‘तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन’ आज चाँगुनारायण नगरपालिकामा सम्पन्न
भक्तपुर, २६ मङ्सिर : यसवर्षको ‘तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन’ आज चाँगुनारायण नगरपालिकामा सम्पन्न भएको छ । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औँ राष्ट्रिय मानव अधिकार महोत्सवका अवसरमा आज चाँगुनारायण नगरपालिका र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजना एवं राष्ट्रिय जनवकालत मञ्च नेपाल तथा स्वच्छ हावा सञ्जाल चाँगुनारायणको सहकार्यमा चाँगुनारायण नगरपालिकाको कार्यालयमा सम्मेलनको आयोजना भएको हो ।
सम्मेलनको काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गर्दै स्वच्छ वाला लिएर बाँच्ने मानिसको नैसर्गिक अधिकार सुनिश्चितता गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले विकासका गतिबिधि भइरहने तर त्यसले पार्ने वातावरणीय असरलाई मध्यनजर गर्दै विकासलाई अगाडि बढाउनु पर्ने औल्याउँदै उहाँले वातारवण सुधारका लागि पालिकाहरुले कूल बजेटको २० देखि २५ प्रतिशत बजेट छुट्टै विनियोजन गर्नु पर्ने बताउनुभयो ।
उहाँले प्रत्येक सडकको दायाँवायाँ रुख रोपेर हरियाली प्रबद्र्धन गर्न पर्ने, व्यक्तिले कुनै पनि भवन वा घरको नक्सा पास गर्दा अनिवार्य दुईवटा रुख घर कम्पाउण्डमा रोप्नै पर्ने अनिवार्य गरेको बताउनु भयो । उहाँले वातावरण संरक्षणका लागि ललितपुर महानगरका सम्पूर्ण विद्यालयहरुलाई प्रोजेक्टनै दिएको र राम्रो गर्नेलाई पुस २ गते पुरस्कार दिने नीति लिएको बताउनुभयो ।
फोरर्मका अध्यक्ष महर्जनले वातावरण मास्नेलाई कडा कारबाहीको नीति लिएको बताउदै सडकमा रहेको रुख काट्नेदेखि मास्नेसम्मलाई सीसी क्यामरा हेरेर पहिचान गरि एक लाख ५० हजारसम्म महागरले जरिवाना लगाएको बताउदै यस्ता कडा नीति लिनु पर्ने बताउनुभयो । ललितपुर महानगरपालिकाले पेट्रोल र डिजेल सवारी साधन खरिद नगर्ने नीति लिएर सबै विद्युतीय सवारी साधन खरिद गरेको बताउदै स्थानीय नागरिकले समेत विद्युतीय सवारी साधन खरिद गरेको प्रमाण ल्याएमा तिर्नु पर्ने बिभिन्न शिर्षकका राजस्वमा पाँच प्रतिशत छुट दिने नीति लिएको बताउनुभयो ।
ललितपुर महानगरले सार्वजनिक, ऐलानी र पर्ती जग्गा कुनै पनि हालतमा कुनै पनि व्यक्तिलाई मिच्न वा भोगचलन गर्न दिदै नदिने नीति लिएर अतिक्रमित त्यस्ता साना जग्गालाई साना पार्क र ठूला जग्गालाई हरियालीसहितको पार्क निर्माण गरेको बताउनुभयो । महानगर प्रमुख महर्जनले भन्नुभयो, ‘नेपाली सेनाले वर्षैदेखि भोगचलन गर्दै आएको लगनखेलस्थित नेपाली सेनाको पेट्रोल पम्प पछाडि रहेको ३० रोपनी जग्गा र त्यही रहेको पागल पोखरीको १५ रोपनी जग्गा महानगरले फिर्ता लिएर अहिले आकर्षक र हरियालीसहितको ठूलो पार्क निर्माण गरेका छौँ ।’
सार्वजनिक एवं पर्ति जग्गाहरु लिजमा दिने सरकारी निर्णय पनि ललितपुर महानगरले कुनै हालतमा कार्यान्वयन गर्न नदएको बताउदै महानगरभित्रका कुनै जग्गा लिनमा नदिने नीतिलाई सफल रुपमा कार्यान्वयन गरेको उहाँले बताउनुभयो । चाँगुनारायण नगरपालिकाले वातावरण सुधारको कार्यबिधि बनाएर देशभरका पालिकाहरु मध्ये पहिलो पटक कार्याबिधि लागू गरेर उदाहरणीय कार्य गरेको भन्दै फोरर्मका अध्यक्ष महर्जनले यही कार्यबिधिको नमूना हरृर ललितपुरले पनि वातावरण संरक्षणको लागि कार्यबिधि बनाएर लागू गर्ने बताउनुभयो । उहाँले आगामी वर्ष २०८३ को चौथो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन’ ललितपुर महानगरपालिकामा आयोजना गर्ने घोषणा समेत गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले वातावरणमैत्री विकास निर्माणमा चाँगुनारायण नगरपालिकाले जोड दिएको बताउदै नगरपालिकाले वातावरणीय संरक्षणको क्षेत्रमा सरोकारवाला र आमनागरिकको सहकार्यमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिका ७५३ स्थानीय तहमध्ये वायू गुणस्तर कार्ययोजना तयार गर्ने पहिलो नगरपालिका रहेको बताउदै नगरभित्रका ईटाभट्टा घट्दै गएको, सञ्चालनमा रहेकाहरुले पनि वातावरणमैत्री प्रविधि अपनाउन थालेको र वायू प्रदूषण न्यूनिकरणका थुप्रै कार्यहरू प्रभावकारी रूपमा भइरहेका बताउनुभयो ।
धार्मिक पर्यटकीय क्षेत्रको रुपमा नगरपालिकालाई विकास गर्न नगरपालिकाले नगरकोट भ्रमण वर्ष–२०८२ को आयोजना गरेको बताउदै आउँदो पुस १३ गते नगरपालिकाले बुद्धिकृष्ण लामिछाने सांगीतिक साँझको आयोजना गर्न लागेको बताउनुभयो । उहाँले चाँगुनारायण मन्दिरमा विष्णु महापुराणको आयोजना गर्ने तयारी गरेको बताउदै नगरपालिकाले आवासीय, प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, वातावरणीय क्षेत्रमा नगरपालिकाले उल्लेख्य कार्य गर्दै आएको बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, ‘मानवीय साझा हितकर काममा नगरपालिका पछि पर्दैनौ, मानवीय जीवनमा जोडिएका आमसरोकारको विषयमा भएका प्रतिबद्धता, जिम्मेवारी पालना गनए अग्रसर भएर लागिरहेका छौँ. । देशलाई अब्बल बनाउन स्थानीय तह जिम्मेवार हुनुपर्छ ।’ चाँगुनारायण नगरपालिका नगरवासीप्रति जवाफदेहिता, संवेदनशिल रुपमा नागरिकको सेवामा समर्पित भएर लागेको बताउदै उहाँले सम्मेलनमा उठेका प्रत्येक सवाल र सुझाबलाई नगरपालिकाले मार्ग दर्शनको रुपमा लिएर सम्बृद्ध चाँगुनारायणको विकासमा लाग्ने बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले सम्मेलनका उद्देश्य र कार्ययोजना प्रस्तुत गर्दै सुरक्षित र स्वच्छ हावाका लागि तीनतहक सरकारको सक्रियता अत्यावश्यक रहेको औल्याउनुभयो ।
सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले देशैभरी स्वच्छ हावाको प्रबद्र्धन गर्ने लक्ष्यका साथ ायोग अगाडि बढेको बताउदै मानव अधिकार र विकास एकआपसमा बिरोधी नभई परिपुरक हो भन्ने उदेश्यले मानवकै लागि वातावरण संरक्षणका लागि लाग्नु पर्ने औल्याउनुभयो । स्थानीय सरकारले आफ्नो क्षेत्रमा औधागिक विकास र वातावरणीय क्षयीकरण गर्न रोक्नु पर्नेमा जोड दिदै उहाँले सरकारले मात्रै नभई निजी क्षेत्रको पनि मानव अधिकारको संरक्षणको सवालमा उत्तिकै जिम्मेवार हुनु पर्ने बताउनुभयो ।
सम्मेलनमा वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वायु प्रदुषण रोक्न तीन तहकै सरकारको जिम्मवारी रहेको औल्याउँदै देशमा स्वच्छ वातावरण कायम राख्न राष्ट्रिय कार्य नीतिको आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रर्दुषण फैलाउने सवारी साधनलाई सुधारेर इन्धनको वचत गर्नुपर्नेमा जोड दिदै विद्युतीय गाडीको प्रयोग र विद्युतीय इन्धनको प्रयोगलाई बढावा दिन देशमा विद्युत उत्पादन पर्याप्त गरि आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।
मानव अधिकारकर्मी चरण प्रसाईले मानव अधिकारको सुनिश्चितताका लागि व्यक्तिको शासन नभई कानूनी शासनको आवश्यकता रहेको चर्चा गर्दै देशले निर्माण गरेको नीति, नियम, ऐन र कानूनलाई कार्यान्वयन गर्न चुक्न नहुने बताउनुभयो ।
राष्ट्रिय जनवकालत मञ्च नेपाल (नाफान)का सल्लाहकार भोला भट्टराईले मानव अधिकारको रक्षाका लागि प्राकृतिक श्रोत माथिको जथाभावी दोहन रोक्नु पर्नेमा जाड दिनुभयो ।
श्रमिक अधिकारकर्मी धु्रवचन्द्र गौतम, स्वच्छ हावा संञ्जालकी अध्यक्ष रबिता कार्कीले नगरभित्र सञ्चालत टनेल खेतीमा हुने अत्याधिक रासायनिक मल र विषादी प्रयोग, ईटाभट्टा लगायतका स्रोतबाट हुने प्रदूषणले क्यान्सर जस्ता घातक रोगहरु बढ्दै गउका बताउनुभयो ।
कार्यक्रम सञ्चालन चाँगुनारायण खानेपानी, सरसफाइ तथा स्वच्छता शाखा प्रमुख सुरेन्द्र लामिछानेले सहजीकरण गर्न भएको कार्यक्रममा  सूचना प्रविधि अधिकृत रोशन शिवाकोटीले चाँगुनारायण नगरपालिकाको परिचय तथा गतिविधिसम्बन्धी भिडियो प्रस्तुत गर्नुभयो ।
सम्मेलनको विभिन्न सत्रहरूमा वातावरण विज्ञ भूषण तुलाधरले वायु प्रदूषण र यसको प्रभावबारे, किरण बरामले वातावरण रक्षक तथा उनीहरूको भूमिकाबारे प्रस्तुति दिनुभयो । सहभागी विज्ञहरूले स्थानीय सरकार र समुदायको भूमिका, वातावरणीय अधिकार संरक्षण, वायु प्रदूषण र जलवायु संकटका चुनौतीबारे आफ्नो विचार राख्नुभयो ।
कार्यक्रमले वातावरणीय अधिकारका सवालमा स्थानीय तहको नेतृत्वलाई अझ संगठित बनाउँदै आगामी चौथो सम्मेलन ललितपुर महानगरमा आयोजना गर्ने निर्णय गर्दै समापन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग सहसचिव नवराज सपकोटा, चाँगुनारायण नगरपालिका वातावरण विभागका प्रतिनिधिलगायतले वातावरण संरक्षणको सवालमा बिभिन्न सुझाबहरु राख्नु भएको थियो ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0