शनिवार बिहानै ३०० यात्री साइकलमा सररर……………

भक्तपुर, ३१ असार । भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्वमाझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने मुख्य उदेश्य लिएर भक्तपुरमा ३०० जना भन्दा बढीले एकै साथ साइकल यात्रा अर्थात साइकलिङ च्यालेन्ज गर्ने भएका छन् ।

पैदल र पेडल मैत्री सहर भन्ने मुख्य नाराका साथ कोरा भक्तपुर अभियान चलाएका साइकल कनेक्ट भक्तपुरले आज रफत सञ्चार क्लब सूर्यविनायकमा आयोजना गरेको पत्रकार सम्मेलनमा भोली शनिवार बिहान ६ बजेबाट साइकलिङ च्यालेन्ज कार्यक्रम अन्तर्गत ‘भक्तपुर कोरा २०२२’ सुरु गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती वाचन गर्दै आयोजक साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुनिल बालाले भोली शनिवार बिहान पर्यटकीय एवं सम्पदा स्थल भक्तपुर दरबास्क्वायरबाट एकै साथ ५०, ७५ र १०० किलोमिटरको तीन वटा रुटमा साइकलिङ च्यालेन्ज यात्रा सञ्चालन गरिने जानकारी दिनु भयो ।

साइकलिङ च्यालेन्जमा ५० किलोमिटरका लागि ८ महिलासहित १३८ जना, ७५ किलोमिटरका लागि २ महिलासहित ४७ जना र १०० किलोमिटरका लागि ३ महिलासहित १०७ जना गरि कूल २९२ जनाले नाम दर्ता गराएको र भोली बिहानसम्म ३०० भन्दा बढीको सहभागिता रहने उहाँले बताउनु भयो ।

अध्यक्ष बालाले भन्नुभयो, “साँस्कृतिक र प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै विश्वमाझ नेपाललाई चिनाउदै पर्यटकको आगमन बढाउने मुख्य उदेश्यले यो कार्यक्रम आयोजना गरेका हौ, त्यसको साथै कोरोनाबाट मृत्यु भएका पाराएथलिट तथा साइकलिष्ट यमलाल रसाईको परिवारलाई आर्थिक सहयोग गर्न रु. ६ लाखको कोष स्थापना गर्ने लक्ष्यले यो कार्यक्रम आयोजना गरेका हौँ ।”

यस कार्यक्रममा खाजाका लागि रु. ५०० बाहेक निःशुल्क सहभागिता जनाउन सकिने आयोजकले बताएको छ । सांस्कृतिक र प्राकृतिक छटाहरुको कनेन्ट साइकलबाट गराउने, वातावरण संरक्षणका लागि साइकलिङका प्रवद्र्धन गर्ने, नेपालमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको छ ।

पत्रकार सम्मेलनमा साइकलिङ च्यालेन्ज कार्यक्रमका संयोजक सुनिल ख्याजूले कोरा भक्तपुर साइकलिङ च्यालेन्जका लागि तीन वटा रुट बनाएर भक्तपुरका चार वटै नगरपालिकाका सहरदेखि ग्रामिण क्षेत्रसम्मका आकर्षक पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो “निर्धारण गरिएका तीन वटा रुटमा ३०० जनाले २५ हजार किलोमिटरको यात्रा तय गर्ने भएको छ । यो यात्राका लागि कम्तीमा १३ घण्टा लाग्ने अनुमान हामीले गरेका छाँै, यो यात्रा साईकलप्रेमीहरुका लागि मात्रै नभई पर्यटनप्रेमी र अरुका लागि पनि हो ।”

बिहान ६ बजे भक्तपुर दरबार क्षेत्रबाट सुरु हुने यात्रा सिद्धपोखरी, मध्यपुरथिमिको निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, चाँगुनारायण नगरपालिकाको वेशीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाठ, खावा, नाला गुम्बा, सूर्यविनायक नगरको भंगाल, लटरम्बेश्वर महादेव, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डुप, गाम्चा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा आएर समापन हुने छ ।

च्यालेन्जमा भक्तपुर, काठमाडौं, ललितपुर, बनेपा, पनौति, पोखरा, तनहुँ, धरानलगायतका शहरहरूबाट साइकलयात्री सहभागी रहने संयोजक ख्याजुले बताउनु भयो ।

कार्यक्रममा पर्यटन व्यवसायी एवं होटल हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले साईकलबाट पनि आन्तरिक तथा बाह्य पर्यटनको बिकास गर्न सकिन्छ भनेर युवाहरुले सुरु गरेको अभियान निकै सकारात्मक भएको बताउनु भयो । उहाँले नेपालको साँस्कृतिक सम्पदा एवं प्राकृतिक सोन्दर्यतालाई विश्वमा चिनाउन सफल हुने यस्ता कार्यक्रमले ग्रामिण क्षेत्रको पर्यटनको विकासमा समेत टेवा पुर्याउने बताउनु भयो ।

त्यसअवसरमा नेपाल इको प्यानलका सञ्चालक कृष्ण भक्त दुवाल, रफत सञ्चार क्लबका अध्यक्ष शुसिलबन्धु थापालगायतले सरकारले अब बन्ने सडकमा अनिवार्य साइकल लेनको व्यबस्था गर्न र साईकल यात्रालाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन आग्रह गर्नु भयो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0