चाडपर्वमा चोरी, लुटपाट र विस्फोटक पदार्थको कारोबार नियन्त्रण गर्न प्रहरीलाई आईजीपीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले तिहार, नेपाल संवत् र छठलगायत चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्दै प्रहरी परिचालन प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी थप सक्रिय हुनुपर्ने बताए। यस्ता घटनालाई समयमै पहिचान गरी प्रभावकारी रूपमा सम्बोधन गर्न उनले निर्देशन दिएका हुन्।

विशेषगरी पटका तथा अन्य विस्फोटक पदार्थको अवैध कारोबार नियन्त्रण गर्न र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिप्रति सतर्क रहन उनले प्रहरीलाई आग्रह गरे। आफ्नो जिम्मेवारी क्षेत्रमा आवश्यक सुरक्षा योजना बनाएर स्थानीय तह तथा सम्बन्धित सरोकारवालासँग समन्वय र सहकार्य गर्दै व्यावसायिक, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रदान गर्नुपर्ने उनको भनाइ थियो।

त्यस्तै, प्रदेश प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरूले आफ्नो कार्यक्षेत्रको नियमित अनुगमन, सुपरिवेक्षण र निरीक्षण गरी देखिएका कमी–कमजोरी तथा त्रुटि समयमै सुधार गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायत सातवटै प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका विभिन्न प्रहरी इकाइका प्रमुख र प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी थिए।

यो पनि पढ्नुहोस  प्रत्येक नेपालीको टाउकोमा अब एक लाखभन्दा बढी राज्यको ऋण
प्रकाशित मितिः