सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप –२०८३’ सुरु, नगर प्रवक्ता सापकोटाद्धारा उद्घाटन
भक्तपुर, २८ भदौ :  सुर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको ‘सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३’ भक्तपुरमा आजबाट सुनपा–८ स्थित तेक्वाण्डो कबर्ड हलमा सुरु भएको छ ।
प्रतियोगिताको आज सूर्यविनायक नगरपालिका नगर प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले उद्घाटन गर्नु भयो । उहाँले सूर्यविनायक नगरपालिकाले खेलको विकास र नयाँ खेलाडी उत्पादनमा लगानी गर्दै आएको बताउदै यसले विद्यार्थीहरुमा खेलकुदतर्फ आकर्षण बढाएको बताउनुभयो ।
उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा नगरपालिकाले प्रशिक्षणदेखि प्रतियोगितासम्मको आयोजना गर्दै आएको बताउदै नगर खेलकुद विकास समिति गठन भएपछि खेलकुदका कार्यक्रमले रफ्तार र्लिको चर्चा गर्नुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले यस प्रकारको प्रतियोगिताले खेलको विकास र खेलाडीमा प्रोत्साहन मिल्ने बताउनु भयो । सूर्यविनायक नगरपालिकाले खेलकुदको विकासमा पछिल्लो समयमा निकै सक्रियता देखाएको बताउदै यसले सूर्यविनायकबाट राष्ट्रियस्तरका खेलडाीहरु जन्माउने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिका सदस्य अनन्तराज वैद्य, नेपाल सितेरियो कराते सघ भक्तपुर जिल्लाका अध्यक्ष राजन चित्रकार, सूर्यविनायक नगर सितेरियो कराते सघका अध्यक्ष कृष्णराम ज्याकीलगायतले खेलकुदमा गतिबिधिमा नगरपालिकाले खेलेको भूमिका स्मरणयोग्य रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं सुर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले प्रतियोगितामा १९० जना खेलाडीका सहभागिता रहेको बताउनुभयो ।
नेपाल कराते महासंघको नीति नियम अनुसार सञ्चालन भएको प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. २० हजार, दोश्रो हुनेलाई रु. १५ हजार, तेश्रो हुनेलाई रु. १० हजार पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने सदस्य सचिव थापाले जानकारी दिनुभयो ।
त्यसैगरि प्रतियोगितामा उत्कृष्ठ पुरुष तथा महिला खेलाडीलाई नगद रु. ७ हजार, उदयमान महिला तथा पुरुष खेलाडीलाई नगद रु. ३ हजार नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । प्रतियोगिताको समापनमा नगर प्रमुख वासुदेव थापाले खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुहुने भएको छ ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0