भक्तपुर, ३ साउन : पुरूषोत्तम महिना (मलमास) सुरु भएसंगै चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुल गाउँमास्थित मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ सुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिनामा मत्स्यनारायणको एक महिने मेला यस मन्दिरमा साउन दुईगतेदेखि सुरु भएको गोकुल गाउँका मन्दिरको स्थानीय संरक्षक गोकर्ण पुरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो तीनसय वर्ष पुरानो मन्दिर हो, दुईवटा पिपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुर्ननिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरिनै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”
स–साना तीन वटा नदीको संगमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका रुपमा समेत लिइने गरिन्छ । मन्दिर संरक्षणसँगै ६४ शिव लिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिषरमा मलमासमा दर्शनार्थीको घुइचो लागेको छ । यहाँको कुण्डमा स्नान गरेमा छालालगायतका बिभिन्न रोगहरु नाश हुने जनविश्वास रहदै आएको छ ।
एक महिनाभरीनै लाग्ने मेलाका लागि सहज रुपमा दर्शन एवं पुजा गर्ने व्यबस्था गरिएको जानकारी दिदै उहाँले मेला बाहेक अन्य महिनामा पनि प्राकृतिक सौन्दर्यता र पार्कहरु निर्माण गरेकाले आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताउनु भयो । यस मन्दिरमा तीज, जनै पूर्णिमामा पनि मेला लाग्ने गरेको छभने, बालाचर्तुदशीमा महाद्धिप बाल्न र ६४ शिवलिङ्ग रिक्रमा गरि सदबिज छर्न पनि यहाँ घुईचो लाग्ने गर्दछ ।
मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गरिनेछ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छ जनविश्वास समेत रहदै आएको छ ।
मन्दिरसम्म पुग्ने सडक कच्ची भएकाले यसलाई पक्क सडकको रुपमा बिकास गर्न सके उपत्यकाबाट नजिक पर्ने यस क्षेत्रमा पारिवारिक रुपमा घुम्म र रमाइलो गर्न आउने आन्तरिक पर्यटकको संख्या अझै बढ्ने भएकाले यसका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।
त्यसैगरि भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा पनि साउन २ गतेदेखि एक महिने मत्स्येनारायण पुरुषोत्तम मलमास मेला सुरु भएको छ । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको यस मन्दिरमा हरेक दिन पुरा, पुरुषोत्तम महात्मेय वाचन सुरु गरिएको छ । यहाँका कुण्डमा स्नान गरि मन्दिरमा दर्शन गरे रोगव्याधी नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहदै आएको छ ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1