भक्तपुर, १५ भदौ : भक्तपुरको दरबार स्क्वायरमा आज टी(२० विश्वकप ट्रफी प्रर्दशनीमा राखिएको छ । आज दिउँसो १ बजेसम्म ऐतिहासिक सम्पदास्थल दरबारस्क्वायरमा प्रर्दशनमा राखिएको आईसीसी पुरुष ट्वान्टी(२० विश्वकप क्रिकेटको ट्रफी खेलाडी, विद्यार्थीलगायत हजारौले अबलोकन गरेका छन् ।

विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिने विश्वकपको १०० दिने ट्रफी भ्रमणअन्तर्गत अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने टी(२० विश्वकप ट्रफी नेपालमा ल्याएर भक्तपुर दरबार स्क्वायरमा प्रर्दशन गरिएको हो । ट्रफी नेपालमा दुई दिन राखिने छ ।

प्रदर्शनीमा नेपाली टिमका पूर्वकप्तान विनोद दास, खेलाडी शरद् भेषावकर, महबुब आलम, रुबिना क्षेत्री र कलाकार सरोज खनाललगायतको सहभागितामा कार्यक्रमको महत्वमाथि प्रकाश पारिएको थियो । कार्यक्रममा धिमे बाजा, लाखे नाच लगायत प्रर्दशन गरिएको थियो । दरबार स्क्वायरबाट टौमढी पाँच तले मन्दिर क्षेत्रमा पनि ट्रफी प्रर्दशनी गरिएको थियो ।

नेपालमा ल्याइएको क्रिकेटको विश्वकप ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जानकारी दिएको छ । यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी पनि प्रर्दशनीका लागि नेपाल ल्याइएको थियो ।

अस्ट्रेलियाको ७ सहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0