विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर प्रवेश गर्ने पर्यटकहरुलाई स्वागत

भक्तपुर, ११ असोज : विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाको विश्व सम्पदासूचीँमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबारस्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आउनुभएका विदेशी पर्यटकहरुको पहिलो समूहलाई ४३ औं विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैलीमा पुष्पगुच्छा दिदै स्वागत एवं सम्मान गर्नु भएको हो ।

कार्यक्रममा भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकहरु जर्मनीका Andry saidesch, अष्ट्रियाका Rebecca Tritz,, बुल्गेरियाका mimi reumova र George Golev गरि चार जना पर्यटकहरुलाई लाखे प्याखं (नाच)का साथ भक्तपुरमा स्वागत गरिएको थियो ।

भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा भएको कार्यक्रममा पर्यटकहरुलाई स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुरको प्रकाशनहरु, काठको मयुरको झ्याल प्रदान गर्नुभएको थियो ।
नगर प्रमुख प्रजापतिले पर्यटकहरुबाट उठेको शुल्कबाटै भक्तपुर नगरपालिकाले यहाँका सम्पदाहरुको संरक्षण गर्नुका साथै शिक्षा, स्वास्थ्य, सरसफाईजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको बताउनु भयो ।

कोभिडले पर्यटन क्षेत्रमा नराम्रो असर पुगेको बताउदै उहाँले नगरपालिकाले पर्यटकहरुको लागि आवश्यक स्थानीय पथप्रदर्शकहरुको तालिम, चिनियाँ, जापानीजलगायत विदेशी भाषाहरुको प्रशिक्षण दिनुको साथै बिभिन्न ठाउँमा पर्यटक शौचालय र पर्यटक सूचना केन्द्रको व्यवस्था गर्दै आएको बताउनु भयो । भक्तपुरलाई संसारकै हेर्न र घुम्नलायक सहरको रुपमा विकास गर्ने उद्देश्यका साथ नगरपालिका लागिरहेको बताउनु भयो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0