राससकर्मी श्रेष्ठले स्थापना गरेको ‘स्व. हरिलाल श्रीलक्ष्मी श्रेष्ठ लुमन्ति पत्रकारिता सिरपा’ पत्रकार कृष्ण प्रजापतिलाई प्रदान

भक्तपुर, १७ भदौ : राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्न श्रेष्ठले आफ्ना स्वर्गीय बुवाआमाको स्मृतिमा स्थापना गरेको ‘स्व. हरिलाल श्रीलक्ष्मी श्रेष्ठ लुमन्ति पत्रकारिता सिरपा’ पत्रकार कृष्ण प्रजापतिलाई प्रदान गरिएको छ ।

मध्यपुरथिमिमा आज नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाको नवौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनको अवसरमा नेपाल भाषाको पत्रकारितामा लामो समयसम्म योगदान पुर्याए वापत प्रजापतिलाई दोसल्ला ओढाएर सम्मान पत्र र नगद रु. १० हजार राशीको पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा मध्यपुरथिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले नगरको मुख्य विकाससँगै सामाजिक, ऐतिहासिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य र समाज परिवर्तनका लागि योजना बनाएर लागेको बताउनु भयो ।

उहाँले नगरपालिकाले बन्न नसकेका शिक्षा, स्वास्थ्य, सहकारी लगायतका ऐन निर्माण गरेको, अरनिको राजमार्गमा सडक बत्ति जडान गरेको, सडकमा अब्यबस्थित पार्किङ, बजार तथा टहरा हटाउन सूचना जारी गरेको, फोहोर मैला व्यबस्थापनका लागि उपत्यकाका सबै नगरपालिकाको साझा अबधारणा बनाउन पहल गरेको बताउनु भयो ।

नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “फोहोर व्यबस्थापनका लागि गोकर्णेश्वर नगरपालिकाको प्रबिधि प्रभावकारी देखिएकाले मध्यपुरमा त्यसलाई लागू गर्नेबारे छलफल चलाएको छौ, खानेपानी समस्या समाधानका लागि योजना बनाएका छौँ, दुई वर्षभित्र कमेरोटार जग्गा एकीकरण आयोजना सम्पन्न गर्ने लक्ष्य लिएका छौँ, पत्रकारले पनि समाचार सम्प्रेषण गर्दा राम्रा समाचार लैजानुस्, कुनै नराम्रा भए हामीलाई सुझाब दिनुस् ।”

कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले जनताको पक्षमा काम गर्न नगरपालिका लागिरहेको, नगरपालिकाले आफ्नै मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य लिएको, आफ्ना नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा र निःशुल्क रक्तसेवा प्रदान गरेको बताउनु भयो ।

उहाँले पत्रकारप्रति आक्रोस व्यक्त गर्दै दलीय दृष्टिकोणबाट अभिप्रेरित भएर समाचार सम्प्रेषण नगर्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, “निष्पक्ष पत्रकारिता गर्नु पर्ने पत्रकारहरु नै दलीय हिसाबले ढल्केर समाचार सम्प्रेषण गर्नु भएर, त्यसो नगरौ, यथार्थ धरातलमा उभिएर पेशाप्रतिको धर्म निभाउने गरौ, जनप्रतिनिधिले गलत गरे लेख्नुस्, पूर्वाग्रह राखेर होइन, दलीय ढंगले पत्रकारिता नगर्नुस्, इमान्दारीका साथ पेशाको धर्म निभाउँनुस् ।”

कार्यक्रममा दबूका केन्द्रीय सचिव केके मानन्धरले नेपाल पत्रकार महासंघका कतिपय कमिकमजोरी देखिएको र कतिपय पत्रकारका मुद्धामा सम्बोधन गर्न नसके पछि १० वर्ष अगाडि दबूको स्थापना गर्नु परेको बताउनु भयो ।

उहाँले देशभरका २९ वटा जिल्लामा शाखा सञ्चालन गरिसकेको दबूले मातृभाषा पत्रकारिताको विकास गर्दै भाषा, कला, संस्कृतिको संरक्षणका लागि दबूले भूमिका खेलेको बताउनु भयो । उहाँले खस नेपाली भाषाको पत्रकारिता मात्रै प्रभावकारी नहुने भन्दै नेपाल भाषामा मात्रै नभई अन्य जातजातीको मातृभाषामा पनि पत्रकारिता सुरु गर्नु पर्ने औल्याउनु भयो ।

कार्यक्रममा शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ट पत्रकार ज्ञानराम श्रेष्ठले नेपाल भाषाको पत्रकारिताले भाषा, लिपी, कला र संस्कृति, पहिचानलाई जिवन्त राख्न सफल भएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाका कार्यबाहक अध्यक्ष सुन्दर शिल्पकार, सम्मानित पत्रकार प्रजापति, दबूका सचिव देवेन्द्र प्रजापति, कोषाध्यक्ष चन्द्रकष्ण (गोपाल) श्रेष्ठलगायतले दबूको महत्व र आवश्यकता माथि चर्चा गर्नु भएको थियो ।

तमुखको अध्यक्षतामा नयाँ नेतृत्व :

अधिवेशनले दबू भक्तपुर जिल्ला शाखामा पुनः रामगोपाल तमखुको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । दबूको उपाध्यक्षमा सुरेश ख्वाकः श्रेष्ठ, सचिवमा देवेन्द्र प्रजापति, कोषाध्यक्षमा चन्द्रकृष्ण (गोपाल) श्रेष्ठ, सदस्यहरूमा श्यामकुमार था श्रेष्ठ, प्रकाश मल्ल, हरिसुन्दर छुकां, रेणु त्वानावासु र विरेन्द्र खाइजु चयन भएका छन् ।

बालिका बलात्कार गरि फरार तुल्सीब्याख्यो २५ वर्ष पछि पक्राउ

भक्तपुर, १७ भदौ : एक ६ वर्षीया बालिकालाई २०५४ साल मंसीर ८ गते जवरजस्ती करणी गरि फरार रहेका भक्तपुर नगरपालिका–११ क्वाछेँ घरभई पोखरा बस्दै आएका ४० वर्षीय दिपक तुल्सीब्याखोलाई २५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार मुद्धामा दोषी ठहर गर्दै २०६३ माघ ८ गते सर्वोच्च अदालतले ८ बर्ष कैद र निजको आधा भाग अंश सर्वस्व गरी पीडित बालिकालाई भराई दिने फैसला पछि फरार तुल्सीब्याखोलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कास्की प्रहरीको समन्वयमा पोखराबाटै पक्राउ गरि भक्तपुर ल्याएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।

फरार तुल्सीब्याखो पोखरामा बसोबास गरि ब्यवसाय सञ्चालन गर्दै आएको गोप्य सूचनाको आधारमा पोखराबाटै हिजो पक्राउ गरि भक्तपुर ल्याएर आज फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको उहाँले जानकारी दिनु भयो ।

अदालतले आजै तुल्सीब्याखोलाई काठमाडौं डिल्लीबजारस्थित जगन्नाथ देवल कारागार चलान गरेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।

नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलको प्रथम जिल्ला अधिवेशन भक्तपुरमा सुरु

भक्तपुर, १७ भदौ । नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनल ( Nepal District of Optimist International) को प्रथम जिल्ला अधिवेशनमा भक्तपुरमा शुक्रबारबाट सुरु भएको छ । भक्तपुरको गठ्ठाघरमा सुरु भएको दुई दिने अधिवेशनमा मानिसलाई जीवन जिउँने क्रममा आशावादी बनाएर लैजानेबारे व्यापक छलफल भएको छ ।

कार्यक्रमको पहिलो उद्घाटन सत्रमा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले बोल्दै आशाहरुले मान्छेलाई बचाउँने भएकाले मानिसको जीवन निराशा हुन नहुने बताउनु भया्े । उहाँले आशा नै नहुने हो भने जीवन सकिने भएकाले जीवनमा आशा जगाउनु पर्ने बताउनु भयो ।

समाचार लेख्न पत्रकारलाई पनि राम्रा कुराहरु देखाउनु पर्नेमा चर्चा गर्दै उहाँले भन्नुभयो, “पत्रकारले जे देख्छ, त्यहीँ लेख्छ, तपाईले पत्रकारलाई राम्रो देखाउनुहोस्, राम्रै लेख्छ, नराम्रो देखउनु भयो भने त नराम्रै लेख्छ नी, पत्रकारले सत्य पस्किने हो, तर सत्य पस्किने भन्दैमा पत्रकारले पनि कसैको जीवनप्रतिको मोहमा आक्रमण गर्नु हुदैन, भविश्यको आशामा आक्रमण गर्नु हुदैन ।”

समाजमा दुःख र पीडा छ भन्दैमा एउटा पत्रकारले दुःख र पीडा मात्रै पस्किने काम गर्नु हुदैन भन्दै उहाँले त्यसको समाधानको उपाय पनि पस्किनु पर्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो, “दुःख र पीडाको समाधानको उपाय पनि पत्रकारले खोज्नु पर्छ आजको पत्रकारितामा त्यो जरुरी छ, आशावादीका कुरा पनि पत्रकारिताले दिनु पर्छ । त्यो दिन सकेन भने निराशावादी मात्रै हुन्छ, त्यसले जीवनको मोह सकिन्छ ।”

म खुसी भए भने मात्रै म जस्ता अन्य व्यक्ति पनि खुसी हुन्छन् र समाज खुसी हुन्छ भन्ने मान्यता स्थापित गर्नुजरुरी रहेको औल्याउँदै उहाँले व्यक्ति आफ्नो स्वतन्त्र अधिकार प्रयोग गर्दै भएर खुसी भएर बाँच्ने मोह जगाउँने बताउनु भयो ।

आज मात्रै होइन भोलीका लागि पनि आशावादी हुनु पर्छ भन्दै उहाँले जबसम्म बाच्छौ सुखले बाँचौ, मरे पछि कसले देख्छ भन्नु भयो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहनु भएका राससका अध्यक्ष झाले बुद्ध दर्शनको चर्चा गर्दै भन्नुभयो, “आउँदा न सम्पत्ति लिएर आएका थियौ, न लिएर जान्छौ, आफूले सञ्चय गरेको धन के हुन्छ, यदि छोरा छोरी सपुत छन् भने आफ्नो व्यबस्था आफै गर्छन्, कपुत छन् भने त सञ्चय गरिदिएको पनि सिध्याउछन् ।”

उहाँले २०६२ सालको बैशाख २ गते एकैदिन तीन वटा घट्ना भएको स्मरण गर्दै भन्नुभयो, “बैशाखमा एकैदिन तीन वटा घट्ना घट्यो, कोशीको बाँध टुट्यो, जनधनको क्षति भयो, त्यही दिन सरकार परिवर्तन भयो र नेपाल पत्रकार महासंघका अध्यक्ष म ठूलो सडक दुर्घटनामा परे । भोली पल्ट ३ गते होसमा आउँदा म आफू बाँचेकोमा धेरै खुसी भए, मलाई त्यसले ठूलो आशा जगायो ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आउँदो पुस्तालाई अझै सुन्दर कसरी बनाउने, आशा सहितको जीवन जिउँने सन्दर्भमा निराशाको बाटो बन्द गर्दै बालबालिका र किशोर किशोरीलाई आशा कार्यक्रमहरु व्यापक बनाउनु पर्नेमा जोड दिनु भयो । नीति राज्य बनाउदैमा सबै सफल हुदैन भन्दै उहाँले समुदायलाई संगठित गर्दै सही बाटोमा लगे मात्रै राज्यको नीति सहि मार्गमा कार्यान्वयन हुने बताउनु भयो ।

नेपालको सन्दर्भमा एउटा नागरिकले सबभन्दा पहिला पाउने नागरिकता हो, त्यो पाउन उसले व्यहोर्ने सास्ती, पैसा नखुवाई सवारी लाइसेन्स बन्दैन भन्ने मानसिकता र राज्यबाट पाउने सेवा सुविधा लिन व्यहोर्नु पर्ने झन्झट र पनि पैसा नखुवाइ हुदैन भन्ने गलत संस्कारको अन्त्य हुनु पर्ने बताउनु भयो ।

अहिलेका विद्यार्थीलाई कसरी यो मुलुक छाडेर विदेश जाने, नेपालका कुनै भविश्य छैन भन्ने पर्दा पनि उनीहरुमा आशा जगाउन नसक्नु दुर्भाग्य भएको चर्चा गर्दै अध्यक्ष पोखरेलले मानिसमा साना कुराले पनि आशा जगाउने भएकाले हरेक नागरिकमा आशा जगाउने कार्यक्रम ल्याउनु जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलका गभर्नर उदय निरौलाले सामुदायीक विद्यालयहरुमा विद्यार्थीहरुसँग प्रतक्ष्य सम्पर्कमा रहेर किशोर स्वास्थ्य तथा कल्याण (ब्मयभिकअभलत ज्भबतिज बलम ध्भििलभकक) का विषयमा कार्यशाला गर्दै आएको बताउनु भयो ।

उहाँले किशोरकिशोरीमा निराशापनले डरलाग्दो रुपमा जरो गाडेको अबस्थामा बालबालिका र किशोरकिशोरीहरुमा सकारात्मक भावना तथा आशावादी आशावादी जीवन दर्शनको प्रवद्र्धन गर्ने उदेश्यका साथ संस्था अगाडि बढेको चर्चा गर्नुभयो । नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलका महासचिव पृथ्वीराज थापाले ४१ वटा क्लबको १३० जना भन्दा बढीको सहभागिता रहेको अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने बताउनु भयो ।

कार्यक्रममा हिसानका राष्ट्रिय अध्यक्ष रमेश सिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, एन प्याब्सनका अध्यक्ष पाण्डव हमाल, एन प्याब्सनका पूर्व अध्यक्ष ऋतुराज सापकोटा, किवानिज नेपाल डिस्ट्रिक गर्भनर लक्ष्मण लम्साललगायतले जीवन र आशाको महत्व माथि प्रकाश पार्नु भएको थियो ।

कक्षा १२ को नतिजा सार्वजनिक, ग्रेड बृद्धिको परीक्षा असोज ३० र ३१ गते हुने

भक्तपुर, १७ भदौ । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज बसेको बैठकले बोर्डको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनु दिनुभयो ।

यस वर्ष परीक्षा उतीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्र्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । त्योभन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । उहाँका अनुसार नियमित तर्फ तीन लाख ६३ हजार आठ, ग्रेड बृद्धितर्फ ३० हजार ४५ र आंशिक तर्फ तीन हजार १३२ गरि कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।

जसमध्ये नतिजामा चार हजार १७९ जनाले ३ दशमलव ६१ देखि ४ जिपिए, ३० हजार १०७ जनाले ३ दशमलव २१ देखि ३ दशमलव ६० जिपिए, ६५ हजार २८४ जनाले २ दशमलव ८१ देखि ३ दशमलव २० जिपिए, ६४ हजार ९३ जनाले २ दशमलव ४१ देखि २ दशमलव ८० जिपिए, १० हजार ९०० जनाले २ दशमलव ०१ देखि २ दशमलव ४० जिपिए र ३५ जनाले १ दशमलव ६१ देखि २ जिपिए ल्याएका छन् ।

बोर्डका उपाध्यक्ष डा. शर्माले भन्नुभयो, “यसवर्ष एक लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । त्यस मध्येमा एक लाख ३० हजार ८७८ जनाले मात्रै ग्रेड बृद्धि परीक्षामा सहभागि हुन पाउँछन् ।” दुई विषयमा निर्धारित प्रतिशत भन्दा कम ल्याउने विद्यार्थीले पुनः ग्रेड बृद्धि परीक्षा सहभागि हुन पाउँछन् । बोर्डले देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

बोर्डले यसवर्षको नतिजामा ग्रेड बृद्धि परीक्षामा सहभागि हुन पाउने एक लाख ३० हजार ८७८ परीक्षार्थीका लागि आउँदो असोज ३० र ३१ गते परीक्षा सञ्चालन गर्ने गरि आजै परीक्षा तालिकासमेत सार्वजनिक गरेको अध्यक्ष डा. शर्माले जानकारी दिनु भयो ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

नगर प्रमुख खत्रीको अध्यक्षतामा चाँगुनारायण अस्पताल सञ्चालन समिति गठन : गुणस्तरीय सेवा बिस्तार उच्च प्राथमिकतामा

भक्तपुर, १७ भदौ : चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको अध्यक्षतामा चाँगुनारायण नगर अस्पताल सञ्चालन तथा व्यबस्थापन समिति गठन गरेको छ । चाँगुनारायण नगरपालिकाद्धारा सञ्चालित चाँगुनारायण नगर अस्पतालमा सञ्चालन कार्यबिधी अनुसार समिति गठन भएको हो । आज नगर प्रमुख खत्री, उपप्रमुख रमेश बुढाथोकीसहित कार्यपालिका सदस्य एवं अस्पतालका कर्मचारीको बैठकमा सहभागिता रहेको थियो ।

समितिको वरिष्ट उपाध्यक्षमा उपप्रमुख बुढाथोकी, उपाध्यक्षमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापा, जनप्रतिनिधि र कर्मचारी रहेको १६ सदस्यीय समिति गठन भएको छ । समिति सदस्यहरुमा नपाका प्रमुख प्रशासकीइ अधिकृत हरिप्रसाद चापागाई, १, ४ र ५ का वडाध्यक्षहरु सिजन कार्की, रोजबहादुर तामाङ र जयन्द्र  खड्का, सामाजिक विकास समिति संयोजक जनक खत्री, वडा तथा कार्यपालिका सदस्य कमला भारती, सीता मिजार रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा संगीता फुँयाल, सुरेन्द्र लामिछाने, स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवाल, दुर्गा कुईकेल, चाँगुनारायण अस्पतालका डा. शैलेस त्वायनावासु, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजार सदस्य रहको समिति गठन गरेको छ ।

समितिले आजै अस्पतालका वर्तमान अबस्था, कमि कमजोरी, सेवा प्रवाहका सहज बनाउन आवश्यक सामग्रीको अबस्थासहितको बस्तुगत विवरण संकलन गरि आगामी एकसाता भित्र नगरपालिकालाई बुझाउनु पर्ने, अस्पतालसम्म पुग्ने सडक तत्काल पक्कि गर्ने, अस्पतालको आफ्नै खाता सञ्चालन गर्ने लगायतको निर्णय गरेको नगर प्रमुख एवं समितिका अध्यक्ष खत्रीले जानकारी दिनु भयो । समितिका उपाध्यक्ष थापाको अध्यक्षतामा दैनिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको छ ।

चाँगुनारायणको ग्रामिण क्षेत्रका बासिन्दालाई पहिलो उपचारका लागि सहज बनाउने उदेश्यले नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गर्ने उदेश्यले नगरपालिकाले बजेटको विनियोजन गर्दै थप बजेट प्रदेश तथा संघीय सरकारसँग माग गर्ने गरि अस्पतालाई बिस्तार गर्ने योजना बनाएको उहाँले बताउनु भयो ।

हाल १५ शैय्यामा सञ्चालित चाँगुनारायण अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, २४ सै घण्टा प्रसुती सेवा, ल्याब, ओपिडी, सामान्य शल्यक्रिया, बिमा फार्मेसी, खोप सेवा, परिवार नियोजन सेवा, एक्सरे सेवा, नाक, कान, घाँटी सेवा, किशोर किशोरी मैत्री सेवा, आठ हप्तासम्मको गर्भपतन सेवा, निःशुल्क औषधि वितरण, एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ ।

आफ्नै अक्सिजन उत्पादन सुरु गरेको अस्पतालमा प्राबिधिक सामाग्रीहरुको विस्तार गर्दै भेन्टिलेटरसहितको आइसियू, सिसियू, आधुनिक ल्याब लगायतको व्यबस्था गर्दै विशेषत्र सेवा विस्तार गर्ने योजना रहेको नगर प्रमुख खत्रीले बताउनु भयो ।

नगरपालिकाले आपतकालिन सेवा पूर्व तयारी, गाउँघर क्लिनिक, जेष्ठ नागरिक स्वास्थ्य सेवासञ्चालन गरेको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो । अस्पतालमा एक चिकित्सक, चार जना प्रशासन र अन्य नर्स गरि कूल २३ जना कर्मचारीले सेवा प्रवाह गरिरहेका छन् ।

नेपाली कांग्रेसका तत्कालिन युवा नेता रोशन पौडेलले २०६८ सालमा शिलन्यास गरि सरकारको रु. तीन करोड ८७ लाखको लागतमा निर्माण सम्पन्न भएको स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै कोरोना भाइरस संक्रमणको महामारीका बेलामा तत्कालिन शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले २०६६ मंसीर २८ गते उद्घाटन गर्नु भएको थियो ।

राजनीतिक अपराधीहरुबाट सामाजिक सञ्जालमा एमाले नेता महेश बस्नेत बिरुद्ध प्रचार, प्रतिवाद गर्न एमालेको निर्देशन

भक्तपुर, १५ भदौ । भक्तपुर क्षेत्र नं. २ मा एमालेका प्रभावशाली नेता महेश बस्नेतलाई आगामी निर्वाचनमा पनि पराजित गर्न सकिदैन भन्ने हारको मानसिकताले ग्रसित संगठनबाट परिचालित राजनीतिक अपराधीहरुको गलत र भ्रामक प्रचार बिरुछ नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले प्रतिवाद गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एमालेका प्रभावशाली नेता महेश बस्नेतले बिभिन्न पार्टी परित्याग गरेकालाई एमालेमा भित्रयाउने अभियान नै सुरु गरेर एमालेलाई बलियो खम्बको रुपमा उभ्याए पछि तिल्मििलाएका अराजक तत्वहरुले आम जनतामा भ्रम फैलाउने गरि सामाजिक सञ्जालमा अभिव्यक्ति दिने, गलत व्यक्तिको तस्विर तथा भिडियो सम्प्रेषण गर्दै नेता बस्नेतको नाम जोडेर प्रचार गर्ने र चरित्र हत्या गर्ने कुप्रचार बिरुद्ध एक भएर प्रतिवादमा उत्रिन नेकपा एमाले भक्तपुरले आफ्ना कार्यकर्तालाई आव्हान गरेको छ ।

नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले हस्ताक्षर गरि सार्वजनिक गरेको बिज्ञप्तीमा भक्तपुर जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य, राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष एवं वर्तमान इन्चार्ज, नेपालको राजनीतिमा युवा पुस्तामा समकालिन मध्येका कुशल संगठन र लाखौ युवाका प्रेरणाको श्रोत महेश बस्नेतको निरन्तरको राजनीतिक सक्रियताबाट बिचलित केही अराजक व्यक्ति र संगठनले राजनीतिक अपराधीहरुबाट सामाजिक सञ्जालमा सुनुयोजित रुपमा प्रेषित दुषित समाचार प्रति पार्टीले खेद व्यक्त गरेको छ ।

एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष वचन देउजाद्धारा आज जारी बिज्ञप्तीमा सार्वजनिक गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा हारको मानसिकताबाट ग्रसित भइ तिल्मिलाएका अराजक समूहले विक्षिप्तताको प्रमाणस्वरुप चरित्रहत्या गर्ने कार्यको जति निन्दा गरे पनि कम हुन्छ भनिएको छ ।

सुनुयोजित रुपमा चरित्रहत्या गर्ने उदेश्यले सामाजिक सञ्जालमा केही अराजक तत्वले फैलाएको भ्रामक सामग्री प्रति नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले गम्भिर आपत्ति जनाएको छ ।

यस्तो प्रचारलाई विश्वास नगरी त्यसको प्रतिवाद गर्न समेत एमाले अध्यक्ष देउजाले कार्यकर्तालाई आव्ह्वान गर्नु भएको छ । केही पार्टी तथा दिनप्रतिदिन कमजोर बन्दै गएको संगठनका अराजक तत्वले नेकपा एमालेसँग आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्न नसक्ने भए पनि एमाले पार्टीका नेताहरुको दुष्प्रचारमा लाग्नु नै अराजक जत्थाको रणनीति भएकाले आम पार्टी कार्यकर्ता र जनसमुदायले सचेतनापूर्वक आफ्नो तह र तप्काबाट त्यस्ता कार्यको शसक्त प्रतिरोध गर्न तथा अपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले केही दिन अगाडिदेखि अबैध संरचना भत्काउन थालेको कदम विरुद्ध अभिव्यक्ति दिएपछि आलोचना खेप्दै आउनु भएका प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्रीसमेत रहनु भएका बस्नेत माथि लगाईएको लाञ्छना तथ्यहिन सामग्री र गलत प्रचार प्रति एमालेले गम्भिर आपत्ति जनाउदै ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौं महानगरपालिकाले अल्फाबिटा कम्प्लेक्सको संरचना भत्काएपछि नेता बस्नेतले अरुको सम्पत्ति जथाभावी भत्काउन नहुने, भत्काउनु अगाडिको नियम पालना गर्नु पर्ने, निश्चित समय दिनु पर्ने, व्यापारीहरुको लाखौ, करोडौको क्षति भएकाले क्षतिपूर्तिको व्यबस्था गर्नु पर्ने जस्ता बिचार राख्दा अराजक तत्वले अराजक शैलीमा उहाँ बिरुद्ध सामाजिक सञ्चालमा प्रचार गर्दै आएका छन् ।

एमालेका नेता तथा कार्यकर्ताले त्यस्ता गलत र भ्रामक प्रचारप्रति सामाजिक सञ्चालबाटै शसक्त प्रतिकार गर्दै आएको छ भने नेता बस्नेतले समेत त्यस्ता अराजक तत्वलाई साइबर क्राइम लगाएर कारबाही गर्न माग गर्नु भएको छ ।