सूर्यविनायकको हाट बजार : स्थानीय उत्पादनदेखि परिकारसम्म एसईई सम्मानदेखि सांगीतिक कार्यक्रमसम्ममा भीड
भक्तपुर, १६ जेठ : ‘दिगो विकास व्यवस्थित शहरस् स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने नाराका साथ सूर्यविनायक नगरपालिकाको आयोजना एवं वडा नं. ८ कार्यालयको व्यबस्थापनमा सिपाडोलमा आज भएको निःशुल्क घुम्ती हाट बजारमा उपभोक्ताको भीड लागेको छ । हाट बजारको उद्घाटन गर्दै वागमति प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगरले हाट बजारमा देखिएको उपभोक्ताको भीडले स्थानीय खाद्य उत्पादनदेखि घरेलु उत्पादनसम्मको बजार स्थानीयस्तरमै पर्याप्त रहेको पुष्टी गरेको बताउनुभयो ।
बजारलाई ब्यबस्थित गर्नसके बजार खोज्न टाढा जानु नपर्ने बताउदै उहाँले बिचौलिया बिनानै किसान, उत्पादनकर्ता र उपभोक्तालाई एकै थलोमा ल्याएर आर्थिक गतिबिधिलाई चलायनमान गराउन सहज हुने उहाँले बताउनुभयो ।

मन्त्री थापाले भक्तपुरलाई वागमति प्रदेशको स्वास्थ्य हव बनाउने गरि अगाडि बढेको बताउदै भक्तपुर अस्पतालमा न्यूरो सेवा सुरु गरेको र अब मुटु सेवा बिस्तार गर्न लागेको बताउदै सूर्यविनायक नगर अस्पताल र धादिङ्गको गजुरी अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको बताउनुभयो । उहाँले भक्तपुरको समग्र विकासलाई छुने गरि असासर १ गते वागमती प्रदेश सरकारले बजेट ल्याउने बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाको उपप्रमुख सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले स्थानीय कृषि तथा घरेलु उत्पादनलाई स्थानीयस्तरमै बजारको व्यबस्थापन गर्दै अर्गानिक कृषि तथा घरेल उद्योगको विकास गर्न नगरपालिकाले घुम्ती हाट बजार सञ्चालन गरेको बताउनुभयो ।
नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले स्थानीय किसान र साना व्यवसायीलाई बजारसँग जोड्ने अभियान घुम्ती हाट बजारबाट सुरु गरेको बताउनुभयो ।
उहाँले नगरपालिकाले पहिलो चरणमा बालकोटको गोदावरी खोला किनारबाट सुरु गरेको घुम्ती हाट बजार दधिकोटको दक्षिण बाराही, गुण्डुको वडा कार्यालय, चित्तपोल वडा कार्यालयमा सम्पन्न गरि आज सिपाडोलमा सम्पन्न गरेको बताउनुभयो ।

वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्कीले नगरपालिकाले स्थानीय उत्पादनलाई बिचौलयाको प्रभावबाट मुक्त गर्दै कृषक एवं उद्यमीले सिधै आफ्नै बजारमा पुर्याउने र आफ्नै मूल्यमा बिक्री गर्नेगरि नगरपालिकाले घुम्ती हाट बजार सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रमका सभापति, वडा नं. ८ का वडाध्यक्ष एवं नगरपालिकाको आर्थिक विकास समिति संयोजक पुष्पराज बस्नेतले घुम्ती हाटबजारमा स्थानीय रैथाने अर्गानिक उत्पादनहरु, हरिया तरकारीहरु, गुन्द्रुक, सिन्की, मस्यौरा, जिम्बु, च्याउँ, कुरिलो, फूलका बिरुवाहरु, स्थानीय फलफूलका स्टलहरु राखिएको बताउनुभयो ।

उहाँले हाट बजारमा नेवारी खाजा सेट, योमरी, बारा, पानीपुरी, चटपटे, फास्टफुड, फुड स्टलहरू, नर्सरी, अचार, लसुन, सुत्केरी मसला, ड्राइफ्रुट्स, वाटेको धुप, वेसार, हर्बल सामग्रीहरू, हस्त कलाका गरगहना, मखमली जुत्ता, कपडाको कुसन कभर तथा घरेलु उद्योगका उत्पादनहरू गरि नगरपालिकाले निःशुल्क उपलब्ध गराएको ७० भन्दा बढी स्टलहरु राखिएको बताउनुभयो ।

कार्यक्रममा यसवर्ष एसईई परीक्षा उतीर्ण गरेका १०० भन्दा बढी विद्यार्थीलाई मन्त्री थापाले सम्मान पत्र प्रदान गर्नुभयो । दिउँसो ४ बजेदेखि हाट बजारमा सांगीतिक ब्याण्ड एवं चर्चित गायक मानस राजको विशेष प्रस्तुती सहितको सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । नगरपालिकाले हाट बजार सञ्चालन गर्न कार्यपालिका बैठकबाट हाट बजार सञ्चालन कार्यबिधी स्वीकृत गरि सञ्चालनमा ल्याएको र नगरपालिकाले पहिलो चरणको समिक्षा गरि वडावडामा हरेक साता शनिबार बजार सञ्चालन गर्ने गरि तयारी गरेको उहाँले बताउनुभयो ।


तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1
