वर्तमान् सरकार जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनका लागि गठन भएको हो : मुख्यमन्त्री किरण थापा मगर
हेटौँडा, ९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले वर्तमान् सरकार जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनका लागि गठन भएको बताउन भएको छ ।
मंगलबारको प्रदेश सभामा विश्वासको मतसम्बन्धी छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री थापाले वर्तमान सरकार केवल प्रशासन चलाउनका लागि मात्र नभई जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनका लागि गठन भएको बताउनु भएको हो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, ‘सरकारको मुख्य प्राथमिकता विकास, सुशासन र जनसेवामा रहने छ । स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई सरकारले प्रमुख आधारस्तम्भको रुपमा राख्नेछ । सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधारका साथै शिक्षाको गुणस्तर र प्रविधिको प्रयोगमा जोड दिनेछ, किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य र बजार सुनिश्चित गर्ने नीति सरकारले ल्याइने छ ।’
उहाँले गरिब नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अब अन्त्य गर्न प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्ने बताउदै किसानलाई केवल अनुदान दिने मात्र नभई उत्पादनदेखि बजारसम्म जोड्ने प्रणाली विकास गरिने बताउनुभयो । प्रदेशभित्रै उद्योग, पर्यटन र सूचना प्रविधिको विकास गरी रोजगारी सिर्जना गर्ने योजना अघि बढाइने भन्दै मुख्यमन्त्री थापाले बागमती प्रदेश संघीय राजधानी समेत रहेकाले यहाँ रहेको आर्थिक गतिविधिका प्रचुर सम्भावनालाइै उपयोगमा ल्याउने बताउनुभयो ।
ग्रामीण र सहरी क्षेत्रको सन्तुलित विकास नै सरकारको लक्ष्य भएको भन्दै उहाँले योजना छनोटमा हुने ढिलासुस्ती र बजेट कार्यान्वयनको फितलोपनलाई सुधार गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्ने प्रणाली विकास गरिने बताउनुभयो ।
गाउँ र सहरबीच सन्तुलित विकास आवश्यक रहेकाले त्यसमा सरकारले ध्यान दिने बताउदै मुख्यमन्त्री थापाले आफ्नो सरकार सत्तापक्षको मात्र नभई बागमती प्रदेशका सबै जनताको सरकार भएको महसुस दिलाउने बताउनुभयो । सरकारलाई जिम्मेवार र प्रभावकारी बनाउन मुख्यमन्त्री थापाले विश्वासको मतलाई केवल संख्याको विषयका रूपमा नलिन आग्रह गर्दै यो प्रदेश र जनताको विकासका लागि दिइएको जिम्मेवारी भएको बताउनुभयो । लोकतन्त्रमा प्रतिपक्षको भूमिका अपरिहार्य रहेको र सरकारले रचनात्मक आलोचनालाई सधैँ आत्मसात गर्ने उहाँले बताउनुभयो ।
