भक्तपुर, १८ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले नागरिकता विधेयक देशघाती भएको रहेको बताउनु भएको छ ।

नेमकिपाको केन्द्रीय समितिको बैठकमा बोल्दै उहाँले यो विधेयकको कारण देश नै नरहने परिस्थिति आउने हुँदा राष्ट्रपतिले सैनिक शासन लागू गरेर भए पनि देश बचाउनुपर्ने बताउनु भएको हो । उहाँले आगामी निर्वाचनमा पनि नेमकिपाले भाग लिने तर पुँजीवादी सरकारमा भने नजाने बताउनु भयो ।

आगामी निर्वाचनमा पनि नेमकिपाले लेनिनवादी सिद्धान्तअनुसार संसद्को क्रान्तिकारी उपयोग गर्ने बताउदै उहाँले देशघाती नागरिकता विधेयक, एमसीसी सम्झौता र एसपीपी समझदारीका पक्षधरहरूको आगामी निर्वाचनमा जनताले मत नदिएर हराउनु पर्ने उहाँले धारणा राख्नु भयो ।

शासक दलहरूको अकर्मण्यताको कारण राजनीतिप्रति नै जनताको वितृष्णा देखिएको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा पनि सिद्धान्तहीन गठबन्धन गर्नेहरूविरुद्ध नेमकिपाले सैद्धान्तिक संघर्ष गर्ने बताउनु भयो ।

सत्तामा बस्दै आएका नेपालका कम्युनिस्ट पार्टीहरूले समाजवादबारे भ्रम छरेको टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले समाजवादमा उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण, शिक्षा र स्वास्थ्य निःशुल्कको व्यवस्था, व्यक्तित्व विकासमा समान अवसर, धनी र गरिबको दूरी कम गर्ने, गाउँ र सहरबीचको भेद कम गर्नेजस्ता बन्दोबस्त लागू हुनुपर्नेमा जोड दिनु भयो ।

बैठकमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टी केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पार्टीको केन्द्रीय परिषद् बैठक आज र भोली १९ चल्ने बताइएको छ । केन्द्रीय परिषद्को बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, जिल्लाका अध्यक्षहरू, जनवर्गीय संगठन तथा पेशागत संगठनका पदाधिकारीहरूको सहभागिता रहेको नेमकिपाले जानकारी दिएको छ ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0