भक्तपुरमा तीन दिन मनाइँदै स्वन्ति नखाः : कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा

भक्तपुर, कार्तिक १३ । भक्तपुरमा यस वर्षको स्वन्ति नखाः (तिहार) अन्तर्गत लक्ष्मी पूजा, म्हः पूजा र किजा पूजा तीन फरक–फरक दिन मनाइने भएको छ। भक्तपुर नगरपालिकाको पहलमा सरोकारवालासँग भएको छलफलपछि तीनवटै पर्वको मिति तय गरिएको हो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले तान्त्रिक विधि र तिथिको आधारमा स्वन्ति नखाः मनाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ। बैठकमा तलेजुका पुजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालाको सहभागिता रहेको थियो।

निर्णयअनुसार २०८३ साल कार्तिक २२ गते आइतबार साँझ दीपावलीसहित लक्ष्मी पूजा, कार्तिक २३ गते सोमबार साँझ म्हः पूजा र कार्तिक २४ गते मंगलबार साँझ किजा पूजा मनाइनेछ।

तिथिको गणनाअनुसार कार्तिक २२ गते बिहान १०ः५४ बजेपछि औँसी तिथि प्रारम्भ हुने भएकाले सोही दिन साँझ लक्ष्मी पूजा गर्ने निर्णय गरिएको हो। त्यस्तै, कार्तिक २३ गते बिहान ११ः३३ बजेपछि प्रतिपदा तिथि र कार्तिक २४ गते दिउँसो १२ः४१ बजेपछि द्वितीया तिथि सुरु हुने भएकाले क्रमशः म्हः पूजा र किजा पूजा मनाउने तय भएको छ।

यसअघि विभिन्न पात्रो तथा सरोकारवालाबाट पर्व मनाउने मितिबारे फरक–फरक सूचना सार्वजनिक भएपछि सर्वसाधारणमा अन्योल सिर्जना भएको थियो। सोही अन्योल हटाउँदै पर्व मनाउने मितिमा एकरूपता कायम गर्न नगरपालिकाले सरोकारवालासँग छलफल गरेको हो।

बैठकमा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ, पुजारी सिद्धिवीर कर्माचार्य, नेपाल ज्योतिष परिषद् भक्तपुरका निवर्तमान जिल्ला अध्यक्ष केदारप्रसाद दैवज्ञ जोशी तथा नवदुर्गा देवगण एवं जात्रा व्यवस्थापन समितिका बालगोपाल वनमालालगायतको उपस्थिति रहेको थियो।

नगरपालिकाले गरेको निर्णयसँगै भक्तपुरमा स्वन्ति नखाःका प्रमुख तीन पर्वको मिति निश्चित भएको छ।

यो पनि पढ्नुहोस  भक्तपुरको उद्योगमा आगलागी, मुख्यमन्त्री थापामगरबाट निरीक्षण
प्रकाशित मितिः