झापा क्षेत्र नम्बर १ बाटै चुनाब लड्ने कांग्रेस महामन्त्री शर्माको घोषणा

झापा, १४ भदौ  : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताउनुभएको छ । काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गर्नुभएको हो । शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो तेस्रो पटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु ।” तर शर्माले आफू उम्मेदवार हुने नहुने भन्ने विषयको टुङ्गो नलागेको बताउनुभयो । चुनाव जित्ने दाबी गर्नुभएका शर्माले तीन पटकमा राँगा त छिन्छ भन्दै यसपटकको निर्वाचनमा राम्रो हिसाब किताब गरेर मात्रै उम्मेदवार बन्ने बताउनुभयो ।

संविधान, लोकतन्त्र, मुलुक र जनताका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन अपरिहार्य भएको बताउँदै शर्माले गठबन्धन हुँदा झापा–१ माओवादीको भागमा पर्न सक्ने संकेत गर्नुभयो । उहाँले आफू उम्मेदवार बन्ने विषयमा आन्तरिक छलफल भइरहेको स्पष्ट पार्नुभयो । गठबन्धनमा सिट बाँडफाँट हुँदा पहिले जितेको ठाउँमा त्यही पार्टीलाई दिने भन्ने मापदण्ड रहेको उल्लेख गर्दै भन्नुभयो, “पार्टी पदाधिकारीले उठ्ने इच्छा गरेको ठाउँमा छलफलबाट टुङ्ग्याउने सहमति भएको छ ।”

विसं २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गर्नुभएको थियो । त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का नेता रविन कोइरालाले शर्मालाई पराजित गर्नुभएको थियो ।

मध्यपुरमा मौलिकता संरक्षण अभियान सुरू

मध्यपुर थिमि, १४ भदौ  : मध्यपुर थिमि नगरपालिकाले स्थानीय बस्ती, चोक, स्थान, सडक, टोल र गल्लीहरुको मौलिक नामलाई पुनर्जीवित गर्ने भएको छ । त्यसका लागि नगरपालिकाले एक समितिसमेत गठन गरेको छ ।

नगरपालिका क्षेत्रभित्र तीव्र गतिमा बढेको सहरीकरण तथा बस्ती विस्तारसँगै जथाभावी टोल, सडक र गल्लीहरुको नामकरण गर्ने प्रवृत्ति बढेको र त्यसले स्थानीय मौलिक नामहरुको अस्तित्व लोप हुने अवस्थामा पुगेको भन्दै नगरपालिकाले मौलिक नामलाई पुनर्जीवित गर्ने अभियान थालेको हो । सो सम्बन्धमा आज नगपालिकामा आयोजित सरोकारवालाहरुसँगको छलफलले एक समिति गठन गर्ने निर्णय गरेको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न छलफलले स्थानीय अभियन्ता राजेन्द्र तुबन्जा श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा मध्यपुर थिमि नगरपालिका स्थापना हुनुअघि तत्कालीन पाँच वटा गाविसको प्रतिनिधित्व हुने गरी प्रत्येक गाविसबाट हाललाई दुई÷दुई जना सदस्य चयन गरिएको छ । समितिको सदस्यमा तत्कालीन दिव्यश्वरी गाविसबाट जगतकृष्ण प्रजापति र सुरेन्द्रबहादुर सिजापति, बालकुमारी गाविसबाट बाबुकाजी साछें श्रेष्ठ र कृष्णकाजी (केके) मानन्धर, चपाचोबाट धर्मसुन्दर बज्राचार्य र श्यामकृष्ण मानन्धर, नगदेशबाट तुल्सीभक्त घजु र विनोद कोजु तथा बोडेबाट विनोद खम्बु र भरत ध्वँ सदस्य हुनुहन्छ ।

समितिमा आवश्यकतानुसार १० जना थप गरिने संयोजक श्रेष्ठले बताउनुभयो । समितिले वडाध्यक्षहरुसँग आवश्यक छलफल, सहकार्य र समन्वय गरी मध्यपुर थिमि नगरभित्रका परम्परागत एवं ऐतिहासिक मौलिक नामहरुको सङ्कलन, सङ्कलित नामहरुको अध्ययन अनुसन्धान गरी प्रतिस्थापनका लागि नगरपालिका समक्ष सिफारिस गर्नेछ ।

समितिको सिफारिसका आधारमा नगरपालिकाले स्थानीय मौलिक नामहरुको प्रतिस्थापन गर्दै जाने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । समितिले नगरपालिकाले निर्माण गर्ने कार्यविधिको अधीनमा रहेर कार्य गर्नेछ । त्यसका लागि कार्यविधिको मस्यौदा तयारी भइरहेको समितिका संयोजक राजेन्द्र श्रेष्ठले बताउनुभयो । कार्यविधि निर्माण भएपछि नगरपालिकाले समितिलाई कार्यादेश दिने र सोहीअनुसार समितिले प्रतिवेदन तयार गरी नगरपालिकालाई बुझाउने नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताउनुभयो ।

भक्तपुरका शिवालयमा महिलाहरुको भीड जातीय एकता र सद्भावका साथ साझा पर्वका रुपमा मनाए तीज

भक्तपुर १४ भदौं : महिलाको प्रमुख चाँडका रुपमा रहेको तीज पर्वका अवसरमा आज भक्तपुरका प्रमुख शिवालयहरुमा बिहानैदेखि ब्रतालु महिलाहरुको भीड लागेको छ । भक्तपुरका प्रसिद्ध शिवालयहरुमा आज पूजा गर्ने र नाचगान गर्ने महिलाहरुको भीड लागेको हो ।

ब्रम्हा, बिष्णु र महादेवको त्रिमुर्तिको रुपमा मानिने भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिरमा आज बिहानैदेखि नै महिलाहरुको भिड लागेको हो । जिल्लाका बिभिन्न ठाउँबाट आएका हजारौ महिलाहरुको बिहानैदेखि लामबद्ध भएर पूजा एवं दर्शन गर्नुका साथै नाचगान गरेका छन् ।

त्यसैगसिूर्यविनायक नगरपालिका( सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर र आशापुरी महादेव मन्दिरमा पनि बिहानैदेखि महिलाको भीड लागेको छ । डोलेश्वर मन्दिर व्यबस्थापन समितिले बिहानै देखि स्वंमसेवक परिचालन गरि लाइन व्यबस्थापन गरेको छ भने ब्रतालु महिलालाई नाँचगान गर्ने छुट्टै व्यबस्था समेत गरेको मन्दिर व्यबस्थापन समितिका सहकोषाध्यक्ष सदसलप केसीले जानकारी दिनु भयो । मन्दिरमा उपत्यका बिभिन्न ठाउँबाट महिलाहरुको ओईरो लागेको उहाँले बताउनुभयो ।

सिपाडोलकै आशापुरी महादेव मन्दिरमा पनि बिभिन्न ठाउँबाट आएका श्रद्धालु महिलाहरुको भीड लाग्नुको साथै दिनभर नाचगान चलेको छ । यता सूर्यविनायक(१० चित्तपोलमा रहेका कैलाशनाथ महादेव मन्दिरमा समेत बिहानैदेखि महिलाको भीड लागेको छ । भक्तपुर सिरुटारको गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर, सुवर्णेश्वर, आशापुरी, अनन्तलिङ्गेश्वर, लटरम्बेश्वरलगायतका महादेव मन्दिरमा बिहानैदेखि महिलाहरुको भीड लागेको छ ।

नेपाली हिन्दू महिलाहरूको ठूलो चाड तीज ब्राम्हण, क्षेत्री लगायतको समुदाय मात्र नभई, नेवार सहितका अन्य जनजातीहरुले पनि साझा पर्वका रुपमा तीज मनाएका छन् । विशेषगरि बाहुन क्षेत्रीलगायतले मनाउदै आएको तीज पर्व अहिले यहाँका नेवार लगायत अन्य जातजातिका समुदायले जातीय एकता र सद्भावका साथ साझा पर्वका रुपमा ब्रत बस्ने, दर खाने र नाचगान गरेर तीज मनाएका छन् ।

भक्तपुरको दत्तात्रय मन्दिरमा आज दर्शन तथा पूजा गर्न भक्तपुरको दोलखा भरघई थिमिबाट आउनु भएकी शान्ति श्रेष्ठले आफूले पनि यस वर्षदेखि दर खाने, तीजको ब्रत बसेर दत्तात्रयको दर्शन गर्न आएको बताउनु भयो । उहाँले बिहान डोलेश्वर मन्दिर गएर दिउँसो दत्तात्रय आएको बताउदै आफूले पनि यसवर्षदेखि नाचगान गरेर तीज मनाउन लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “देवताको दर्शन गरेर ब्रत बस्न पनि यो जातले हुने त्यो जातले नहुने भन्ने हुन्छ र ? छिमेकीको कुरा सुन्दा ठिक लाग्यो, त्यसैले यसवर्षदेखि तीज मनाउन थालेको हुँ, हिजो दर खाइयो, नाचगान गरियो, आज पनि पूजा गरेर नाचगान गरेर तीज मनाएको छौँ ।”

शिवालयहरुमा जाने, नाचगान गर्ने र यसलाई साझा पर्वका रुपमा मान्दै तीज मनाएका हुन् । बौद्ध धर्म मान्दै आएका समुदायले पनि हिन्दू धर्मावलम्बीहरुसंगै तीज मनाएका छन् ।

भक्तपुरकी समिता ध्वजुले विगतमा बाहुन क्षेत्रीले मात्रै तीज मनाउदा रहर लाग्ने गरे पनि नेवार समुदायले मनाउने होईन भनेर मानिदैनथ्यो तर अहिले समयको परिवर्तनसंगै नेवार एवं अन्यजनजातिहरुले पनि मनाउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सबै हिन्दू महिलाको चाँड हो, महिलाहरुले स्वतन्त्र भएर अपनत्व गरेर मनाउने चाँड रहेछ, तीजलाई यसलाई बाहुन क्षेत्रीको मात्र चाँड भनेर हेरिनु हुदैन, समयको परिवर्तनसंगै यो चाँडलाई सबै महिलाले हासखेल गरेर रमाईलोसंग मनाउनुपर्छ ।”

भक्तपुरकै ५८ वर्षकी कान्छीमाया श्रेष्ठले पहिला आफूहरुले तीज नमाने पनि अहिले छोरी बुहारीले तीज मानेर रमाएको देख्दा खुसी लाग्ने गरेको बताउनुहुन्छ । बाहुनक्ष् ोत्री महिलाले तीजमा रातो पहिरन, रातै टिका, सिन्दुर, पोते, रातै चुरा लगाएर गीत गाएर नाचगान गरेको देखेर रहर लाग्ने गरेको बताउदै उहाँले अहिले तीजमा आफूहरु पनि रमाईलो गर्न पाएकोमा खुसी लागेको बताउनुहुन्छ ।

अहिलेको तीजले जातीय एकता र सद्भावलाई अझ मजबुद बनाएको छ । बिभिन्न जातजातिका महिला एकै थलोमा बसेर तीज कार्यक्रममा नाचगान गर्दै एकताबद्ध रुपमा मनाउनुलाई सबै जातजातिका महिलाले सकारात्मक रुपमा लिएका छन् ।

दर खाने र तीज कार्यक्रममा समेत यहाँका सबै जातजातिका महिलाहरु भेला भएर सामुहिक दलखाने परम्परा केहीवर्ष यता बस्दै आएको मध्यपुरथिमि राधेराधे संगम कोलोनीका सर्मिला यादव बताउनु हुन्छ । तीजलाई जातीय एकता र सद्भावको पर्वको रुपमा लैजादा साँस्कृतिक महत्व अझ झल्किने उहाँ बताउनु हुन्छ

फरार प्रजापति पक्राउ

भक्तपुर, १४ भदौ : भक्तपुर जिल्ला अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेको मध्यपुरथिमि नगरपालिका, ५ बस्ने ५४ का वर्षीय हरिकृष्ण प्रजापतिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्ला अदालत भक्तपुरले २०७८ साल असोज ४ गते ‘दुषित लिखत दर्ता बदर, हक कायम समेत’ कसुरमा नौ लाख २४ हजार ८७० रुपैयाँ जरिवाना फैसला गरेपछि फरार प्रजापतिलाई आज पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।

पक्राउ परेका प्रजापतिलाई फैसला कार्यान्वयनका लागि आजै भक्तपुर जिल्ला अदालतमा पेश गरिएको उहाँले जानकारी दिनु भयो ।

 

मानव बेचविखनका अभियुक्तलाई मकाउबाट झिकाइयो, ब्युरोबाट अनुसन्धान हुँदै

काठमाडौँ, १४ भदौ  : इन्टरपोलबाट रेड नोटिस जारी भएको मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दी गाउँपालिका–१ का ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ । मानव बेचविखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई खोजी गर्ने क्रममा इन्टरपोल मकाउको समन्वयमा नेपाल ल्याइएको हो ।

आज नेपाल भिकाइएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीको इन्टरपोल शाखाको टोलीले नियन्त्रणमा लिई थप कारबाहीका लागि ब्युरोमा पठाएको छ । अधिकारीले सुरुमा मासिक रु एक लाख ५० हजार तलब हुने गरी क्यानेडाली कम्पनीमा रोजगारी मिलाइदिने बहानामा पीडितको २५/२५ सय डलर र पासपोर्टसमेत लिएका खुलेको छ ।

त्यसपछि उनले संयुक्त अरब इमिरेट्समा राखेकोमा त्यहाँबाट लिबिया हुँदै इटाली लाने भनी पुनः रु तीन लाख आफ्नो श्रीमतीको बैंकको खातामा जम्मा गर्न लगाई पीडितलाई लिबियाको शरणार्थी क्याम्पमा पु¥याएका थिए । क्याम्पमै रहेको अवस्थामा लिबियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, इजिप्टस्थित नेपाली राजदूतावास र आईओएमको समन्वयमा पीडितलाई नेपाल फिर्ता ल्याइएको थियो ।

चन्द्रमाको पूजा गर्दै मिथिला क्षेत्रमा चौठचन्द्र पर्व सम्पन्न

जनकपुरधाम, १४ भदौ (रासस) : मिथिला क्षेत्रमा आज साँझ चन्द्रमाको श्रद्धा र विधिपूर्वक पूजा गर्दै चौरचन (चौठचन्द्र) पर्व सकिएको छ । भदौ शुक्लपक्षको चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेसी र थारु समुदायले विशेष महत्वका साथ मनाउने उक्त पर्व आज साँझ विधिपूर्वक पूजा गर्दै सकिएको हो ।

यसवर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौठचन्द्र पर्व आज एकै दिन परेको छ । दिनभरि उपवास भएका परिवारका महिला सदस्यहरूले साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । चौठचन्द्र पर्वमा सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै उपवास बसेको बर्तालुले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पूजा गर्ने परम्परा छ ।

चन्द्रमाको पूजा हुने यो पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमालाई पूजा गर्ने गरिन्छ । पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यहरुले प्रसाद ग्रहण गर्ने परम्परा रहेको मिथिला संस्कृतिका जानकार पण्डित रामकुमार शास्त्रीले बताउनुभयो । तीज पर्व सम्पन्न भएसँगै सुरु हुने यस पर्वलाई मिथिलामा निकै श्रद्धा र आस्थाका रूपमा लिइन्छ । कृष्ण जन्माष्टमीको १२ दिनपछि यो पर्व मनाइन्छ ।

छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र पनि भन्ने गरिन्छ । यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा (पिरुकिया) र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा छ । –––

नेपालले जित्यो केन्या विरुद्धको टी–२० क्रिकेट सिरिज

काठमाडौँ, १४ भदौ : नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्टिय क्रिकेट सिरिज ३–२ ले जितेको छ । नेपालले केहीबेर अघि सम्पन्न अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गरेको हो । केन्याको नैरोवी जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ७५ रन बनायो । एक सय ७६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा केन्याले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४४ रन मात्र बनाउन सक्यो ।

नेपालको जितमा ज्ञानेन्द्र मल्लको अद्र्धशतकीय पारी महत्वपूर्ण रह्यो । मल्लले ४४ बलमा ५९ रन बनाए । यस क्रममा उनले दुई छक्का र पाँच चौका प्रहार गरे । रोहितकुमार पौडेलले २५ बलमा सात चौका हिर्काउँदै ४७ रन बनाए । यस्तै अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । बलिङतर्फ केन्याका लागि नेहेम्याह ओढियाम्बो, विराट पटेल र शेम एन्गोचेले दुई÷दुई तथा लुकास ओलुओचले एक विकेट लिए ।

ब्याटिङ गर्ने क्रममा केन्याका लागि नेहेम्याह ओढियाम्बोले ३७, कप्तान शेम एन्गोचेले अविजित ३३, इरफान करिमले २८, कोलियन्स ओबुयाले २३ र नेलसन ओढियाम्बोले अविजित १३ रन बनाए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र बसिर अहमदले दुई/दुई तथा करन केसी, मोहमद आदिल आलम र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

खेलको प्लेयर अफ दी म्याच नेपालका ज्ञानेन्द्र मल्ल तथा प्लेयर अफ दी सिरिज कप्तान सन्दीप लामिछाने घोषित भए । नेपालले अब केन्यासित तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ । नेपाल र केन्याबीचको पहिलो एकदिवसीय खेल शुक्रबार खेल्ने तय भएको छ ।

कक्षा १२ को परीक्षाफल भोली सार्वजनिक गरिने

भक्तपुर, १४ भदौ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल भदौ १५ गते अर्थात भोली सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारी गरि अन्तिम रुजु गर्ने काम भइरहेको जानकारी दिनु भयो । उहाँले नतिजा प्रकाशनको तयारीमा जुटिरहेको बताउदै प्राविधिक कठिनाइ नभए भोली बुधबार १५ गतेसम्म नतिजा सार्वजनिक गर्ने गरि काम गरिरहेका छौँ ।

आज तीजको दिन परीक्षाफल सार्वजनिक हुने हल्ला चले पछि कतिपय छात्राहरुको ध्यान परीक्षाफल तर्फ केन्द्रीत भएर अन्योल बनेका छन् । कक्षा १२ को परीक्षामा चार लाख १० हजार ५० विद्यार्थीले परीक्षा दिएको बताइएको छ ।

बोर्डले देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

तीन हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ, १४ भदौ : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् ।

कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ र अन्य विभिन्नमा दुई हजार दुई सय १३ चालक रहेका छन् । कार्यालयले ट्राफिक नियमको पालना गरी सवारीसाधन चलाउन सबैलाई आह्वानसमेत गरेको छ ।

भक्तपुरमा चथाः पर्व मनाइँदै

भक्तपुर, १४ भदौ : नेवार समुदायले भाद्र शुक्ल चतुर्थीको साँझ मनाइने चथाः पूजा भक्तपुरमा आजै मनाइने भएको छ । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार भदौ १५ गते भाद्र शुक्ल चतुर्थी भए पनि आज साँझ नै चतुर्थी पर्न आएका कारण आजै मनाउन लागिएको हो । नेवा सँस्कृतिमा तिथि र मिति मिलाएर साँस्कृतिक पर्व मनाउनुपर्ने भएकाले आजै मनाउन लागिएको भैरवनाथका पूजारी माइला छुङ्काले बताउनुभयो ।

गणेश चतुर्थीको अवसरमा नेवार समुदायले घर चोख्याएर साँझ परिवारका सबै सदस्य बसेर गणेश र चन्द्रमालाई जीवनमा चोर दोष कहिल्यै नलागोस भन्ने कामनासहित पूजा गर्दछन । भगवान गणेशको जन्म दिन समेत मानिएको चतुर्थीको साँझ कौशी वा झ्यालमा चथा गणेश र चन्द्रमाको पूजा गर्ने परम्परा छ । गणेश र चन्द्रमाको पूजा गरे जीवनमा चोर दोष नलाग्ने विश्वास छ ।

चतुर्थीको दिन पूजा गर्दा चथा गणेशको तस्बिरलाई पला लप्ते (कमलको पात) वा जेला लप्ते (हल्दीको पात जस्तो)मा राखेर दुबो, मुला र लडडु, नैवेद्य, खाइसी, अदुवाको बोट, काँक्रो, भुटेको आरुको बीऊ, नासपाती, केरा, स्याउ, अनार, अम्वा, हाँडे ओखर, मसला, मकै, भटमास, गहुँ, केराउ, चना, बकुल्ला र बदाम भुटेको गेडागुडी चढाइन्छ । यसरी विधिवतरुपमा पूजा सकेपछि परिवारका सबै सदस्य प्रसादको रुपमा गणेश र चन्द्रमालाई चढाएको फलफुल तथा गेडागुडी खाने चलन छ ।

आजको दिन चथा गणेशलाई विभिन्न पकवानसँगै विषेशगरी दुवो, लड्डु र मुला चढाउँदा गणेश खुशी भई जीवनमा चिताएको मनोकामना पूरा हुने विश्वास छ । चतुर्थीको अवसरमा नेवार समुदायमा चन्द्रमाको पूजा गर्ने परम्परा छ । एक थरी समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथै घरको सबै झ्याल ढोकामा पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाशसमेत घरभित्र छिर्न नसक्ने गरी लुकेर पूजा गर्ने गर्दछन् । अर्को समुदाय घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखापरेपछि मात्र चथा गणेशको पूजा गरी प्रसाद खाएर घरभित्र पस्ने चलन छ ।

गणेश चतुर्थीलाई भक्तपुरका नेवार समुदायले १०औैँ भित्र्याउने चाडका रुपमा लिने गरेको छ । दशैंको प्रारम्भ पर्वको रुपमा लिने भएकाले नेवार समुदायले आजको दिन विशेषगरि घरघरमा मासु भित्र्याउने चलन छ । नेवार समुदायमा चथाःपर्व राम्रो भए दशै पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास छ । त्यही आज बेलुका घर परिवारका सबै सदस्य लाइनले बसेर भोज खाने चलन छ ।

आजकै दिन भक्तपुरका किसानले आ–आफ्ना अदुवा खेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने चलन छ । आजकै दिन इन्द्रजात्राका लागि भक्तपुरबाट काठमाडौँको बसन्तपुरसम्म लिङ्गो लैजाने परम्परा छ । इन्द्रजात्राको अवसरमा बसन्तपुरमा ठड्याउने लिङ्गो भक्तपुरको चित्तापोलस्थित लिङ्गेवनबाट ल्याइन्छ । लिङ््गेवनमा विधिपूर्वक पूजा गरेपछि बली दिने बोकालाई छोड्ने र सो बोकाले जुन रुखलाई छुन्छ सोही रुख काटेर ल्याउनुपर्ने परम्परा छ ।