भक्तपुरका खानेपानीका जारभित्र किरा र लेऊ, अनुगमन टोलीद्धारा जार नष्ट
भक्तपुर, : काठमाडौं उपत्यका भित्रै हैजाको महामारी फैलिएको वर्तमान् समयमा सर्वसाधारणले पैसा तिरेर पिउँने पानी माथि पानी उत्पादन कम्पनीहरुले अत्यन्तै लापर्वाही गरेको पाईएको छ ।
जिल्ला प्रशासन कार्यलय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधबप्रसाद शर्माको नेतृत्वमा चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित बिभिन्न खानेपानी कम्पनीहरुका अनुगमनका क्रममा यस्तो लापर्वाही भेटिएको हो । सर्वसाधारणले प्रति बोतल तथा जारलाई रु. २० देखि रु. ५० सम्म तिरेर पिउँदै आएका यहाँका बिभिन्न खानेपानी कम्पनीहरुले अत्यन्तै पुराना जारहरु, कुहिएको लेऊ समेत भेटिएका जारहरुलाई अनुगमन टोलीले नष्ट गरेको छ ।

बिभिन्न ब्राण्डका खानेपानीको जारभित्र किरा र लेउ भेटिएको जनगुनासो बढेपछि जिप्रका भक्तपुरको नेतृत्वमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, उपभोक्ता महासंघ, जिल्ला घरेलु कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकारहरुलगायत विज्ञ र सरोकारवाला निकायसहितको टोलीले अनुगमन गरि खानेपानीमा लापर्वाही भएको पाईएको हो ।
यहाँका बिभिन्न खानेपानी उद्योगको स्थलगत अनुगमनमा फेला परेका सयौंको संख्याका पुराना जार नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भयो । पुराना जारको अत्याधिक प्रयोगले पानीमा किरा भेटिएको, लेउ भेटिएको र मानवीय स्वास्थ्यसँग खेलबाड गरेको पाईएको बताउदै उहाँले भेटिएको त्यस्ता जारलाई नष्ट गरि पानी उद्योगलाई सचेत गराईएको बताउनु भयो ।

खानेपानी उद्योगहरुको गम्भीर गल्तीको कारण जनतालाई किरा खुवाएर मानवीय स्वास्थसँग गम्भीर खेलवाड गरिरहेको समेत पुष्टि भएको भन्दै उहाँले त्यस्ता उद्योगलाई कारबाहीको दायरामा ल्याउने बताउनु भयो । अनुगमनका क्रममा पानी उद्योगबाट दुई वटा उद्योगको पानी परीक्षणका लागि नमूना संकलन गर्दै खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागमा पठाइएको छ ।
