भक्तपुर, : भक्तपुरमा पहिलो पटक आयोजना गरेको अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७९ सम्पन्न भएको छ ।
सूर्यविनायक नगरपालिका–६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा फागुन २४ गतेबाट सञ्चालन भएको महायज्ञसहितको महोत्सवमा दाताहरुबाट रु. ८0 लाख संकलन भएको मन्दिर व्यबस्थापन समितिका अध्यक्ष एवं महोत्सव आयोजक समितिका सचिव धर्मराज कार्कीले जानकारी दिनुभयो ।
दैनिक १० हजारदेखि १३ हजारसम्म भक्तजनको उपस्थिति रहेको महोत्सवमा नेपालका ७७ वटै जिल्ला र भारतका बिभिन्न प्रान्त एवं अमेरिकाबाटसमेत प्रतिनिधित्व गरेको उहाँले जानकारी दिनुभयो । महोत्सवमा अनन्तश्री विभूषित जगतगुरु सूर्यनारायणजी महाराजबाट मन्दिरको गजुर प्रतिस्थापन एवं मन्दिरको उद्घाटन गर्नु भएको छ । महोत्सवमा करिब ६० लाख रुपैयाँ खर्च भएको सचिव कार्कीले जानकारी दिनुभयो ।
महोतसव मुल आयोजक समितिका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेले आध्यात्मिक क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटन महोत्सवको रुपमा आयोजना गरिएको बताउदै महोत्सव अवधिभर मन्दिरमा दैनिक १०८ ब्रह्ममुनी (बटुक)हरुले श्री १०८ तारतमसागर पाठ पारायण र श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त, श्री विभूषित जगद्गुरु आचार्य, श्री कृष्णमणिजी महाराजजी, मंगलधाम कालिम्पोङ्गका गादिपति, श्री १०८ गुरुजी मोहनप्रियाचार्यले प्रवचन दिनु भएको थियो ।
महोत्सवमा दैनिक सेवा पुजा आरती, योग ध्यान, चितवनी, पाठ पारायण, ध्यान जप, धार्मिक प्रवचन, श्रीकृष्णामृत कथा, सन्ध्या आरती र साँस्कृतिक कार्यक्रम गरिएको थियो । महोत्सव अबधीभर मा विशेष कार्यक्रम अन्तर्गत दैनिक तारतम मन्त्र प्रदान तथा आत्मा जागनी कार्यक्रम, सम्मान कार्यक्रम, रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षणगरिएको उहाँले बताउनु भयो । कलश यात्रा गरिएका एक हजार कलश वितरण गरिएको छ ।
संकलन भएको रकमलाई अक्षयकोषमा राखिने बताउदै समितिका अध्यक्ष न्यौपानेले श्रीकृष्ण प्रणामी सेवजा समिति केन्द्रले इटहरिमा सञ्चालन गरेको ४५ शय्याको प्राणनाथ अस्पताल, संस्कृति विद्यालय र चाहविलमा रहेको राधाकृष्ण सेवा संस्कृत पाठशालाका अनाथ, असाहय बालबालिकाको शिक्षादिक्षामा खर्च गरिने बताउनु भयो ।
२०५७ सालमा श्रीकृष्ण प्रणामी मन्दिर निर्माण भई आध्यात्मिक कार्यक्रम सञ्चालन हुदै अनाथ वालवालिका तथा बृद्ध बृद्धाहरूको संरक्षण पठन–पाठन एवम् भरणपोषण हुँदै आईरहेको छ । नेपालमा छाता संस्थाको रूपमा रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका मुलुकभर २५१ शाखाहरू आध्यात्मिक तथा सामाजिक क्षेत्रमा कार्यरत रहेका छन् ।
शाकाहार स्वास्थ्यको महत्वबारे प्रवचन, अहिंसाको सन्देश जन–जनमा फैलाउन जनचेतना जगाउने, हिन्दु धर्मको मठ–मन्दिरहरू संरक्षण प्रवर्धनमा जोड दिने, अनाथ बालबालिका तथा बृद्धबृद्धाहरूको संरक्षण तथा शिक्षा दिक्षामा अभिवृद्धि गराउने, यस एतिहासिक सांस्कृतिक नगरी भक्तपुरलाई धार्मिक पर्यटनसँग जोड्ने, दुव्र्यशन मुक्त समाज निर्माणमा जोड दिने उदेश्यले महोत्सव आयोजना गरिएको हो ।