डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, स्वदेश फर्कन विमानको व्यवस्था गर्न आग्रह

बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा बढी समय निर्वासनमा बिताएपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेकी छन्। उनले बंगलादेशको विजय दिवसको अवसर पारेर देश फर्किने तयारी गरेको जानकारी सार्वजनिक गरेकी हुन्।

हसिनाका प्रवक्ता सैयद मोजामेल अलीले मंगलबार रोयटर्ससँग कुरा गर्दै हसिना डिसेम्बर १६ मा बंगलादेश फर्किने बताएका हुन्। सन् १९७१ मा पाकिस्तानबाट बंगलादेश स्वतन्त्र भएको ऐतिहासिक दिनलाई विजय दिवसका रूपमा मनाइन्छ।

हसिनाले पहिलो पटक स्वदेश फर्किने निश्चित मिति सार्वजनिक गरेसँगै बंगलादेशको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। उनको सम्भावित स्वदेश फिर्तीले राजनीतिक तथा कानुनी विवाद थप चर्काउन सक्ने आकलन गरिएको छ। हाल उनको पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाइएको छ भने पार्टीसँग सम्बन्धित घटनाक्रमपछि देशका विभिन्न क्षेत्रमा हिंसात्मक गतिविधिसमेत देखिएका छन्।

यसअघि हसिनाले भारतमा रहँदै नयाँ राहदानीसहित आवश्यक यात्रा कागजात तयार पार्ने प्रयास गरेकी थिइन्। उनले भारतबाट ढाका फर्कन बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बिमान बंगलादेश एयरलाइन्समार्फत हवाई यातायातको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेकी छन्।

‘सन् २०२४ अगस्ट ५ मा बंगलादेशकै विमानबाट शेख हसिनालाई भारत लगिएको थियो। त्यसैले अहिले उनलाई दिल्लीबाट ढाका फर्काउन सरकारले हवाई यातायातको व्यवस्था गर्नुपर्छ,’ प्रवक्ता अलीको वक्तव्यमा उल्लेख छ।

यद्यपि, बंगलादेश सरकारले हसिनाको स्वदेश फिर्ती तथा विमान उपलब्ध गराउने आग्रहबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। बंगलादेशका एक मन्त्रीले भने हसिना देश फर्किएमा पक्राउ गरेर जेल पठाइने बताएका छन्। उनलाई स्वदेश फर्काउन विमान पठाउने विषयमा भारतसँग कुनै औपचारिक छलफल नभएको पनि ती मन्त्रीले बताएका छन्।

सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलन व्यापक रूपमा चर्किएपछि शेख हसिनाले प्रधानमन्त्री पद त्याग्दै भारतमा शरण लिएकी थिइन्। संयुक्त राष्ट्रसंघका अनुसार उक्त आन्दोलन र त्यसक्रममा भएको हिंसामा करिब १ हजार ४०० जनासम्मको मृत्यु भएको थियो।

यो पनि पढ्नुहोस  बढ्यो दूधको मूल्य, चैत २ गतेदेखि यस्तो छ नयाँ मूल्य

आन्दोलन दबाउन घातक बल प्रयोग गर्न आदेश दिएको आरोपमा बंगलादेशको युद्ध अपराधसम्बन्धी अदालतले गत वर्ष नोभेम्बरमा हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो। तर, निर्वासनमा रहेकी हसिनाले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएकी छन्।

प्रकाशित मितिः