भक्तपुर, ३० असार : भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उदेश्यले भक्तपुरमा आज बिहान ६ बजे १०० किलोमिटर लामो ‘तेश्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२३’ सुरु भएको छ ।
साइकल कनेक्ट भक्तपुरले आयोजना गरेको ‘तेश्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०८०’ को बिहान ६ बजे भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरबारस्क्वायरमा वागमति प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले रिबन काटेर उद्घाटन गरि शुभारम्भ गर्नु भएको हो ।
उहाँले विगत तीनवर्षदेखि सफलतापूर्वक निरन्तर रुपमा सञ्चालन हुदै आएको कोरा भक्तपुर साइकलिङ च्यालेन्जले नेपाललाई विश्वमा चिनाउन मद्धत गर्नुका साथै नेपालको पर्यटकीय विकासमा ठूलो टेवा पुर्याउने बताउनु भयो । यो च्यालेन्जले साईकल यात्रीहरुलाई प्रोत्साहन दिने मात्रै नभई यहाँको सुन्दर प्राकृतिक सौन्दर्यतालाई नियाल्दै ग्रामिण पर्यटकीय प्रबद्र्धनमा समेत टेवा पुर्याएको चर्चा गर्नुभयो ।
साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष एवं कार्यक्रमका संयोजक सुमित बालाले यसवर्ष ६०० भन्दा बढी साइकल यात्रीको सहभागिता रहने बताउनु भयो । उहाँले भक्तपुरका साइकलप्रेमीहरूको टीम साइकल कनेक्ट भक्तपुरले भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउन र टर्की र सिरियाको भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरेको बताउनु भयो ।
भक्तपुर तथा काभ्रेपलाञ्चोकलाई छुदै अधिकांश भक्तपुरका पर्यटकीय क्षेत्रको दृश्यावलोकन गरि यहाँको सौन्दर्यतालाई स्पर्श गर्दै साइकलबाटै २१०० मिटर उचाईसम्म १०० किलोमिटरको यात्रा आज एकैदिनमा सक्ने उहाँले बताउनुभयो । साइकल यात्रा बिहान ६ बजे भक्तपुरको दरबार स्क्वायरबाट सुरू भएर सिद्धपोखरी, सल्लाघारी, नयाँ ठिमी, बहाखा बजार, बोडे, निलबाराही, वेशीगाउँ, दुवाकोट, चाँगुनारायणसम्म पुगिसकेको छ ।
यो यात्रा त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बिरुवा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि, सल्लाघारीहुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा साँझ ७ बजे समापन गर्दै मनोरञ्जनात्मक कार्यक्रमसमेतको आयोजना गरिने संयोजक बालाले बताउनु भयो ।
कार्यक्रममा कोरा मास्टर सुनिल ख्याजुले भक्तपुर कोरा २०२३ नाम दिइएको यस कार्यक्रममा साइकलबाट ५०, ७५ र १०० किलोमिटरका तीनवटा रूटमा यात्रा हुने जानकारी बताउनु भयो । च्यालेन्जमा महिला ५० जनासहित करिब ६०० जना भनदा बढीको सहभागिता रहेको उहाँले बताउनुभयो ।
साइकल कनेक्ट भक्तपुरका अध्यक्ष निर्जला कोजूले च्यालेन्जमा भक्तपुर, काठमाडौँ, ललितपुर, बनेपा, पनौति, पोखरा, तनहुँ, धरान, भैरहवा, सुर्खेत, नेपालगञ्ज, बिरगञ्ज, चितवन, नवलरासी, बुटवललगायतका शहरहरूबाट साइकलयात्रामा सहभागी रहने भएको बताउनु भयो ।
विदेशबाट अमेरिका र यूरोपियन राष्ट्रका विदेशी सुाइकल यात्रीहरुको समेत सहभागिता रहेको बताउदै उहाँले आज साँझ कार्यक्रमको समापनमा ५०, ७५ र १०० किलोमिटरको च्यालेन्ज पुरा गर्ने सहभागिलाई मेडल वितरण गरिने बताउनु भयो । उत्साहजनक सहभागिका साथ च्यालेन्ज सुरु भएको बताउदै उहाँले बिहानको पौने आठ बजे साइकल यात्रा चाँगुनारायण पुगिसकेको र १० बजे नगरकोट पुग्ने बताउनुभयो ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0