वैदेशिक रोजगार ठगीका फरार आरोपीको बैंक खाता रोक्का गरिने, मंसिर १४ गते राष्ट्र बैंकलाई पत्र पठाइने
काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएर पनि फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ठगीमा संलग्न भई कानुनी प्रक्रियाबाट बच्दै फरार रहेका व्यक्तिहरूको आर्थिक कारोबार नियन्त्रण गर्न बैंक खाता रोक्का गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गर्दै आग्रह गरेको थियो । विभागले गत कात्तिक ९ गते जारी गरेको सूचनामा तोकिएको समयभित्र सम्पर्कमा नआए उनीहरूको बैंक खाता तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया रोक्का गरिने उल्लेख गरेको थियो ।
विभागको सूचनाको म्यादभित्र उपस्थित नभएका फरार व्यक्तिहरूको विवरण संकलन गरी उनीहरूको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी गरिएको मन्त्री यादवले बताएका छन् । यसका लागि आगामी मंसिर १४ गते नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्र पठाइने उनले जानकारी दिए ।
वैदेशिक रोजगार विभागले सम्बन्धित शाखाहरूलाई सूचनाको म्यादभित्र सम्पर्कमा नआएका फरार व्यक्तिहरूको सूची तयार गरी नेपाल राष्ट्र बैंकमा पठाउने प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ ।
बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढेसँगै वैदेशिक रोजगारीका नाममा ठगी गरी फरार रहेका व्यक्तिहरूको आर्थिक कारोबार नियन्त्रण गर्न र उनीहरूलाई कानुनी प्रक्रियामा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्ने, ठगीबाट पीडित नागरिकलाई न्याय दिलाउने तथा ठगीमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने उद्देश्यले मन्त्रालय र विभागले उक्त कदम अघि बढाएको हो ।
विभागको यो पहलले वैदेशिक रोजगार ठगीका आरोपीहरूलाई कानुनी प्रक्रियामा सहभागी गराउन दबाब सिर्जना गर्ने र ठगी नियन्त्रणका प्रयासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।



