किरात राई यायोक्खाको अध्यक्षमा युवराज राई सर्वसम्मत निर्वाचित
विराटनगर — किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खाको १२ औँ राष्ट्रिय महाधिवेशनबाट युवराज राई केन्द्रीय अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । महाधिवेशनबाट जनक राई र अर्जुन जम्लेली राई सहअध्यक्षमा निर्वाचित हुनुभएको छ ।
२०८३ असोज २३ देखि २५ गतेसम्म विराटनगरमा आयोजित महाधिवेशनमा अध्यक्ष पदका लागि युवराज राईसहित निवर्तमान अध्यक्ष जीवन कुमार राई, देवान राई, सर्वधन राई, राकेश राई, टिकाशरी राई र तिलकप्रसाद राईले उम्मेदवारी दिनुभएको थियो।
अध्यक्ष पदमा सहमति जुटाउने क्रममा निवर्तमान अध्यक्ष जीवन कुमार राई, देवान राई, सर्वधन राई र राकेश राईले सामूहिक रूपमा उम्मेदवारी फिर्ता लिनुभएको थियो । त्यसैगरी टिकाशरी राई र तिलकप्रसाद राईले पनि सहमतिका लागि उम्मेदवारी फिर्ता लिएपछि युवराज राई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले यसअघि यायोक्खाको केन्द्रीय समितिमा उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ।

‘सभ्यता, संस्कृति, भूगोल र इतिहासको सम्मानको लागि बृहत् एकता’ भन्ने मूल नाराका साथ आयोजित महाधिवेशनको बन्दसत्र विराटनगरस्थित होटल मनास्लुको सभाहलमा सुरु भएको थियो। निर्धारित तालिकाअनुसार असोज २४ गते सुरु हुने भनिएको बन्दसत्र एक दिन ढिलो गरी आइतबार बिहान ११ बजेदेखि सञ्चालन भएको थियो।
महाधिवेशनको उद्घाटन प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुने जानकारी निवर्तमान केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले दिनुभएको थियो। संस्थाका महासचिव भीम राईका अनुसार महाधिवेशनमा दुई प्रदेश, २४ जिल्ला, २४ विदेश शाखा, १९ भाषिक संस्था र आठ भ्रातृ संगठनबाट करिब ७०० प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने कार्यक्रम थियो।

महाधिवेशनमा किरात राई समुदायको भाषा, लिपि, संस्कृति, पहिचान र राजनीतिक अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो। यायोक्खाले कोशी प्रदेशको नाम परिवर्तन गरी ‘किरात प्रदेश’ राख्नुपर्ने, वान्तावा, चाम्लिङलगायतका सबै किराती भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिनुपर्ने तथा किरात सिरिजङ्गा लिपिको प्रयोग र प्रवद्र्धन गर्नुपर्ने माग गर्दै आएको छ ।
प्रदेशमा करिब सात लाख जनसंख्या रहेको राई समुदायको भाषा, लिपि तथा संस्कृतिप्रति बेवास्ता गरिए राजनीतिक दलहरूप्रति प्रदेशवासीको असन्तुष्टि थप बढ्न सक्ने र समुदाय आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने निवर्तमान महासचिव भीम राईले बताउनुभएको थियो ।

महाधिवेशनका क्रममा ‘कोशी प्रदेश नाम खारेज गर, किरात प्रदेश घोषणा गर’ लगायतका नारासमेत लगाइएको थियो । यायोक्खाले आफ्नो संगठनात्मक नेतृत्व चयनसँगै किरात पहिचान, भाषा, संस्कृति र ऐतिहासिक सभ्यताको संरक्षण तथा प्रवद्र्धनका मुद्दालाई आगामी दिनमा पनि निरन्तर उठाउने अपेक्षा गरिएको छ ।

Disqus comments are not configured yet.