भक्तपुर, १ वैशाख : भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख जात्रा मानिने लिङ्गो जात्रा आज साँझ ६ बजेर २ मिनेटमा लिङ्गो ढालेर सम्पन्न भएको छ । तान्त्रिक विधिअनुरूप पुजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो । बिस्केट जात्राको चौथो दिन चैत ३० गते हिजो करिब पौने चार घण्टाको प्रयास पछि राती ७ बजेर ४० मिनेटमा भेलुखेल स्थित ल्यासिंखेलमा लिङ्गो ठड्याइएको थियो ।
पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी आज एक घण्टाको प्रयास पछि ढालिएको थियो । लिङ्गो ठड्याउनु अघि लिङ्गोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतिकस्वरूप दुईवटा विश्व ध्वजा बाँधेर अष्टमातृकाका प्रतिक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको थियो ।
लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि,सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद्हरू बताउनुहुन्छ ।
लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।
लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाईएको छ । यसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । जात्रामा रथ जुधाउनु अघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा रहेको छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा छ ।