भोटेकोसी–त्रिशूली बाढीको तीन महिना: राहत पुगे पनि पुनर्निर्माण सुस्त, पीडित अझै विस्थापित
गत भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको तीन महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्निर्माण र पीडितको स्थायी पुनःस्थापनाले अपेक्षित गति लिन सकेको छैन। बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याउनुका साथै सडक, पुल, विद्युत् संरचना, जलविद्युत् आयोजना र निजी सम्पत्तिमा व्यापक क्षति गरेको थियो।
बाढीपछि सरकारले उद्धार, राहत, विद्युत् आपूर्ति पुनःस्थापना, सडक मर्मत तथा पुनर्निर्माणका काम अघि बढाए पनि प्रभावित क्षेत्रका स्थानीयले अझै दैनिक आवागमन, जीविकोपार्जन र आवासका समस्या भोगिरहेका छन्। नुवाकोटका स्थानीयका अनुसार तीन महिनाको अवधिमा बेत्रावती र देवीघाटमा दुई वटा बेलिब्रिज निर्माण तथा केही सडकको अस्थायी ट्र्याक खोल्ने काम भए पनि दीर्घकालीन पूर्वाधार निर्माणले गति लिन सकेको छैन। त्रिशूली बजारमा निर्माणाधीन बेलिब्रिज निर्धारित समयमै सम्पन्न हुन नसक्दा स्थानीयलाई थप सास्ती भएको छ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका कतिपय विस्थापित परिवार अझै अस्थायी शिविर र गुम्बामा बस्न बाध्य छन्। स्थायी पुनःस्थापनामा ढिलाइ भएको भन्दै प्रभावित नागरिकले संघर्ष समिति गठन गरी तीनै तहका सरकारलाई दबाब दिन थालेका छन्। सरकारले प्रभावित परिवारको पुनःस्थापनाका लागि २७७ कित्ता जग्गा पहिचान गरेको छ, जसको कुल क्षेत्रफल तीन हजार २७९ रोपनीभन्दा बढी रहेको छ। तर, जग्गा पहिचान भए पनि स्थायी पुनःस्थापनाको काम अघि बढ्न सकेको छैन।
सरकारले तीन महिनाको अवधिमा रसुवा र नुवाकोटलाई एक–एक करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ प्रारम्भिक नगद सहयोग उपलब्ध गराएको छ। त्यस्तै, १५ वटा प्रभावित स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ सहयोग गरिएको छ। बाढी प्रभावित समुदायको पुनर्स्थापनाका लागि संयुक्त राष्ट्रसंघअन्तर्गतको हानि तथा नोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अर्थात् करिब तीन अर्ब रुपैयाँ अनुदान दिने निर्णय भएको छ।
बाढी प्रभावित उद्योग तथा व्यवसायलाई कर छुट, ऋण पुनर्संरचना, सहुलियत कर्जा र बिमा दाबी भुक्तानीमा सहजीकरणलगायत १८ प्रकारका राहत तथा सहुलियत व्यवस्था अघि बढाइएको छ। विद्युत् आपूर्ति पुनःस्थापनाका लागि सोलार प्रणाली वितरण तथा विद्युत् संरचना मर्मतका काम पनि भएका छन्। सरकारका अनुसार धादिङमा विद्युत् सेवा पूर्ण रूपमा सञ्चालनमा आएको छ भने रसुवा र नुवाकोटका अधिकांश क्षेत्रमा आपूर्ति क्रमशः पुनःस्थापना भएको छ।
बाढीबाट रसुवागढी, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवा भोटेकोसीलगायत १३ वटा जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको छ। आयोजनाका बाँध, विद्युत्गृह तथा सुरुङमा लेदो र ढुंगा थुप्रिँदा विद्युत् उत्पादन ठप्प भएको छ। प्रभावित १३ आयोजनामध्ये नौ वटा निजी क्षेत्रका आयोजना हुन्। निजी ऊर्जा उत्पादकहरूले पुनर्निर्माणका लागि कर छुट, भन्सार सहुलियत, अनुमतिपत्रको म्याद थप तथा मर्मत सामग्री आयातमा नीतिगत सहजीकरण गर्न सरकारसँग माग गरेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले बाढी प्रभावित आयोजनाको पुनर्निर्माणका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण समेटिएको प्रतिवेदन सरकारलाई बुझाएको जनाएको छ। ऊर्जा उत्पादकहरूले आर्थिक सहायता भन्दा पनि कानुनी, प्रशासनिक तथा प्राविधिक अवरोध हटाउन सरकारसँग आग्रह गरेका छन्।
राष्ट्रिय योजना आयोगको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) तथा सरकारी प्राविधिक टोलीको प्रतिवेदनअनुसार बाढीबाट निजी सम्पत्तिमा मात्रै करिब ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। समग्र अर्थतन्त्र तथा भौतिक पूर्वाधारको पुनर्निर्माण र पुनरुत्थानका लागि सात खर्ब २३ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने सरकारी आकलन छ। बाढीले सात हजार ५०० भन्दा बढी निजी घर, दर्जनौँ पुल, करिब ५५ किलोमिटर सडकखण्ड तथा विद्युत् संरचनामा व्यापक क्षति पुर्याएको थियो।
बाढी आएको तीन महिना बितिसक्दा राहत तथा प्रारम्भिक पुनःस्थापनाका काम भए पनि स्थायी पुनर्निर्माण, विस्थापित परिवारको पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माणले अपेक्षित गति लिन नसक्दा प्रभावित क्षेत्रका नागरिक अझै कठिन परिस्थितिमा जीवन बिताउन बाध्य छन्।
-नागरिक



