भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटबाट सञ्चालन
काठमाडौं । भाइटीकाका दिन सार्वजनिक यातायातको अभाव हुन नदिन सशस्त्र प्रहरी बल नेपालले काठमाडौं उपत्यकासहित भक्तपुरमा तीनवटा बसमार्फत निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ।
तिहारका बेला सार्वजनिक सवारीसाधन कम सञ्चालन हुने हुँदा सर्वसाधारणको आवतजावत सहज बनाउन सशस्त्र प्रहरीले यस्तो व्यवस्था गरेको हो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सेवा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म उपलब्ध हुनेछ।
सञ्चालन गरिएका तीनवटा बसमध्ये पहिलो बस सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुटेर बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानमा पुग्नेछ। दोस्रो बस प्रधान कार्यालयबाटै सुरु भई सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै सञ्चालन हुनेछ।
त्यसैगरी, तेस्रो बस स्वयम्भूबाट भक्तपुरसम्म सञ्चालन हुनेछ। उक्त बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्मको रुट समेट्नेछ।
चाडपर्वका समयमा सार्वजनिक यातायातको असुविधा कम गरी यात्रुलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सशस्त्र प्रहरीले विगतदेखि नै भाइटीकाका दिन निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको छ।



