मनसुन सक्रिय बन्दै, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, ५ असोजः आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज जारी गरेको विशेष मौसम ‘बुलेटिन’अनुसार शुक्रबारदेखि असोज ११ गते सोमबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि अतिभारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
त्यसैगरी, मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारीदेखि अतिभारी वर्षा र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेकाले यात्राका क्रममा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
महाशाखाका अनुसार हाल बङ्गालको खाडीको मध्य भू-भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्रमा परिणत भई पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ । यसको प्रभाव बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने पूर्वानुमान गरिएको छ ।
महाशाखाले ठूला तथा साना नदी नाला र खोलानालामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विशेषगरी हिमाली भू-भागमा भारी हिमपात हुन सक्ने भएकाले हिमाली पदयात्रा तथा पर्वतारोहणमा जानेले सम्बन्धित क्षेत्रको मौसमबारे जानकारी लिएर उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1
