काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो मन्त्रीहरू हेरफेर गरेको छ । मन्त्रीहरूले प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसान श्रेष्ठलाई फिर्ता बोलाउँदै उनीहरूको ठाउँमा नयाँ मन्त्रीको नाम सिफारिस भएको छ ।
समाजवादी अध्यक्ष माधव कुमार नेपालले मेटमणि चौधरी, शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ र हिराचन्द्र केसीलाई मन्त्री बनाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेका हुन् । सिफारिस भएका मध्ये शेरबहादुर कुँवर गैर सांसद हुन् । सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य रहेका उनको कार्यकाल गत फागुन मै सकिएको हो ।
श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चौधरीले शहरी विकास, कुँवरले श्रम तथा रोजगार र खापुङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। यसअघि खापुङ स्वास्थ्य राज्यमन्त्री थिए। सचिवालय बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री बनाउने भएका चारै जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्। प्रधानमन्त्री देउवाले उनीहरूलाई मन्त्री नियुक्त गर्न लागेका छन्।
यसअघि देउवा सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा गोविन्द बन्दीलाई मन्त्री बनाइएको थियो । उनी पनि गैर सांसद हुन बन्दी पनि नेकपा एस निकट मानिन्छन् । अध्यक्ष नेपालले ६ महिनामा मन्त्रिमण्डल हेरफेर गर्ने पार्टीको सहमतिअनुसार नै फेरबदल भएको बताएका छन् । तर गैरसांसद व्यक्तिलाई मन्त्री बनाउने बाध्यता नेकपा एसलाई किन पर्यो भन्ने उनले खुलाएनन् ।
नयाँ नियुक्त हुन लागेका मन्त्रीको शपथ ग्रहण भने आज नहुने भएको छ। सोमबार शपथ ग्रहण गर्ने तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।