भक्तपुरमा तराईको झल्को, झकिझकाउ पोखरी र खोलामा भव्य रुपमा मनाईयो छठ पर्व
भक्तपुर, २९ कात्तिक : आईतबारको मिरमिरे साँझ भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तिले झिलिमिलि र छेउमा पाल टाँगिएको स्थानमा ब्रतालुको भीड थामिनसक्नु थियो । बाँकी तीन छेउ वरपर पाला अर्थात् दियो बालिएका थिए । कोही बलेका बत्तीसँग रमाउँदै फोटो खिच्न व्यस्त थिए त कोही निभेका बत्ती बाल्दै छन् ।

तराईको झल्को दिने गरि दुलहीझै सिंगारिएर झकिझकाउ बनाईएको कमलपोखरीमा छठ मनाउन तराईबासीसँगै भक्तपुरका स्थानीय पनि सहभागी थिए । तराई क्षेत्रमा मनाइने छठ पर्व उपत्यकाको सहर भक्तपुरमा पनि हर्षोल्लासका साथ मनाइएको छ । आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बस्नेहरुले कमल पोखरी क्षेत्र उत्सवमय बनेको छ ।

भक्तपुरमा तराई मधेशका समुदायकासँगै मिलेर भक्तपुरबासीले पनि संस्कृति र परम्पराअनुसार पूजा आराधनासहित छठ मनाएका छन् । आज साँझ छठ मनाउन रातभर जाग्राम बसेर भोली बिहान ब्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा सम्पन्न गरि चार दिनको ब्रतसहित छठ सम्पन्न गर्ने तयारी गरिएको छ ।
भक्तपुरमा बस्दै आएका तराईबासीले कमलपोखरीमा छठ पर्व मनाएको यो पहिलो वर्ष भने होइन । सर्लाहीबाट भक्तपुरको कमलविनायकमा व्यवसाय गरेर बस्दै आउनु भएका छठ पर्व आयोजक समितिका संयोजक लक्ष्मण रौनियारले विगत १२ वर्षदेखि यहाँ छठ मनाउनका लागि व्यबस्थापन गर्दै आएको बताउनुभयो ।

पर्वका लागि आईतबार पोखरीलाई सजाएर झकिझकाउ बनाइएको थियो भने साँझ ब्रतालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अस्ताउदो सूर्यलाई अघ्र्य दिएर छैठी देवीको पूजा गरेर छठ पर्व मनाएको उहाँ बताउनुहुन्छ ।
यता बालकोट, कौशल्टारदेखि मध्यपुरथिमिमा बसोबास गर्दै आएका तराईबासीले भने भक्तपुरको बालकोट र ललितपुरको टीकाथलीको सिमानामा रहेको गोदावरी खोलामा छठ मनाएका छन् । यहाँ छठको व्यबस्थापन गर्दै आउनु भएका दशरथ ठाकुरले तीनदेखि खाला सफाई गरि आज खोला किनारामा सजिसवाउ र झकिझकाउ बनाएर छठ मनाएको बताउनुभयो ।

यहाँ २०० भन्दा बढी परिवारले आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेको बताउँदै भोली बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व सम्पन्न गरिने ठाकुरले बताउनुभयो । बालकोटमा रेडिमड व्यवसाय गर्दै आउनु भएकी सुभद्रा साहले विगत पाँच वर्षदेखि गोदावरी खोला किनारामा छठ पर्व मनाएदै आएको बताउदै छठमा घर जान नपाउनेहरुका लागि यहाँको व्यबस्थापनले सजिलो बनाएको बताउनु भयो ।
विशेष गरेर तराईबासीले हर्षाेल्लासकासाथ मनाइने छठ पर्व आज भक्तपुरमा सबै धर्मावलम्वीहरुले सामूहिक रुपमा मिलेर सहयोग गरेको देख्दा खुसी लागेको स्थानीय कमल श्रेष्ठले बताउनुभयो । समितिका संयोजक रौनियारले विभिन्न धर्म, जातका मानिसहरुको सहयोग र साथ रहेको बताउनुभयो । विगतका वर्षमा १०० परिवार पनि नहुनेमा यस वर्ष २०० भन्दा बढी परिवारले यहाँ छठ मनाएको बताउनुभयो ।

पर्वका मुख्य विशेषता अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई जलाशयमा उभिएर अर्घ दिएर मात्र पूजा सम्पन्न गर्नु हो । छठ मनाउन पोखरी पुग्नु भएकी शान्ता महतोले पुत्र, पति र परिवारको कल्याणको कामना गर्दै यो पर्व परिवारका सबै सदस्य तथा समूहमा मनाएको बताउनुभयो ।
पर्वको क्रममा पहिलो दिन कात्तिक शुक्ल चतुदर्शीका दिन नहाय खाय (नुहाएर चोखो भई शुद्ध शाकाहारी भोजन खाने), दोश्रो कात्तिक पञ्चमीका दिन खरना पूजा गर्ने र यस दिन व्रतालुहरू स्नान गरेर दिनभरि उपवास बसी आत्मशुद्धि गर्ने, पञ्चमीका दिन व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दुध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यहरूलाई खुवाउने गर्छन् ।



