भक्तपुर १४ भदौं : महिलाको प्रमुख चाँडका रुपमा रहेको तीज पर्वका अवसरमा आज भक्तपुरका प्रमुख शिवालयहरुमा बिहानैदेखि ब्रतालु महिलाहरुको भीड लागेको छ । भक्तपुरका प्रसिद्ध शिवालयहरुमा आज पूजा गर्ने र नाचगान गर्ने महिलाहरुको भीड लागेको हो ।
ब्रम्हा, बिष्णु र महादेवको त्रिमुर्तिको रुपमा मानिने भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिरमा आज बिहानैदेखि नै महिलाहरुको भिड लागेको हो । जिल्लाका बिभिन्न ठाउँबाट आएका हजारौ महिलाहरुको बिहानैदेखि लामबद्ध भएर पूजा एवं दर्शन गर्नुका साथै नाचगान गरेका छन् ।
त्यसैगसिूर्यविनायक नगरपालिका( सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर र आशापुरी महादेव मन्दिरमा पनि बिहानैदेखि महिलाको भीड लागेको छ । डोलेश्वर मन्दिर व्यबस्थापन समितिले बिहानै देखि स्वंमसेवक परिचालन गरि लाइन व्यबस्थापन गरेको छ भने ब्रतालु महिलालाई नाँचगान गर्ने छुट्टै व्यबस्था समेत गरेको मन्दिर व्यबस्थापन समितिका सहकोषाध्यक्ष सदसलप केसीले जानकारी दिनु भयो । मन्दिरमा उपत्यका बिभिन्न ठाउँबाट महिलाहरुको ओईरो लागेको उहाँले बताउनुभयो ।
सिपाडोलकै आशापुरी महादेव मन्दिरमा पनि बिभिन्न ठाउँबाट आएका श्रद्धालु महिलाहरुको भीड लाग्नुको साथै दिनभर नाचगान चलेको छ । यता सूर्यविनायक(१० चित्तपोलमा रहेका कैलाशनाथ महादेव मन्दिरमा समेत बिहानैदेखि महिलाको भीड लागेको छ । भक्तपुर सिरुटारको गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर, सुवर्णेश्वर, आशापुरी, अनन्तलिङ्गेश्वर, लटरम्बेश्वरलगायतका महादेव मन्दिरमा बिहानैदेखि महिलाहरुको भीड लागेको छ ।
नेपाली हिन्दू महिलाहरूको ठूलो चाड तीज ब्राम्हण, क्षेत्री लगायतको समुदाय मात्र नभई, नेवार सहितका अन्य जनजातीहरुले पनि साझा पर्वका रुपमा तीज मनाएका छन् । विशेषगरि बाहुन क्षेत्रीलगायतले मनाउदै आएको तीज पर्व अहिले यहाँका नेवार लगायत अन्य जातजातिका समुदायले जातीय एकता र सद्भावका साथ साझा पर्वका रुपमा ब्रत बस्ने, दर खाने र नाचगान गरेर तीज मनाएका छन् ।
भक्तपुरको दत्तात्रय मन्दिरमा आज दर्शन तथा पूजा गर्न भक्तपुरको दोलखा भरघई थिमिबाट आउनु भएकी शान्ति श्रेष्ठले आफूले पनि यस वर्षदेखि दर खाने, तीजको ब्रत बसेर दत्तात्रयको दर्शन गर्न आएको बताउनु भयो । उहाँले बिहान डोलेश्वर मन्दिर गएर दिउँसो दत्तात्रय आएको बताउदै आफूले पनि यसवर्षदेखि नाचगान गरेर तीज मनाउन लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “देवताको दर्शन गरेर ब्रत बस्न पनि यो जातले हुने त्यो जातले नहुने भन्ने हुन्छ र ? छिमेकीको कुरा सुन्दा ठिक लाग्यो, त्यसैले यसवर्षदेखि तीज मनाउन थालेको हुँ, हिजो दर खाइयो, नाचगान गरियो, आज पनि पूजा गरेर नाचगान गरेर तीज मनाएको छौँ ।”
शिवालयहरुमा जाने, नाचगान गर्ने र यसलाई साझा पर्वका रुपमा मान्दै तीज मनाएका हुन् । बौद्ध धर्म मान्दै आएका समुदायले पनि हिन्दू धर्मावलम्बीहरुसंगै तीज मनाएका छन् ।
भक्तपुरकी समिता ध्वजुले विगतमा बाहुन क्षेत्रीले मात्रै तीज मनाउदा रहर लाग्ने गरे पनि नेवार समुदायले मनाउने होईन भनेर मानिदैनथ्यो तर अहिले समयको परिवर्तनसंगै नेवार एवं अन्यजनजातिहरुले पनि मनाउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सबै हिन्दू महिलाको चाँड हो, महिलाहरुले स्वतन्त्र भएर अपनत्व गरेर मनाउने चाँड रहेछ, तीजलाई यसलाई बाहुन क्षेत्रीको मात्र चाँड भनेर हेरिनु हुदैन, समयको परिवर्तनसंगै यो चाँडलाई सबै महिलाले हासखेल गरेर रमाईलोसंग मनाउनुपर्छ ।”
भक्तपुरकै ५८ वर्षकी कान्छीमाया श्रेष्ठले पहिला आफूहरुले तीज नमाने पनि अहिले छोरी बुहारीले तीज मानेर रमाएको देख्दा खुसी लाग्ने गरेको बताउनुहुन्छ । बाहुनक्ष् ोत्री महिलाले तीजमा रातो पहिरन, रातै टिका, सिन्दुर, पोते, रातै चुरा लगाएर गीत गाएर नाचगान गरेको देखेर रहर लाग्ने गरेको बताउदै उहाँले अहिले तीजमा आफूहरु पनि रमाईलो गर्न पाएकोमा खुसी लागेको बताउनुहुन्छ ।
अहिलेको तीजले जातीय एकता र सद्भावलाई अझ मजबुद बनाएको छ । बिभिन्न जातजातिका महिला एकै थलोमा बसेर तीज कार्यक्रममा नाचगान गर्दै एकताबद्ध रुपमा मनाउनुलाई सबै जातजातिका महिलाले सकारात्मक रुपमा लिएका छन् ।
दर खाने र तीज कार्यक्रममा समेत यहाँका सबै जातजातिका महिलाहरु भेला भएर सामुहिक दलखाने परम्परा केहीवर्ष यता बस्दै आएको मध्यपुरथिमि राधेराधे संगम कोलोनीका सर्मिला यादव बताउनु हुन्छ । तीजलाई जातीय एकता र सद्भावको पर्वको रुपमा लैजादा साँस्कृतिक महत्व अझ झल्किने उहाँ बताउनु हुन्छ