पाँच दलीय गठबन्धन राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा

दाङ, २५ वैशाख  : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक तथा राष्ट्रिय आवश्यकतामा निर्माण भएको बताउनुभएको छ ।

तुलसीपुरमा गठबन्धन दलले आज आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले देशलाई दुर्घटनाबाट जोगाउन र राष्ट्रको हितमा गठबन्धनको आवश्यकता महसुस गरी गरिएको बताउनुभयो । प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध शङ्का र उपशङ्का नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “गठबन्धन बन्नुअघि कांग्रेसको अवस्था कस्तो थियो । आज हाम्रो नेतृत्वमा सरकार छ ।

\यो सरकारलाई टिकाउन लागि गठबन्धनको आवश्यक देखिन्छ ।” उहाँले गठबन्धनका उम्मेदवार वियजी बनाउनका लागि मेहनत गर्न कांग्रेस कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । आज नै प्रधानमन्त्रीसहित गठबन्धन दलका नेताले घोराहीमा आयोजना गरिएको चुनावी आमसभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

विज्ञसँग छलफल र सहकार्य गरेर काठमाडौँ महानगरलाई अगाडि बढाउँछु : नेत्री सिंह

काठमाडौँ, २५ वैशाख : गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाकी नगरप्रमुखकी उम्मेदवार सिर्जना सिंहले विज्ञहरूसँगको छलफल र सहकार्य गरेर काठमाडौँ महानगरपालिकालाई अगाडि बढाउने बताउनुभएको छ । आज यहाँ आयोजित ‘बुद्धिजीवी भेला एवं छलफल कार्यक्रम’ मा नगरप्रमुखको उम्मेदवार सिंहले विज्ञको सल्लाहमै काठमाडौँ महानगरलाई अगाडि बढाउने बताउनुभयो ।

काठमाडौँ महानगरको विकासका लागि कहाँ के गर्न सकिन्छ । सम्बन्धित विषयका विज्ञसँग छलफल गरेर समृद्ध महानगर निर्माणमा लाग्नेछु”, उहाँले भन्नुभयो । काठमाडौँलाई समृद्ध महानगर बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी काम गर्ने उहाँको भनाइ छ । नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सवल र समुन्नत पूर्वाधार, सवल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी निर्माण आफ्नो मुख्य एजेण्डा भएको भन्दै सोहीअनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफू मेयर भएकै दिनदेखि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो । उहाँले महानगरभित्रका गरिब तथा विपन्न जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सुविधा सम्पन्न महानगर अस्पताल खोलेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नेसमेत बताउनुभयो । “महानगरभित्र सुशासन कायम गर्न भ्रष्टाचारमुक्त काठमाडौँ र प्रविधिको प्रयोग गरेर घरबाटै सेवा लिने वातावरण निर्माण गर्छु”, उहाँले भन्नुभयो । कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले प्रजातन्त्र स्थापनामा सिंहको महत्वपूर्ण योगदान रहेको बताउँदै काठमाडौँ महानगरपालिकामा सिंहको जित नै लोकतन्त्रको जित भएको बताउनुभयो । उहाँले काठमाडौँ महानगरपालिकाले एक सक्षम र योग्य महिला उम्मेदवार पाएको भन्दै उहाँलाई जिताउनका लागि सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो । –––

मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगीबारे स्पष्ट

काठमाडौँ, २५ वैशाख : निर्वाचन आयोगले यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने भर्ई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आपूmसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत संकेत गर्ने गोप्यस्थनमा प्रवेश गर्न अनुमति दिनुपर्ने प्रावधानबारे थप स्पष्ट पारेको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाईसँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने, दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको छ ।

कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफैँ मत संकेत गर्न नसक्ने भई मत संकेत गर्ने काममा सहयोग पु¥याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको छ । सो व्यवस्थाअनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

निर्वाचन देश दुर्घटना हुनबाट रोक्ने अवसर हो : अध्यक्ष लिङ्देन

मकवानपुर, २५ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनै तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताउनुभएको छ । अध्यक्ष लिङ्देनले आज हेटौँडामा आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदै उहाँले देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै तीन तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले म मात्र सुध्रेर नहुने बताउँदै कांग्रेस, एमाले र माओवादी पनि सुध्रिन जरुरी रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “यसबाट थाहा हुन्छ कि उहाँहरू जनताबाट कति टाढा भइसके ।” राप्रपाका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले हेटौँडा उपमहानगरपालिकामा यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले डोजर र जग्गा पल्टिङको मात्र विकास गरेको टिप्पणी गर्नभयो ।

उहाँले आफूले हेटौँडामा स्वास्थ्यको समस्या धेरै समय अघिबाट देखेको तर यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले समस्यको समाधानको लागि केही पहल नगरेको आरोप लगाउनुभयो । उहाँले आफूलाई हेटौँडाको अस्पतालमा एमआरआई र सिटिस्क्यान समेत नहुने जानकारी आएको बताउनुहुँदै बागमती प्रदेशको राजधानी भएर पनि यहाँको जनप्रतिनिधिहरूले अस्पतालको विकास गर्न नसकेको आरोप लगाउनुभयो ।

हेटौँडाको मेयरको लागि उम्मेदवार दीपकबहादुर सिंह उठाएको भन्दै सिंहको सक्षम टिमलाई जिताउन हेटौँडावासीलाई आग्रह गर्नुभयो । हेटौँडा उपमहानगरपालिका मेयरमा उम्मेदवार बनेका दिपक सिंहले आफूलाई हेटौँडाको मेयरमा जिताउन अपिल गर्दै आफू मेयरमा निर्वाचित भए भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मत माग्ने पत्रकार सङ्गठनलाई आयोगको स्पष्टीकरण

काठमाडौँ, २५ वैशाख : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत स्थानीय तह निर्वाचनका सन्दर्भमा मतदाताहरूलाई अपिलको विषयको विज्ञप्ति सार्वजनिक गर्ने विभिन्न पाँच पत्रकार सङ्गठनलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न जवाफ माग गरेको छ ।

आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार सङ्घ नेपालका सचिव श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो ।

उहाँहरूले संयुक्त अपिल जारी गरी पहिलो प्रवृत्तिका रुपमा सत्तारुढ पाँच दलीय वामलोकतान्त्रिक गठबन्धन अगाडि आएको र दोस्रो प्रवृत्तिको प्रतिनिधित्व प्रतिगमनको नेतृत्व गर्ने नेकपा एमालेले गरेको भन्दै सत्ता गठबन्धनलाई मतदानका लागि गर्नुभएको आग्रह निर्वाचन आचारसंहिता, २०७८ विपरीत भएको आयोगको भनाइ छ ।

निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको खण्ड ९ख० मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ । सोही दफाको खण्ड ९घ० मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ ।

“यस सन्दर्भमा स्वतन्त्र पत्रकारहरूको पेशागत सङ्गठनको तर्फबाट तपाईंले हस्ताक्षर गरी विज्ञप्ति जारी गर्नु निर्वाचन आचारसंहिता विपरीत हुन्छ, हुँदैन रु स्वतन्त्र पत्रकारको पेशागत सङ्गठनको अध्यक्ष÷सचिवले कुनै अमुक राजनीतिक दलको÷दल पक्ष वा विपक्षमा विज्ञप्ति जारी गर्न मिल्छ, मिल्दैन ”, आयोगको स्पष्टीकरणमा भनिएको छ, “कुनै राजनीतिक समूहप्रति पक्षधरता प्रकट गरी मतदातालाई कुनै अमुक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न भनी विज्ञप्ति जारी गर्ने कार्य पत्रकार वा पत्रकारको सङ्घरसङ्गठनको पेशागत मर्यादाभित्र पर्छ, पर्दैन रु पत्रकारको पेशागत सङ्गठन अमुक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ, हुँदैन ।

पत्रकारिताको क्षेत्र र राजनीतिक क्षेत्र भिन्न हो, होइन रु” आयोगलले कुनै पनि सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी र पत्रकारले पेशागत सङ्घरसङ्गठनमा आबद्ध भई सोमार्फत निर्वाचन आचारसंहिता विपरीत वक्तव्य जारी गर्दा आचारसंहिता उल्लल्घन हुँदैन भन्ने दलिल पेश गर्न मिल्छ, मिल्दैन रु भन्दै पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र उक्त विज्ञप्ति हटाई सोही समयभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्न आग्रह गरेको छ ।

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

काठमाडौँ, २५ वैशाख  : राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले औषधि (तेस्रो संशोधन), अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्नुभएको हो ।

राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त दुई अध्यादेश जारी गर्नुभएको उल्लेख छ ।

शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न बिभिन्न निर्णय पारित

भक्तपुर, २५ बैशाख : यहीँ ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले निर्वाचन अबधीभर भक्तपुरमा मदिरा बिक्री वितरण तथा सेवन नगर्न नगराउन कडा निर्देशन जारी गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा मुख्य निर्वाचन अधिकृत एवं भक्तपुरका मुख्य न्यायाधिस गोपालप्रसाद बास्तोला, जिल्ला निर्वाचन कार्यालय, तीनवर्टै सुरक्षा निकायका प्रमुख, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल पत्रकार महासंघलगायत सरोकारवाला निकायबीच भएको निर्वाचन सम्बन्धी छलफलमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न बिभिन्न निर्णयहरु गरेको छ ।

बैठकले ३० गतेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भय रहित, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आगामी २७ गते राती १२ बजेदेखि ३० गतेसम्म कुनै पनि प्रकारको मदिरा बिक्री वितरण गर्न र सेवन गर्न निषेध गर्ने निर्णय गरेको छ । साथै मतगणना सम्पन्न नभएसम्म मतगणना स्थल आसपास मदिरा बिक्री वितरण एवं सेवन निषेध गर्ने निर्णय गर्दै यो आदेशलाई अबज्ञा गरे तत्काल पक्राउ गरि कारबाही गरिने प्रजिअ शर्माले जानकारी दिनु भयो ।

त्यस्तै सबैले आचार संहिताको पूर्ण पालना गर्ने गराउने, मतगणना स्थलमा २४ सै घण्टा विद्युत, टेलिफोन तथा इन्टरनेटको आफूर्ती गर्न विद्युत प्राधिकरण र टेलिकमलाई निर्देशन गरेको छ ।

छलफलमै उठेको बिभिन्न विषयमा निर्णय गर्दै निर्वाचनका दिन जिल्लामा रहेका सबै एम्बुलेन्सलाई आवश्यक पर्ने बित्तिकै प्रयोगमा आउने गरि प्राथमिक उपचारका सामग्री, स्वास्थ्यकर्मीसहित तयारी अबस्थामा राख्न, जिल्लाका सरकारी तथा निजी अस्पताल, स्वास्थ्य संस्थालाई जनशक्तिसहित नियमित सञ्चालन गरी आकस्मिक सेवा दिनसक्ने गरि तयारी अबस्थामा राख्न, दमकल, डोजरलाई तयारी अबस्थामा राख्न निर्देशन दिएको छ ।

त्यस्तै निर्वाचनका दिन खानेपानी, एम्बुलेन्स, दमकल, शव बाहन, अस्पताल, विद्युत सेवा, रेडक्रसका गाडी र सवारी पास बाहेकका कुनै पनि साधनलाई सञ्चालन गर्न नदिने, कुनै पनि पास भएका सवारी साधनले मतदाता बोकेको पाइए नियन्त्रणमा लिएर तत्कालै पास खारेज गर्ने निर्णय समेत गरेको प्रजिअ शर्माले जानकारी दिनु भयो ।

नेपाल रेडक्रस सोसाईटी भक्तपुरका सभापति मनोजकुमार थापाले निर्वाचनका दिन चार वटै नगरपालिकाका लागि चार वटा एम्बुलेन्समा प्राथमिक उपचारको सामग्री सहित राख्ने बताउनु भयो । मतदान स्थलमा स्थानीय पालिकाले प्राथमिक उपचारका सामग्री पठाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

छलफलमा मुख्य निर्वाचन अधिकृत वास्तोलाले विद्युत आपूर्ती नियमित गराउन आग्रह गर्नु भयो भने जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले तयारीकाबारेमा जानकारी गराउनु भयो । प्रहरी परिसर भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठले सुरक्षाको अबस्थाकाबारेमा चर्चा गर्नु भयो ।

उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष शिव मानन्धर, नेपाल चेम्बर अफ कमर्स भक्तपुरका अध्यक्ष न्हुच्छे मानन्धरले निजी क्षेत्रलाई पनि निर्वाचनको अनुगमन गर्न परिवेक्षक बनाइनु पर्ने माग गर्नु भयो । उहाँहरुले निर्वाचनको बेलामा बजारमा कालोबजारी हुन नदिन बजार नियन्त्रणको पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार तथा राससका प्रतिनिधि रमेश गिरी र नेपाल पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष लीला श्रेष्ठले निर्वाचनका दिन यहाँका क्रियासिल पत्रकारलाई सवारी पासको व्यबस्था जिल्ला प्रशासन कार्यालयले गर्न माग गर्नु भयो ।

उपत्यका भित्र रहे पनि भक्तपुर केन्द्रबाट टाढा रहेको भन्दै उहाँहरुले सूचना विभागबाट जारी प्रमाणपत्रको आधारमा भक्तपुरका लागि पनि निर्वाचन आयोगबाटै सवारी पास लिनु पर्ने व्यबस्था यहाँका लागि अब्यबहारिक रहेको भन्दै यहाँका क्रियासिल पत्रकारलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरलेनै सवारी पासको व्यबस्था गर्न माग गर्नु भयो ।–––

भक्तपुरको तीनवटै नगरपालिका एमालेले जित्छ, भक्तपुरमा जग हल्लायौँ, यो चुनाबमा खाता खोल्छौ : महेश बस्नेत

भक्तपुर, २४ बैशाख । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभाका सांसद महेश बस्नेतले भक्तपुरका तीन वटै नगरपालिका एमालेले जित्ने दाबी गर्नु भएको छ ।

नेकपा एमाले भक्तपुर नगर कमिटीले शनिवार भक्तपुरको टौमढीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यसअघि एमालेले नेतृत्व गरेको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि तीन वटै नगरपालिका बैशाख ३० गतेको चुनाबमा पनि एमालेले जित्ने दाबी गर्नु भएको हो ।

एमालेका युवा नेता एवं पूर्वमन्त्री बस्नेतले भन्नुभयो, “जनताले सही मूल्यांकन गर्ने छन्, ४० वर्षसम्म हुन नसकेको भक्तपुरको बिकास ५ वर्षमा भएको छ, एमालेले नेतृत्व गरेको तीन वटा नगरपालिकामा भएको विकास देखेका जनताले भक्तपुरलाई बिकास, समृद्ध र सुखी बनाउन एमालेलाई नै रोज्छन्, भुत्ते गठबन्धनले केही गर्दै, एमालेलाई जनताले ल्याउछन् ल्याउछन् ।”

भक्तपुर नगरपालिकाले नगर भित्रका जनताको पक्षमा काम गर्न नसक्दा यहाँका जनता पुस्तौदेखि जस्ताको तस्तै रहेको तर अन्य नगरपालिकाका विकाससँगै आएको परिवर्तन र जनताको स्तर माथि उठेपछि भक्तपुरका जनता सूर्यविनायक र चाँगुनारायणमा बसाई सर्ने क्रम तिब्र रहेको भन्दै उहाँले एमाले, एमालेले गरेको बिकास र महेश बस्नेत नेमकिपाका लागि टाउँको दुखाई बनेको बताउनु भयो ।

हिजोको धनी भनेको भक्तपुर नगरपालिका र यहाँको जनताकोस्तर जहाँको त्यही छ, हिजोको गरिब भनेको सूर्यविनायक र चाँगुनारायण आज कहाँ पुग्यो, यहाँका जनताले हेर्दै नेमकिपालाई सपारी रहेको टिप्पणी गर्नु भयो । भक्तपुर नगरपालिकामा समेत यस वर्ष एउटा वडामा मात्रै भए पनि खाता खोल्ने दाबी गर्दै उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिका भित्र एमाले छिरिसकेको छ, नेमकिपाका नेता, कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका छन्, नेमकिपाको कुर्सी एमालेले यस पटक जगैसम्म हल्लाएको छ, अब एमाले भक्तपुरमा आउँछ, आउँछ, एउटा वडामा भए पनि यसवर्ष एमालेले खाता खोल्छ ।”

भक्तपुर नगर भित्र २०७४ सालको निर्वाचनमा ३ हजार भोट लिएको एमालेले प्रदेश सभाको निर्वाचनमा रोमन शिलाकारलाई उठाउँदा ८ हजारभन्दा बढी भोट ल्यायो, यो चुनाबमा एमालेले १० हजार भोट ल्यायो भने हाम्रो लागि त्यो जित हुनेछ भन्दै उहाँले यो वर्ष भक्तपुर नगरपालिकामा कमसेकम १ वटा वडामा एमालेले खाता खोल्ने संकल्प लिएको बताउनु भयो ।

अम्बा एक पटक टोक्न गाह्रो हुन्छ, त्यसपछि सिंगो अम्बा खान सजिलो हुन्छ, एमालेले यस पटक एउटा गाँस त खायो खायो भन्दै सांसद बस्नेतले भन्नुभयो, “नेमकिपामा जीवन अर्पण गर्नु भएका ज्ञानबहादुर न्याईच्याई माथि अन्याय गर्ने नेमकिपा बिरुद्ध एमालेबाट उहाँकै छोरा रमेश न्याईच्याई वडाध्यक्षमा उठ्नु भएको छ, उहाँको योगदानको मूल्यांकन गरेर यहाँको जनताले भोट उहाँलाई दिनेछन्, यस पटक रमेश न्याईच्याई नेमकिपालाई परास्त गरेर भक्तपुर नगरपालिकामा प्रवेश गर्नेछन्, अनि पाँच वर्ष भित्र भक्तपुर नगरपालिकाबाट पनि नेमकिपालाई बिदाई गर्छौँ ।”

भक्तपुरमा एमाले प्रवेश गर्छ भन्ने डरले २०७४ को निर्वाचनमा २ नं. क्षेत्रमा परेको भक्तपुरको ८ वटा वडाको विषयमा नेमकिपाले झगडा गरेरै ती वडाहरु थपेको बताउदै उहाँले अहिले सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकामा नेमकिपाले आफ्नो अस्तित्व जोगाउन नसक्ने अबस्थामा पुगेको बताउनु भयो् । भक्तपुर क्षेत्र नं. २ मा नेमकिपाले ३ हजार भोट ल्याउन नसक्ने अबस्थामा पुगेको उहाँको आरोप छ ।

सरकारले पठाउने समपुरक बजेट हरेक वर्ष यो जिल्लामा सबभन्दा बढी भक्तपुर नगरपालिकामा आउँने गरेको बताउदै उहाँले भन्नुभयो, “सूर्यविनायकमा ६० करोड, चाँगुनारायणमा ५५ करोड र भक्तपुरमा १ अर्ब बजेट आउँछ, आन्तरिक आय तर्फ सूर्यविनायकको वर्षमा १२ करोड, चाँगुनारायणको १८ करोड र भक्तपुरको एक अर्ब हुन्छ, भौगोलिक रुपमा हेर्ने हो भने सबभन्दा सानो पालिका भक्तपुर नगरपालिका हो, त्यो २ अर्ब पैसा ख्वपमा कलेजमा सकियो भन्न मिल्छ ? यहाँको जनताले तिरेको कर खै ? जनता झक्किएका छन् ।”

भक्तपुर नगरपालिकाले अहिलेसम्म एने, कानून नबनाई ख्पव कलेज चलाएको आरोप लगाउदै उहाँले भक्तपुरकै पुरोना भक्तपुर क्याम्पस बनाउन कुनै सहयोग नगर्ने, आफ्नै जनताले दैलोमै उपचार पाउने १०० भन्दा बर्ष भन्दा पुरोना भक्तपुर अस्पताल बनाउन, त्यहाँ आईसियू, भेन्टिलेटर राख्न, कुनै पहल नगर्ने भक्तपुर नगरपालिकाले उल्टै अस्पतालको साँघुरो जग्गामा स्मार्ट शौचालय बनाएर पैसा उठाउनुले पनि उसको नियत प्रष्ट हुने बताउनु भयो ।

सरकारकै बजेटबाट सूर्यविनायक र चाँगुनारायणमा आईसियू र अक्सिजन प्लान्टसहितको अस्पताल बनाएको तर ख्वप अस्पतालका लागि जनतासँग ६ करोड चन्दा उठाउने नगरपालिकाले भक्तपुरका लागि सरकारले छुट्याएको २८ करोड लिन केन्द्रीय र प्रदेश सरकारसँग समन्वय नगरेको उहाँको भनाइ थियो ।

अरुलाई भ्रष्टाचार गर्यो भन्ने नेमकिपाले डोलेश्वरमा बनाएको मन्दिर र सूर्यविनायकमा सडक, पुल निर्माणको काम र लागत र भक्तपुर नगरपालिकाले बनाएको पुल र त्यसको लागत दाजेर हेरे पुग्छ भन्दै उहाँले भक्तपुर नगरपालिकाले गरेको जग्गा एकीकरण आयोजनाबाट गरिबमाथि गरेको शोषण र भ्रष्टाचारकै कारण अहिले नेमकिपा बिरुद्ध आवाज उठेको बताउनु भयो ।

भूकम्पले भक्तपुरमा सबभन्दा बढी क्षति पुग्दा दैलोको नगरपालिका र नेमकिपाले केही नगरे पछि यहाँका जनतालाई आफूले बस्ने बाँसदेखि गाँससम्मको व्यबस्था गरेको चर्चा गर्दै नेता बस्नेतले भन्नुभयो,“भूकम्प गएर धेरै जनधनको क्षति हुँदा नेमकिपा कहाँ भाग्यो ? त्यतिखेर यहाँका जनतालाई राहत दिन एमाले आउनु पर्यो, मैले भक्तपुर नगरपालिका भित्र २१०० वटा टहरा बनाएर दिए, जस्ता दिए, खानलाई राहत वितरण गरे, प्रत्येक मृतक परिवारलाई १ हजार राहत दिए, कोभिड महामारीमा नेमकिपाले त्यस्तै गर्यो ।”

हनुमन्ते सफाई अभियान १०० हप्ता र अरनिको राजमार्ग सफाई २ महिने अभियान चलाउदा नेमकिपा नआएको र जानेलाई कारबाही गर्ने धम्की दिएको भन्दै अरनिको राजमार्गमा उज्यालो बनाउने अभियान चलाएर सडकमा बत्ति हाल्ने क्रममा राधे राधेसम्म सडक बत्ति भएको तर यता भक्तपुरमा अध्यारोमा राख्न भक्तपुर नगरपालिकाले बत्ति हाल्न नदिदाँ हनुमन्ते पुलदेखि सूर्यविनायकसम्म बत्ति हाल्ने योजना पुरा गर्न नपाउँदा सडक अध्यारै भएको बताउनु भयो ।

हनुमन्ते करिडोर निर्माण गर्न आफूले २ अर्ब बजेट ल्याएर भक्तपुरका ३ ठाउँबाट ७० लाखका दरले सुरु गर्न लाग्दा सूर्यविनाक र मध्यपुरथिमि क्षेत्रमा करिडोर बनेपनि भक्तपुर नगरपालिका क्षेत्रमा हनुमन्ते करिडोर बन्न नदिदाँ रोकिएको बताउनु भयो ।

भूकम्पले भत्किएका विद्यालय बनाउन भक्तपुर नगरपालिकाले नदिएको भन्दै उहाँले सूर्यविनायकमा ३४ वटा, चाँगुनारायणमा ४८ वटा विद्यालय पुर्ननिर्माण हुँदा भक्तपुरमा ८ वटामात्रै पुर्ननिर्माण भएको बताउनु भयो । भक्तपुरमा स्मार्ट सिटीदेखि रंगशालासम्म निर्माणसम्मको बिरोध गर्ने यो नगरपालिकाले आफूले गरेको इँता पाखे, कमल विनायक, लिवालीमा गरेको जग्गा प्लटिङमा भ्रष्टाचार गरे पछि जनता बाध्य भएर बिरोधमा उत्रिएको भनाइ राख्नु भयो ।

 

राप्रपा र कांग्रेस परित्याग गरि एमालेमा प्रवेश, अध्यक्ष ओलीद्धारा स्वागत

भक्तपुर, २४ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिदै आउँदा पनि नेकपा एमाले पार्टी प्रवेश गर्नेहरुको क्रेज घटेको छैन । सत्ता गठबन्धनको नौ महिनामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीलगायतको गठबन्धनले आफू, आफ्ना र आफन्तको स्वार्थ पूर्तीको काम मात्रै गरेको तर नेकपा एमालेले देश बिकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै एमालेमा प्रवेश गर्नेको लहर चलेको छ ।

स्थानीय तह निर्वाचनको मुखमा सूर्यविनायक नगरपालिका–१० चितापोलमा २०७४ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा अध्यक्ष पदमा ६३५ मत प्राप्त गरि दोस्रो पार्टी भएको भगवान थापा एमाले प्रवेश गरेका छन् । वडाध्यक्षमा एमालेसँग पराजित भएका थापासहितको टोली राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हुन् ।

त्यसै गरि नेपाली काँग्रेस परित्याग गरि ऋषिराम थापा नेकपा एमाले प्रवेश गरेका छन् । दुवै नेतासहितको टोलीलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री के पि शर्मा ओलीले टीका तथा खादा लगाएर एमाले प्रवेश गराउनु भएको छ ।

बालकोटस्थित ओली निवासमा पुगेर पार्टी प्रवेश गर्नु भएका थापाद्धयले ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका मेयरका उम्मेदवार वासुदेव थापा, उपमेयरका उम्मेदवार सरिता तिम्सिना भट्टराई तथा सूर्यविनायक नगरपालिका १ देखि १० वटै वडाका वडाध्यक्ष एवं सदस्यहरुलाई विजयी गराउन आफूहरु लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

सम्पदा संरक्षणकर्मी, बिकासप्रेमी मदन सुन्दर श्रेष्ठको योजना सफल, मध्यपुरथिमिको कमल पोखरीमा फूल्यो कमलको फूल

मदन सुन्दर श्रेष्ठ भन्नुहुन्छ, “म सानो छदाँ कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरी बाबुबाजेको पालादेखि नै सार्वजनिक रहेको मलाई थाहा थियो, व्यक्तिको नाममा गयो भने पछि चुप लागेर बस्न मनले मानेन, म मेयर भएर आए पछि पोखरी जोगाउने दायित्वनै थपियो, स्थानीयसंग काँधमा काँध मिलाएर अदालत गईयो, उच्च अदालत र सर्वोच्च अदालतबाट पनि स्थानीयकै पक्षमा फैसला आए पछि यो पोखरीको संरक्षणमा जुटियो ।”

===================================================

भक्तपुर, २४ बैशाख । शनिवार बिहान मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित कमल पोखरीमा फर्केको कमलको फूल हेर्दै थिइन् एक युवती । अलि पर बिहान मर्निङ्ग वाक आएकाहरु पनि फर्केको कमलको फूल हेरेर मख्ख पर्दै थिए । केी वर्ष अगाडिसम्म फोहोर फाल्ने, घाँसले दबदबे भएको यो पोखरीमा अहिले यसरी कमलको फूल देखेर उनीहरु भन्दै थिए, “जसले जे भने पनि अहिलेका मेयर मदन सुन्दरले काम चाँही थिमिमा गरेकै हुन् है ?, हेर्दा हेर्दै यो पोखरकिो स्वरुप फेरियो, फूल फुल्यो, यहाँको कुमारी पार्क अहिले कति सुन्दर भयो, योजना, भिजन र लक्ष्य भए पुरा गर्न सक्दो रैछन् ।”

यो पार्क र कमल पोखरीमा आउने अधिकांश स्थानीय वासी हुन् वा अरु ठाउँका जहाँका भए पनि थिमिका मेयरले गरेको उत्कष्ट कामको निकै प्रंशसा मात्रै गर्दैनन्, अबको पाँच वर्ष फेरी उनैले नगरपालिकाको नेतृत्व गर्न सके यहाँको सबै बिकासले पूर्णता पाउने बताउदै थिए ।
केही वर्ष अगाडिसम्म वरिपरि लामोलामो झाडी, बीचमा दबदबे हिलो, त्यसमाथि घाँसैघाँस, डिलमा जथाभावी फालिएको फोहोर देखिन्थ्यो मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात कमल पोखरीमा र अहिले भने सुन्दर कमलको फूल फक्रेको देखिन्छ यहाँ ।

व्यक्तिको नाममा दर्ता भई पटक पटक किनबेच भएको ऐतिहासिक यो पोखरीले आफ्नो स्वरुप फेर्ला भन्ने कल्पना पनि नगरेका स्थानीय यतिखेर आफ्नै टोलको यहीँ पोखरीमा झण्डै ५० वर्ष पछि सुन्दर कमलको फूल फुलेको देख्दा मनै फुरुङ्ग भएको स्थानीय शकुन्तला श्रेष्ठ बताउनु हुन्छ ।

आज बिहान ९ बजे पोखरीको बारमा समातेर कमलको फूल हेर्दै गर्नु भएको उहाँले दबदबे चौरमा परिणत भएको यो पोखरी फेरी सुन्दर होला, यसरी कमलको फूल फुल्ला, डुङ्गा चढ्न पाइएला भनेर नसोचे पनि अहिले पोखरीले पुर्नजीवन पाएर फूल फुलेको देख्दा खुसी लागेको बताउनु हुन्छ । “गरे के सकिदैन रैछ र ?, स्थानीयको साथ र जनप्रतिनिधिको चाहना भए असम्भव पनि सम्भव हुँदो रहेछ, भन्ने नमूना बन्यो यो पोखरी, पोखरी नजिकैकोे कुमारी मन्दिर र पार्क । यो पोखरीले बोडेको पहिचान नै फेरियो, हामी खुसी छौँ”–बोडेका बिरेन्द्र जयना ।

तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं १ को पोखरीले ओगटेको १५ रोपनी नौ आना सार्वजनिक जग्गा २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते मनाङका ग्ल्याल्पो गुरुङ, तेन्जी शेर्पेनी, कर्सी जद्योना गुरुङसहित विभिन्न व्यक्तिको नाममा किनबेच भएपछि पोखरी सम्याएर घरेडी बनाउन डोजर आएपछि बल्ल स्थानीयले पोखरी बिक्री भएको चाल पाए र विरोधमा उत्रिए ।

त्यसपछि यहाँका बासिन्दाले संघर्ष समिति नै गठन गरेर नगरपालिकासहितको साथमा दायर गरेको रिटको भक्तपुर जिल्ला अदालतले २०७५ असार १९ गते बोडे क्षेत्रको उक्त कमलपोखरी “पलेस्वाँ पुखु” सार्वजनिक सम्पत्ति रहेको फैसला सुनाए पछि पोखरीको संरक्षणमा नगरपालिका जुट्यो । अदालतले फैसला गरेको भोलीपल्टै मध्यपुरथिमि नगरपालिकाले पोखरीमा डोजर लगाएर सफा गरी रु. ७५ लाख बजेट विनियोजन गरी पोखरीको संरक्षण सुरु गरेको बताउनुहुन्छ मध्यपुरथिमि नगरपालिकाका निवर्तमान प्रमुख मदनसुन्दर श्रेष्ठ ।

उहाँ भन्नुहुन्छ, “म सानो छदाँ कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरी बाबुबाजेको पालादेखि नै सार्वजनिक रहेको मलाई थाहा थियो, व्यक्तिको नाममा गयो भने पछि चुप लागेर बस्न मनले मानेन, म मेयर भएर आए पछि पोखरी जोगाउने दायित्वनै थपियो, स्थानीयसंग काँधमा काँध मिलाएर अदालत गईयो, उच्च अदालत र सर्वोच्च अदालतबाट पनि स्थानीयकै पक्षमा फैसला आए पछि यो पोखरीको संरक्षणमा जुटियो ।”

नगरपालिकाले पोखरीलाई ऐतिहासिक स्वरुपमा पुर्ननिर्माण गरको छ । पोखरीमा दाँची अप्पा, माँअप्पा इँटाको प्रयोग गरेर कलात्मक शैलीमा पुर्न निर्माण सम्पन्न गरि वरिपरि वार लगाइएको छ । पोखरीमा नगरपालिकाले रोपेको कमलको फूलको बिरुवाबाट कमलको फूल फुल्न थालेको छ भने नगरपालिकाले आन्तरिक पर्यटनको बिकासका लागि रु. पाँच लाखमा खरिद गरि दुईवटा डुङ्गा सञ्चालनमा ल्याएको छ । पोखरीमा दुई हजार माछाको भुरा छाडिएको छ ।

स्थानीय स्थानीय जयना भन्नुहुन्छ–“हामी बच्चा हुँदा पोखरीमा कमल फुल्थ्यो, पछि पुरियो, फोहोर भयो, वास्तै भएन, अहिले राम्रो पोखरी बन्यो, यहाँ त अचेल बिहान मर्निङ् वार्क, साँझ इभिनिङ वाक गर्ने मान्छे धेरै हुन्छन्, पोखरीमा अहिले कमलको फूल फुल्यो यो ठाउँ हेर्दा हेर्दै आन्तकिर पर्यटनको गन्तव्य बन्यो ।” नगरप्रमुख श्रेष्ठले पोखरीको वरिपरी निर्माण भएको १० फिट चौडाईको ढलान सहितको फुटपाथ त्यसमाथि पोखरीको डिलमा तेल्या इँटा छापेर खाली खुट्टाले पनि हिड्न मिल्ने गरि बनाएको बताउनु हुन्छ ।

यहीँ पोखरीमा फुलेको कमलको फूलले स्थानीय लायकू दरबारमा दशैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँको कमलको फूल चढाएर जात्रा चलाउने, जिब्रो छड्ने जात्रा चलाउने परम्परा ५० वर्ष अगाडिको परम्परालाई नगरपालिकाले यसै वर्षबाट सुरु गराउदै परम्परा, संस्कृति जोगाउन कमलको बिरुवा लगाएकोमा फूल फलेकाले अब विगतमा छुटेका सबै धार्मिक परम्पार सूचारु गर्न सकिने निवर्तमान नगर प्रमुख श्रेष्ठ बताउनुहुन्छ । पोखरी नजिकै नगरपालिकाले पुर्ननिर्माण गरेको कुमारी मन्दिर र कुमारी पार्कले यहाँ आन्तरिक पर्यटनको मुख्य गन्तव्य बन्न सफल भएको छ ।