वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई सूर्यविनायक नगरपालिकाद्धारा स्वागत तथा बधाई ज्ञापन
भक्तपुर, ५ असोज । सूर्यविनायक नगरपालिकाले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई सोमबार स्वागत तथा बधाई दिएको छ । नगरपालिकामा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले मुख्यमन्त्री थापा मगरलाई बधाई ज्ञापन गर्नु भएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र कर्मचारीहरुले बधाई ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा मुख्यमन्त्री थापाले पाँच वषए अगाडिसम्म आफू यही नगरपालिकाको वडा अध्यक्षको रुपमा रहेको र अहिले मुख्यमन्त्रीको रुपमा नगरपालिका प्रवेश गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले रसुवाको भोटेकोशीमा आएको बाढीले निकै ठूलो बिनास गरेको बताउदै वागमती प्रदेश सरकारले भदौ १० गतेबाट नै उद्धार, खोजी र राहत वितरणदेखि सडक खुलाउने कार्यमा लागेको बताउनुभयो । उहाँले बाढी पीडितका लागि बस्ती बिस्तारदेखि अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने कार्यमा प्रदेश सरकार लागिरहेको बताउनुभयो ।

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारले भक्तपुर जिल्लालाई स्वास्थ्य उपचारको हवको रुपमा विकास गर्दै सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने बताउनु भएको छ । अरनिको राजमार्गमा हुने दुर्घटनाका घाईतको छिटो उपचार गर्ने उदेश्यले सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको बताउदै मुख्यमन्त्री थापाले भक्तपुरलाई बागमती प्रदेशको प्रमुख स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार पूर्वाधार र विशेषज्ञ सेवा विस्तार भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भक्तपुर अस्पतालमा विशेषज्ञ सेवा सुरु भइसकेको छ, मुटुरोग (कार्डियोलोजी) सेवा सञ्चालन सुरु भएको छ, अरु सेवा विस्तार गर्दै गएको छ । ख्वप अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन जडानका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।” सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न पनि बजेट छुट्याइएको जानकारी दिँदै प्रदेशका सबै अस्पतालहरूलाई क्रमशः विशेषज्ञ सेवा दिने संस्थाका रूपमा रूपान्तरण गरिँदै गएको बताउनुभयो ।

नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले यसअघिको नगरपालिकाको कार्यकालमा जनप्रतिनिधिको रुपमा संगै काम गरेको व्यक्ति अहिले सूर्यविनायकबाट बागमती प्रदेशकै मुख्यमन्त्री बन्न सफल भएको भन्दै मुख्यमन्त्री थापा मगरलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले सूर्यविनायकबाट प्रदेशको मुख्यमन्त्री पाउँनु नगरवासीसँगै समग्र भक्तपुरवासीका लागि गौरवको विषय भएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले सूर्यविनायक नगरवासीलाई मुख्यमन्त्रीको रुपमा पाउँदा खुसी लागेको भन्दै थापा मगरको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । मुख्यमन्त्री थापा मगर २०७४ सालमा सूर्यविनायक–८ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यस्तै २०७९ मा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै स्वास्थ्य मन्त्री बन्नुभएको थापा मगर भदौमा उहाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1
