निर्वाचनको बाहनामा संविधानलाई चलाए आन्दोलन हुन्छ : नेकपाका संयोजक पुष्पकमल दाहाल
भक्तपुर, ५ मङ्सिर : नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधान तथा कानुनले व्यवस्थालाई टेकेर आगामी स्थानीय तह र प्रदेशको निर्वाचन गर्नु पर्ने बताउनु भएको छ ।
आज मध्यपुरथिमिमा नेकपाले आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै उहाँले जेठ ५ गते स्थानीय तहको पाँचवर्षे कार्यकाल पुरा हुने गरि निर्वाचन गर्नु पर्ने बताउनुभयो ।

‘सायद कतिपयलाई के लागेको हुनसक्छ भने दुईटै चुनाव एकैपटक ग¥यो भने पोहोर प्रतिनिधिसभाको निर्वाचनमा जस्तै हावाहुरी ल्याएर जित्न सकिन्छ भन्ने लागेको होला। त्यसो हुनेवाला छैन,’ उहाँले भन्नुभयो ।
रास्वपातर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, ‘स्थानीय निर्वाचन तथाकथित नयाँ भन्नेहरूको त्यति धेरै आधार बनिसकेको छैन । उनीहरू तर्सेका हुन सक्छन् । त्यसकारण उनीहरू संविधान मिचिए मिचियोस् भन्न पनि सक्छन् । हामी सतर्क हुनुपर्छ, ।’ संविधान र कानुनको व्यवस्थाविपरीत निर्वाचन गर्न खोजिए देश फेरि दुर्घटनामा जान्छ ।

स्थानीय सरकारको पाँचवर्षे कार्यकाल जेठ ५ गतेसम्म र प्रदेश सरकारको कार्यकाल मंसिर ५ गते वा मंसिरको पहिलो सातासम्म रहेकाले सोही समयसीमालाई आधार मानेर निर्वाचन गर्नुपर्ने बताउनु भयो ।
संविधान र कानुन मिचेर निर्वाचन गर्न खोज्दा प्रतिक्रान्तिकारी शक्तिहरूले त्यसलाई अवसरका रूपमा प्रयोग गर्न सक्ने प्रचण्डको भनाई थियो । उहाँले भन्नुभयो, ‘एक ठाउँमा संविधान मिचियो, कानुन मिचियो भने संसद्को पनि काम छैन, संविधानको पनि काम छैन भन्ने अवस्था सिर्जना हुन सक्छ । त्यसले फेरि दुर्घटना निम्त्याउने खतरा छ ।’

उहाँले भन्नुभयो, “निर्वाचन आयोगले बैशाखमा स्थानीय तहको र आगामी मंसिरको पहिलो साता प्रदेशको निर्वाचन गर्ने हिजोको आयोगको दलहरुको बैठकमा प्रस्ताव राखेको छ, दलहरुको भनाई पनि संविधानले व्यबस्था गरे अनुसार नै हुनु पर्छ भन्ने हो, रास्वपाका अध्यक्ष रबि लामिछानेले एक पटक सर्वदलीय बैठक राखेर छलफलबाट निर्वाचनबारे टुङ्याएर मिति घोषणाका लागि आयोगलाई सिफारिस गर्ने बताउनु भयो ।”
उहाँले रास्वपाकै अध्यक्ष लामिछानेको प्रस्ताव अनुसार हने सर्वदलीय बैठकले निर्वाचनको मिति तय गर्न एकमत हने विश्वास व्यक्त गर्दै निर्वाचन संविधानको व्यबस्था भन्दा फरक जानु नहुने बताउनुभयो । उहाँले लोकतन्त्रको रक्षाका लागि संविधानको रक्षा हुनु आवश्यक रहेको बताउनुभयो ।

प्रचण्डले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्न खोज्नेहरूविरुद्ध आन्दोलनको तयारी गर्ने चेतावनी दिदै उहाँले भन्नुभयो, ‘शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्नेहरूका विरुद्ध जिहाद छेड्नुपर्ने बेला आउँदै छ । राष्ट्रिय जागरण अभियान त्यसको तयारी पनि हो ।’
अहिले प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी कोणबाट हजारौँ शहीदहरू, हजारौँ बेपत्ता योद्धाहरू, हजारौँ घाइते अपाङ्गहरू, लाखौँ जनताको तपस्याबाट प्राप्त भएको उपलब्धिमाथि प्रहार गर्ने कोसिस भइरहेको भन्दै कतै न कतै एउटा फेरि अर्को दुर्घटनातिर देशलाई लैजाने षड्यन्त्रको गन्ध आइरहेको बताउनुभयो ।

आगामी स्थानीय निर्वाचनमा आफ्नो पार्टीले विचार र मुद्दा मिल्ने वामपन्थी शक्तिहरूसँग सहकार्य गर्ने नीति लिएको बताउदै एमाले र मसालसँग कार्यगत एकताका लागि सहमति भइसकेको बताउनुभयो ।
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई टिक बाड्ने काम पार्टीको माथिल्लो तहले कुनै हस्तक्षेप नगर्ने बताउदै स्थानीय तहको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय तल्लो तहले नै गर्न निर्देशन दिनुभयो । कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले जागरण अभियान जनताको घरदैलोमा पुगेर जनतालाई विगतमा भएका र गरेका कामबारे प्रचार गर्न छुटाउन नहुने बताउनुभयो ।

कार्यक्रममा नेकपा मध्यपुरथिमि नगर संयोजक विजयकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो ।



