गुवाहाटीमा होटल विवादमा गोलीबारी: एकै परिवारका चारसहित पाँच जनाको मृत्यु
भारतको असम राज्यको गुवाहाटीमा होटल स्वामित्व र लिज विवादका क्रममा भएको गोलीबारीमा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सोमबार राति करिब ९ बजे गुवाहाटीको जीएस रोडस्थित बोरा सर्भिस नजिकै रहेको होटल ‘बिलास इन’मा यो घटना भएको हो। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार होटलका मालिक र लिजमा होटल सञ्चालन गर्ने व्यक्तिबीचको विवाद हिंसात्मक बनेपछि गोली चल्यो।
असम प्रहरीका अनुसार घटनामा ६ जनालाई गोली लागेको थियो। तीमध्ये पाँच जनाको मृत्यु भएको गुवाहाटी प्रहरी आयुक्त पार्थ सारथी महन्तले बताएका छन्। प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने घटनामा प्रयोग भएको ३२ बोरको लाइसेन्स प्राप्त पेस्तोलसमेत बरामद गरेको जनाएको छ।
घटना भएको होटल असम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटरको दूरीमा छ। होटलको स्वामित्व र सञ्चालनसम्बन्धी विवादले हिंसाको रूप लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको छ।



