डा झै देखिने तोरणले सिंगारिएको । गल्ली छिर्ने बित्तिकै काठ र दाँची अप्पा लगायतका पुराना इँटाहरुले बनेको चारतले ठूलो बिशाल भवन ।

भवनको मूल गेटबाट छिर्ने बित्तिकै लहरै बसेका कालीगढ हातमा छिना र हम्मर लिएर ढुङ्गामा बिभिन्न देवी देवताको आर्कति कोर्दै मूर्तिहरु निर्माण गरिहरेका देखिन्छन् । आँगनको बीचमा पलेटी मारेको बुद्धको मूर्तिसँगै बिशाल रुपमा उभिएको एक ऋषिको ठूलो मूर्ति, वरपर भित्तामा बिभिन्न देवी देवता, ऋषिमुनि र नेपाली कला, संस्कृति झल्कने मूर्तिहरु टपक्क बसेका देखिन्छन् ।

मूल गेटबाट भित्र पसेदेखिनै मूर्तिहरुको संग्रहालयमा छिरे जस्तै अनुभूति हुन्छ यहाँको दृश्यले । भवनको प्रत्येक कुनामा बिभिन्न देवी देवताका ढुङ्गाका आकर्षक मूर्तिहरु । पाँचौ तलासम्म काठको भ¥र्याङ् उक्लदैँ जादा कुना र भित्तामा राखिएका ढुङ्गाका आकर्षक मूर्तिहरु र कोठामा लहरै बनेका खोपीमा राखिएको अरु मूर्तिहरुले नेपालको सिंगो सम्पदालाई यहीँ भवनले झल्काइरहेको आभाष हुन्छ ।

मूर्ति संग्रहालय झै लाग्ने नेपाल भोकेसनल एकेडेमी भक्तपुरको यो भवन प्रवेश गरेसँगै दङ्ग पर्नु भयो नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी । नेपालबाट हराएर अमेरिका पुगेका मूर्तिहरु नेपाल घरफिर्ती गर्न र नेपाली सम्पदाको संरक्षणमा महत्वपूर्ण साथ एवं सहयोग पु¥याएको खुसीयालीमा आरपी. फाउण्डेसनले आयोजना गरेको राजदूत बेरीको अभिनन्दन कार्यक्रममा सहभागि हुन आउँदा नेपाल भोकेसनल एकेडेमी भित्रका कलात्मक ढुङका आकर्षक मूर्तिकलाको अनुपम नमूना देखेर बेरी छक्क पर्नु भयो भने केही बेर त्यहाँका दृश्यमै हराउनु भयो ।

नेपालको सम्पदा संरक्षण एवं चोरिएका मूर्ति नेपाल फिर्ता ल्याउने अभियानका अभियन्ता सम्पदाविद् रबिन्द्र पुरीले नेपालबाट चोरी भएर अमेरिका पुगेका हजारौ वर्ष पुराना बिभिन्न देवी देवताका १७ वटा मूर्ति नेपाल फिर्ता ल्याउन सहयोग गर्नु हुने राजदूत बेरीको अभिनन्दन एवं विदाई कार्यक्रममा आउने विदेशी पाहुँना, संस्कृतिकर्मी, पुरातत्वविद् एवं सहभागी महत्वपूर्ण व्यक्तिहरुसमेत दृश्य देखेर निकै चकित पर्नु भयो ।

आरपी फाउण्डेसन फर कन्जरभेसनका अध्यक्षसमेत रहनु भएका सम्पदाविद् पुरीले राजदूत बेरीको कार्यकाल पूरा भएर एक साता पछि घर फिर्न लागेका अवसरमा आयोजित बिदाइ र अभिनन्दन कार्यक्रममा जब पुरीले रातो कपडाले छोपेर राखेको लक्ष्मी नारायणको ढुङ्गाको आकर्षक मूर्ति राजदूत बेरीलाई उपहार स्वरुप दिनु भयो तब बेरीको खुसीको सिमानै रहेन । उहाँले मूर्तिसँगै उभिएर निकै तस्विर लिनु भयो ।

पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट चोरी भएको लक्ष्मी((नारायणको मूर्ति अमेरिकाको डल्लास म्युजियममा फेला परेपछि राजदूत बेरीसहितको विशेष पहलमा एक वर्षअघि घरफिर्ता ल्याएर गत वर्ष सोही मन्दिरमा बेरीसहितको उपस्थितिमा प्रतिस्थापन गरिए पछि निकै चर्चामा आएको थियो । आरपी फाउण्डेसनले निर्माण गरेको त्यही मूर्तिको प्रतिरुप राजदूत बेरीलाई सम्पदाविद् पुरीले उपहार दिएपछि उहाँ निकै दंग पर्नु भयो ।

“हामीे पनौतीमा म्युजियम अफ स्टोलन आर्टस् स्थापना गर्दैछौँ, त्यसको तयारी करिब पुरा भइसकेको छ । लक्ष्मी((नारायण मूर्तिको प्रतिरुप बनाएर पनौतीको निर्माणाधिन ‘म्युजियम अफ स्टोलन आर्टस्’मा राख्ने तयारी गरिरहेका छौँ,” कार्यक्रममा पुरीले भन्नुभयो, “पाटनबाट हराएको त्यहीँ मूर्ति राजदूत बेरीसहितको सहयोगमा घरफिर्ता गर्न सफल भएपछि आज त्यही मूर्तिको प्रतिरुप उहाँलाई उपहार दिन पाउँदा हामी पनि निकै खुसी भएका छौँ ।”

सन् ९० को दशकसम्ममा नेपालबाट हराएका सम्पदाको कुनै अत्तोपत्तो नभएको अबस्थामा पुरातत्वविद् लैनसिंह वाङ्देलले आफ्नो कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९) प्रकाशित गरेपछि भने नेपालबाट हराएर विदेशमा पुगेका मूर्तिहरुकोबारेमा जानकारीसहित चासो बढेको थियो । आरपी फाउण्डेसन फर कन्र्जभेसनले काभ्रेको पनौतीमा २०२३ भित्र सञ्चालनमा ल्याउन लागेको ‘म्युजियम अफ स्टोलन आर्टस्’मा नेपालबाट चोरिएका र बाङ्देलको पुस्तकमा समेटिएका ५० वटा विशिष्ट मूर्तिहरुको प्रतिरुप निर्माण गरेर म्युजियम सञ्चालनमा ल्याउने अन्तिम कार्य भइरहेको पुरीले बताउनु भयो ।

म्युजियममा राख्नका लागि अहिलेसम्म ४० वटा मूर्तिको प्रतिरुप तयार भइसकेको जानकारी दिँदै उहाँले अबको एक वर्षमा सञ्चालनमा आउने म्युजियमले नेपालको प्रमुख सम्पदा र मूर्तिकला संरक्षणको साथै यसको महत्वलाई विश्वमाझ फैलाउन अझ टेवा पुग्ने बताउनु हुन्छ । आफ्नो देशको सम्पत्ती घरफिर्ता ल्याउन सम्बद्ध मुलुक, कुटनीतिक नियोग, पुरातत्वसहितको निकायले राजदूत बेरीजस्तै अनुकरणीय काम गरिदिए नेपालबाट चोरिएका र हराएर विदेश पुगेका नेपाली सम्पदाको घरफिर्तीमा थप टेवा पुग्ने पुरीको भनाइ छ ।

कार्यक्रममा अमेरिकन राजदूत बेरीले आफू जहाँ पुगे पनि सधै नेपाललाई आफ्नो मनभित्र राख्ने बताउनु भयो । उहाँले भन्नुभयो, “नेपाली सम्पदाको संरक्षण र सम्वर्द्धनमा अमेरिकी दूतावासमा रहेको एम्बेसेडर फन्ड फर कल्चरल प्रिजर्भेसनले धेरै काम गरेको छ, म संसारको जुनसुकै कुनामा पुगे पनि नेपाल मेरो मनमा रहनेछ ।” नेपालको कला, संस्कृति र सम्पदाहरु सदैब संरक्षण, संवर्द्धन भएको आफूले हेर्न चाहेको भन्दै उहाँले नेपालको प्रस्तर मूर्तिकला र यहाँको सम्पदाहरु बिर्सनै नसक्ने बताउनु भयो ।

कार्यक्रममा पत्रकार कनकमणि दीक्षितले राजदूत बेरीको सहयोग, सक्रियताले हाम्रो सम्पत्ति घर फर्काउन थालेको भन्दै नेपाल सम्पदाकोबारेमा विश्वमा सूचना एवं समाचार सम्प्रेषण हुन थालेपछि निकै उत्साहजनक अबस्था आएको चर्चा गर्नुभयो । बिभिन्न समयमा बिभिन्न मन्दिरबाट हराएर अमेरिका पु¥याइएका मूर्ति सम्पदाहरूको घरफिर्तीमा राजदूत बेरीले गरेको सहयोग, सक्रियता निकै सराहनीय भएको बताउनु भयो ।

नेपालमा दैनिक रुपमा भगवानका मूर्तिमा अविर र टीका लगाइदिए पनि यहाँको महत्वबारे विश्वलाई बुझाउन नसकेको हुन सक्ने भन्दै पत्रकार दीक्षितले नेपालको सम्पदा पुर्नस्थापना अभियानमा राजदूत बेरीको सक्रियता र सहयोग निकै सह्रानीय रहेको चर्चा गर्नु भयो ।

नेपालबाट हराएर अमेरिककाको बिभिन्न सहर एवं संग्रहालयमा पुर्याइएको १७ वटा मूर्तिहरु सन् २०२१ मार्चदेखि २०२२ अगस्टसम्म राजदूत बेरीकै सहयोगमा फिर्ता भएका थिए । फिर्ता भएका १७ वटा मूर्तिहरु यस प्रकार रहेका छन् ।

पाटन नारायण मन्दिरको लक्ष्मी नारायण, सिटेड गणेश, गोल्ड सिटेड बुद्ध, अप्सरा आकृतिको डुँडाल, इटुबहाल महाबिहारको अप्सरा गन्धर्व, पाटनको यमपी बिहारको मुख्य ढोकाको तोरण, काठमाडौं ओमबहालको अक्शोभ्य बुद्ध, पाटन गहिटीको उमा महेश्वर, मशुपति मन्दिरको चर्तुमुखी शिवलिङ्, पाटनको औलोक्ेश्वर ललितपुरकै बुद्ध, नक्सालको नागराज, भक्तपुर गोल्मढीको पार्वती तारा, टेकु नारायण मन्दिरको मूर्ति, कंकेश्वरी मन्दिरको शिव, काठमाडौंको दुर्गा महिषासुरामर्दनीलगायतका सम्पदाहरु नेपाल फिर्ता गरिएको छ ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0