नागरिकता विधेयकमा संविधानको पालना हुन सकेन : ऊर्जामन्त्री भुसाल

भक्तपुर, ८ असोज :  ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सेरेमोनियल राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई पटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेकोे बताउनु भएको छ ।

आज मध्यपुरथिमिमा शंखधर बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले सेरेमोनियल राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको विधेयक प्रमाणीकरण नगरेर देशलाई संकटतर्फ धकेल्न खोजेको बताउनु भएको हो ।

मन्त्री भुसालले भन्नुभयो, “नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय गर्ने र गल्ती गर्ने अधिकार दिएको छैन, राष्ट्रपतिले दुई पटक संसद भंग गरेर र अहिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर तीन पटक देशलाई गम्भिर संकटतर्फ धकेल्नु भएको छ ।”

उहाँले अब फेरी देशमा संकट आउँछ भन्ने भ्रम फैलाउन खोजिएको छ भन्दै मंसीर ४ गतेको निर्वाचन रोक्न प्रतिगामी तत्वहरुले अझै सलबलाई रहेकाले देशलाई संकटमा जान नदिन निन्द्रामा पनि सचेत हुने बेला आएको बताउनु भयो ।

विगतमै भएको निर्णय र संविधानले नै परिकल्पना गरे अनुरुपनै आएको नागरिकता विधेयक दुबै संसदबाट पारित गरेको भन्दै मन्त्री भुसालले भन्नुभयो, “२०६३ सालको संविधानले २०४७ सालभन्दा पहिले नेपालमा बसेको, नेपालमा जन्मेकालाई अंगीकृत नागरिकता दिने निर्णय गरे अनुरुप अंगीकृत नागरिकता लिएका नेपाली बाबुआमाका सन्तानलाई वा आमा नेपाली बाबु विदेशी रहेको र नेपालमै बच्चा जन्मिएको अबस्थामा विदेशको नागरिकता त्यागेको प्रमाणित गरेको र आमा नेपाली तर बाबुको ठेगान नभएकाहरुको हकमा वंशजको नेपाली नागरिकता दिने संविधानमा व्यवस्था छ ।”

संविधान अनुसार पहिलेका सरकारले ल्याएका विधेयक र अध्यादेशमै समेटिएका विषयलाई दुबै संसदले पारित गरेको नागरिकता विधयेक प्रमाणिकरण नगरी उल्टै केही तत्व यो विषयमा भ्रम फैलाउन खोजिरहेको भन्दै उहाँले राष्ट्रपतिबाटै जनताको अधिकार खोस्ने काम भएको बताउनु भयो ।

नेपालमा त्यसरी नागरिकता पाउनु पर्ने करिब चार लाख ५० हजार जति नागरिक रहेको बताउदै उहाँले त्यस्ता व्यक्ति नागरिकता बिहिन हुँदा स्कुल कलेज पढ्न, बैंकमा खाता खोल्नु, मोबाइलको सिम लिन, पासपोर्ट बनाउन नपाउँदा बिचल्लीमा परेको बताउनु भयो ।
अब हुने ५७ दिन पछि आउने निर्वाचन पछि सरकार र राष्ट्रपति परिवर्तन गर्ने बताउदै मन्त्री भुषालले भन्नुभयो, “सायद पहिलो चोटी भएर होकि, अज्ञानताले होकि, अथवा, अरु कुनै दबाब वा निहित स्वार्थले हो राष्ट्रपतिबाट गलत भएको छ, अब फेरी कुनै राजनीतिक दूर्घटना नहोस् भन्नका लागि परिवर्तनमा लाग्ने सबै राजनीतिक दल, नागरिक समाज, नागरिक समाजका अगुवा, बुद्धिजीवि, सचेत नागरिक, सबैले चनाखो भएर सचेत हुने बेला आएको छ ।”

उर्जामन्त्री भुसालले संसदको पाँचवर्षे अवधिमा एक पटक निर्वाचित र दुई पटक भंग भएर पुर्नस्थापित संसद गरि आफू तीन पटक सांसद बन्दै तेश्रो पटकमा उर्जा मन्त्रालयको नेतृत्व गर्न पाएको बताउनु भयो ।

 

कार्यक्रममा उहाँले घरको भान्छामा इन्डक्सन चूलो बाल्नुस्, विदेशी ग्याँस हटाउनुस् भन्दै इन्डक्सन चुलो बाल्न प्रेरित गर्न घरेलु उपभोक्ताका लागि विद्युत महसुल घटाएको बताउनु भयो । “सहकारीले आफ्ना सदस्यलाई बोनस हैन, इन्डक्सन चूलो दिनुहोस्, एलपी ग्याँस भन्दा इन्डक्स चूलो बाल्न ५० प्रतिशत सस्तो पर्छ, यो आफ्नै देशको हो, यसले व्यापार घाँटा कम गर्छ”, मन्त्री भुसालले भन्नुभयो, “यातायातका साधन पनि विद्यूतीय नै चढौँ, मंहगो पेट्रोल खर्चनु पर्दैन, सस्तोमा हिड्न सकिन्छ ।”

उहाँले स्थानीय तहलाई उज्यालो नगर बनाउँन आव्हान गर्दै सडक, नगर, सम्पदा क्षेत्र सबै क्षेत्रलाई उज्यालो बनाउन मन्त्रालयले ५० प्रतिशत व्यहोर्ने गरि अनुदानको व्यबस्था गरेको बताउनु भयो । उहाँले मध्यपुरथिमिलाई पनि उज्यालो नगर बनाउन आव्हान गर्दै त्यसमा लाग्ने खर्चको ५० प्रतिशत मन्त्रालयले व्यहोर्ने र ५० प्रतिशत सम्बन्धित पालिकाले व्यहोर्नु पर्ने बताउनु भयो ।

कायृक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठलगायतले सहकारी संस्थाले जनताको विश्वासलाई मर्न दिन नहुनेमा जोड दिनु भयो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0